शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

शुक्रबार, ०५ असोज २०७५, १२ : ३६
शुक्रबार, ०५ असोज २०७५

–हरि बाँस्तोला 

पोखरा– झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । 

वि.सं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँचजना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भएका थिए । भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनको ठूलोबुबा हरि बूढाले जानकारी गराए । 

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनका ठूलो बुबाले भने, ‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे ।’ जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द गरेर पोखरा आएको उनले बताए । 

उनका अनुसार छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ भने बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दैआएका छन् ।  । उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोेछोरा जीवनको काजकिररिया गरिएको उनले बताए । 

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए । पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पुर्याउन धामीको धोको छ । 

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षारत छन् । जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप