शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चालकको आडमा व्यवसायीको रजाई : कागजमा खोल्ने सहमति, व्यवहारमा ३ दिनदेखि बन्द

शुक्रबार, ०५ असोज २०७५, १७ : २३
शुक्रबार, ०५ असोज २०७५

तेजेन्द्र के.सी.
 

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरुबीच  सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमती भएको थियो । सो सहमतिको समाचार स्थानीय सञ्चार माध्यममा सुनेर खुशी भएका यात्रुहरु अहिले बुटवलको बसपार्कमा अलपत्र छन् । 

बुटवलको देवीनगर बस्ने २८ वर्षीय शंकर पाण्डे गुल्मी तम्घास जानको लागि बिहान ९ बजे बस पार्कसम्म अटोरिक्सा चढेर आएका थिए । 

बसपार्कमा टिकट काउन्टर खुल्ला छ । तर न बस चल्छन् न टिकट नै दिन्छन् उनले रातोपाटीसँग गुनासो गरे । यस्तो समस्या भोग्नेहरु यहाँ सयौँ छन् । सरकारले कानुनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा चालकहरुले ३ दिनदेखि गाडी थन्क्याएर आन्दोलनमा छन् । उनीहरुलाई व्यावसायीहरुले साथ दिएका छन् ।

सार्वजनिक यातायात ३ दिनसम्म नचलेपछि जनजीवन प्रभावित हुँदै गएको छ । रुपन्देहीमा हिजो अपरान्ह प्रशासनमा चलाउने सहमति गरेपनि चालकहरुले गाडी चलाएका छैनन् । हिजो अस्ति जस्तै आज पनि यस क्षेत्रका बसपार्कबाट सार्वजनिक बस छुटेका छैनन् । बस समितिहरुले चलानी काटेका छैनन् । 

प्रशासनमा भएको सहमतिमा सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने सहमती समेत भएको थियो । 

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी  उदय बहादुर रानाले सिक्डिकेट तोड्ने सरकारी निर्णयबिरुद्ध लाग्नेहरुले बन्द  गराएको बताए । उनले भने, ‘हिजोसम्म मजदुरले आन्दोलन गरेको भन्ने थियो । तर,  उनीहरुलाई उचालेर व्यावसयीहरुले सिन्डिकेटलाई फेरी ब्यूँताउन खाजेको देखिन्छ ।’

प्रशासनमा गाडी चलाउने कागजमा सहमति गरेका यातायात व्यवसायी र चालकले मिलेमतोमा नै व्यवहारमा गाडी चलाएका छैनन् । उनीहरुले जसरी पनि सरकारलाई झुकाउने रणनीति लिएका छन् । ५ नम्बर प्रदेशमा  तीन दिनदेखि कसैको सार्वजनिक आह्वान बिना नै बुटवल, कपिलबस्तु, पाल्पा, दाङ्ग, नेपालगञ्ज लगायतका ठाउँहरुमा बस–ट्रक चलेका छैनन् ।

‘कुनै पार्टी तथा संस्थाले बन्द आह्वान नगरेको अवस्थामा किन सार्वजनिक सवारी चलेनन् ?’ भन्ने प्रश्न गर्दा यस क्षेत्रका बस तथा ट्रक समितिका पदाधिकारीहरुले चालक नआएकाले गाडी नचलेको बताउँछन् ।

चालकहरुले पनि औपचारिक रुपमा बन्द गरेको भनेका छैनन् । तर गाडी नचलाउने घोषणा वा आह्वान गर्दा पक्राउ परिने डरले चालकहरु र बस तथा ट्रक समितिहरुले बिना घोषणा नै गाडी नचलाएका हुन् ।

सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछि सरकारसँग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रुपमा चालकहरुले समेत साथ दिएका छन । हालै सवारी ऐन संशोधन भएपछि चालकहरु त्यसको विरोधमा उत्रिएका छन ।

संशोधित सवारी ऐनमा सवारी दुर्घटनामा चालकको लापरवाही पाइए कडा कारवाही गर्ने व्यवस्था छ । ऐनमा ३ देखि १० वर्षसम्म कैद र ३० देखि ३ लाख रुपयाँसम्म जरिवाना तोकिएको छ ।

सार्वजनिक सवारी नचलेको सम्वन्धमा संघीय ट्राफिक प्रहरी कार्यालय बुटवलले चालकहरुले अनौपचारिक रुपमा बन्द गरेको भन्ने सुनिएको तर आधिकारिक जानकारी नभएको बताएको छ । कार्यालयले  विहान एउटा बसलाई स्कर्टिङ्ग गरेर कपिलबस्तु पुराएको अन्य भने सवाजनिक सवारी सधान नचलेको जनाएको छ । निजी सवारी सधान भने निवार्ध रुपमा चलेका छन् । पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले चालक आएर गाडी चलाएका समितिले काउण्टरबाट क्यु दिने बताए ।

एकले अर्कालाई दोष यात्रुलाई अलपत्र

पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडेले  चालकहरु नआएपछि बस नचलेको बताए । उनले चालकहरु एकले अर्कोलाई फोन गर्दे गाडी चलाउन नभनेकोले ठाउँ ठाउँमा गाडि रोकिएको  बताए । २ हजार भन्दा धेरै बस रहेको यो समितिले क्युमा गाडि लगाई दिएका चालक बाध्य हुने स्वतन्त्र मजदुर संगठन  ५ नम्बर प्रदेश अध्यक्ष कृष्ण कंडेलले बताए । उनले कसैको सार्वजनिक आह्वानबिना नै सार्वजनिक सवारी साधन नचलेपछि नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश ५ कार्यालय बुटवलले गाडी यथावत चलाउन चालकहरुलाई आग्रह गरेको विज्ञप्ती जारी गरेको बताउँछन् । तर उनकै सगठनका सदस्यहरु किन गाडी चलाउन बसपार्कमा पुगेका छैनन्।

यस्तै नेपाल यातायात मजदुर संघ ५ नम्बर प्रदेश अध्यक्ष आत्म सिंह घर्तिले आफूहरुले सवारी चलाउनको लागि  कसैलाई नरोकेको बताए । उनले चालकहरु आफैले गाडी नचलाएपछि हामीले जर्वरजस्त चला भन्न नमिन्ने बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप