शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायण गोपालले गरेको अन्तिम ट्युनिङमा गीत लेख्न पाउने भाग्यमानी गीतकार

बुधबार, १९ मङ्सिर २०७५, १० : ००
बुधबार, १९ मङ्सिर २०७५

दुर्लभ अवसर । त्यही अवसर गीतकार विष्णुबावु देवकोटाले पाएका थिए । नारायण गोपालको निधन भएको २७ वर्ष भइसकेको छ । तर, उनले गरेको ट्युनिङ २६ वर्षपछि फेलापरेको थियो । त्यही ट्युनिङमा संगीतमा गीतकार देवकोटाले गीत लेख्ने अवसर पाएका थिए । 


नेपाल कला संस्कृति विकास केन्द्रले नारायण गोपालले हार्मोनियममा ट्युनिङ गरेका गीत फेलापारेको हो । केन्द्र अध्यक्ष नवराज लामा छन् । लामा र उनको समूहले फेलापारेको सो ट्युनिङमा गीत लेख्ने गीतकारको खोजीकार्य गर्यो । अन्ततः देवकोटाले लेखेको गीत छानियो ।


‘नारायण गोपालले गरेको ट्युनिङमा गीत लेख्न पाउँदा अत्यन्तै खुसी छु,’ गीतकार देवकोटाले सुनाए, ‘सपनामा पनि चिताएको थिइनँ, नारायण गोपालले भरेको संगीतमा गीत लेख्न पाउँला भनेर ।’ हुन पनि हो, प्रत्येक्ष भेटघाट गर्न नपाए पनि उनले जीवनमा नारायण गोपालसँग सांगीतिक सहकार्य गर्न पाएका छन् । उनले गरेको संगीतमा गीत लेख्न पाउँदा गीतकारको उचाइ बढेको छ । उचाइ बढ्नु अस्वाभाविक होइन ।


गीत लेख्न कति दिन लाग्यो होला ? ‘अन्तरा लेख्नै दुई÷तीन दिन लाग्यो,’ उनले नढाँटी भने, ‘त्यसपछि अघि बढें । र पनि, धेरैपटक केरमेट गरें । गीत पूरा गर्न झन्डै २० दिन लागेको थियो ।’ हामीबीचको कुराकानी सुनिरहेका गायक तथा संगीतकार बालन्द राईले सुनाए, ‘विष्णुले राति १२ बजेतिर समेत मलाई फोन गरेर सल्लाह सुझाव माग्थे । लेखेको गीत सुनाउथे ।’


संवत् २०६९ मा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट गीतकारका रूपमा पुरस्कृत देवकोटाले साहित्यका विभिन्न विधामा कलम चलाएको धेरै भए पनि गीत लेख्न थालेको २२ वर्ष भएको छ । यो अवधिमा झन्डै दुई सय गीत लेखिसकेका उनको ७० गीत रेकर्ड भइसकेका छन् ।


गायक तथा संगीतकार बालन्द राईको एकल संगीतमा ‘रित्तो याद’ नामक गीतिएल्बम ०६७ मा सार्वजनिक भइसकेको छ । उनले लेखेका गीत राजेशपायल राई, उदय सोताङ, सत्य स्वरूप आचार्य, दीपक  लिम्बूलगायतले गाइसकेका छन् । बालन्द राई, कृष्णभक्त राई, शिव संगम राईलगायत संगीतकारसँग उठबस बाक्लै छ । ‘सबै संगीतकारप्रति उत्तिकै सम्मान छ,’ उनले गर्व गरे, ‘तर, बालन्द सरसँग काम गर्दा ढुक्क लाग्छ । उहाँ मेरो गीतिविधाका अभिभावक हुनुहुन्छ ।’


प्रेम र वियोगलाई फरक ढंगले कलात्मक रूपमा गीत लेख्न सक्षम गीतकार देवकोटालाई वियोगान्त गीत बढी लेख्छन् भन्नेको बाहुल्य छ । उनको स्वीकारोक्ति छ, ‘श्रोताले सुन्न पराउने त त्यस्तै गीत रहेछन् फेरि ।’ 


गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापा, दिनेश अधिकारी, सुरेन्द्र राना, ललिजन रावल, रमेश पौडेल र शीतल कादम्बिनीहरूसँग उनको संगत छँदै छ । उल्लिखित गीतकारसँग उनी त्यत्तिकै प्रभावित छन् ।


नारायण गोपालले गरेको अन्तिम ट्ययुनिङमा गीतकार विष्णुबावु देवकोटाले लेखेको गीत यस्तो छ ।


गीत
मेरो भूगोल त्यही नै हो, जहाँ तिमी अटाउँछौ
मेरो जीवन त्यत्ति नै हो, जति तिमी कटाउँछौ ।

तिम्रै आँखाभित्र मैले, मेरो संसार देखेको छु
जिन्दगीका झरी बादल, तिम्रै भरमा छेकेको छु, 
मेरो मनको पूर्णिमा हो, सधैं जून पठाउँछौ
मेरो जीवन त्यत्ति नै हो, जति तिमी कटाउँछौ ।

न्यानो लाग्छ तिम्रो माया, पाहारिलो घामसरी
फुल्छौ मेरो मुटुमाझ, लाग्छौ मनको सुनाखरी,
मेरो सत्य त्यही नै हो, जे÷जे तिमी बताउँछौ
मेरो जीवन त्यत्ति नै हो, जति तिमी कटाउँछौ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप