शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाघ गणनाः थपिए ३७ बाघ

आइतबार, ०७ असोज २०७५, १६ : २९
आइतबार, ०७ असोज २०७५

–भीष्मराज ओझा 

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।  राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिएको बताए । 

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् । 

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको उपमहानिर्देशक भट्टराईले बताए । विभागले गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दुरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको पछिल्लो सङ्ख्या सार्वजनिक गरिएको उनले बताए । 

चितवन राष्ट्रिय निकुञ्जमा अपेक्षाभन्दा बाघको सङ्ख्या कम देखिएको सम्बन्धमा विभागका महानिर्देशक मनबहादुर खड्काले गत वर्षको बाढीले बाघ बगाएर भारत पुर्याएको, सो क्षेत्रमा प्रकृतिले धान्ने क्षमता सीमित भएको र पर्सा निकुञ्जमा बाघ सरेको हुनसक्ने अनुमान गरे । सो क्षेत्रमा गत चार वर्षमा प्राकृतिक रुपले, आपसमा लडेर र विभिन्न रोग लागेर १८ बाघ मरेको उनले जानकारी गराए । चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२० देखिएको थियो । 

नेपालले वि.सं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको सङ्ख्या वृद्धि भएको विभागले जनाएको छ । 

पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ । 

नेपालको तराई–भूपरिधिक्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमी क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमी (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप