शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्यमशीलता र समाज रूपान्तरण

शुक्रबार, ०६ साउन २०७४, १२ : ०२
शुक्रबार, ०६ साउन २०७४

जनकराज भट्ट


    अहिलेसम्म जे जति आन्दोलन, परिवर्तन, युद्ध अथवा विद्रोह यस संसारमा भए, ती सबै समाज रूपान्तरणका लागि भएका छन् । विभिन्न समाजशास्त्री, दार्शनिक तथा चिन्तकहरूले समाज विज्ञानलाई व्याख्या विश्लेषण गर्ने क्रममा विभिन्न विधि, प्रक्रिया र पद्धतिको विकास गरेका छन् ।

कसैले विद्रोही भएर तुरुन्तै देखिने गरी समाजलाई उद्वेलित गर्नुपर्दछ भन्ने तर्क गरेको देखिन्छ भने कसैले समाजको चेतनाको विकास गर्दै समाजको ठूलो हिस्सालाई चलायमान गरेर समाज रूपान्तरण गर्ने ध्येय राखेका हुन्छन् । कसैले हिंसा हत्या र विद्रोह मार्फत समाजलाई रूपान्तरित गर्ने प्रयत्न गरेको देखिन्छ भने कसैले अहिंसाको माध्यमबाट समाजलाई रूपान्तरण गर्न खोजेको देखिन्छ ।

कसैले ज्ञानमार्गको माध्यमबाट समाजलाई सही बाटोमा डोयाउने प्रयास गरेका छन् भने कसैले भक्तिमार्गको अनुसरण गरेको पाइन्छ । माथिका सबै विधि र पद्धतिहरूमा समुदायका मानिसहरूको ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन भै समाज रूपान्तरण गर्नु नै मुख्य ध्येय हो । यसै गरी समाज रूपान्तरणका लागि उनीहरूको जीवनस्तरमा सुधार ल्याएर, आयमूलक क्रियाकलाप गरेर वा रोजगारी सृजना गरेर पनि समाजलाई अग्रगतिमा लग्न सकिन्छ, रूपान्तरण गर्न सकिन्छ । यसरी रोजगारी सृजना गरेर, आय आम्दानी बढाएर वा स्थानीय स्रोत साधनको सदुपयोग गरेर जीवनलाई रूपान्तरित गर्नु नै उद्यमशीलता हो । आय आर्जनको कला कौशल हो । उद्यमशीलताको माध्यमबाट तल उल्लेखित तरिकाले सामाजिक समस्याहरू हलगर्दै समाजलाई रूपान्तरण गर्न सकिन्छ ।

(क)    उद्यमशीलता र महिला हिंसा
    
    वर्तमान समयमा देशमा दिनानुदिन महिलाहरूलाई कुटपिट गर्ने, घरबाट निकाला गर्ने, कार्य क्षेत्रमा असुरक्षित भई यौन हिंसा खेप्नुपर्ने र कतिपय ठाउँमा त हत्यासम्मका घटना सार्वजनिक हुँदै आइरहेका छन् । यी र यस्ता विभिन्न खाले हिंसाहरूको जड भनेको श्रीमान् अथवा घर परिवारका कमाउने सदस्यहरूमाथि महिलाको परनिर्भरता, बेरोजगारी, अशिक्षा र सामाजिक कुरीतिहरू हुन् । जुन महिलाले राम्रो कमाइ गरेको हुन्छ, स्वरोजगार भएको हुन्छ, त्यस्ता महिलाले घरमा हिंसा सहनुपरेको उदाहरण अपवाद नै होला । बेरोजगार र भनौँ उत्पादनशील कार्यभन्दा पनि घरेलु काममा मात्र व्यस्त हुने महिलाले बिहान सबेरैदेखि साँझ अबेरसम्म काम गरेर पनि ‘घरमै त बसेकी छे’ भनेर श्रीमान् अथवा घरपरिवारका अन्य कमाउ सदस्यहरूबाट खप्की सुन्नुपर्ने हुन्छ । घरेलु कामले मौद्रिक मूल्य (महत्व) नपाउने हाम्रो जस्तो समाजमा दैनिक ८ घण्टा काम गर्ने पुरुष ‘कमाउने’ र १८ घण्टासम्म काम गर्ने महिलालाई ‘घरमै बस्ने’ भनेर परिभाषित गर्ने गरिन्छ । 
    अतः उद्यमी भएर सके अरूलाई समेत रोजगारी दिने र नसके कमसे कम आफू स्वरोजगारसम्म हुन सके महिला हिंसामा व्यापक कमी आउने र विस्तारै अन्त्य नै हुन सक्ने देखिन्छ । त्यसैले समाजमा व्याप्त यस्तो कुरीति र कुकृत्यको अन्त्य गर्न महिलालाई बढीभन्दा बढी उद्यम व्यवसायमा आकर्षित गर्नुपर्ने देखिन्छ । वात्सल्यकी खानी हाम्री आमा, सिङ्गो घरपरिवारको स्याहार गर्ने श्रीमती र मायाको भण्डार हाम्रा छोरी बहिनीहरूले अब उप्रान्त हिंसा बेहार्नु नपरोस् भनेर पनि हामी सबैले आआफ्ना घरपरिवारका महिलाहरूलाई उनीहरूलाई सक्दो सुहाउँदो व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने हुन्छ, वातावरण सहज गरिदिनु पर्दछ । अनि मात्र हाम्रो समाज “महिला हिंसा मुक्त” हुन्छ । नत्र भने दिउँसो “महिला हिंसा मुर्दावाद” भन्ने महिलाले बेलुकी घरमा पुग्ने वित्तिकै श्रीमान्को कुटाइ खाएका उदाहरण धेरै खोजी रहनुपर्दैन । 

(ख) उद्यमशीलता र जातीय विभेद 

    एक्काइसौँ शताब्दीको विश्व तीव्र गतिमा दौडिरहेका बेला हामी भने अहिले पनि मान्छेलाई जन्मका आधारमा सानो ठूलो देख्छौँ, विभेद गर्छौं । त्यही सानो ठूलोको निहुँमा पुस्तौँ पुस्तासँगै बसेका र हाम्रा आवश्यकताको परिपूर्ति गर्दै आएका लुगा सिउने दर्जी (सूचीकार), कुटो कोदालो हँसिया बनाइदिने लौहकार, जुत्ता सिउने सार्की (चर्मकार) र गरगहना बनाएर हाम्रो सजावट गरिदिने सुनार (स्वर्णकार) आदि जस्ता एउटै समाजका पेशाकर्मी सदस्यहरूबीच कुटाकुट गर्छौं । गाग्री बनाएको माथिल्लो भनिने वर्गलाई चल्ने तर त्यही गाग्रीमा पानी भरि सकेपछि नचल्ने, मूर्ति बनाएको चल्ने तर मन्दिरमा राखी सकेपछि मूर्ति बनाउनेले त्यही मूर्तिको दर्शन गर्न नमिल्ने, घर बनाउन मिल्ने तर त्यही घर बस्न योग्य भएपछि घर बनाउने ज्यामीलाई घरभित्र प्रवेशै गर्न नमिल्ने । यी र यस्ता सबैखाले जातीय विभेदहरूको अन्त्यका लागि उद्यमशीलताको खाँचो छ ।

अब जुत्ताको व्यापार सार्कीको मात्र पेवा हुनु हुँदैन । त्यसमा व्यावसायिक अवसर देखिन्छ भने त्यो बाहुनका लागि पनि उत्तिकै ग्राह्य हुनुपर्दछ । अहिलेको ग्रिल सटर उद्योग, मोटर ग्यारेज बाहुन क्षत्रीहरूले गर्न हुने तर आरन कामीले मात्रै गर्नुपर्ने सोच अब हामीले त्याग्नै पर्छ । अन्तरजातीय विवाहका कुरा कसैले मन लागे गर्ला, मन नलागे नगर्ला । तर कामकै आधारमा भेदभाव निन्दनीय मात्र होइन दण्डनीय पनि छ । हाम्रो कानूनले दण्डनीय गरेको यस्तो कुसंस्कारलाई हटाउने जिम्मा तल्लो भनिने वर्गको मात्र होइन, यो आफूलाई उपल्लो र ठूलो भनी नाक ठाडो पार्ने वर्गको पनि उत्तिकै हो । बरु एक पाइला बढी हो । जसरी हामी रोग टाउकोमा लागेको होस् कि खुट्टामा लागेको होस् बिना भेदभाव उपचार गर्छौं । त्यसैगरी हाम्रो समाजको यो जातीय विभेदरूपी रोगको उपचार पनि सबैले मिलेर गर्नु पर्दछ । 
    यस्ता जातीय विभेदको अन्त्य तब मात्र सम्भव छ, जब समाजको तल्लो भनिने जातको मानिसले पनि प्रशस्त आम्दानी गर्छ । अरु जस्तै सुविधा सम्पन्न घरमा बस्न पाए, राम्रा राम्रा विद्यालयमा आफ्ना छोरा छोरी पढाउन पाए, समाजका विभिन्न अवसरहरूमा उपस्थित हुन पाए र स्वस्थ्य र स्वच्छ तथा सरसफाइयुक्त हुन पाए यस्तो भेदभाव समाजबाट मेटिएर जानेछ । यस्तो गर्न आर्थिक हैसियत माथि उकासिनु पर्दछ र सोका लागि उद्यमशीलता नै एक मात्र अचूक उपाय हुन सक्छ । 

(ग)     उद्यमशीलता र पारिवारिक कलह
    
    पारिवारिक कलहको मुख्य कारण भनेको धन सम्पत्ति नै हो । जुन परिवारमा जति आर्थिक दरिद्रता हुन्छ, त्यस परिवारमा त्यति नै बढी कलह र किचलो हुन्छ । खाने बेला होस् कि सुत्ने बेला होस् । आफन्तजन एवं इष्टमित्र आएका बेला होस् कि घरमा कोही बिरामी परेको बेला होस् । आर्थिकरूपले कमजोर भएको परिवारमा सुख शान्ति र अमनचैन हुँदैन । मनोरन्जन र हाँसो खुसी भन्ने चीज टाढा भाग्छ । रिस राग र वैमनस्यता वरिपरि घुमी रहन्छ । हुन त आर्थिक स्थिति राम्रो भएका सम्पन्न परिवारमा पनि झैझगडा नहुने भन्ने होइन । तर त्यहाँ त्यस्ता विवादहरूको व्यवस्थापन सभ्य र शान्त तरिकाले हुन्छ । बाहिरकाले आन्तरिक कलह थाहा पाउँदैनन् । उनीहरूको पारिवारिक कलह छताछुल्ल प्रकारको हुँदैन । तर गरिब परिवार आफ्ना अन्तरविरोधलाई त्यसरी लुकाउन सक्दैनन् । यथार्थमा भन्नुपर्दा पारिवारिक कलहको मुख्य कारण भनेको आर्थिक विपन्नता नै हो । सम्पन्न मान्छेले अलिकति लेनदेनलाई  “भैगो त छोडी दिऊँ न” भनेर भन्न सक्छ । तर साह्रै विपन्न परिवारले त्यस्तो चाहेर पनि भन्न सक्दैन । पारिवारिक व्यवस्थापन (शान्ति, समृद्धि, मेलमिलाप र प्रगति) को लागि उद्यमशीलता एउटा अपरिहार्य माध्यम हुन सक्छ । 
    एउटा सफल उद्यमीले ग्राहकसँग कस्तो व्यवहार गर्ने, कामदार अथवा कर्मचारीसँग कस्तो व्यवहार गर्ने, सहनशील कसरी हुने, परिवारको कुशल व्यवस्थापन कसरी गर्ने भन्ने गुणहरू सिकिसकेको हुन्छ । परिवारका अन्य सदस्यहरू आक्रोशित भएका बेला ऊ नम्र भइदिन सक्छ । उद्यम व्यवसायको आम्दानीबाट आर्थिक हैसियत माथि उठिसकेकाले उसले केही कुराको त्याग गरिदिन सक्छ । यसरी घर परिवारको आर्थिक स्थिति माथि उठाउन र केही समझदार बन्न उसले उद्यमशील गुणहरूको अवलम्बन गर्नुपर्ने हुन्छ । अतः दाबी गरेर भन्न सकिन्छ कि पारिवारिक कलह मेटाई स्थिर शान्ति र समृद्धिका लागि उद्यमशीलता नभई नहुने तत्व हो ।


(घ)    उद्यमशीलता र राजनीतिक स्थिरता
    
    देशमा राजनीतिक अस्थिरताको मूल कारण भनेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक भेदभाव तथा विभिन्न खाले कुरीति तथा कुसंस्कारहरू हुन् । कुनै व्यक्ति शिक्षित, सभ्य, सम्पन्न र रोजगारवाला छ भने ऊ समाजमा अपराधकर्मतिर लाग्दैन । उसले देशको वर्तमान ऐन कानुनहरूको पालना गर्छ । भरसक गल्ती गर्दैैन, गल्ती गरिहाले पनि पश्चात्ताप गर्न खोज्छ । देशमा कुनै व्यक्ति बेरोजगार छैन, समाजबाट गरिबीको अन्त्य भै सक्यो भने देशमा राजनीतिक उथलपुथल हुँदैन । राजनीतिक स्थिरता भए देशले प्रगति गर्छ । बेरोजगारीको मुद्दा, गरिबीको मुद्दा, सामाजिक भेदभावको मुद्दा, भ्रष्टाचारको मुद्दा र आर्थिक सम्पन्नताको मुद्दा उठाउन पाएनन् भने दलहरूले विरोध गर्ने, बन्द हडताल गर्ने, तोडफोड गर्ने, घरीघरी सत्ता परिवर्तन गर्ने अवसर पाउँदैनन् । राजनीतिक दलहरूले आफ्नो वैचारिक दर्शन अनुसार, आफ्नो घोषणापत्र अनुसार निर्वाचनमा भाग लिन्छन् । जित्नेले जित्छन् हार्नेले हार्छन् तर राजनीतिक कलह किचलो हुँदैन । जित्नेले आफ्नो कार्यकालभरी सरकार चलाउँछन्, हार्नेले हारको समीक्षा गर्दै अर्को पाली जित्ने रणनीति बनाउँछन् । देशमा शान्ति र स्थिरता हुन्छ । बेरोजगार जनशक्ति नभएकाले राजनीतिक दलहरूका बन्द हडतालमा भीडभाड हुँदैन । 
    राजनीतिक दलका नेताहरूका कोरा भाषण सुन्ने फुर्सद उद्यमी व्यवसायीलाई हुँदैन । व्यवसायी आफ्नो व्यवसायमा भीडभाड भएको देख्न चाहन्छन् । व्यापार फस्टाएको र बिक्री बढेको देख्न चाहन्छन् । यसरी जनताको साथ नपाएपछि र भाषणमा ताली ठोक्दै बुरुक् बुरुक् उफ्रिने जमात नदेखेपछि दलहरूले पनि अस्थिरता मच्चाउन पाउँदैनन् र राजनीतिक स्थिरता हुन जान्छ । यसर्थ पनि जनता उद्यमशील हुन र समाजमा उद्यमशीलताको विकास हुन जरुरी छ ।

(ङ)    उद्यमशीलता र स्वस्थ समाज
    
    उद्यमशील समाजमा सम्पन्न व्यक्तिहरूको बास हुन्छ । मान्छे सम्पन्न भएपछि आफ्नो आम्दानीको ठूलो हिस्सा आवास, खानपान, लुगाफाटो, शिक्षा, स्वास्थ्य, मनोरन्जन, समाजसेवा आदिमा खर्च गर्ने गर्दछ । राम्रो र सुविधासम्पन्न घरमा बस्ने मान्छे तुलनात्मक रूपमा कम बिरामी हुने गर्दछ । मौसम अनुसारको लुगाफाटोले उसलाई सुन्दरता प्रदान गर्नुका साथै उसको शरीरको रक्षा गर्दछ । पोषिलो खाना खान सक्ने हैसियत भएकाले उसको परिवारलाई रोगव्याधिको खतरा पनि तुलनात्मकरूपमा कम हुन्छ । अहिले जनताले अर्बौं रूपियाँ स्वास्थ्य उपचारमा स्वदेशमा खर्च गरिरहेका छन् भने त्यत्तिकै मात्रामा देश बाहिर गएर उपचारमा खर्च हुने गरेको छ । कतिपय परिवारको स्वास्थ्य उपचारले उठिबाससमेत हुने गरेको छ । पोषणयुक्त (१. चामल, मकै, कोदो, गहुँलगायतका अन्नहरू जसले शरीरलाई शक्ति दिने गर्दछ २. दाल र गेडागुडीहरू जसले शरीरको वृद्धि विकास गर्दछ ३. हरिया सागपात र पहेंला फलफूल जसमा भिटामिन र खनिज पाइन्छ र रोग लाग्नबाट बचाउँछ ४. माछा मासु, अण्डा कलेजो, दूध घ्यू जसले प्रोटिन तथा सूक्ष्म पोषक तत्व उपलब्ध गराउँछ र शारीरिक तथा मानिसिक विकासमा सहयोग गर्दछ । यसरी हरेक बार खाना चार) र स्वच्छकर तथा सरसफाइयुक्त खाना खान पाए माथि उल्लेखित मोटो रकम खर्च हुनबाट जोगिने छ । 
    यसरी उद्यमी व्यवसायीले आवश्यक मात्रामा आराम गर्ने, मनोरन्जन गर्ने भएकाले उसलाई रिस राग र वैर भाव कम हुन्छ । आफू व्यावसायिक काममा व्यस्त हुने भएकाले अर्काको निन्दा गर्ने, एक अर्कालाई लडाउने खेलमा लाग्न उसलाई फुर्सत् हुँदैन । यस्तो व्यक्ति शारीरिक र मासिकरूपमा स्वस्थ रहन्छ । आफ्ू मात्र स्वस्थ रहने नभई उसले आफ्नो सम्पूर्ण घर परिवार, उद्यम व्यवसायमा काम गर्ने कर्मचारीहरू सबैलाई स्वस्थ राख्ने प्रयास गर्छ । सबै उद्यमी व्यवसायीका परिवार स्वस्थ रहे समाज नै स्वस्थ रहन्छ । स्वस्थ समाज स्वस्थ राष्ट्रको जग हुने र स्वस्थ राष्ट्र प्रगति पथमा अग्रसर हुने गर्छ । यसरी उद्यमशीलता विकासको माध्यमबाट स्वस्थ राष्ट्र र स्वस्थ समाजको परिकल्पना गर्न सम्भव छ । तपाईँ हामी सबै मिले यो सबै कुरा परिलोकको कथा नभएर हाम्रै नियन्त्रणमा हुन्छ, हाम्रै पालामा हुन्छ र हाम्रै देशमा हुन्छ ।

(च)    उद्यमशीलता र सभ्य एवं शिक्षित समाज 
    
    उद्यमी व्यवसायीका छोराछोरीहरू विद्यालय जान नपाएर शिक्षाबाट वञ्चित भएका उदाहरणहरू विरलै होलान् । राम्रो शिक्षाका लागि राम्रो आम्दानीको आवश्यकता पर्छ । यदि कुनै उद्यमी व्यवसायीको परिवार स्वस्थ छ, गर्भवती भएको बेला महिलाले राम्रो खानपान र स्याहार (पोषिलो खाना, उचित स्याहार, सरसफाई, समय समयमा गर्भ जाँच आदि) पाउन सक्यो भने ती महिलाले स्वस्थ शिशुलाई जन्म दिन्छिन् । शिशुले पनि समय समयमा प्रशस्त मात्रामा आमाको पोषिलो दूध, मौसम अनुसारका फलफूल, हरियो सागपात र थप आहार तथा उचित स्याहार एवं माया पाएको खण्डमा उक्त शिशुको मानसिक विकास तीव्र गतिमा हुने गर्दछ । राम्रो दिमाग भएको बाल बालिकाहरूले विद्यालयमा शिक्षक शिक्षिकाले पढाएको कुरा अन्य सामान्य दिमाग भएको बाल बालिकाले भन्दा छिटो बुझ्ने गर्छन् । 
    घरमा पनि तिनीहरूको पढ्ने वातावरण राम्रो हुने हो र अभिभावकले पनि आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सर्वाङ्गीण विकासमा ध्यान दिने हो भने ती कलिला बालबालिका भोलि गएर उच्च तहसम्म राम्रो पढाइ गर्न सक्छन् । राम्रो पढाइ गरेका विद्यार्थीले राम्रै व्यवसाय गर्लान् वा नोकरी गर्न चाहे पनि राम्रै ओहदा प्राप्त गर्लान् । राजनीति गर्ने हो भने पनि राम्ररी देशलाई नेतृत्व दिन सक्लान् । यसरी घर परिवारका सबै बालबालिका शिक्षित हुने हो भने सम्पूर्ण समाज र अन्ततोगत्वा सिङ्गो राष्ट्र नै शिक्षित र सभ्य हुन पुग्दछ । यसका लागि उद्यमशीलताको महत्वपूर्ण योगदान रहन्छ ।


(छ)     उद्यमशीलता र देशको एकता तथा अखण्डता
    
उद्यमशील व्यक्ति सृजनशील हुन्छ अथवा भनौँ सृजनशील भएर नै उद्यमशील हुन सकिन्छ । एउटा सफल उद्यमी भनेको एउटा कलाकार सरह हो, जसरी एउटा सफल कलाकारले आफ्नो कलाकारितामा दिनानुदिन निखार ल्याउने कोसिस गर्दछ, त्यसैगरी एउटा सफल उद्यमीले पनि दैनिकरूपमा आफ्नो व्यवसायको प्रगतिमा निखार ल्याउने प्रयास गर्दछ । आफ्ना सेवाग्राहीहरूको सल्लाहलाई उसले सकारात्मक रूपमा लिने गर्छ र सोही अनुरूप आफ्नो वस्तु अथवा सेवाको गुणस्तरमा सुधार ल्याउँछ । बेरोजगार मानिसलाई कसरी समय कटाउने भन्ने हुन्छ तर उद्यमी व्यवसायीले समय हमेसा छोटो भएको महसुस गर्दछ । उद्यमी व्यवसायीलाई समयको महत्व थाहा हुन्छ । ऊ समयलाई माया गर्दछ, आफ्नो व्यवसायलाई माया गर्दछ । यसरी मिहिनेतपूर्वक व्यवसाय सञ्चालन गरेर आफ्नो देशको नियम कानुनअनुसार राज्यलाई करसमेत तिर्ने गर्दछ । ऊ समाजमा शान्ति स्थापना भएको र आफ्नो व्यवसाय निर्वाधरूपमा सञ्चालन भएको देख्न चाहन्छ । एउटा सफल व्यवसायी देशमा राजनीतिक स्थिरता, शान्ति, सुव्यवस्था र विधिको शासन चलेको हेर्न चाहन्छ । उसलाई देशको अगाध माया हुन्छ । 
    किनभने देश रहे न उसको व्यवसाय पनि रहन्छ । उसले नियमानुसार राज्यलाई कर तिर्ने र राज्यबाट प्राप्त सुविधाहरूको उपभोग गर्ने हुनाले राज्यको समृद्धि र प्रगतिमा उसको योगदान रहन्छ । यदि सबैजना उद्यमी व्यवसायी भए र, देशको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान दिए भने राज्य बलियो हुन्छ । बलियो राज्यले अरू कसैको दबाबमा आउनु पर्दैन । ऊ अरू देशको दबाबमा आउँदैन, आउनु पर्ने बाध्यता हुँदैन र आफ्नो देशलाई फाइदा पुग्ने गरी आफ्ना नीति नियमहरू बनाउने र तिनलाई कार्यान्वयन गराउने गर्दछ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहले “प्रजा बलियो भए मुलुक बलियो हुन्छ” भनेका थिए । यसरी समृद्ध राष्ट्र नै आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न सक्छ । सबल, समृद्ध र देशभक्त जनता भए देशको एकता पनि मजबुत हुन्छ । अत एव देशको एकता र अखण्डताका लागि उद्यमशीलताको महत्वपूर्ण योगदान रहन्छ ।

(ज)    उद्यमशीलता र अपराध न्यूनीकरण
उद्यमशीलता विकासद्वारा गरिबी न्यूनीकरण मात्र होइन, अपराध न्यूनीकरणमा समेत बल पुग्दछ । उद्यमशीलताको चरम विकास भएका देशहरूमा अपराधहरूको सङ्ख्या पनि तुलनात्मकरूपमा कम रहेको पाइएको छ । जापान, चीन, दक्षिण कोरिया, हङ्कङ, सिङ्गापुरजस्ता उद्यमशीलताको अत्यधिक विकास भएका देशहरूमा अपराधहरूको संख्या चरम बेरोजगारी भएका देशहरूको तुलनामा कम रहेको पाइएको छ । अपराधशास्त्रका अनुसार कुनै पनि व्यक्ति जब कुनै न कुनै किसिमको वस्तु वा सेवाको अभाव बोध गर्छ, तब ऊ त्यस वस्तु वा सेवा प्राप्तिको लागि विभिन्न प्रकारका प्रयासहरू गर्छ । ती प्रयासहरू बैध प्रकारका हुन गए उसले मिहिनेत गरेको मानिने भयो । तर जब ती प्रयासहरू राज्यको कानून र समाजको प्रचलित परम्परा अनुसार नभएर ती सीमाहरूको उल्लंघनद्वारा गरिन पुग्छन् भने त्यसलाई अपराध भनिन्छ । उदाहरणको लागि औषधिको बिक्री गर्नु राज्यको कानून अनुसार बैध हो भने लागु पदार्थको बेचबिखन गर्नु अपराध हो । बारी भरी खुर्सानी उमारेर बेच बिखन गर्नु आय आर्जन हो, बैध हो भने त्यही बारीमा गाँजाको खेती गरेर पैसा कमाउनु अबैध हो, अपराध हो । बेरोजगार व्यक्तिले रोजगार अथवा भनौँ काममा व्यस्त व्यक्तिको तुलनामा बढी अपराधहरू गर्ने गरेको पाइएको छ । “खाली दिमाग शैतानको घर” भनिन्छ । 
    कुनै व्यक्तिसँग आवश्यकता परिपूर्ति गर्नको लागि गोजीमा पैसा छैन तर ऊसँग पर्याप्त समय छ अर्थात् ऊ बेरोजगार छ भने उसले अपराधतिर मोडिने संभावना बढी हुन्छ । यसले के देखाउँछ भने यदि कुनै समुदायका सबै जसो व्यक्तिहरू उद्यम व्यवसायमा व्यस्त हुने हुन् भने त्यहाँ अपराधहरूको संख्यामा पनि उल्लेख्य मात्रामा न्यूनीकरण भएर जानेछ । त्यसैले सरकारले कारागारका बन्दीहरूलाई विभिन्नखाले सीपहरू सिकाएर उद्यमी बनाउने गरेको छ ताकि भोलीको दिनमा तिनले कारागारबाट निस्केर खाली नबसुन्, केही न केही उद्यम व्यवसाय गरेर आय आर्जन पनि गर्न सकुन् र पुनः अपराध कर्मतिर तिनीहरूको ध्यान नजाओस् ।
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप