शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

शुक्रबार, ०५ असोज २०७५, १४ : १२
शुक्रबार, ०५ असोज २०७५

यात्राको क्लाइमेक्स सुरु हुँदै थियो दार्चेनबाट । हामी कैलाशको खास कोरा थाल्दै थियौं । ५२ किलोमिटर परिधिको कैलाश कोरा तीन दिनमा पूरा गर्न हामी कस्सिएका छौँ । 

कतिले सुरुबाटै पैदल यात्रा गरे, हामी केही यात्री चाहिँ दार्चेनबाट ६ किलोमिटर अगाडिसम्म गाडीमा गयौँ । गाडीबाट ओर्लंदा मैदानमा याक, घोडा र तिब्बतीको भीड थियो । तर ती तिनै प्राणीको काम एउटै थियो, बोक्ने । घोडाले यात्री बोक्ने । चौरीले ठुल्ठुला झोला बोक्ने र तिब्बतीले यात्रीका ससाना झोला बोक्ने । 

छेउमा छेउछाउबाट बुद्धिस्ट झण्डाहरूले घेरिएको यमद्वार थियो । ढोकासहितको कलरफुल स्तुपा रहेछ त्यो । त्यो ढाकोबाट लास छिराएर ठीकमाथिको डाँडामा पु¥याई काटेर टुक्राटुक्रा बनाई चरालाई दिने चलन रहेछ । दाहसंस्कारको यो हिमाली परम्परा तिब्बतमा युगौंदेखि चलिरहेको छ । नेपालमै पनि हिमाली क्षेत्रमा कतैकतै यो चलन छ भन्ने सुनेको छु ।

‘ऊँ माने पेमे हुँ’ उच्चारण गर्दै मैले मेरो ज्युँदो शरीरलाई यमद्वारको एकापट्टिबाट छिराएँ र अर्कोपट्टिबाट निकालेँ । त्यसो गर्न हुन्थ्यो कि हुन्थेन ? मैले सोचिनँ, सम्झिनँ । सम्भवतः त्यो मेरो म जिउँदै छँदा आधा सम्पन्न हिमाली दाहसंस्कार थियो । ढोकाबाट छिर्दाछिर्दै माथिपट्किा घन्टीहरू मेरो टाउकोमा ठोक्किएर बजेको सुन्दा मेरो अर्ध दाहसंस्कार अनुमोदित भएको अनुभव गरेँ । केही रौँ र सिङसहितको याक खप्पर यमद्वारको एकापट्टि देखेँ । म त्यहाँबाट अगाडि बढेँ ।                 

याकका बथानले खाद्यसामग्री बोकेर हामीलाई पछ्याइरहेका थिए । तिनका घाँटीका घन्टीले त्यो शान्त उच्च भूमिमा हावासँग अनौठो लय मिलाएर मीठो ध्वनि निर्माण गरिरहेका थिए । तिनका घुम्रेका चिल्ला तीखा सिङ, लामा–लामा बाक्ला रौं, सुत्केरीको जस्तो शरीरिक बनोट र तिनका मायालु आँखा मलाई हिमालयका प्राणजस्ता लागे । 

पछिल्लो पटक मार्चमा लाङटाङ जाँदा न्युजिल्यान्डको ल्यारीले भनेको थियो, ‘याकको ढाड कन्याउने मेरो सपना थियो । के म त्यो पूरा गर्न सक्छु ?’

‘किन सक्दैनौँ ? सक्छौँ । जाऊ याकछेउ र मजाले ढाड कन्याऊ १’ बाटो छेउको घाँसे मैदानमा चरिरहेका याकहरूलाई देखाउँदै मैले भनेको थिएँ । ल्यारी थोरै नजिक मात्र के गएको थियो, याकहरूले बुर्कुस्सी मारे । याकको ढाड कन्याउने उसको हिमाली सपना अधुरै रह्यो । 

मैले आफैलाई ल्यारीमा रूपान्तरण गरेको अनुभव गरेँ र पालैपालो तीनवटा याकलाई मुसारेँ । उनीहरूको ढाड कन्याएँ । याकहरूले सञ्चो मानेर मायालु आँखा मतिर फ्यालिरहेका थिए । ल्यारीको लाङटाङ सपना मैले तिब्बतको पठारमा पूरा गरिदिएँ । तर ल्यारी यसबारे बेखबर छ ।   

खोलाको तीरैतीर तिब्बतको  ‘मुस्ताङ यात्रा’ सुरु भइसकेको थियो । मरुभूमि पहाडमुन्तिर खोला बगिरहेको थियो । झरनाहरू झरझराइरहेका थिए । सिन्दुरे पहाडहरूका सुन्दर तस्बिर खिच्दै खोलाकिनारको हल्का उकालिएको सम्म गोरेटो पछ्याउँदै थियौं हामी यात्री । तर उत्साहमा थकान सुरु भइसकेको थियो । मनको जोश शरीरमा मुर्झाएको थियो ।

आधाजसो यात्री घोडाबाट परिक्रमा गर्दै थिए । उनीहरूका ससाना व्याग तिब्बती पोर्टरले बोकेका थिए । म भने बन्दोबस्तीका सबै सामान ब्याकप्याकमा बोकेर हिँडिरहेको थिएँ । केही औषधि, एक जोर जुत्ता, गहु्रँगो पावर बैङ्क, ल्यापटप, ल्यापटपको चार्जर, नोटकपी, कलम, बाँकी रहेका दुई बट्टा नेपाली चुरोट, केही खानेकुरा, दुई बोतल पानी, थर्मस, लत्ताकपडालगायतका सामानको तौल १५ किलोभन्दा बढी नै थियो । 

मुसा हुन् कि खरायो ? बनोट मुसाको जस्ता अनि साइज खरोयोको जत्रो । तिनीहरू खुरखुर गर्दै थिए । यसो हामीलाई चियाउँथे र दगुर्थे । रोकिन्थे र झट्ट हामीलाई हेर्थे । फेरि दगुर्थे । बाटैभरि हात छिर्ने प्वालहरू थिए । म उनीहरूहको नजिक–नजिक गएँ । उनीहरू त्यस्तै प्वालमा छिरे । 

हावा कानैमा ठोक्किरहेको थियो । रातो टुँढो भएको एउटा कालो चरा हाम्रैछेउ आयो । समात्नै लाग्दा पनि भागेन । चार कदम अगाडि पुगेर म एउटा ढुङ्गामा बसेँ । 

ढुङ्गाको चिसो शरीरभरि फैलियो । एउटा चुरोट सल्काएँ । बिस्तारैबिस्तारै तानेँ र उडाएँ तर धुवाँ निकै कम आयो । एक दुई फ्वाँक दालमोठ खाएँ । अलि ठूला खालका भँगेरा जस्ता चराहरू मेरो नजिक आए । दालमोठका केही टुक्रा राखेर हत्केला फैलाएँ । चराहरू मेरो हातमा आए र दालमोठ खाए । मानवमैत्री चराहरूबीच म खुशीले आँशुआँशु भएँ । ढाडका दुवैपट्टि भारी बोकेर हिँडिरहेका दर्जनौँ याकले मलाई उछिने । म उनीहरूका पदचाप हेरेर मख्ख परेँ ।

दुई चार घुट्को पानी खाएर म वारिपट्टिको पहाडी फेदबाट हिँड्दै थिएँ । नजिकै खोला बगिरहेको थियो । पारिपट्टिको पहाडको छातीमा टाँसिएको एउटा गुम्बाबाहेक बाटामा कतै घरहरू थिएनन् । माथि आकाशमा बादल मडारिइरहेको थियो । 

ह्याट लगाएका तिब्बती ठिटाठिटीहरू हामीभन्दा अलि छिटो हिँडिरहेका थिए । आँखा जुध्दा उनीहरू मसक्क हाँस्थे । म पनि हास्थेँ । 

उनीहरूको त्यो यात्रा मेरो जस्तो पक्कै थिएन । त्यो भूगोलमा यात्रा गर्न उनीहरू अभ्यस्त थिए । तर मेरा लागि त्यहाँसम्मको यात्रा पनि घनघस्याको उकालो भन्दा कम थिएन । स्वाँस्वाँ नभए पनि शरीर शिथिल हुँदै थियो । 

तिब्बती अक्षर लेखिएका हजारौँ ढुङ्गाहरू बाटोछेऊ देखेपछि म नजिकै गएँ । ती सबमा ‘ऊँ माने पेमे हुँ’ लेखिएको थियो । ती ढुङ्गाहरूमा लेखिएका अक्षर कलात्मक मात्र थिएनन्, आध्यत्मिक आस्थाका प्रतीकसमेत थिए । ती ढुङ्गाहरू हेरेर म निकै बेर टोलाइरहेँ ।

घोडामा चढेर कैलाश परिक्रमा गरिहेका यात्रीहरू थकानले हो कि हिँड्न नसकेर घोडा चढ्न परेकोमा हो, उदासीन देखिन्थे । अथवा तीन दिनका लागि घोडालाई ५० हजारभन्दा बढी नेपाली रुपैयाँ तिर्नुपरेकोमा पो उनीहरूको अनुहारको चमक हराएको हो ?  मैले अनुमान लगाउन सकिनँ ।         

एकाध घन्टापछि असीमित बुद्धिस्ट झन्डाहरूले रङ्एिको एउटा थुम्कोजस्तो ठाउँ आयो । जहाँ अनेक देशका यात्रीहरू थिए । कोही थकाई मारिरहेका थिए । कोही फोटो खिचिरहेका थिए । कोही स्न्याक्स् खाइरहेका थिए । 

त्यहाँ पनि चराहरू यात्रीका हातहातमा आइरहेका थिए । म पनि एक छिन त्यहाँ अडिएँ । हात फैलाएँ । एउटा चरा मेरो हातमा आयो । मैले प्रकृतिसँग एकाकार भएको अनुभव गरेँ । मेरो हातबाट चरा भुर्रर उड्यो । म त्यो चरा उडेकोतिर हेर्दै थिएँ । माथि आकाशमा कैलाश मुस्कुराइरहेको रहेछ । दिशैपिच्छेको फरक स्वरूपमध्ये एउटा स्वरूप थियो कैलाशको त्यो । 

बादल ठीक त्यही बेला फाटेर आकाश नीलो भएको थियो । आकाशको नीलो पृष्ठभूमिमा कालो कैलाशको सेतो शिर देखेर यात्रीहरू खुशीले चिच्याइरहेका थिए । चिच्याउनेहरूमध्ये सुकिलामुकिला एउटा तिब्बती समूह पनि थियो । उनीहरूमध्ये एउटी मनजिक आएर सोधी, ‘डु यु स्पिक इङ्ग्लिस ?’

त्यति भनेर उसले उनीहरूको बारेमा बताई, ‘हामी ल्हासाबाट कैलाश कोरा गर्न आएका हौँ । हामी यहाँ परिवार नै आएका छौँ ।’ 

‘उहाँ मेरो बुवा । उहाँ आमा । उहाँ काका । उहाँ हजुरबुवा । उहाँ हजुरआमा अनि उनीहरू मेरा बहिनीहरू’, सबलाई पालैपालो औंलाले देखाउँदै परिचय गराई । सबैलाई मैले अभिवादन गरेँ । उनीहरूले पनि मुस्कानको अभिवादन फर्काएँ । परिचयको त्यो क्षण सुरक्षित गर्न मैले उनीहरूसँग सेल्फी खिचेँ । सेल्फीमा तिब्बती मुस्कान मजाले फक्रिएको थियो ।  

उसको अङ्ग्रेजी कामचलाउ रहेछ । टिनएजर बहिनीहरू पनि टाक्कटुक्क अङ्ग्रेजी बोल्दा रहेछन् । त्यहाँबाट अघि बढ्दै गर्दा क्याप लगाएका ती फुच्चीहरूले बाललीला देखाएभन्दा पनि हुन्छ । उनीहरू जिस्किँदै कहिले सुस्तरी मेरो पछिपछि हिँड्थे । कहिले हाँस्दै दगुरेर मलाई पछि पार्थे । बच्चाहरूसँग मलाई निकै रमाइलो लाग्छ । ल्हासाका ती फुच्चीहरू मलाई त्यो रमाइलो दिँदै थिए । त्यति मात्र होइन, उनीहरूले मलाई केही चकलेट पनि दिए ।

अलिअलि टाउको दुखेको छ भनेपछि उनीहरूले साइड इफेक्ट गर्दैन भन्दै मलाई जडीबुटीका ससाना टुक्रासमेत दिएका थिए । मुखमा थोरै हाल्दा तीतो भएपछि मैले त्यो निकै दिनसम्म खल्तीमै राखिरहेँ । जबजब खल्तीमा हात जान्थ्यो, ती टुक्राहरू मेरा हातमा आउँथे र म ती नानीहरूलाई सम्झन्थेँ । ल्हासाको त्यो सिङ्गो परिवारलाई सम्झन्थेँ ।    

ल्हासाका ती केटीहरू दार्चेन र देरापुकबीचको आकाशको बादलजस्तै भएका थिए । एक छिनमा कताबाट हो, हामीमाथिको आकाश बादलले पूरै ढाक्यो । एकै छिनमा बादल फेरि पूरै हरायो । अ हो, लीलामय प्राकृतिक छटा ! 

आकाश मात्र हैन, धर्ती पनि लीलामय थियो र अझ क्यानडाकी लीला नाम गरेकी यात्रीसमेत मसँगसँगै थिई । उसका प्रायः साथी कि घोडामा थिए कि त निकै पछि बिस्तारै आइरहेका थिए । ऊ मेरोभन्दा अलि सानो तर निकै कसिलो ब्याग बोकेर सुरुदेखि नै मेरै स्पिडमा हिँडिरहेकी थिई । म उसको लोभलाग्दो स्पिडबाट प्रभावित भइरहेको थिएँ ।

भारतीय मूलकी खिरिली लीलाको यो चौथो कैलाश यात्रा रहेछ । 

‘एक प्रकारले भन्ने हो भने म कैलास एडिक्ट हुँ’, उसले भनी । 

‘राम्रो ! तर, कसरी तिमी यति मजाले हिँड्न सकेकी ?’, मैले जिज्ञासा राखेँ । 

‘यसको कारण मेरी छोरी हो । उसलाई हिँड्नु जति प्रिय केही छैन । मलाई यहाँ पहिलो पटक उसैले ल्याएकी हो । उता क्यानडामा पनि उसले हाइकिङ नगरेको कुनै महिना हुँदैन । एक पटक के भयो भने हामी हाइकिङमा थियौं । दिन ढल्न आँटिसकेको थियो । फर्कने त उसले सुरै गरिन । मैले फर्किऊँ भनेर जिद्धी गर्दा पनि मान्दै मानिन । हिँड्दाहिँड्दै रात प¥यो । फर्कंदा रुटबिनाको बाटोमा हामी रातभर हरायौं ।

त्यहाँ जङ्गली जनावरको डर थियो । जब हिँड्न थाल्छे, उसलाई भोक लाग्दैन । डर लाग्दैन । उसकै सङ्गतले म पनि हिँड्न सक्ने भएँ’, उसले छोरीको हाइकिङ क्लासको कथा सुनाई ।

लीलाको कथालगत्तै प्रकृतिको अर्को लीला सुरु भयो । एक्कासि परेको मुसलधारे पानीले अगाडि ढपक्कै पर्दा लागेजस्तो भयो । मानौँ, पानीका प्रत्येक थोपाहरू एकसँग अर्को टाँसिएका थिए । तल भुइँमा हेरेर पानीमै हराएको स्टिक टेक्दै हामी देरापुकतिर हानिइरहेका थियौँ । रेनकोटभित्र पनि बरफ पसेजस्तो चिसो भइरहेको थियो । आँखाले देख्ने दूरीसम्म ओत लाग्ने कुनै ठाउँ थिएन । 

कैलाशको चरणसमेत भनिने देरापुक पुग्दासम्म पनि पानी रोकिएन । सुनसान होटलमा एक जोडी तिब्बती अँगेनामा आगो तापिरहेका रहेछन् । अप्ठ्यारो लागे पनि मैले त्यही कपडा फेरेँ । भिजेर बरफझैँ कक्रिएको जुत्ता खोलेर अर्को जुत्ता लगाएँ । तर देरापुक दुई रातको हाम्रो बासस्थान थियो ।

एकाध घन्टापछि यात्रीहरू होटल परिसरमा आइपुग्न थाले । त्यति बेला पानी रोकिएर घाम लागिसकेको थियो । अहा, कैलाशको नर्थ फेस विनाबादल पूरै प्रस्ट देखियो ।

‘ऊँ नम शिवायः’ यात्रीहरूले एकसाथ ऊँ नम शिवायः भन्दै कैलाश दर्शन गरे । जीवन धन्य भयो भन्दै केही यात्री रुन पो थाले । 

हाम्रा लागि त होटलको व्यवस्था थियो । कैलाशको फेदमा यत्रतत्र टेन्टहरू थिए । तिब्बती पोर्टर र घोडचढीहरूका ती टेन्टले कैलाश फेद रङ्गीचङ्गी देखिएको थियो । साँझमा सूर्यको प्रकाशले कैलाशको रङ झनै मोहक देखियो । ऊँ नम शिवाय !


 

यो पनि पढ्नुहोस्

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

लेखकबाट थप