शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री र प्रहरी प्रमुखलाई सांसदको प्रश्न– सरकार र प्रहरीका कति गुट छन् ?

बुधबार, १० असोज २०७५, १८ : ०७
बुधबार, १० असोज २०७५

काठमाडौं–संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले गृहमन्त्री र प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा समितिको बैठकमा निम्त्याइएका गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उनीहरुले अहिलेसम्म हत्यारा किन पक्राउ परेनन् भन्दै प्रश्न गरेका हुन् । 

बुधबारको बैठक निर्मला काण्डका साथै मुलुकभर बढेको महिला हिंसा र बलात्कारका विषयमा केन्द्रीत रहेको थियो । 

बैठकको सुरुमा बोलेका नेकपाका सांसद झपट रावलले नेकपाको सरकार गठन भएपछि महिला हिंसा र बलात्कारका घटना बढेको हो ? नेकपाको सरकार पहिले र अहिलेको आंकडा कस्तो छ ? प्रहरीभित्र चेन अफ कमाण्ड छ र ? कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या हुनेबित्तिकै प्रहरी महानिरीक्षकको किन ध्यान गएन ? भन्दै प्रश्न गरे । 

उनले गृहमन्त्री रामबहादुर थापा बादललाई छानबिन समितिका सदस्यले सार्वजनिक ठाउँमा गएर पत्रकार सम्मेलन गरेर छानबिनमाथि नै शंका व्यक्त गरिरहेका बेला उनलाई दण्डित गर्नुको सट्टा किन छानविन समितिमा लगियो भनेर प्रश्न गरे । 

सरकार र प्रहरीका कति गुट ? 
यता नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पुलिसमा पहिला पनि ३ गुट रहेको दाबी गर्दै अहिले कति गुट छ भनेर प्रश्न गरे । उनले नेकपाको सरकारभित्रै प्रधानमन्त्रीको एउटा गुट, गृहमन्त्रीको अर्को गुट रहेको बताउँदै यसरी गुटहरु रहेपछि त्यसले देश सिष्टममा चल्न नसक्ने उल्लेख गरे । 

उनले निर्मला पन्तको घटनामा सरकारले १० लाख क्षतिपूर्ति दिएपनि रौतहटमा त्यस्तै प्रकृतिको घटनामा एसिड आक्रमणबाट मारिएकी सम्झना दासको उपचारमा सरकारले १ रुपैयाँ पनि नदिएको बताउदै राज्य विवेदकारी भएको आरोप लगाए । उनले बदमासी गर्नेलाई राजनीतिक पार्टीले नै संरक्षण गरिरहेको आरोप समेत लगाए । 

यस्तै सांसद विन्दा पाण्डेले प्रहरीभित्र अनुसन्धानका लागि महिला फोर्स कम छ भन्ने सुनेको भन्दै महिलाको बिषयमा महिला समन्धी घटनामा अनुसन्धानका लागि महिला प्रहरी खटाउनुपर्नेमा जोड दिइन् । 

उनले जवरजस्ती करणी र एसिड आक्रमणको जघन्य घटनामा आजीवन कारावासको सजायको व्यवस्थाका लागि कानुन संशोधन गर्नुपर्ने उल्लेख गरिन् । 

आइजीपीलाई पूरै अधिकार दिनुस्
यता पूर्वडीर्आजी समेत रहेका सांसद नवराज सिलवालले एउटा घटनाका विषयमा प्रधानमन्त्री स्वंयले जवाफ दिनुपर्ने अवस्था किन आयो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।
 

उनले प्रहरी संगठन पार्टीहरुको कब्जामा रहेको भन्दै कञ्चनपुरको एसपी ठीक छैन भन्दाभन्दै कुन सांसदले भनेर त्यहाँ राखियो भन्दै प्रश्न गरे । 

उनले प्रहरी प्रमुखलाई जिम्मेवार बनाउने हो भने उसलाई सरुवा, बढुवा, कारबाही गर्ने सम्पूर्ण अधिकार दिनुपर्ने उल्लेख गरे । उनले भने–‘अहिलेको पुलिस चिफलाई धेरै बाधा छ, उनलाई सबै गर्ने अधिकार दिनुस्, २४ घण्टा नसुति काम गर्छन्, सम्पूर्ण परिर्तन गर्न सक्छन् ।’

यूट्युवमा महिलाको ‘रेट’ तोकिएको भिडियो आयो 
यता अर्का सांसद विजय सुब्बाले निर्मला पन्तको दोषीलाई जोगाउने एसपी विष्ट मात्र नभई उनको टिमपनि त्यत्तिकै खतरनाक रहेको टिप्पणी गरे । 

एसपी बिष्टलाई किन निलम्बन मात्र गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । 

उनले गृहमन्त्रीले घटनाबारे यथार्थ जानकारी गराउने क्रममा हत्या हिंसा बलात्कारका घटना पहिलेदेखि भइरहेको भनेर बताउनु ठीक नभएको बताए ।

 उनले सरकारले पोर्न साइट बन्द गरेमा मात्र नहुने भन्दै यूट्वमा महिलो आफ्नो ‘रेट’ यति भन्दै अन्र्तवार्ता दिएका भिडियो समेत रहेको बताउँदै त्यसलाई पनि बन्द गर्नुपर्ने उल्लेख गरे ।

 उनले भने–‘संसदमा बोलेको भिडियो हेर्दाहेर्दै त्यसको तल मेरो एक रातको यति हजार मूल्य भनेर रेट तोकिएको भिडियो आउँछ । पोर्न साइट मात्र बन्द गरेर हुन्छ ? त्यस्तो भिडियो बन्द गर्नुपर्छ कि पर्दैन ?’

बलात्कारीलाई नपुङसक बनाइदिउँ
यस्तै सांसद सुजिता शाक्यले बलात्कारीलाई केमिकल प्रयोग गरेर नपुङसक बनाउने गरी कानुन संसोधन गर्न आग्रह गरेकी छिन् । बैठकमा बोल्दै उनले पहिले पनि यस विषयमा छलफल भएको बताँउदै मृत्युदण्डको कानुन नराख्ने हो भने यस प्रकारको कानुन बनाँउनुपर्ने उल्लेख गरिन् । 

निरुपाललाई कसले पेस्तोल ताक्यो, जवाफ चाहियो
यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागिरहेका बेला कञ्चनपुरकै सांसद निरु पालमाथि काठमाडौंमा पेस्तोल ताक्ने मान्छे किन पक्राउ परेन भनेर प्रश्न गरे ।

याे पनि छुट्याे कि

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको खुलासा : ‘मुचुल्कामा बाबुको नक्कली औँठाछाप भेटियो’

 जनताले प्रहरीले के गर्छ, गृहमन्त्रीले के गर्छ भन्दा पनि अझै हत्यारा किन समातिएन भनेर मात्र चासो राख्छ भन्दै यी घटनाको जवाफ  जनताले कहिले पाउँछन् भन्दै जिज्ञासा राखे । 

उनले कञ्चनपुर घटनाका सम्बन्धमा आयोगमाथि आयोग बनेको बताउँदै छिट्टै अपराधीलाई नियन्त्रणमा लिन माग गरे । 

बलात्कार निस्तेज पार्न पोर्न साइट, मदिरा निस्तेज पार्ने गृहमन्त्रीको योजना  
सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान भइरहेको बताए । 

उनले मुलुकमा बलात्कारका घटनामा बृद्धि हुनुमा सूचना प्रविधि साइबरको विकास, अनियन्त्रित रुपमा मादक पदार्थको विक्रीवितरण र सेवन रहेको भन्दै त्यसलाई निस्तेज पार्ने कार्ययोजना अघि सारेको बताए । 

उनले छिट्टै मन्त्रालयले देशभरी बलात्कार विरुद्ध जनचेतनाका कार्यक्रमहरु पनि अघि बढाउन लागेको जानकारी दिए । 

यता प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्या भएको दुई दिनदेखि नै त्यहाँको प्रहरीसँग आफू निरन्तर सम्पर्कमा रहेर हत्यारा पत्ता लगाउन निर्देशन दिएको उल्लेख गरे । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप