शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निकुञ्जलाई बाघको सङ्ख्याले संरक्षणमा चुनौती

सोमबार, ०८ असोज २०७५, १७ : ५५
सोमबार, ०८ असोज २०७५

–नारायण ढुंगाना 

रत्ननगर– विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालीको बाघको तथ्याङ्कले संरक्षणमा चुनौती थपिदिएको छ । 

बाघ अनुगमनको प्रतिवेदनमा उक्त निकुञ्जमा पाँच वर्षको अन्तरालमा २७ बाघ घटेको पाइएपछि संरक्षणमा चुनौती थपिएको हो । यहाँका संरक्षणकर्मी वन्यजन्तुको वासस्थान विनास हुँदै जानु मुख्य कारण रहेको दाबी गर्छन् । 

तुलनात्मक रूपले आत्तिहाल्नुपर्ने अवस्था नभए पनि बाघको संरक्षणमा ध्यान दिनु आवश्यक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । 

‘चितवनको क्यामेरामा सन् २०१३ को भन्दा अहिले बाघका लागि उचित वातावरण छ , बच्चासमेत १२, १३ वटा छन् तर विभिन्न कारणले वासस्थान नास भइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।’ खड्काले  भने । 

आइतबार वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको बाघ अनुगमन प्रतिवेदनमा निकुञ्ज र आसपासका क्षेत्रमा औषत ९३ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । 

यसपालीको अनुगमनमा देशभर ३७ बाघ बढेर २३५ पुगेको पाइए पनि बाघको उपयुक्त वासस्थान मानिने उक्त निकुञ्जमा सन् २०१३मा १२०बाट २७ बाघ घटेर ९३ मात्रै भेटियो । सन् २००९ मा नेपालमा १२१ र सन् २०१३मा १९८ बाघ थिए । 

आफ्नो क्षेत्र खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिजर्वमा बाघ गएकाले पनि चितवनमा कम देखिएको दाबी निकुञ्ज विभागको छ । 

निकुञ्ज विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार अघिल्लो वर्षको साउनमा आएको बाढी, प्राकृतिक अवस्था र जुधेर पनि बाघ कम भएको अर्को कारण हुनसक्छ । ‘बाघ जोगाउन बासस्थान सुधारमा ध्यान दिनुपर्छ, उनले भने, ‘अर्को चुनौती चोरी शिकार पनि हो ।’ 

चितवनमा बाघको क्षमता त्यही ९० देखि १०० कै हाराहारीमा हो । सन् २०१३ मा ‘रिक्याप्चर’ विधिबाट हेर्दा अलिकति बढी सङ्ख्या देखाएको हो की भन्ने लागेको पर्यावरणविद् पौडेलको भनाइ थियो ।

 उक्त निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अहिले वास्तविक तथ्याङ्क आएको भन्दै तुलनात्मक रुपमा बाघ नघटेको बताए । चितवनका संरक्षणकर्मी वासु ढुङ्गाना प्राकृतिक रुपमा वन्जयन्तुको मृत्यु हुने क्रम बढेकाले यसको अनुसन्धान जरुरी रहेको औंल्याउँछन् । 

बाघ, गैंडालगायत वन्यजन्तु नेपालकै सम्पत्ति भएको भन्दै बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जीतु तामाङले वन्यजन्तुको वासस्थान विनास हुँदै गएकामा चिन्ता प्रकट गर्छन् । सङ्ख्यामा मात्रै ध्यान दिने तर वासस्थान संरक्षणमा ध्यान नदिँदा बाघको सङ्ख्या घटेको तामाङको भनाइ थियो । 

निकुञ्जमा भएको बासस्थानको समस्याले विस्तारै बाघ, गैँडालगायत वन्यजन्तु सामुदायिक वनतर्फ आउन थालेका संरक्षणकर्मीले बताए । चराविज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बेलैमा वन्यवन्तुको वासस्थान संरक्षणमा ध्यान नदिने हो भने संरक्षणमा अझै चुनौती थपिने उल्लेख गरे । 

हाल विश्वका १३ देशमा बाघ पाइन्छ । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाति लोप भइसकेका छन् । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप