केन्द्रीय संस्करण

नौ हजार घुस रकमसहित अमिन पक्राउ

person access_timeअसोज ९, २०७५ chat_bubble_outline0

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो । 

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा मण्डललाई पक्राउ गरेको जनाएको छ । 

हरिपुर नगरपालिका–८ का सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाइको अंशबण्डाका लागि मण्डलले रु १५ हजार घुस मागेको तर महतो दाजुभाइले मालपोत कार्यालय सेवा केन्द्र हरिवनमै लेखापढीको काम गर्ने रामबहादुर महतोमार्फत रु नौ हजार दिएको शिव नारायण महतोले बताए । 

आफू १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि काम नभएपछि अख्तियारमा खबर गरेर घुस दिन बाध्य भएको पनि उनले बताए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ