शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिको लगातार चीन भ्रमण, भारतले किन बोलाउँदैन ?

बुधबार, १० असोज २०७५, ११ : ४८
बुधबार, १० असोज २०७५

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले छ दिने चीनको औपचारिक भ्रमण पूरा गरेर असोज ८ काठमाडौं फर्के । २०७४ चैत ४ गते दोस्रो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो । पहिलो र दोस्रो कार्यकाल गरेर हेर्ने हो भने उपराष्ट्रपति पुनको यो तेस्रो चीन भ्रमण रहेको छ । 

अचम्म यो छ कि तीन पटक उत्तरी छिमेकी चीन भ्रमण गर्ने अवसर पाएका उपराष्ट्रपति पुनले दक्षिणी छिमेकी भारतबाट चाहिँ अहिलेसम्म भ्रमणको निम्ता पाएका छैनन् । कूटनीतिक मामलाका जानकारहरू उपराष्ट्रपति पुनलाई दक्षिणी छिमेकीबाट लामो समयसम्म औपचारिक भ्रमणका निम्ता नआउनुलाई अर्थपूर्ण मान्छन् । 

उपराष्ट्रपति पुनको चीन भ्रमण  
१– पहिलो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनले २०७३ जेठ २९ देखि असार २ गतेसम्म चीन भ्रमण गरेका थिए । यो उपराष्ट्रपतिको हैसियतमा पुनको पहिलो विदेश भ्रमण थियो । यो भ्रमणका क्रममा उनी चौथो चीन–दक्षिण एसिया मेला, २४औँ चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला र सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चमा सहभागी बनेका थिए । 

२– उपराष्ट्रपति पुन दोस्रो पटक ०७४ असार २० मा पनि एक साता लामो चीन भ्रमणमा गएका थिए । चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान गरेका थिए । उपराष्ट्रपति पुनले असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा सम्बोधन गरेका थिए । त्यसबेला उपराष्ट्रपति पुनले चीनको सान्सी प्रान्तको सियान र येनानको समेत भ्रमण गरेका थिए । 

३– उपराष्ट्रपति नन्दबहादुर पुन तेस्रो पटक असोज ३ गते चीन भ्रमणमा गएका थिए । उपराष्ट्रपति पुनले छ दिने चीनको औपचारिक भ्रमण पूरा गरेर असोज ८ काठमाडौं फर्के । सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बीआरआई) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी हुन उपराष्ट्रपति चीन गएका थिए । आफ्नो भ्रमणमा उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गरे । उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि भेट गरे । 

दोस्रो कार्यकालमा पनि पहिलो भ्रमण चीनबाटै
आफ्नो पहिलो कार्यकालमा जस्तै उपराष्ट्रपति पुनले दोस्रो पटक उपराष्ट्रपति बनेपछि पनि पहिलो भ्रमण चीनबाटै सुरु गरे । संयोग यस्तो पनि रह्यो दोस्रो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनलाई उनका चिनियाँ समकक्षीबाट पहिलो बधाई पनि आयो ।

२०७४ चैत ६ मा  चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले नेपालस्थित तत्कालीन चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एन्ड रोड एनिसियटिभ (बीआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।

पुनको पहिलो कार्यकालमै चिनियाँ उपराष्ट्रपतिमा वाङ क्विसान निर्वाचित भएका थिए । त्यसपछि उपराष्ट्रपति पुनले क्विसानलाई बधाई तथा शुभकामना दिएका थिए । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो हुने विश्वास व्यक्त गरेका थिए । 

दक्षिणबाट निम्ता नआउनुको अर्थ के ? 
चीनका लागि नेपालका एक पूर्वराजदूतका अनुसार तीन कारणले उपराष्ट्रपतिलाई भारतले भ्रमणको निम्ता नदिएको बताउँछन् । ‘दक्षिण छिमेकी भारतले नबोलाउनुका पछाडि तीन कारण छन् । पहिलो कारण उपराष्ट्रपतिको चिनियासँग उठबस बढी छ । त्यो कारण पनि चीनले बोलाउनु स्वभाविक हो ।’ उनले भने ‘दोस्रो कारण उनी पूर्वजनमुक्ति सेनाको लिडर । प्रचण्ड फस्टम्यान भए पनि सेकेन्ड म्यान उनी भए । त्यो बेला दक्षिणले भित्र–भित्र सहयोग गरेका भए पनि देखाउन चाहन्न । उपराष्ट्रपति चीनसँग नजिक छन् भन्ने दक्षिणले पनि राम्ररी बुझेको छ । दक्षिणको अफिसियल बुझाइमा उनी जनसेना ।’

‘तेस्रो कारण भनेको हरेकले बोलाउँदा आफूलाई के फाइदा हुन्छ भनेर हेर्छन् । भारतले बढी लाभ हेर्ने गर्छ । उनलाई बोलाउँदा लाभ हुने देखेन । उनले भारतका लागि केही गर्न सक्दैनन् भन्ने बुझेको छ । त्यसैले बोलाएन ।’ उनले भने, ‘फेरि चीनले किन बोलाउँछ भने उनीसँग वैचारिक कुरा मिल्छ । त्यस्तै अर्को महत्वपूर्ण कुरा के हो भने उपराष्ट्रपतिले चीनको लागि पार्टी र सरकारभित्र चीनको पक्षमा कुरा राख्छन् । यसले चीनलाई फाइदा हुने भो । उपराष्ट्रपति भारतका लागि ओपन लबी गर्दैनन् । त्यही भएर भारतले बोलाउँदैन ।’  

यता, भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय भने नेपालबाट नै कुटनीतिक पहल नभएको कारण उपराष्ट्रपतिको भारत भ्रमण हुन नसकेको बताउँछन् । ‘दुवैतर्फबाट कुटनीतिक पहलको साथै चाहना भयो भने उपराष्ट्रपतिको भारत भ्रमण सम्भव हुनसक्छ,’ उनले भने ।

चीन भ्रमणबाट फर्किंदा सधैँ उत्साहित
उपराष्ट्रपति पुन हरेक पटक चीन भ्रमण सकेर फर्कंदा उत्साही देखिने गरेका छन् । जस्तो कि तेस्रो पटक चीन भ्रमण सकेर फर्केपछि उपराष्ट्रपति पुनको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा भ्रमण अत्यन्तै फलदायी र सफल भएको बताइएको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पु¥याएको विज्ञप्तीमा उल्लेख छ । 

उपराष्ट्रपति पुनले भ्रमणका क्रममा चीन सरकारका उच्च स्तरीय पदाधिकारीसँग नेपालका आवश्यकतालाई स्पष्टरूपमा राखेको पनि दाबी गरिएको छ । चिनियाँ पक्ष जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक रहेको उपराष्ट्रपति पुनको बुझाइ छ । आफ्नो भ्रमणमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रतिको नीतिमा कायमै रहेको पनि बताएका थिए । यसबाहेक पुनले उच्च स्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीव्रता दिनु र ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्नु नै नेपालको प्राथमिकता रहेको बताएका थिए । 

उपराष्ट्रपतिले नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ गोला नाका खोल्न, सडक निर्माण र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन आग्रह पनि गरेको जनाइएको छ । दोस्रो पटक उपराष्ट्रपति पछि चिनियाँ समकक्षीको बधाई तथा शुभकामना ग्रहण गर्दै पुनले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको उल्लेख गरेका थिए । दोस्रो भ्रमणमा उनले आफ्नो चीन भ्रमण नेपाल–चीन सम्बन्ध सुधारका लागि फलदायी भएको बताएका थिए । 

यस्तै आफ्नो दोस्रो चीन भ्रमणबाट फर्केपछि आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धमा राम्रो सुधार आउने बताएका थिए । 

यसअघि आफ्नो पहिलो चीन भ्रमणमा उपराष्ट्रपति पुनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई  हस्तान्तरण गरेका थिए । यसबाहेक पहिलो चीन भ्रमणमा उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । 

भेनेजुयला पनि पुगे
असंलग्न मुलुकहरूको १७औँ शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन २०७३ भदौ २९ मा भेनेजुयला गएका थिए । उपराष्ट्रपति पुनले असंलग्न राष्ट्रहरूका सरकार तथा राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । यसबाहेक माओवादी नेता र पूर्व जनसेनाको कमान्डरको हैसियतमा पनि उनले धेरै पटक चीन भ्रमण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप