शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायलाई सम्मानित पेशा बनाएर नयाँ पुस्तालाई आकर्षण गर्न महासचिवमा मेरो उम्मेदवारी : दिपक गौतम

शुक्रबार, ०५ असोज २०७५, १९ : १६
शुक्रबार, ०५ असोज २०७५

नेपाल निर्माण व्यवसायी महासंघमा चुनावी सरगर्मी तीब्र भएको छ ।  कमलादी स्थित प्रज्ञा भवनमा असोज ४,५,६ सम्म चल्ने अधिबेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । महासंघको आसन्न निर्वाचनमा महासचिव पदमा निर्माण ब्यवसायमा दुई दशक विताएका युवा निर्माण ब्यवसायी दिपक गौतमले उम्मेदवारी दिएका छन् ।

निमार्ण क्षेत्रको अग्रणी कम्पनी गजुरमुखी निर्माण कम्पनी लिमिटेड संचालन गर्दै आएका गौतम अहिले महासंघको केन्द्रीय सदस्य समेत हुन । देश भित्र तथा विदेशमा समेत निर्माणको काम जिम्मा लिएर सफलतापूर्वक काम गरेको अनुभव हासिल गरेका गौतम इलाम मंगलबारेमा स्थायी बासिन्दा हुन् । 

आर्थिक समृद्धि र निर्माण व्यवासाय एक अर्काका पूरक ठान्ने गौतम सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न निर्माण व्यवसाय मुख्य साझेदार बन्न सक्ने उनको मत छ । पछिल्लो समय निर्माण ब्यवसाय बदनाम हुँदै गएका बेला यस पेशालाई सम्मानित बनाउदै नयाँ पुस्ताले निमार्ण ब्यवसायलाई अंगाल्न सकोस भन्ने अपेक्षाका साथ महासचिवमा उम्मेदवारी दिएको बताउँछन् । रातोपाटीका लागि गौतमसँगको अन्तर्वार्ता ।

निर्माण ब्यवसायी महासंघको आसन्न निर्बाचनमा महासचिवको उम्मेदवारी घोषणा गर्नु भएको छ । तपाईंको एजेन्डा के हो ? 

मैले निर्माण ब्यवसायमा दुई दशक भन्दा बढी ९२४ बर्ष० को अनुभव संगालेको छु । मैले स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्माणको काम गरेको छु । कतारमा समेत मेरो निर्माण कम्पनी छ । महासंघमा समेत मैले जिल्ला, क्षेत्र हुँदै केन्द्रीय कार्य समितिमा रहेर आफ्नो भूमिका निर्वाह गरिसकेको छु ।

त्यसैले म महासचिव पदका लागि योग्य उम्मेदवार हुँ । यस क्षेत्रका अधिकाशं समस्याहरु सरकार र निमार्ण ब्यवसायी बिचको बृहत अन्तर्कृयाको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने मेरो बुझाइ रहेको छ । मैले उम्मेदवारी दिनै पर्ने केही कारण छन् । पछिल्लो समय निर्माण ब्यवसायीलाई सुरक्षाको चुनौती बढ्दै गएको छ ।

चन्दा आतंक त्यस्तै छ । सरकारले पनि यस ब्यवसायलाई सम्मान गर्दैन । उल्टै तल्लोस्तरको व्यवहार गर्ने गरेको छ । यस्तो बेला निर्माण ब्यवसायलाई कसरी सम्मानित बनाउने भन्नेमा काम गर्नेछु । संविधान निर्माणपछि भएको निर्वाचनले स्थायी सरकार आएको छ ।

सरकारले आर्थिक समृद्धि र विकासलाई मुख्य एजेण्डा बनाएका बेला हामी सरकारसँग सहकार्य गरेर देशलाई समृद्धिको दिशामा लैजान चाहन्छौं । सरकारसँग समन्वय गरेर अगाडि बढ्न महासंघमा दरिलो नेतृत्वको आवश्यकता हुन्छ । त्यस्तो नेतृत्व मैले दिनसक्छु भनेर नै महासचिवमा उम्मेदवार बनेको हुँ । 

मैले ब्यवसायीको हितका लागि दुई वटा एजेन्डा अगाडि सारेको छु, । निर्माण ब्यवसायीले क्षमताभन्दा बढी काम ओगटेर समस्या सिर्जना भएको छ । त्यसैले म क्षमता र दक्षताअनुसार सबै निर्माण ब्यवसायीले काम गर्न पाउनु पर्छ भन्ने मेरो पहिलो एजेन्डा हो । यस्तो प्रकारको कानुन निर्माण गर्न सके सबैले न्यायोचित ढंगले काम पाउन सक्ने थिए ।  

अर्को कुरा निर्माण ब्यवसायलाई सम्मानित ब्यवसाय बनाउन र देशलाई विकास निर्माणका क्षेत्रमा समृद्ध बनाउन सम्बन्धित सबै पक्षबीच साझा धारणा निर्माण गर्नु आवश्यक छ । त्यसका लागि सरकार, महासंघलगायतका सरोकारवालालाई एकै ठाउँमा राखेर बृहद् अन्तरकृया गर्नु आवश्यक छ । 

देश समृद्ध बन्न विकास योजना राम्रो हुनुपर्छ । योजनालाई सबै पक्षले स्वामित्व लिनसक्ने गरी समावेशी रुपमा बनाउन सके कार्यान्वयन सजिलो हुन्छ । राम्रो योजना बनिसक्दा आधा काम सकिन्छ भन्ने गरिन्छ । त्यस्तो योजना बनाउन गाउँ तह देखि केन्द्र तहसम्म बृहद् अन्तरक्रिया नै आवश्यक छ । 

कस्तो हुनेछ त्यो बृहद् अन्तरक्रिया ? 

यो क्षेत्रको समस्या समाधानको लागि मैले १० बर्षदेखि यस्तो कार्यक्रमको कल्पना गर्दै आएको छु । मैले महासचिवको उम्मेदवारी दिँदै गर्दा मात्र यस्तो एजेन्डा उठाएको हैन । हरेक सार्वजनिक फोरमहरुमा यो आवाज उठाउदै आएको छु । हरेक निर्माण ब्यवसायीका फरक समस्या छन् ।

मन्त्रालयका अधिकारीहरुका फरक बुझाइका कारण समस्या अझ बढेका  छन् । त्यसैले सबै सरोकारवालाहरु, मन्त्रीहरु, सबै मन्त्रालयका सचिवहरु, प्रदेश सरकारका मन्त्रीहरु, स्थानीय सरकारका प्रमुखहरु, निर्माण ब्यवसायीहरु, बन विभागका अधिकारीहरु बसेर जटिलताहरु फुकाउन, राम्रो योजना बनाउन एउटा बृहद् अन्तरक्रिया हुनु पर्छ भन्ने मेरो एजेन्डा हो । यस बृहद् अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई कानुन बनाएर लागू गर्न सके मुलुकको विकास अवश्य सम्भव छ ।

मुलुकको विकास भए निर्माण ब्यवसाय आफैं फस्टाउँछ । मैले चुनाव जिते यस्तो कार्यक्रम गर्न सरकारसँग पहल गर्छु ।

सरकार र निर्माण ब्यवसायी महासंघबीच सहकार्यमा मात्र मुलुकको बिकास सम्भव छ । तर पछिल्लो समय सहयात्री जस्ता यी निकायबीच तिक्तता देखिएको छ । यसलाई मेटाउन तपाईंको भूमिका के हुन्छ ?

मैले विगतको नेतृत्वलाई मैले अवमूल्यन गरेको हैन । बारंबार सरकार परिवर्तन हुँदा हाम्रा एजेन्डा सरकारले सुन्ने अवस्था थिएन । दुई दशकदेखि देश संक्रमणबाटै गुज्रिरहेको छ । केही महिनेदेखि केही बर्षका सरकार मात्र मुलुकले देख्न पायो । त्यस्तो अबस्थामा त्यो सरकारले हाम्रो गुनासो सुन्न सक्ने अबस्था थिएन । 

अब दरिलो सरकार गठन भएको छ । झण्डै दुई तिहाइको सरकार छ । हामी पनि दुधले नुहाएका छैनौ । हाम्रा पनि कमीकमजोरी छन् । तर सबैभन्दा बाधक भनेको सार्बजनिक खरिद ऐन र नियमावली छन । त्यसलाई करेक्सन गर्न आवश्यक छ । 

निर्माण क्षेत्र भनेको निकै वृहत क्षेत्र हो । यससँग वन, ढल, विद्युत प्राधिकरण, कामदार सप्लाई गर्ने एजेन्सी, स्थानीय निकाय, निर्माण सामग्री उत्पादक, पेट्रोलियम पदार्थ, सरकारको नीति, बजेटसँग सम्बन्धीत सबै निकायहरु जोडिएका हुन्छन् ।

निमार्ण कार्य गुणस्तर नहुनुको पछाडि बिभिन्न पक्षहरुको कारण पनि जिम्मेवारी हुन्छन् । जस्तै कमसल निमार्ण सामाग्री, अदक्ष श्रमिक, मुअब्जा, बन जस्ता कारणहरुले पनि निमार्ण कार्यमा ढिलासुस्ती हुन सक्छ । तर अहिले कतिपय अवस्थामा निमार्ण कार्य गुणस्तर नबन्नुको तथा ढिलासुस्ती हुनुको पछाडि सबै दोष निमार्ण ब्यवसायीको थाप्लोमा मात्र हाल्ने हालिन्छ ।  

तपाईंलाई उदाहरण दिउँ, कोटेश्वर कलंकी सडक चीनको सांघाइ कन्ट्रक्सन कम्पनीले लिएको छ । त्यसलाई निर्माण गर्न ५ बर्ष लागिसकेको छ । त्यही सडक चीनमा बनाउनु परेको भए उही निर्माण कम्पनीले ३ महिनामा बनाइसक्थ्यो । त्यसैले निर्माणका काम समयमा नसक्नुमा यहाँको सरकारी ढिलासुस्ती, कानुन लगायत अरु धेरै समस्याहरु छन । 

निर्माणलाई गति दिन यी सबै निकायबीच समन्वय गरेर समस्या हल गर्न आवश्यक छ । मेरो भूमिका ती निकायहरुबीच समन्वय गर्नमा हुनेछ । सरकार र गैरसरकारी क्षेत्रसँग सम्बन्धित सबै निकायबीच देखिएका समस्या समाधान र दीर्घकालीन योजना निर्माण स्पष्ट भिजनसहित अघि बढाउने मेरो चाहना हो । 

राजनीतिक दबाबमा ठेक्का लिएर बर्षौ नसक्ने प्रवृत्ति कसरी समाधान गर्नु हुन्छ ? 

सार्वजनिक खरिद ऐनअन्तर्गत हामीले ठेक्का लिने हो । यसमा राजनीतिक दवाबले कुनै प्रभाव पार्दैन । समस्या त अहिले विद्यमान कानुनको खरिद प्रक्रियामा छ । कम दररेट बोलकबोल गर्नेले ठेक्का पाउने अबस्था छ । निर्माण ब्यवसायीको क्षमता अनुसार काम दिनुपर्ने हो ।

कम्पनीको क्षमता भन्दा बढी उसलाई बोकाइयो भने उसले गुणस्तरीय काम गर्न सक्दैन । समयमा सक्दैन । मेरो वकालत क्षमताअनुसारमात्र निर्माण ब्यवसायीलाई काम दिनु पर्छ भन्ने पक्षमा हुनेछ । 

तपाईले जित्ने आधार के छ ?

सरकारसँग महासंघका एजेन्डाहरु प्रस्ट रुपमा राख्न मेरो जीतले ठूलो भुमिका खेल्नेछ । महासंघमा पछिल्लो समय युवा ब्यवसायीहरु आकर्षित भएका छन् । उनीहरुमा सबै मिलेर केही गरौं भावना छ । त्यो भावनाको प्रतिनिधित्व मैले गरेको छु ।

मसँग अनुभव छ, नयाँ काम गर्ने दृष्टिकोण छ । त्यस्तो भावना भएका ब्यक्तिहरुको समर्थनले मैले अवश्य विजय हासिल गर्ने छु । साना तथा ठुला ब्यवसायीहरुका समस्याहरु मैले अनुभव गरेको छु ।

बुवाको पुस्ताले भोगेको समस्या नयाँ पुस्ताले भोग्न नपाउन भन्नेमा मेरो पूर्ण जोड हुनेछ । नयाँ पुस्ताले सम्मानपूर्वक यो पेशा अगाल्ने वातावरण बनाउन भूमिका खेल्ने प्रणको साथ महासचिवमा उम्मेदवारी दिएको हुँ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप