मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकको रोजाइ : सिद्धगुफा र रक क्लाइम्बिङ

मङ्गलबार, ०९ असोज २०७५, १६ : १२
मङ्गलबार, ०९ असोज २०७५

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । 

विमलनगरमा रहेको दक्षिण एसियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो । गुफा अवलोकन र गुफाभित्र रहेका वस्तुको खोजबिन गर्नका लागि पनि अहिले पर्यटकको वृद्धि भएको सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए । 

यो गुफा पृथ्वीराजमार्गको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगर माथि डाँडामा छ । विमलनगरबाट करीब आधा घण्टाको यात्रा गरी पुगिने गुफामा जो कोही पनि मोहित हुन्छन् । विभिन्न जीवजन्तु तथा भगवान्का आकृति र चमेरोका कारण पनि उक्त गुफा आकर्षणको केन्द्रबिन्दु बनेको हो । 

करीब ४०० मिटर लामो यस गुफाभित्र समयअनुसार विभिन्न खेल हुने गरेकाले गुफा अवलोकनका लागि दैनिक २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अध्यक्ष श्रेष्ठले बताए । 

विमलनगरमै साहसिक एवं मनोरञ्जनात्मक रक क्लाइम्बिङका लागिसमेत पर्यटकको आवागमन बढेको छ ।  चट्टान आरोहण र यहाँको प्राकृतिक सुन्दरताले पनि लोभ्याउने रक क्लाइम्बिङ गर्न आउने पर्यटकले बताएका छन् । 

एक सय पचास मिटर लम्बाइ र १५ मिटर चौडाइ रहेको सो पहरा हिमाली क्षेत्रबाहेक राजमार्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट र लामो आरोहण मार्ग भएको अध्यक्ष श्रेष्ठले बताए । पृथ्वीराजमार्गसँगै जोडिएको उक्त क्षेत्रमा आउने पर्यटकले मस्र्याङ्दी नदीमा र्याफ्टिङ गर्नाका साथै सिद्धगुफा अवलोकन पनि गर्न सक्ने भएकाले रक क्लाइम्बिङ गर्ने पर्यटक बढेको उनले बताए । 

हाल चुनपहरामा दुई मिटरको फरकमा ११ क्लाइम्बिङ रुट खोलिएका र एकैपटक २२ ले जनाले क्लाइम्बिङ गर्न मिल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप