बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरङ्ग दृश्यबारे प्रियंकाले तोडिन् मौनता, यस्तो छ उनको बयान

आइतबार, ०७ असोज २०७५, १७ : २९
आइतबार, ०७ असोज २०७५

काठमाडौं – ‘कथा काडमाडौं’ चलचित्रभित्र रहेको अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी बीचको अन्तरंग दृश्यले चलचित्र बृत्तमा निकै हंगामा गर्यो । निर्माण युनिटले सार्वजनिक गरेको ‘रातको कुरा’ बोलको गीतमा प्रियंका र प्रमोदको अन्तरंग दृश्यले प्रथामिकता पाएको थियो ।

गीत सार्वजनिक भएसँगै प्रियंका र प्रमोदको आलोचना बढी भयो । केही कतै प्रशंसा गर्ने पनि भेटिए । गीतको चर्चा सेलाउन नपाउँदै उक्त दृश्यले ट्रेलरमा पनि प्रथामिकता पायो । यसले चलचित्र क्षेत्रमा उक्त दृश्य कतिको आवश्यक भन्ने बहसनै श्रृजना भयो ।

यी सबै घटनामा अभिनेत्री प्रियंका चुप थिइन् । अभिनेता प्रमोद अग्रहरी भने एक्लै फेस गर्दै आएका थिए । तर अहिले आएर अभिनेत्री प्रियंकाले आफ्नो मौन तोडेकी छन् । चलचित्र सार्वजनिक प्रदर्शनमा आउन एकसाता कम समय बाँकी रहँदा प्रियंकाले बल्ल मौन तोडेकी हुन् । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अन्तरंग दृश्यको बिषयमा नबोल्नु चलचित्र युनिटको प्रचार योजना रहेको प्रियंकाले बताइन् । ‘गीत सार्वजनिक गर्नु अगाडिनै यस बिषयमा नबोल्ने निर्माण युनिटको योजना थियो’ प्रियंकाले भनिन् ‘मलाई लाज लागेर, अप्ठ्यारो लागेर वा अन्य केही भएर नबोलेको होइन ।’ उनले चलचित्रमा रहेको आफ्नो अन्तरंग दृश्य जायज भएको सुनाइन् । 

‘मैले गरेको भूमिकालाई लिएर सकारात्मक र नकारात्मक दुबै खालको प्रतिक्रिया आएको छ’ उनले भनिन् ‘त्यसलाई मैले दर्शकको माया ठानेकी छु ।’ उक्त दृश्यले आफुले कहिलै पनि तनाव झेल्नु नपरेको उनले कार्यक्रममा सबै माझ राखिन् ।

चलचित्र अभिनय गर्ने बेलामा आफ्नो दृश्य सजिलै पच्दैन भन्ने लागेको बताएकी उनले भनिन् ‘करिअरको यो विन्दुमा आएर यस्ता दृश्य आवश्यक नभए किन गर्थे ? ’

‘आफुले माया गरेको कलाकार राम्रो बाटोमा हिड्योस् भन्ने दर्शकको चाहना हुन्छ’ उनले थपिन्, ‘दर्शकले दिनु भएको प्रतिक्रियालाई मायाको रुपमा हेरेकी छु ।’ कथा काठमाडांैमा दिएको दृश्यमार्फत आफुले चलचित्रको ट्रेन्ड चेन्ज गर्न खोजेको उनको भनाई रहेको थियो । 

गीत सार्वजनिक भएपछि आफु सोची सम्झी चुप रहेको बताएकी उनले विवाद समयमा बोल्दा विवाद र बहस अझै चर्किने देखेर नबोलेको  बताइन् । उनले अगाडि भनिन् ‘यति धेरै समय चलचित्र क्षेत्रमा बिताइसके । विवादको बेलामा चुप बस्नु मेरो यो क्षेत्रको सिकाइ पनि हो ।’

कार्यक्रममा निर्देशक संगीता श्रेष्ठले प्रियंका र प्रमोदको उक्त दृश्यबिना चलचित्र अधुरो रहने बताइन् । ‘हामीले चलचित्रमा उठाएको तीन कथा मध्ये एक कथा प्रमोद र प्रियंकाले निर्वाहा गरेका हुन्’ श्रेष्ठले भनिन् ‘ प्रियंका र प्रमोदको अन्तरंग दृश्य चर्चाका लागि होइन । कथाको माग हो ।’ यौन हिंसा पनि चलचित्रले देखाउन खोजेकोले उक्त दृश्य राखिएको श्रेष्ठको भनाई थियो ।

‘आफुले गलत नियत राखेर चलचित्र बनाएको भए प्रियंकाले उक्त दृश्य गर्ने थिइनन् होला । सेन्सरले पिजी सर्टिफिकेट दिँदैनथियो होला’ निर्देशक श्रेष्ठको भनाई रहेको थियो । श्रेष्ठले भन्दै थिइन् ‘अहिले उठेको सबै कुराको जबाफ चलचित्र रिलिज हो ।’

अभिनेता प्रमोद अग्रहरीले यस बिषयमा आफुले पहिलेनै धेरै कुरा बोली सकेकोले अब चलचित्र आएपछि बोल्ने बताए । उनले चलचित्रमा रहेको उक्त दृश्यले काठमाडौंको समाजभित्र रहेको एक चरित्रको कथा भएको सुनाए ।

अभिनेत्री प्रियंकाको इन्गेजमेन्टलगतै गीत सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएपछिका चलचित्रको केही कार्यक्रममा प्रियंका अनुपस्थित थिइन् । यो हिसावले पनि गीतको उक्त दृश्यमा प्रियंका असमत छिन् । उनको हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीले यो बिषयमा असहमति जनाए जस्ता समाचार बाहिर नआएको पनि होइन । 

कार्यक्रममा प्रियंकाले सबै समाचारको खण्डन मात्र गरिन् । उनले आयुष्मानले आफ्नो उक्त दृश्य राम्रो लागेको भनेको समेत सुनाइन् । उनले भनिन् ‘म एउटा यस्तो परिवारमा बिहे गरेर जाँदैछु, त्यो परिवारले यो सबै कुरा वुझ्नुहुन्छ । रविना मामु, मेरो मामु सबै कुरामा मलाई समर्थन छ ।’ 

आफु र कलाकार प्रमोद अग्रहरि लिभिङ टूगेदरमा बसेको यूवा यूवतीको भूमिकामा रहेको बताएकी प्रियंकाले चलचित्रकोे मुख्य थिम भनेको ‘हिंसा बन्द गरौ’ रहेको बताइन् । ‘बिहे गरिसकेपछि छोरीलाई श्रीमान्ले पिट्यो भने पनि बोल्न हुँदैन । श्रीमान्ले गर्ने हरेक क्रियाकलापलाई सहँदा त्यसले श्रीमान्को आत्मबल बढाउँदै जान्छ । हिंसा ग्राउन्ड लेबलबाटनै बन्द गर्नुपर्छ भन्ने चलचित्रको कथा हो ’ प्रियंकाले थपिन् ।

चलचित्रमा प्रमोद र प्रियंकाको अलवा आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, सन्ध्या केसीको समेत अभिनय रहेको छ । सञ्चारकर्मीसमेत रहेकी संगीताको यो निर्देशनमा डेब्यु चलचित्र हो ।

विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । चलचित्र आगामी शुक्रबार अर्थात १२ असोजबाट देशभर प्रदर्शनमा आउँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप