केन्द्रीय संस्करण
कैलाश–काठमाडौँ कोरा

कैलाशको काखकी डोल्मालालाई चुम्दा

person explore access_timeअसोज १०, २०७५ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

‘बाई बाई देरापुक’, बिहान हिँड्दाहिँड्दै भारी मनले मनमनै भनेँ । 

अनेक अलौकिक अनुभवसहित दुई रात बिताएको देरापुकमा मैले कैलाशसँग आध्यात्मिक मायाप्रिती गाँसिसकेको थिएँ । त्यो कुनै स्वार्थको सम्बन्ध थिएन, आस्थाको थियो । आदर झन् बढी थियो ।  

अघिल्लो दिन सूर्यास्तअघि एक निमेषका लागि मैले कैलाशको सुन्दरतम सुनौलो दृश्य दर्शन पाएको थिएँ । दुई खैरा पहाडबीच उभिएको क्रिस्टल कैलाशको पछाडिबाट पहेँलो ज्योति यसरी फैलिएको थियो, जहाँ प्रकाशका दिव्य रेशाहरू कैलाशमा ठोक्किएर आकाश अर्कै भएको थियो । सायद त्यो कैलाशले उसलाई सधैँ सम्झनु है भनेर मलाई दिएको अलौकिक उपहार थियो । 

कडा चिसोले छोपेको बिहानीको वातावरणमा हामीभन्दा पहिले नै यात्री बोकेर डोल्माला क्रस गराउन रङरङका घोडाहरू तम्तयार थिए । 

ढाडका दुवैपट्टि खाद्यान्नका बोराहरू बोकेर झ्यापुल्ले याकहरू पनि हिँड्न तम्तयार थिए । मानव सेवाका लागि घोडा र याकको तम्तयारी देख्दा मात्र पनि म फुर्तिलो भएको थिएँ । 

तिब्बती पोर्टरहरूको जोश पनि लोभलायक थियो । उनीहरूसँग अङ्ग्रेजी थिएन । नेपाली त हुने कुरै थिएन । मसँग तिब्बती थिएन तर जहाँ अप्ठेरो त्यहाँ उपाय भनेझैँ हामीले विश्वभाषा मुस्कान र इसारालाई संवादको माध्यम बनायौँ । 

कुनै यात्रीको सानो ब्याग बोकेको एक पोर्टर मसँग पटक पटक हाँस्यो । उसको निरन्तरको हाँसोपछि मैले ऊसँग एउटा सेल्फी खिचेँ । त्यसपछि मैले ऊसँग इसाराले थुप्रै कुरा पनि गरेँ । 

निकैपछि मात्र थाहा भयो, न तिब्बती, न अङ्ग्रेजी, उसको खास भाषा नै इसारा रहेछ । ऊ बोल्न नसक्ने एउटा बोलक्कड तिब्बती रहेछ । 

उसले मलाई देरापुकबाट डोल्माला जाँदाका रमाइला र अप्ठ्याराहरू मात्र होइन, अरू थुप्रै कुरा गरेको थियो । उसले सबैभन्दा शक्तिशाली संवाद मुस्कानबाटै गरेको थियो । म तिब्बतलाई भौगोलिक उच्चताले मात्र सम्झन्न, उसको उच्च मुस्कानलाई पनि उस्तै गरी सम्झिरहने छु ।    

थकित भएका कतिपय यात्री सकी नसकी घोडा चढेका थिए । फुर्तिलो घोडामाथि विराजमान उनीहरूको मुर्झाएको अनुहार टिठलाग्दो थियो । तर बेला–बेला एक्कासि उनीहरू आफूलाई ऊर्जाले भरिभराउ देखाउन हो कि, व्याकप्याक बोकेर मस्तीले हिँडिरहेको मलाई भन्थे, ‘क्या हे हालाचाल भैयाजी ?’

जवाफमा म खिसिक्क हाँसी दिन्थेँ । 

दुई दिनको देरापुक बसाइमा त्यहाँको ओपन ट्वाइलेट परम्परासँग म अभ्यस्त हुन सकेको थिइनँ । त्यसैले मलाई नम्बर टुले निकै दबाब दिइसकेको थियो । खुला पहाडको परपरसम्म छायाँ पर्न सक्ने कुनै ठाउँ देखिरहेको थिइनँ । एक्कासि अलि अगाडि एउटा ठूलो ढुङ्गा देखेँ र ढुङ्गा पछिल्तिर पेट बिसाउने सोच्दै दगुरेँ । 

काम फत्ते भयो । बल्ल ट्वाइलेट पेपरको काम आयो । उचाइमा ‘हाई’ मात्र होइन, अपच र पेट खलास नहुनु पनि अर्को समस्या हो । तर म ती सबैबाट मुक्त भएँ । 

सम्भवतः कैलाशकै आशीर्वादले होला, त्यो हिममय उच्च भूमिमा म बिनाधागोको चङ्गाझैँ निकै हलुका र अराजक भएको थिएँ । मभन्दा बढी त्यहाँको आकाश अराजक हुन थालिसकेको थियो । सेता बादलहरू तत्कालै काला भइसकेका थिए । तर तिनीहरू एकै छिनमा फेरि सेता भए । 

झन्डै एक घन्टा हिँडेपछि अर्कोपट्टिको कैलाश देखिन थाल्यो । प्रत्येक दिशाबाट हेर्दा कैलाश अर्कै अनुहारको देखिँदो रहेछ १ त्यसैबीच मैले दुइटा टाउको आउने गरी फोटो खिचेँ । एउटा कैलाशको टाउको र अर्को सिङसहितको मृत याकको खप्परवाला टाउको । त्यसमा मेरो पनि टाउको आउने गरी मैले अर्को एउटा फोटो पनि खिचेँ । 

जिउँदो मेरो टाउको खै सजीव थियो कि थिएन ? तर कैलाश र मृत याकको टाउकोसहितको तस्बिर निकै सजीव लाग्यो मलाई । ‘ऊँ माने पेम हुँ’ लेखिएका ढुङ्गाहरू समेटिने गरी खिचेको कैलाशको फोटो झन् जीवन्त लाग्यो । 

हिउँ कुल्चँदै हिँड्नुको मजा लिँदै थिएँ । हातले हिउँ खेलाउँदै हिँड्दा झन् बढी मजा भयो । घोडा रइस तिब्बतीहरू आफ्नै भाकामा गीत गाउँदै थिए । तिनका गीत आकाशभरि फैलिएको थियो । 

बादलले ढाकेको सेतो आकाशमुन्तिर हिउँले ढाकेको सेतो जमिनमाथि हिँड्दा मन पनि सेतो नै हुँदोरहेछ । हिउँजस्तै कञ्चन सफा । त्यतिखेर हिँडिरहेको तिब्बती परिवेश मात्र होइन, सम्झनाका सारा संसार मलाई औधी सुन्दर लाग्यो ।

एक हुल स्थानीय तीर्थयात्री पनि मजस्तै जोसले हिँडिरहेको थियो । दार्चेनबाट देरापुक आउँदा बाटामा भेटिएका तिब्बती परिवारजस्तै उनीहरू पनि ल्हासाबाट आएका रहेछन् । तर यिनीहरू अङ्ग्रेजी बुझ्दा रहेनछन् । उनीहरू हाँसेर केही भन्न खोजे झैँ गर्दै मेरै वरिपरि हुँदै हिँडे । उनीहरू मलाई हेरेर ‘शेप्पा शेप्पा’ भन्दै थिए ।

उनीहरूका लागि नेपाली भनेको शेर्पा र शेर्पा भनेको नेपाली रहेछ । मलाई म नेपाली हुँ भन्ने मात्र थियो तर त्यही क्षणपछि मलाई लाग्यो, म शेर्पा पनि हुँ ।  

मैले टाउको अलिअलि झुकाउँदै सहमति जनाएँ, ‘हो, म शेर्पा हो ।’

‘त्यसैले त यसरी हिँड्न सकेका रहेछौँ’, उनीहरूले इसारा र अनुहारको भावबाट यस्तै भनेका हुन् भनेर मैले अनुमान लगाएँ ।

रङ्गीन भेषभूषाका उनीहरूका हाँसो र संवादशैली पनि बाटाछेउका बुद्धिस्ट झण्डाझैँ रङ्गीन थिए । मलाई भेषभूषा र झण्डाको रङ मनपर्छ तर त्यसभन्दा बढी मानिसको रङ । 

केही अगाडि पुग्दा मेरोजस्तै नीलो स्टिक टेक्दै हिउँजस्तै गोरी एउटी केटी क्रमशः डोल्मालासँग नजिकिँदै थिई । ऊ जति गोरी थिई, उसको चस्मा त्यसको ठ्याक्कै उल्टो अर्थात कालो थियो । त्यस्तै कालो चस्मा लगाएको एउटा तिब्बती ऊसँगै हिँड्दै थियो । ऊ गाइड रहेछ । 

‘एक्सक्युज मी ! हाउ लङ टाइम इट टेक्स टु रिच डोल्माला ?’, मैले उसलाई सोधेँ ।

‘हाफ एन हावर’, गाइडले मेरो जिज्ञासाको जवाफमा भन्यो ।

उसको अङ्ग्रेजी राम्रै थियो । त्योभन्दा पनि राम्रो त हिन्दी पो रहेछ । 

‘आपको हिन्दी आता हे ?’, एक छिन अङ्ग्रेजीमा कुरा गरेपछि उसले हिन्दीमै सोध्यो ।   

‘आता हे । लेकिन मुझे इङ्ग्लसमे इजी लग्ता हे’, हिउँमा हिँड्दै मैले भनेँ । भाषा भनेको जुन बोल्यो, त्यही सहज लाग्दोरहेछ । पछिल्लो पाँच वर्षदेखि अङ्ग्रेजीमा गाइडिङ गरिरहेकाले होला, मलाई हिन्दीभन्दा अङ्ग्रेजी सहज लागेको पनि ।

नाम्ग्याल रहेछ उसको नाम । कैलाश क्षेत्रको स्पेसलाइज्ड गाइड रहेछ ऊ । 

नाम्ग्याल केही वर्ष नेपालमा बसेको रहेछ । उसलाई बौद्ध र स्वयम्भुका चप्पाचप्पा थाहा रहेछ । नेपालप्रति उसको अपनत्व नेपालको कुरा गर्दा निस्केको उसको स्वरबाटै बुझेँ मैले । 

‘नेपालमा तिमीलाई फेरि पनि स्वागत छ । कुनै दिन आउ ल’, मैले भनेँ ।

‘पहिलेजस्तो सजिलो छैन । नेपाल साइडमा होइन, हाम्रो साइडमा निकै टाइट छ । तैपनि हेरौँ । एक दिन समय बदलिएला र म पनि नेपाल आउँला’, उसले थप्यो– ‘तिमी ल्हासा आयौ भने मलाई पक्कै सम्पर्क गर । म तिमीलाई ल्हासाका मेरा पहुँचका प्रिय ठाउँहरू लैजानेछु । सम्झ, ल्हासामा नाम्ग्याल नाम गरेको एउटा असल साथी छ ।’ 

मैले उसलाई धन्यवाद दिएँ । उसले मेरो बिजनेस कार्ड माग्यो । 

‘ल्हासा पुगेपछि तिमीलाई इमेल गर्छु । हामी रेगुलर सम्पर्कमा रहन्छौँ’, कार्ड पाएपछि उसले भन्यो । तर म काठमाडौँ फर्केको निकै दिनसम्म पनि उसको इमेल आएको छैन ।  

आशा गरौं, उसले भने झैँ ‘एक दिन’ मलाई इमेल पठाउँला र ‘एक दिन’ नेपाल पनि आउँला । नाम्ग्यालले भने जस्तो ‘एक दिन’ सबै तिब्बतीको जीवनमा आओस् ।    

भुइँमा त हिउँ छँदै थियो । फुर्रफुर्र गर्दै माथिबाट पनि हिउँ झर्न थाल्यो । मेरो नीलो डाउन ज्याकेट सेतो भइसकेको थियो । वरपरका थुपै्र यात्रीहरू पनि हिउँजस्तै सेता देखिए । सेतोको साम्राज्यमा शान्तिको सास फेर्दै थिएँ । 

हिउँ झर्ने क्रम रोकियो । कपडाहरूले फेरि आफ्नै रङ पाए । गेरु रङका चिवर लगाएका तिब्बतीहरू माला जप्दै ओर्लंदै थिए । कोही हामीजस्तै चढ्दै थिए । हिउँको बाटोमा हिँडिरहेका लामाहरू देखेर मन प्रसन्न भयो । उनीहरूको हिँडाइ हेर्दै म पनि हिँडिरहेको थिएँ । 

घाँटीको घण्टी जुधाएर चाँदीको स्वर निकाल्दै अनेक उमेरका तिब्बतीहरू आकाशै मोहित हुने हिउँ र हिमालजस्तै कञ्चन गीत गाउँदै थिए ।

‘तासी देलेक’, बाटामा भेटे जति तिब्बतीलाई म चर्को स्वरमा भन्थेँ ।

उनीहरू पनि तासी देलेक भन्दै अभिवादन फर्काउँथे ।

बाटामा जति पनि तिब्बती भेटेँ, मौसम चिसो भए पनि उनीहरूको मुस्कान न्यानो थियो । 

त्यही चिसो र न्यानो अनुभव गर्दै कैलाश कोराको उच्चतम बिन्दु डोल्माला ९५६४५ मिटर ० पुगेँ म । अब कठिनाइ बाँकी थिएन । मन मात्र होइन, खुट्टा पनि निकै हलुका भयो ।

केही दिनअघिसम्म मलाई थाहा थिएन– म तिब्बत जाँदैछु । मैले सोच्दै नसोचेको मानसरोवर र कैलाशको पवित्र यात्रा गर्दैछु । 

हो, केही दिनअघिसम्म मलाई थाहा थिएन– म डोल्माला जाँदै छु, जुन कतिपय मानिसको जीवनको एउटा महान सपना हुने गर्छ । तर मैले सपना नै नदेखे पनि विपनामै कैलाश काखकी डोल्माला पुगेँ । 

मैले कैलाशलाई साक्षी राखेर डोल्मालामा डोल्मालाई चुमेँ । ऊसँग आँशु बगाएँ । ऊसँग ऊजस्तै पवित्र भएको अनुभव गरेँ ।    

त्यस्तो पवित्र उचाइमा पुग्दाको म कहाँ म थिएँ र १ मैले साँच्चै सत्यम् शिवम् सुन्दरम् साक्षात्कार गरेको थिएँ । 

पेम्बाजीले भने अनुसार डोल्माको अर्थ तिब्बती भाषामा हरित तारा रहेछ । हरित तारा अर्थात बुद्धिस्ट देवी अर्थात हाम्रै चेली भृकुटी । ला भनेको हाइपास अर्थात भञ्याङ । यी दुई शब्दलाई मिलाएर डोल्मालाको

अर्थ हुँदोरहेछ, हरित देवी बस्ने ठाउँ । अहा !

‘कङ्ग्र्याचुलेसन’, नजिकैबाट कसैले भन्यो ।

फर्केर हेरेँ । दोहोरो परिचयपश्चात थाहा भयो, ऊ एउटा घुमन्ते रहेछ । चीनको कुनै प्रान्तबाट एक्लै कैलाश यात्रामा आएको । उसले मैलेजस्तै नीलो ज्याकेट र प्रायः चाइनिजले लाउनेजस्तै ह्याट लगाएको थियो । उमेरले ऊ भर्खरैको केटो देखिन्थ्यो । 

उसले मसँग मेरो मोबाइल माग्यो र फटाफट मेरो फोटो खिचिदिन थाल्यो ।

‘धन्यवाद ! ल अब मलाई तिम्रो मोबाइल देऊ । म पनि तिम्रो फोटो खिचिदिन्छु’, मैले भनेँ । 

‘पख, पहिले तिमी मेरो ह्याट लगाऊ । ह्याट लगाएको तिम्रो फोटो पनि खिचिदिन्छु’, आफ्नो ह्याट फुकाल्दै ऊ मेरो नजिक आयो । मेरो टाउकोमा ह्याट लगाइदियो र फोटो खिचिदियो । 

एक अपरिचित यात्रीले उसको र मेरा युगल फोटो खिचिदियो । 

म बिस्तारै हिँड्दै थिए । ऊ स्पिडी वाकर रहेछ । तर उसले मलाई पर्खियो । 

‘तिमी जाऊ । म एक छिन यहीँ बस्छु । मलाई यहाँ बस्न पुगेकै छैन’, मैले उसलाई भनेँ । मलाई अझै रोकिनु थियो । मलाई डोल्माला छोड्नु थिएन । मलाई डोल्मा छोड्नु थिएन । 

उसले गौरीकुण्ड आइपुग्दासम्म मलाई छोडेन । ऊ मेरै सारमा हिँड्यो । गौरीकुण्डमा पनि फेरि उसले मलाई उसको ह्याट लगाइदियो र अनेक फोटो खिचिदियो ।

उसले मलाई एउटा कार्ड दिएको थियो । त्यसमा उसको नम्बर र इमेल मात्र अङ्ग्रेजीमा र अरू सबै चाइनिजमा लेखिएको थियो । मैले कार्ड एक निमेष हेरेर पर्समा राखिहालेँ । 

ऊ छुट्टिसकेपछि हेरेको त कार्डको पछाडिपट्टि अङ्ग्रेजीमा उसको डिटेल थियो । ऊ चीनको एक विश्वविद्यालयको एउटा विभागमा हेड प्रोफेसर पो रहेछ ! 

त्यो कटौले प्रोफेसर, जो मेरो जुम्ल्याहा भाइजस्तो थियो । डोल्मालामा उसले मलाई पहिलो भेटमै निकै प्रेम गरेको थियो । साथ दिएको थियो । ह्याट मेरो टाउकोमा हालिदिएको थियो । ऊ त प्रोफेसर मात्र होइन, पिएचडी होल्डर पनि रहेछ ! 

गौरीकुण्डको शान्त हरियो पानीले आँखालाई मात्र होइन, मनलाई पनि उत्तिकै आनन्द दियो । पार्वतीले त्यहीँ तपस्या गरेर शिव प्राप्त गरेको कथा एकजना सहयात्रीले सुनाए । केही यात्री गोरेटोबाट सकीनसकी पाखापाखै झरेर गौरीकुण्डको जलले मुख धोइरहेका थिए ।

सँगसँगैजस्तो छ, डोल्माला र गौरीकुण्ड  । युगौँदेखि उनीहरू त्यसरी मिलेर बसेका रहेछन्, जसरी नेपालमा बुद्धिस्ट र हिन्दु धार्मिक सहिष्णुतासहित बसेका छन् । उसो त नेपालमा हिन्दु र बुद्धिस्ट मात्र होइन, सबै धर्मावलम्बीबीच लोभलाग्दो सद्भावना छ, जो विश्वका लागि सुन्दर सन्देश हो ।   

हिउँले ढाकेको डोल्मालाको छातीमा असङ्ख्य बुद्धिस्ट झण्डा फहराइरहेका थिए । इन्डियन मुलको एउटा यात्रीले भन्यो, ‘यो सुन्दर ठाउँ यी झण्डाले कत्ति नराम्रो देखिएको ?’ उसका साथीहरूले पनि त्यसमा सहमति जनाए । मलाई आश्चर्य लाग्यो । ती झण्डाहरू बुद्धिस्टका आस्था थिए । तिनले प्रकृतिमा संस्कृति थपेर डोल्मालालाई जीवन्त बनाएको मेरो विश्वास थियो । तर मानिसैपिच्छे फरक दृष्टि हुँदोरहेछ !

डोल्मालाबाट गौरीकुण्ड हुँदै थोरै तल झरेपछि समतल भूगोल आयो । त्यहाँ एउटा ठूलो गोलो कार्पेट जसरी बाक्लो हिउँ फैलिएको रहेछ । एक्साइटेड भएर यात्रीहरू फोटो खिच्दै थिए । संयोगले मेरो छेऊ चाइनिज केटीहरू आए । 

मानौँ, त्यहाँ सौन्दर्य प्रतियोगिता भइहरहेको थियो । ती दुई सुन्दरीमध्ये एउटी मेरो आँखामा बसी । ऊ राम्री कि हिउँको चम्किलो चक्ला ? म अलमलमा परेँ । 

मैले उसलाई मुस्कान दिएँ । सट्टामा उसले पनि मलाई मोहिनी मुस्कान दिई । हामीसँगै हिउँमा गयौँ । एक–अर्कालाई हिउँले हिर्कायौँ । प्रहारमा पनि प्रेम थियो । ऊ राम्रै अङ्ग्रेजी बोल्दिरहिछ । त्यसपछि हामीले एकअर्काको नाम सोध्यौँ । उसले आफ्नो नाम बताई र तुरुन्तै भनी, ‘तर तिमी मलाई स्नो गर्ल भनेर सम्झ ।’

सुरुमा उसले मलाई हिउँमाथि उसकी साथीसँग सँगै उभिइन् अह्राई र फोटोहरू खिची । त्यसपछि ऊ हामी भएतिर आई । आफ्नो पोर्टरलाई बोलाई र फोटो खिचिदिन भनी । पोर्टरले हाम्रा पोजपोजका फोटो खिच्यो । 

हामी हिउँमाथि थियौं । म दुई चाइनिज केटीका हातहरूले बेरिएको थिएँ । उनीहरू मेरो अँगालोमा थिए । 

उचाइबाट झर्दा झन्डै आधा घण्टाको बाटो निकै भिरालो थियो । बेस्सरी पानी पर्न थाल्यो । वर्षिरहेको पानी झैँ लठ्ठीलाई दरो साथी बनाएर म हामफाल्दै एउटा जक्सनमा आइपुगेँ । त्यहाँ दुइटा होटल रहेछन्न् । कचौरामा प्याक गरिएको चाउचाउमा तातो पानी हालेपछि बन्ने परिकार त्यो होटलको चल्तीको खाजा रहेछ । यात्रीहरू धमाधम खाजा खान थाले । 

यो पनि पढ्नुहोस्

अद्भूत कैलाश : छुने मख्ख, हेर्ने पनि मख्ख !

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

पानी परिरहेकाले मौसम निकै चिसो थियो । थर्मसको तातो पानी बिर्कोलाई कप बनाएर खाँदा निकै आनन्द आयो । होटलवालाको जुम्ल्याहा छोरा रहेछन् । उस्तै लुगा लगाएका ती फुच्चाहरूको अनुहार पनि दुरुस्त थियो । 

त्यो रात हाम्रो बास जुटुलपुकमा थियो । त्यहाँ पुग्न खाजा स्टेसनबाट केही घण्टा समथर बाटो हिँड्नुपर्ने थियो । हामीले यात्राको उच्चतम उचाइ पार गरिसकेका थियौँ । त्यसैले मनमा एक प्रकारको सुविस्ता बोकेर हामी निरन्तर हिँडिरह्यौँ । 

जुटुलपुक पुगेपछि गुम्बासहितको होटलमा मैले एउटा बेड पाएँ । छेउछाउका बेडमा अरू यात्रीहरू साँझ पर्दानपर्दै निदाउन थालिसकेका थिए । ननिदाउन पनि किन ? त्यो दिन हामीले उचाइमा आस्था र उत्तेजनासहित २० किलोमिटरभन्दा बढी दूरी पार गरेका थियौँ ।      

जुटुलपुक पुग्नुअघि बाटोमा केरुङका केटीहरूको एउटा हुल भेटियो । उनीहरू आफ्नै भाषामा के–के भन्दै हाँसिरहेका थिए । उनीहरूले केही तामाङ शब्द पनि जानेका रहेछन् । उनीहरू मसँग केही बोल्न सोध्न खोज्दै थिए । 

मैले रसुवाढीलगायत केरुङनजिकैका नेपाली ठाउँहरूको नाम लिएँ । टिमुरे, स्याफ्रु, लाङटाङ आदि । त्यसपछि लाङटाङ रुटमा पर्ने थुप्रै ठाउँका नाम उनीहरूले नै लिए । जस्तोः बाम्बु, रिम्छे, लामा होटल, गुम्बाडाँडा, क्यान्जिङ आदि । मैले त्यतैबाट आएको बताएपछि उनीहरूले म नेपाली हुँ भन्ने थाहा पाए । एउटा विशेष अवसर प्रदान गरे । 

उनीहरूले मलाई मूल बाटोबाट खोलातिर सँगै जाऊँ भने । हामी खोला छेउको एउटा ठूलो ढुङ्गानजिक पुग्यौँ । 

नमस्कार मुद्रामा त्यो ढुङ्गाको परिक्रमा गर्दै उनीहरूले अचम्मको कुरा गरे, ‘यो ढुङ्गालाई परिक्रमा गरेन भने कैलाश कोरा पूरा हुँदैन ।’ 

जसोजसो ब्राह्मण बाजे उसैउसै स्वाहा शैलीमा मैले पनि उनीहरूले जसरी नै त्यो ढुङ्गा घुमेँ । ढुङ्गामा एउटा खोपिरहेछ । खोपीमा उनीहरूले बिर्को छिराए र जल निकाले । एकएक गरी सबैलाई जल छर्कंदै एउटीले मलाई भनी, ‘अब तिमी पनि हामीजस्तै पवित्र भयौँ ।’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.