शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशासन समितिमा गृहमन्त्रीको जवाफ– निर्मला पन्त हत्याका आरोपी छिट्टै पक्राउ पर्छन्

बुधबार, १० असोज २०७५, १३ : १२
बुधबार, १० असोज २०७५

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटनाबारे अझैं अनुसन्धान भइरहेको बताए । 

‘निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ  । दोषीलाई छिट्टै काुनी दायरमा ल्याउँदै छौं । यसबारे अझैं अनुसन्धान भइरहेको छ’, गृहमन्त्रीले भने । 
निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही  गरिने बताउँदै थापाले  रौतहत र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए । 

निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे । उनले गल्ती गर्ने तत्कालिन प्रहरी प्रमुखसहितका अधिकारीहरुलाई निलम्बन गरेर छानबिन टोली पठाएको पनि समितिमा जवाफ दिए । 

उनले सरकार गठनपछि मात्र यस्ता खालका घटना नघटेको दाबी गर्दै अहिले जनतामा आएको चेतानाका कारण यस्ता खालका घटना बढी मात्रामा सतहमा आएको बताए । 

‘सामाजिक, सांस्कृतिक चेतनाका कारण पनि यस्ता घटना घटेका छन् ।  हाम्रो पितृ सत्तात्मक पुँजीवादी सोचले यस्ता घटना घटेका छन्’ गृहमन्त्रीले भने, ‘पुँजीवादी समाजले महिलालाई भाग विलासको साधन मान्छ । यौन तृप्त गर्नका लागि यहाँबाट महिलाहरु विक्री भइरहेका छन् । नेपालमा मात्रै होइन विशवमा नै यसको समस्या छ ।’

उनले सबैभन्दा लोकतान्त्रिक भन्ने अमेरिकामा पनि बलात्कार र हत्याका घटनाहरु बाहिर आइरहेको बताउँदै सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको बताए । 

उनले भने, ‘मामाले भान्जी, नातीले हजुरआमालाई बलात्कार गरेको घटना आइरहेको छ । यसको कारण अनियन्त्रित मदिरा विक्रि र सेवन हो । अर्को कारण इन्टरनेटमा विकृति फैलाउने सामग्री छन् । यसको प्रयोगले पनि यस्तो घटना बढेका छन् । 

पुँजीवादी र सामन्ती चिन्तनका कारण पनि यस्ता घटनालाई जन्माइरहेको उनको भनाई थियो । 

यस्ता खालका घटना रोक्नका लागि कठोर कानून बनाउन आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्रीले प्रगतिशील पुँजीवादी समाज बनाउन पनि जरुरी रहेको बताए । 

यस्ता घटना रोक्नका लागि सामाजिक रुपमा कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले यसको कार्यान्वयन अनुरुप मदिरा नियन्त्रण अभियान सुरु भइरहेको पनि जानकारी दिए ।  

बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्याका आरोपी घटनाको २ महिनासम्म पनि पक्राउ पर्न नसकेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । यस्तै महिला हिंसा र हत्याका घटना बढ्दै गएको प्रति पनि गृहमन्त्रीसँग जवाफ माग गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप