शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुुग्लिन सडक फेरि तीन ठाउँमा भासियो

आइतबार, ०७ असोज २०७५, २० : ०४
आइतबार, ०७ असोज २०७५

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । 

सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करिब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो । फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन । 

सोही सडकको १७ किलोमा ४० मिटर भासिएको छ । सो ठाउँमा विसं २०६० मा ‘स्वायल रक एङ्करिङ्ग’ गरिएको थियो । एङ्करिङ्गले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको छ । सडक छ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए । 

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । सो ठाउँमा एक दशमलब पाँच मिटर चौडा सडक भासिएको छ । ‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो । पर्खालसमेत लच्किएर बसेको छ । माटो भरेका कारण पुनः तलबाटै बनाउनु पर्ने सुझाव प्राविधिकले दिएका छन् । तीनवटै ठाउँमा ठेकेदार कम्पनीको बीमा हुने भएकाले काम शुरु भएको छैन । 

परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए । सडक निर्माणको कार्य हालै सम्पन्न भए पनि एक वर्षसम्म बिग्रे भत्केमा निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ । 

सो सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का दिइएको थियो । तीनवटै ठेकेदार कम्पनीका क्षेत्रमा सडक भासिएको हो । ती ठाउँ र भासिएका ठाउँमा एकतर्फी मात्रै सवारी गुडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप