बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्य–एसियामा ‘दोस्रो मक्का’ बन्ने बाटोतर्फ अग्रसर रहेको छ एक देश

सोमबार, ०८ असोज २०७५, १२ : ०५
सोमबार, ०८ असोज २०७५

बीबीसी । उज्बेकिस्तान ‘मिनी मक्का’ बन्न चाहन्छ । मध्य–एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको यो देशमा धेरै पुरानो संरक्षित कैयौँ मस्जिद र नाम चलेका तीर्थस्थल छन् । त्यसमध्ये धेरै त प्राचीन ‘रेसम मार्ग’मा पर्ने समरकन्द र बुखाराजस्ता सहरहरूमा रहेका छन् । 

लाखौँ उज्बेक नागरिकका लागि यी पवित्र स्थल हुन् तर उज्बेक सरकारका लागि यी स्थल पर्यटनलाई बढावा दिने महत्वपूर्ण अवसर हो । त्यो पनि तब जब दशकौँ लामो पृथकतावादी आन्दोलन पछि अन्तत देश स्वतन्त्र भएको छ । 

समरकन्दमा दजनौं शानदार समाधिहरू छन् । तैमुरलङ्गको चिहान यही सहरमा छ । यसको अतिरिक्त खगोल वैज्ञानिक उलुघबेक र मुसलमान धर्मका प्रवर्तक मोहम्मदको नजिकको नातेदार कुसम इब्न अब्बासलाई पनि समरकन्दमा नै गाडिएको छ । 

कुसम इब्न अब्बासले नै सातौँ शताब्दीमा इस्लामलाई यो देशमा लिएर आएका थिए । 

त्यहाँ रहेको एउटा चिहान भने बाँकी अरूबाट अलग्गै छ । त्यो हो दानियारको चिहान । त्यहाँ पुग्नका लागि प्रत्येक बिहान सयौँ मानिसहरू सहरको बाहिरी क्षेत्रमा रहेको पहाडी चुली चढ्छन् । 

शिखरसम्म पुग्ने बाटो पुरानो सहरको खण्डहरहरू हुँदै जानुपर्छ । यो बाटोको छेउमा रूखहरूको लहर देखिन्छ । चढ्दा केही आलिसान समाधिहरू पनि देखिन्छन् । 

पहाडमाथि हावाको साथसाथै चराहरूको चिरबिर आवाज पनि सुनिन्छ । त्यसको अतिरिक्त प्रार्थनाहरूको आवाज पनि सुन्न सकिन्छ । 

यहाँ अक्सर परिवार जम्मा भएर दिउँसोको भोजन गर्छन् र नौजवान सेल्फी लिन व्यस्त रहन्छन् । 

ध्यान दिनुपर्ने कुरा के हो भने यहाँ पुग्ने सबै मुसलमानहरू हुँदैनन् । यहाँ इसाईहरूको पनि उलेख्य सङ्ख्या देखिन्छ । किनकि यो स्थानको उल्लेख बाइबलमा सेन्ड ड्यानियलको अन्तिम विश्रामस्थलको रूपमा गरिएको छ । 

उज्बेक मानिसहरू सेन्ट ड्यानियललाई दानियार भन्छन् । 

फिरदोब्सी एक युवा गाइड हुन् । उनी भन्छन्, “मुसलमान, क्रिस्चियन र यहुदी । यहाँ सबै आउँछन् । उनीहरू सबै यहाँ आआफ्नो हिसाबले पूजा गर्छन् । सेन्ट ड्यानियल एक यहुदी थिए तर हाम्रो मुसलमान समाजका उनलाई अल्लाहको पैगम्बर भनेर पूजा गरिन्छ ।”

दिलरबो भन्छिन्, “म यहाँ अक्सर आउँछु । यहाँ आएर म पोगम्बर दानियारको आत्माको शान्तिको लागि प्रार्थना गर्छु । उनी क्रिस्चियनहरूको मात्र सन्त होइनन् । उनी मानवताका लागि आएका थिए । मैले उनको सम्मानमा आफ्नो नातिको नाम समेत दानियार राखेको छु ।”

यहाँ हरेक दिन एक मौलाना दिउँसो प्रार्थना आयोजना गर्छन् । त्यसपछि मानिहरूलाई लाइन बनाएर चिहानलाई नजिकबाट हेर्न मौका दिइन्छ । 

यो एक असाधरण भवन हो । करिब ६५ फिट लामो र मध्य–युगीन इस्लामिक शैलीका भित्री स्तम्भ र गुम्बजाकार छतको साथ माटो रङको इँटाबाट बनेको छ ।

समाधिभित्र १८ मिटर लामो कफिन छ । यसमाथि हरियो रङ्गको एक मखमलको कपडा बिच्छ्याइएको छ, जसमाथि पवित्र कुरानको आयातहरू लेखिएको छ । 

रुसबाट घुम्न आएका क्रिस्टिना र इजरायलबाट आएका सुजैनले आफूहरू इसाई भएको र यो स्थानको ठूलो महत्व रहेको बताए । 

सुजैनले क्रिस्चियनहरू यो समाधिमा आएर प्रर्थना गर्न पाउनु ठूलो भएको बताए । यसलाई उनले उज्बेक मानिसहरूको सहिष्णु हुनुको पहिचान बताए । कैयौँ मानिसहरूले स्वास्थसम्बन्धी समस्याहरूका लागि पनि यो स्थानमा आएर प्रार्थना गर्छन् । 

उज्बेक जनताहरू आज पनि त्यो परम्पराको पालना गर्छन्, जो यो देशमा इस्लाम धर्म आउनुभन्दा पहिलेदेखि यहाँ थियो । 

उज्बेकिस्तानमा १२०० वर्ष पहिले इस्लाम आएको थियो । तर मानिसहरूले धर्मलाई आफ्नो परम्परामा हाबी हुन दिएनन् । 

सायद यही कारणले होला सेन्ट ड्यानियलको समाधिसँग जोडिएको कैयौँ किंवदन्ती यहाँ सुनिन्छ ।  

उज्बेकिस्तानको सरकारले आफूहरूकोमा यस्तो सयौँ ऐतिहासिक समाधि भएको दाबी गरेको छ । तीमध्ये कैयौँ सोभियत सङ्घको समयमा बन्द गरिएको थियो । 

एक धार्मिक स्कुलको छात्र रहेका खुर्सिद युलदोसेव भन्छन्, “मध्य एसिया क्षेत्रको इस्लाम निक्कै उदार छ । यो समावेशी तथा स्थानीय परम्पराहरूको साथ मिसिएको छ । यही कारण यहाँ धर्मको व्याख्या बढी सहिष्णुतताको साथमा गरिएको छ । यसमा राजनीतिक इस्लामसँग कुनै लिनुदिनु छैन ।”

उज्बेक सरकारलाई धेरै डर लाग्ने कुरामा ‘राजनीतिक इस्लाम’ पर्छ । दिवङ्गत राष्ट्रपति इस्लाम करिमोभको २६ वर्षको निरङ्कुश शासनमा हजारौँ स्वतन्त्र मुसलमानहरूलाई जेल हालियो । 

तर अहिले उज्बेकिस्तान बदलिएको दाबी गरिन्छ ।  

सन् २०१६ मा करिमोभको मृत्युपछि सत्तामा आएका वर्तमान उज्बेक राष्ट्रपति सवकत मिर्जियोयेवले देशमा पहिलेभन्दा बढी धार्मिक स्वतन्त्रता भएको दाबी गरेका छन् । 

राष्ट्रपति शवकत हालसालै बनेको ताशकन्द सेन्टर अफ इस्लामिक सिभिलाइजेसनका प्रमुख पनि हुन् । 

उनको भनाइमा नास्तिक सोभियत सङ्घमा रहेको उज्बेकबाट साम्यवाद हट्यो, पछि मानिसहरूमा ज्ञानको कमी भयो । 

उनको यो बयानको इसारा सन् १९९० को दशकमा भ्रमित भएर तालिवान र अलकायदासँग जोडिएको उज्बेक युवकहरूतर्फ थिए । 

नयाँ सरकारले पुरानो स्थानीय परम्पराहरूलाई पुनः जोड दिएर धार्मिक कट्टरतासँग लड्न खोजेको छ । 

राष्ट्रपति शवकतको भनाइ छ, “कट्टरवाद अज्ञानताको परिणाम हो । तर हामी आफ्ना मानिसहरूको ज्ञानको इस्लाम सिख्न चाहन्छन् ।”

तर सत्य के हो भने उज्बेकिस्तानमा कतिवटा समाधि छन् भनेर कसैलाई थाहा छैन । केही अधिकारीहरू यसको सङ्ख्या दुई हजार भएको मान्छन् । 

तर यो पनि के साँचो हो भने यदि उज्बेक सरकारले यी मस्जिद र समाधिहरूमा ठीकसँग काम गरेको खण्डमा देशको पर्यटक बढाउन उनीहरूलाई निक्कै सहयोग हुनेछ ।  

उज्बेकिस्तानको पर्यटन समितिका सहायक प्रमुख अब्दुल अजिज अक्कुलोब भन्छन्, “पछिल्लो वर्ष ९० लाख उज्बेक नागरिकहरूले यहाँ तीर्थयात्रा गरे र यो समाधिमा गएर प्रार्थना गरे । तथापी विदेशी पर्यटकहरूको सङ्ख्या अझै निक्कै कम छ । पछिल्लो एक वर्षमा करिब २० लाख विदेशीहरूले उज्बेकिस्तान घुमे । 

अधिकारीहरूका अनुसार उज्बेकिस्तानले अहिले आएर छिमेकी देशहरूका लागि आफ्नो सीमा खोलिदिएको छ । उनीहरूले भिसाको शर्तहरूमा पनि सरल गरेको छन् । 

अब्दुल अजिज अकुलोव भन्छन्, “विश्व प्रसिद्ध इस्लामिक वैज्ञानिकहरूको अतिरिक्त इमाम अल–बुखारी  र बहाउद्दीन नक्सबन्द जस्ता विद्ववानहरूलाई पनि उज्बेकिस्तानमा अन्त्यष्टि गरिएको छ । यसलाई ठीकसँग प्रचार गर्दा इन्डोनेसिया, मलेसिया, टर्की र भारतजस्ता मुस्लिमहरूको ठूलो जनसंख्या भएको देशहरूबाट हामीहरूले यी ऐतिहासिक स्थलहरूमा लाखौँ अतिरिक्त तीर्थयात्री ल्याउन सक्छौँ ।” 

अब्दुल अजिज अक्कुलोवको कुरामा साँच्चै नै बल छ, किनकि १४औं शताब्दीका सुफी नेता बहाउद्दीन नक्सबन्द नै यति ठूला र लोकप्रिय नेता हुन कि आज पनि संसारभर उनका करौडौं अनुयायी रहेको मानिन्छ । 

सुफी नेता बहाउद्दीन नक्सबन्दको समाधि उज्बेकिस्तानको बुखारा सहरमा छ, जहाँ अझै उज्बेक नागरिकले मात्र प्रवेश पाउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप