बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कालीमाटीको जत्रै तरकारी बजार शुरु

आइतबार, ०७ असोज २०७५, २० : ४१
आइतबार, ०७ असोज २०७५

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताएका छन् । 

कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण गरेको भरतपुर महानगर फलफूल तथा तरकारी बजारको आज उद्घाटन गर्दै उनले कृषिमा आधुनिकता र व्यावसायिकताका निम्ति बजार व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्दै राम्रो, व्यवस्थित, कृषक र उपभोक्ता नठगिने बजार भएमा मात्रै उत्पादन बढाउन सकिने बताए । 

हालै आफू चीन र भारतको भ्रमणमा जाँदा त्यहाँका उच्च अधिकारीले समेत भरतपुर महानगरको विकासमा चासो व्यक्त गरेको जानकारी दिँदै उनले राप्ती र नारायणीको किनारबाट चक्रपथ निर्माण गरी नेपालकै नमूना महानगरपालिका बनाउनुपर्ने तथा दुवै नदीको पानीको उपयोग गरी जलयात्रा र पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले व्यावसायिक रुपमा एउटा क्षेत्रमा एउटा कृषि उत्पादन गर्न सकिएमा स्वदेशलाई धानेर निर्यात गर्न सकिने बताए । यहाँका ६६ व्यवसायीको लगानीबाट तरकारी बजारको निर्माण गरिएको हो । हालसम्म रु १४ करोड खर्च भइसकेको प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए । उनका अनुसार बजारमा सडक कालोपत्रलगायत काम बाँकी छ ।

सबै काम सम्पन्न गर्दा रु १६ करोड लगानी हुने अनुमान छ । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिघा जग्गा भाडामा लिएर २२० कक्षसहितको सुविधासम्पन्न बजार निर्माण गरिएको हो । फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार बनाइएको हो । तरकारी बजारमा चिया खाजाका लागि दुई खाजाघर, शौचालय, पर्याप्त पार्किङस्थल र खानेपानीको व्यवस्था छ । 

प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालीमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरुले निर्माण गरेको जिकिर गरे । उनले भने, ‘कालीमाटीमा ४० रोपनी जग्गा छ, हाम्रो ३९ रोपनी छ तर त्यहाँको भन्दा धेरै सटर र व्यवस्थित हामीले बनाएका छौँ ।’ गत फागुनदेखि निर्माण शुरु गरिएको बजार छोटो अवधिमै सम्पन्न भएको हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप