शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री कोइरालाको उद्घोष : अबको सभापति कोइराला  परिवारबाटै !

आइतबार, ०७ असोज २०७५, १० : ३०
आइतबार, ०७ असोज २०७५

बुटवल । काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाटै आउने दाबी गरेका छन् ।

‘कोइराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी छ । त्यसैले अवको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’ महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा भने, ‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ ।  सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’

कार्यकर्ताको माया र चाहना अनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई थियो । 

‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठुलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ’ महामन्त्री कोइरालाको जिकिर थियो ।

देशभरका काँग्रेस नेताकार्यकर्ताको माया र चाहना कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहाका क्रममा पाएको उनले सुनाए ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ बिधान पारित गरिने भन्दै उक्त विधान कम्तिमा आगामी ३० बर्षका लागि हुने प्रष्ट पारे ।

आगामी चार बर्षपछिको चुनाबमा काँग्रेस पहिलो पार्टी बन्ने कोइरालाको भनाई छ । ‘काँग्रेस बिबादमा अल्झने अबस्था छैन,अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

बर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप कोइरालाको छ । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन’ सरकारप्रति कोइरालाको निश्कर्ष छ । 

काँग्रेसका २ चुनौती रहेको भन्दै उनले काँग्रेसको संगठनमा  गुट उपगुटको अन्तय हुनुपर्ने बताए । 

काँग्रेसका कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय,२० मेडिकल कलेज  र ८४ हजार किलोमिटर सडक बनेको उनको भनाइ छ ।

सरकारले प्रेस जगतलाई हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने भएकाले हस्तक्षेपबिरुद्ध खबरदारी गर्न पत्रकारलाई उनले आग्रह गरे ।

२०१५ सालमा बिपीले प्रेस स्वतन्त्रताको थालनी गरेको स्मरण गर्दै त्यसवेला पत्रकारलाई ४०० रुपैंयाँ दिएर बिपीले आफ्नो बिरुद्ध लेख्न आग्रह गरेको स्मरण गरे ।

काँग्रेसको नयाँ विधानबारे बोल्दै उनले सभापतिको अधिकार बिकेन्द्रीकरण गर्नुपर्ने बताए । ‘तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाँउ र प्रदेशमा अधिकार दिनुपर्छ’ कोइरालाको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप