बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानका नयाँ प्रमकी दोस्री श्रीमती भन्छिन्, ‘सोचेको थिइनँ कि इमरान खानले मेरो खुट्टा समात्नेछन्’

सोमबार, ०८ असोज २०७५, ११ : २९
सोमबार, ०८ असोज २०७५

रेहान फजल /बीबीसी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी दोस्री श्रीमती रेहाम खानको हालै प्रकाशित आत्मकथाले भारत, पाकिस्तान र ब्रिटेनका हरेक स्थानमा तहल्का मच्चाएको छ ।

रेहाम खानको कहानी सुरु हुन्छ लिबियाबाट जहाँ सन् १९७३ मा उनको जन्म एक पाकिस्तानी नाक, कान घाँटीका डाक्टर नय्यर रमजानको घरमा भएको थियो । बुवाले आफ्नी आमालाई सधैं ‘डार्लिङ’ भनेर बोलाउने कुरा नै रेहामको मानस्पटलमा कैद भएको बुवाको सबैभन्दा मधुर याद भएको उनी बताउँछिन्  ।

रेहाम भन्छिन्, ‘हामी त हाम्रा अभिभावकलाई बुझ्दैनथ्यौं । उहाँहरुले के गरिरहनुभएको छ, त्यो धेरैसम्म बुझेनौं । बुवाले आमालाई ‘डार्लिङ’ भनेर बोलाउनु हाम्रो लागि अचम्मको कुरा थियो । यति मात्र होइन, बुवा कतै बाहिर गएर घर भित्र छिर्नेबित्तिकै आमालाई चुम्बन गर्नुहुन्थ्यो ।’

‘पाकिस्तानी संस्कृतिका लागि यो अचम्मको कुरा थियो किनभने सार्वजनिक रुपमा भावनालाई व्यक्त गर्नु राम्रो मानिँदैनथ्यो । म यो यसकारण पनि बताउन चाहन्छु कि पाकिस्तानमा मैले यस्तो याद गरेको छु । सोच्थें सायद भारतमा पनि श्रीमानहरुले श्रीमतीसँग निकै खुसी भएर कुरा गर्छन् तर वास्तवमा उनीहरु आफ्ना श्रीमतीलाई त्यति वास्ता नै गर्दा रहेनछन् ।’

किशोरावस्थामा रेहाम निकै बोलक्कड थिइन् र कलेजमा महिलाको समूहलाई ती विषयमा जानकारी दिन्थिन् जसबारे उनीहरुलाई घरमा बताइँदैनथ्यो ।

जब कण्डम लिएर स्कूल पुगिन् रेहामः

नतिजा यो भयो कि उनका साथीहरुले उनको नाम ‘मोर’ राखे जसको अर्थ हुन्छ ‘आमा’ ।

रेहाम याद गर्छिन्, ‘मलाई निकै परिपक्व सम्झिइन्थ्यो । परिवारले पनि र साथीहरुले पनि । म त्यो भूमिका निभाउँथे जसलाई आजकाल ‘एगनी आन्ट’ भनिन्छ । म धेरैजसो महिलालाई जम्मा गरेर उनीहरुको मानसिक, भावनात्मक र शारिरिक समस्यामाथि भाषण दिन्थें, त्यो पनि निकै भावुक भएर ।’

‘मलाई याद छ कि कक्षा ९ मा आफ्ना साथीहरुको अनुरोधमा म कन्डम लिएर आफ्नो स्कूल पुगेकी थिएँ । मेरो बुवा अफगान शरणार्थीका लागि निःशुल्क मेडिकल क्याम्प लगाउने गर्नुहुन्थ्यो र उहाँको दराजमा कण्डमका ठूल्ठूला कार्टुन राखिएका हुन्थे । बाल्यकालमा मलाई याद छ कि हामी त्यसको बेलुन बनाएर उडाउँथ्यौं । त्यसको वास्तविक प्रयोग के हो, हामीलाई थाहा थिएन ।’

‘निकै अचम्म छ, हाम्रो समाजमा महिलालाई १७–१८ वर्षमा विवाह गराइन्छ । तर उनीहरुलाई यो बताइँदैन कि अब उनीहरुले के गर्नुपर्छ । उनीहरुलाई सेक्स, गर्भनिरोधक वा सम्बन्धबारे केही जानकारी दिइएको हुँदैन । म मानिसहरुको निकै राम्रो नक्कल गर्थे । बेनजीर भुट्टोको भाषण जब म हुबहु सुनाउँथे तब मेरा साथीहरु निकै रमाइलो मान्थे । जब मैले यो कुरा आफ्नो किताबले लेखें तब मेरा छोरीहरुले मेरो खिल्ली उडाउँदै भने, ‘उफ्,  तपाईंले यो कुरा किताबमा समेत लेख्नुभयो ?’’

१९ वर्षको उमेरमा उनीभन्दा १६ वर्ष जेठा उनका फुपूका छोरा एजाज रहमानले उनलाई विवाहको प्रस्ताव राखे जसलाई उनका आमा–बुवाले स्विकार गरे । तर पहिलो दिनदेखि नै उक्त विवाह चलेन र रेहाम धेरैजसो  घरेलु हिंसाको शिकार बन्नुपर्यो ।

रेहाम भन्छिन्, ‘यस्तो होइन कि मेरो पहिलो श्रीमानले मलाई एक आदर्श र निपुण श्रीमती बनाउन चाहन्थे । वास्तवमा उनको मनशाय यो थियो कि म सधैं उनको नियन्त्रणमा रहूँ ।’

१३ वर्षपछि सम्बन्धविच्छेदः

रेहाम भन्छिन्, ‘घरेलु हिंसाको अर्थ कसैले तपाईंलाई हात उठाउनु वा कुनै वस्तुले हिर्काउनु होइन । घरेलु हिंसा सुरु हुन्छ एक ‘कन्ट्रोल सिचुएशन’ ले । घरेलु हिंसा गर्ने व्यक्तिले आफू कहाँसम्म जाने भन्ने निर्धारण गर्छ । कम उमेरका युवती नै धेरैजसो घरेलु हिंसाका शिकार हुन्छन् । मैले आफ्नो विवाहको पहिलो दिन अझ भनौं पहिलो घण्टा नै बुझिसकेको थिएँ कि केही पनि ठिक भएको छैन ।’

‘घरेलु हिंसामा श्रीमान्को वित्तिय नियन्त्रण बढिरहन्छ । सुरुमा गाली गलौज हुन्छ त्यसपछि कुटपिट । सबै गल्ती तपाईंकै हो भन्ने महसुस गराइन्छ र तपाईंलाई बेकार, कुरुप र असफल बताइन्छ जसका कारण तपाईंको सबै आत्मविश्वास समाप्त हुने गर्छ ।’

रेहामका अनुसार आफ्नो पहिलो श्रीमान्सँग साढे १२ वर्षसम्म सँगै बस्दा उनलाई कहिले पनि महसुस भएन कि उनी घरमा बसिरहेकी छिन् ।

घरको अर्थ सफा–सुग्घर ओछ्यान र चम्किलो भुईं होइन । यदि घरमा हाँसो खुसी र आफूले माया गर्ने व्यक्तिको काँध हुँदैन भने त्यो घरको कुनै अर्थ हुँदैन ।

१३ वर्षको तितो वैवाहिक जीवन र तीन सन्तान जन्माएपछि रेहामले आफ्ना पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् । सम्बन्धविच्छेदको सुरुवाती दिनमा आर्थिक समस्या भएपनि उनलाई मानसिक शान्ति थियो ।

उनले सुरुमा ‘लिगल टिभी’ मा काम गरिन् त्यसपछि बीबीसी टेलिभिजनमा । रेहाम याद गर्छिन्, ‘जब मैले सम्बन्धविच्छेद लिने निर्णय गरें तब सबै अदालती कारवाही आफैं सम्हालिरहेको थिएँ । आफ्ना सन्तानलाई श्रीमानबाट बचाउने कोसिस पनि गरिरहेको थिएँ । रत्तिभर पैसा थिएन । मसँग तीन सय पाकिस्तानी रुपैयाँ थियो ।’

‘मेरो जुन साझा खाता थियो त्यो पनि श्रीमानले ब्लक गरिदिए । मेरो लागि अघि बढ्नु थप चुनौतीपूर्ण थियो । मानिसहरुले के भन्छन् भनेर सोच्न थालें तर जब मैले कदम उठाएँ तब जीवन निकै सहज भयो । अत्यधिक प्रयास र दुःख गर्नुपर्यो तर घरको माहौल निकै शान्त र सुन्दर भएको थियो । बच्चाहरुको मुस्कान फर्किएको थियो र उनीहरुको आवाज सुनिन थालेको थियो ।’

इमरानले एसएमएस गरेर बोलाएः

त्यसपछि अचानक उनले ब्रिटेनमा बीबीसीको जागिर छोडिदिइन् र पाकिस्तान फिर्ता भइन् जहाँ उनी एक हाइ प्रोफाइल टिभी एंकर बनिन् ।

यसैबीच उनले इमरान खानसँग दुईपटक अन्तर्वार्ता लिने मौका पाइन् । त्यसको केही समयपछि इमरानले रेहामलाई एसएमएस पठाएर भेट्न इच्छा देखाए ।

केही दिनको आलटालपछि रेहाम उनलाई भेट्न उनको घर गइन् जहाँ इमरानले उनलाई विवाहको प्रस्ताव राखिहाले ।

रेहामलाई उक्त भेट अहिलेसम्म याद छ । उनी भन्छिन्, ‘म उनको घरको आँगनमा उभिएकी थिएँ । इमरान आफ्नो बगैंचामा कुकुरलाई घुमाइरहेका थिए । उनले मलाई आफूतर्फ बोलाए । मलाई अप्ठेरो लाग्यो किनभने मैले अग्लो हिल भएको जुत्ता लगाएको थिएँ तर बीबीसीले मलाई जहाँ जाँदा पनि एउटा फ्ल्याट चप्पल साथमा नै लानुपर्छ भनेर सिकाएको थियो ।’

‘मैले त्यहाँ आफ्नो जुत्ता निकालेर चप्पल लगाएँ र इमरान भएठाउँ गएँ । जब म उनको बगैंचातर्फ हिँडे तब इमरानले मेरो जुत्ता उठाएर मेचको बीचमा राखेको देखें । कुकुरले मेरो जुत्तालाई नटोकोस् भन्नका लागि उनले यसो गरेका थिए ।’

त्यति नै बेला एउटा रोचक घटना घटित भयो । रेहाम इमरानको बगैंचामा बसिरहेका बेला थुप्रै लामखुट्टेले टोक्यो ।

इमरानले यस्तो देखेपछि उनी अचानक झुके र आफ्नो दुबै हातले रेहामको पिँडौला ढाके ।

रेहाम भन्छिन्, ‘सायद मेरो रगत धेरै नै गुलियो छ । जब उनी बाथरुम गए तब थुप्रै लामखुट्टे मेरो वरिपरि घुम्न थाल्यो । अचानक मैले यो देखें कि इमरानले आफ्नो ठूलो हातले मेरो खुट्टालाई छोपिरहेका थिए । म डराएर उठें । यो उनको आम छविभन्दा भिन्न निकै केयरिङ र रोमान्टिक रुप थियो । म सोच्न पनि सक्दिनथें कि एक व्यक्ति जो यति घमन्डमा रहन्छन्, उनले मेरो यसरी खुट्टा समात्नेछन् । त्यही भेटमा उनले मलाई विवाहको प्रस्ताव राखेका थिए । मैले उनलाई आफू ४२ वर्ष पुगिसकेको बताएँ, उनले यसलाई सहजै स्विकारे । ’

रेहामले इमरानको विवाहको प्रस्ताव स्विकारिन् । त्यसपछि उनीहरुमा मतभेद हुँदा हुँदै पनि अक्टोबर ३१ सन् २०१४ मा दुबैको विवाह भयो । मैले रेहामलाई सोधें कि इमरानको ‘प्लेब्वई’ को इमेज छ । के विवाह पछि पनि यो सिलसिला जारी रह्यो ?

रेहामले जवाफ दिइन्, ‘यो सही हो कि जब हामी कसैसँग विवाह गर्छौं तब उसको पुरानो रेकर्ड हेर्छौं । तर हाम्रो आफन्तले भन्ने गर्छन् कि विवाह अघि जो प्लेब्वई हुन्छन् उनीहरुको बानी विवाहपछि ठिक हुन्छ । यो बिल्कुल गलत कुरा हो । म आफ्नो अनुभवबाट भन्न सक्छु कि यस्तो हुँदै हुँदैन । यदि कुनै कुरामा मानिसको बानी बसिसकेको छ भने त्यसलाई परिवर्तन गर्न सकिन्नँ । मेरो किताबमा एउटा लाइन छ, इमरानले मलाई भन्थे, ‘बेबी यु कान्ट टिच एन ओल्ड डग न्यू ट्रिक’ भन्नुको अर्थ यो हो कि तपाईंले जे सुकै गर्नुहोस्, म सुध्रिनेछैन ।’

आफ्ना पूर्व प्रेमीको कहानी सुनाउँथेः

पहिलो दिनदेखि नै इमरान र रेहामबीच दुरी बढ्न सुरु भयो । रेहामका अनुसार केही बाहिरी व्यक्ति र इमरानकी पहिलो श्रीमती जमाइमा गोल्डस्मिथको असर उनीमाथि त्यतिबेलासम्म थियो ।

मैले रेहामलाई इमरान आफ्नी पूर्वपत्नी र अन्य महिलाको कुराकानी गर्थे भनेर सोधें ।

रेहामको जवाफ थियो, ‘निकै धेरै, हदभन्दा बढी । अरु मानिसहरुले पनि मलाई उनका विभिन्न किस्सा सुनाए । कुनै श्रीमतीलाई आफ्ना श्रीमानले पूर्व श्रीमती र आफ्नो विगतबारे कुरा गरिरहेको मन पर्दैन । तर इमरान आफ्नी पूर्व श्रीमती र प्रेमिकाको कुरा गर्न रोकिँदैनथे । मेरो किताब अब मानिसहरुले पढिसकेपछि केही महिलाले मलाई सम्पर्क गरेका छन् जो इमरानको जीवनको हिस्सा बताउँछन् । जुन किस्सा मैले किताबमा लेखेको थिएँ त्यही किस्सा इमरानले उनीहरुलाई पनि सुनाएको उनीहरुले मलाई बताए ।’

इमरानको ७० को दशककी एक बलिउड अभिनेत्रीसँगको किस्सा निकै चर्चित थियो । इमरानले रेहामलाई यो कहानी सही भएको स्पष्ट पारे ।

रेहाम भन्छिन्, ‘इमरानले मलाई भने कि उनलाई ती अभिनेत्रीसँग डर लाग्न थालेको थियो किनभने उनले लण्डनसम्म उनको पिछा गरिन् । ती अभिनेत्रीका नजिकका एक व्यक्तिले मलाई भने कि वास्तवमा इमरान उनको पिछा लागेका थिए र पछि ती अभिनेत्रीले इमरानबारे भनेकी थिइन्, ‘नाम ठूलो तर दर्शन छोटो ।’’

इमरानको रहन–सहन र नीजि जीवनका केही कुरा रेहामलाई मन परेन । इमरानको क्याम्पबाट पनि उनीविरुद्ध लगातार विभिन्न अभियान सुरु गरियो ।

रेहाम याद गर्छिन्, ‘मैले बुझ्नै सकेको छैन कि उनले मेरो बारेमा के सोचिरहेका छन् । करिब एक वर्ष हामी सँगै रहँदा उनी मेरो तारिफ गर्न थाक्दैनथे । जब म कतै काम गरेर आउँथे वा अन्तर्वार्ता दिएर आउँथे तब उनले मेरो यति तारिफ गर्दथे कि म लाजले भुतुक्कै हुन्थें । तर मेरो पिठ्युँ पछाडि मविरुद्ध षड्यन्त्र रचिँदै थियो र इमरान त्यसको हिस्सा थिए । हो, यो कुरा सही हो कि विवाह अघि र विवाह पछि पनि जसरी उनी आफ्नो पार्टीलाई चलाइरहेका थिए, त्यसमा मेरो आपत्ति थियो । म उनलाई यसका लागि पटक पटक सल्लाह दिइरहन्थें ।’

‘विवाह अघि त इमरान भन्दथे कि म तिम्रो सल्लाहमा काम गर्नेछु । तर विवाह पछि जब मैले त्यही कुरा गर्थें, उनी मलाई गाली गर्दथे । म पार्टीमा हावी हुने कुरै हुँदैनथ्यो किनभने इमरान मसँग राजनीतिबारे कुरा गर्न रुचाउँदैनथे । केही महिना पछि त उनले मलाई राजनीतिबारे कुरा गर्न मन भए लेखेर देउ भन्न थालेका थिए किनभने उनका अनुसार बेलुकाको समय उनको संगीत सुन्ने समय हो । मलाई यो कुरा निकै अचम्म लाग्थ्यो ।’

रेहामलाई विश्वास गर्ने हो भने इमरानको वरिपरि घुम्ने मानिसहरु, कालो जादु र इमरानको नीजि जीवशैलीले उनलाई उनीबाट टाढा गराएको हो ।

इमरानलाई क्षती पुर्याउनका लागि लेखिन् किताब ?

रेहामको यो किताब त्यतिबेला सार्वजनिक भएको थियो जब इमरान पाकिस्तानको राष्ट्रसभाको चुनाव लडिरहेका थिए । कतिले यो किताबमार्फत रेहामले इमरानलाई राजनीतिक रुपमा क्षती पुर्याउने कोसिस गरिरहेको पनि बताए ।

तर यदि उनले यस्तो उद्देश्य राखेको भए उनी यसमा सफल भइनन् र इमरानले पाकिस्तानका प्रधानमन्त्रीको रुपमा शपथ लिइसकेका छन् ।

मैले रेहामलाई सोधें, ‘तपाईंले यदि इमरानसँग सम्बन्धविच्छेद नगरेको भए तपाईं पाकिस्तानकी फर्स्ट लेडी हुनुहुन्थ्यो, के तपाईंलाई यसमा अफसोस लागेका छैन ?’

रेहामको जवाफ थियो, ‘म यस्तो व्यक्तिसँग सम्झौता गर्न सक्ने अवस्थामा छैन । उनले ममाथि मात्र दुर्व्यवहार गरेको भए म सहन्थें होला तर उनले देशसँग खेलिरहेका थिए । म बुझ्छु कि इमरानले जुन कारणले मलाई विवाहको प्रस्ताव राखे, त्यो गलत थियो । उनको र मेरो स्वभाव विपरित छ ।’

‘एक राजनीतिज्ञ वा प्रधानमन्त्रीकी श्रीमती हुनका लागि मेरो ‘जेनेटिक स्ट्रक्चर’ ठिक छैन । यदि कसैले गलत काम गरे, त्यसलाई म नजरअन्दाज गर्न सक्दिनँ । जब सम्बन्ध टुट्यो, त्यसपछि मलाई आभाष भयो कि मैले यस्तो मूर्ख व्यक्तिलाई किन विवाह गरेको होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप