शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री अर्याल

मङ्गलबार, ०९ असोज २०७५, २१ : १०
मङ्गलबार, ०९ असोज २०७५

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताएकी छन् । 

राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उनले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख गरिन् । 

भौगोलिक अवस्थितिअनुसार नेपालको हिमाली भेगमा फलफूल, पहाडमा पशुपालन एवं तराईमा अन्य कृषिजन्य उत्पादनका धेरै सम्भावना रहेको बताउँदै उनले त्यसको उपयोग गर्नुपर्ने धारणा राखिन् ।

गरीबी निवारणको माध्यम सहकारी भएको बताउँदै उल्लेख गर्दै उनले सरकारको विकास र समृद्धिको लक्ष्यमा सहकारीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइन् । 

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले सहकारी अभियान विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै सहकारीमा सङ्कलित पूँजीको उपयोगका लागि ऐनमा विद्यमान जटिलता अन्त्य गर्दै अघि बढ्नु अपरिहार्य भएको बताए । 

गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सहकारीले समाज र राज्यको आवश्यकतालाई बोध गरेर उत्पादनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताए । उनले उत्पादन केन्द्रित काम अघि बढाउन सके मात्र समृद्धिको लक्ष्य पूरा गर्न सकिने बताए । 

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तीन खम्बे अर्थ नीतिको एक खम्बाका रुपमा राज्यले सहकारी लिइसकेको बताउँदै यसको नियमन भने अपरिहार्य भएकामा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप