बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड कसरी फेस गर्छौ, ओली धेरै ट्याँट्याँ नगरे हुन्छः प्रकाण्ड (थुनामुक्त हुँदाको ९ तस्बिर)

मङ्गलबार, ०९ असोज २०७५, १९ : ४०
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ ।  

सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो । 

सर्वोच्च अदालतले यसअघि पटक–पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो । सर्वोच्चको आदेशपछि प्रवक्ता विश्वकर्मा थुनामुक्त भएका छन् । उनलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन ।

थुनामुक्त हुँदै सर्वोच्च अदालत परिसर बाहिर प्रकाण्डले यो सत्ता भदौमा उम्रेको च्याउको संज्ञा दिएका छन् । उनले भने, ‘यिनीहरुको समय धेरै छैन । हामीसँग बन्दुक छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।’

‘देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढ्नेछ,’ उनले भने ।  

उनले भने, ‘जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ ।’ नेपालमा क्रान्तिको विरुद्धमा देशी–विदेशी दलालहरु जहिले पनि लाग्ने गरेको उनले बताए । 

प्रचण्डले राम्रोसँग बुझ्नुपर्ने भन्दै उनले जनताको पक्षमा संघर्ष गर्दा हामीलाई ज्यान मुद्दा लगाउने गर्छौं भने प्रचण्डको विरुद्धमा १० हजार नेपाली जनताको हत्या गरेको हत्याराको मुद्दा नेपाली जनताको अदालतमा दर्ता हुने बताए । उनले भने, ‘प्रचण्डले विचार गरेका छन्,  यसमा कसरी फेस गर्छौ ।’ 

त्यस्तै प्रधानमन्त्री ओलीलाई प्रकाण्डले धेरै ट्याँट्याँ नगर्न आग्रह गरेका छन् । ‘ओलीले धेरै ट्याँट्याँ नगरे हुन्छ,’ उनले भने, ‘नेपालमा अहिले भएको यो परिवर्तन ओली र ओलीको पार्टीले ल्याएको होइन् । त्यो बेलाको माओवादी पार्टीले ल्याएको हो । हामीले ल्याएको हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप