शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधानले सबैको संरक्षण गरेको छः मुख्यमन्त्री राई

बुधबार, ०३ असोज २०७५, १२ : ४२
बुधबार, ०३ असोज २०७५

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बद्र्धन गरेको बताएका छन् । 

संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सो कुरा बताएका हुन् । 

उनले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । 

मूल समारोह समितिको संयोजकसमेत रहेका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्तरुप दिन प्रदेश सरकार संवेदनशील भएको बताए । 

सो अवसरमा प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्वाहाङको पनि उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप