बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कामपाः घर मापदण्डमा ल्याउन निवेदनको चाङ

शनिबार, ०६ असोज २०७५, १२ : १९
शनिबार, ०६ असोज २०७५

काठमाडौँ–पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौँ महानगरमा चाङ लाग्न थालेको छ । करीब तीन महिनाअघि कामपाले निर्माण भएका तर नियमअनुरुप निर्माण नभएका घरको लागि निवेदन दिनका लागि सूचना निकालेको थियो । 

निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरूप बनाउन यस किसिमको व्यवस्था गरेको कामपाले जनाएको छ । नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ सहप्रवक्ता नवराज ढकालले भने । 

नियमअनुरुप गर्नका लागि घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गरेका छन् । सोही सूचनालाई आधार मानी अहिले कामपामा निवेदन ठूलो सङ्ख्यामा आएको सहप्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार अहिले कामपामा नक्साको काम अनलाइनबाट हुन्छ, आगामी आइतबारसम्ममा सङ्ख्यात्मकरुपमा नै तथ्याङ्क आउँछ महानगरमा धेरै घर नियमविपरीत निर्माण भएका छन् । 

निर्माण सम्पन्न भइसकेका भवनलाई तीन वर्गमा विभाजन गरेर सरल मापदण्डका आधारमा सुधार गर्न संशोधित मापदण्डबाट महानगरले काम थालेपछि निवेदकको सङ्ख्या बढेको हो । 

असार २७ गते सम्पन्न नगरसभाबाट स्वीकृत भवन निर्माण मापदण्ड २०७५ का आधारमा तयार पारिएको कार्यविधिका आधारमा भवन विभागले घरधनीबाट निवेदन लिन शुरु गरेको हो । कार्यविधिले, भवन निर्माण गर्दा मापदण्ड पालना नभएका भवनलाई कैफियतमा विवरण उल्लेख गरी निर्माण सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरेको छ । 

महानगरपालिका क्षेत्रभित्रमा नयाँ निर्माण हुने, तला थप गर्नु, संरचना हेरफेर गर्नुपर्ने तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कामलाई सरल बनाउन यस प्रकारको व्यवस्था अघि सारिएको हो । 

यातायात आवागमन, पार्किङ, खुला स्थानको उपलब्धता, भवनको अवस्था, बनावट, उपयोग, भौतिक तथा सामाजिक सुरक्षा, छिमेकीसँगको सम्बन्धजस्ता विभिन्न पक्षबाट भवन नियमित गर्न खोजिएको भवन निर्माण इजाजत विभागका प्रमुख रवीन्द्रकुमार पौडेलले बताए । 

कागजपत्र पुगेको नक्सा स्वीकृत हुन २५ देखि ३० दिन लाग्छ भने निर्माण सम्पन्न भएको प्रमाणपत्र प्राप्त गर्न प्रक्रिया शुरु भएको मितिले सात दिनदेखि १० दिन लाग्छ । पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घरधनीको घरमा पुगी नक्सापासको प्रक्रियामा लगिने छ । 

स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरूपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधानअनुरुप कामपाले यस व्यवस्था गरेको हो । 

यसैबीच कामपामा पछिल्लो समय नक्सापास गर्न आउने नगरवासीको सङ्ख्यामा कमी आएको छ । अघिल्ला वर्षमा दैनिक २० सम्म नक्सापास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० मात्र आउने गरेको छ । कामपाले नक्सापास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिकरूपमा कामपाभित्र भवन निर्माण गर्ने जमीनको अभावका कारण पनि नक्सापास गर्न आउनेको सङ्ख्यामा कमी आएको कामपाको भनाइ छ ।

निर्माण सम्पन्न प्रमाणपत्रबिना निर्माणाधीन भवनबाट कुनै पनि बैंक सम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको भने दैनिकरूपले वृद्धि भइरहेको छ । कामपामा ९० प्रतिशत भवन मापदण्डविपरीत निर्माण भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप