शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘एनआरएनले क्रिटिकल अवस्थामा पनि प्रशस्तै काम गरेको छ’

एनआरएन अध्यक्ष भवन भट्टसँगको अन्तरवार्ता
आइतबार, १४ असोज २०७५, १२ : १७
आइतबार, १४ असोज २०७५

गैरआवासीय नेपाली सङ्घ एनआरएनका अध्यक्ष भवन भट्टले आफ्नो १ वर्षीय कार्यकाल पूरा गरेका छन् । गएको वर्ष असोजमा काठमाडौँमा भएको ८औँ महाधिवेशनबाट उनी अध्यक्षमा चुनिएका थिए । गोरखामा जन्मिएका भट्ट जापानमा व्यापार व्यवसायमा संलग्न रहेका छन् ।
 सन् २००३ मा जापानमा पहिलो रेस्टुरेन्ट  सञ्चालनमा ल्याएका भट्टको अहिले जापानभर २ सय ८० रेस्टुरेन्ट खुलेका छन् । उनले रेस्टुरेन्ट व्यवसायका साथै घरजग्गा कारोबार, हवाई क्षेत्रमा लगानीका साथै हाइड्रोपावरलगायतका विभिन्न क्षेत्रमा लगानी गरेका छन् । केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनको राजकीय भ्रमणका बेला गैरआवासीय नेपाली सङ्घको अध्यक्षको हैसिसतमा उनी पनि भ्रमणमा सहभागी भएका थिए । विश्वभर छरिएर रहेका नेपालीको हितका साथैसाथै नेपालको हितका क्षेत्रमा गैरआवासीय नेपालीहरूको हितका लागि काम गर्दै आएको छ । उनले नेतृत्व सम्हालिसकेपछि के–के काम गरे, यो सङ्घलाई उनले कसरी अघि बढाइरहेका छन् ? यिनै सममामयिक विषयमा विश्वभर ७८ देशमा रहेका झन्डै ७० लाख हाराहारी गैरआवासीय नेपालीहरूको नेतृत्व गर्दै आएका अध्यक्ष भवन भट्टसँग रातोपाटीका लागि  टुना भट्ट  र शम्भु दङ्गालले गरेको कुराकानीको सम्पादित अंशः

गैरआवासीय नेपाली सङ्घले अहिले के–के गरिरहेको छ ? 
गैरआवासीय नेपाली सङ्घले २००३ सालदेखि नै फर नेपाली बाई नेपाली अर्थात नेपालीका लागि नेपाली नै भन्ने मन्त्रले ओतप्रोत भएर काम सुरु गरेका हौँ । अहिले हामीले नेपालबाहेक ७८ राष्ट्रहरूमा प्रत्येक दिन नेपालीहरूसँग सहकार्य गरेर नेपालीलाई परेका आपत विपतमा सहयोग गर्न एनआरएनको महत्वपूर्ण भूमिका रहेको छ ।

यस्तै हामीले सामाजिक कामहरू अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर लाप्राक एकीकृत नमुना बस्ती निर्माणको कामलाई अघि बढाइरहेका छौँ । भूकम्पको इपिसेन्टर रहेको यो ठाउँमा अहिले यो सम्पन्न हुने चरणमा रहेको छ । यहाँ ५ सय ७३ घर रहेका छन् । 

यस्तै हामीले अर्को मेगा प्रोजेक्ट बालुवाटारमा मेगा प्रोजेक्टअन्तर्गत आफ्नै हेडक्वार्टर भवन निर्माण गर्दैछौँ । त्यसमा हामी अक्टोबर ११ सम्म सर्ने तयारीका साथ हामीले काम अघि बढाइरहेका छौँ । काठमाडौंको शङ्खमूलमा हामीले एउटा पार्क बनाएका छौँ । यो बनाउन पनि केही ढिलाइ भएको थियो, यसलाई पनि हामीले अक्टोबर ११ मा नै हस्तान्तरण गर्ने योजना बनाएका छौँ । 

हामीले सुन्ने गर्छौैं, नौबिसेदेखि मुग्लिनसम्म जहिले पनि दुर्घटना हुने गरेको छ, त्यहाँ धेरै हाम्रा ठूला नेतादेखि धेरै सर्वसाधारण जनताले ज्यान गुमाइहेको घटनाले हामीलाई छोयो र हामीले एउटा सडक सुरक्षा आयोजना अन्र्तगत हामीले त्यहाँ चार स्थलमा गाडी नपल्टिने प्रविधि हस्तान्तरण गर्दैछौँ । 

यस्तै सिन्धुली जहाँ हाम्रा वीर गोर्खालीहरूले अङ्ग्रेजी सेनाहरूलाई हराएर नेपाललाई एउटा स्वतन्त्र राष्ट्रका रूपमा जोगाएका थिए  । त्यहाँ दरबार थिएन, हामीले एउटा मास्टर प्लान बनाएर अक्टोबर ११ मा त्यहाँको नगरपालिकालाई हस्तान्तरण गर्दैछौँ । यस्तै उज्यालो नेपाल अन्तर्गत हामीले १ करोड एलईडी बल्ब वितरण गर्न कार्यदल गठन गर्दैछौँ । यसले ३ सय मेगावाटको बिजुली बचत गर्छ । यसको खरिद प्रक्रिया र वितरणका लागि नेपाल विद्युत प्राधिकरणले हामीलाई सहयोग गर्दैछ । अहिले हामीले तत्काल गरिरहेका आयोजनाहरू यिनै हुन् । 

तपाईं पूर्वाधार विकास कम्पनीको अध्यक्ष पनि हुनुहुन्छ ? यसमा तपाईंले कस्ता काम गर्नुभएको छ ?
यसअन्तर्गत नेपाल सरकारले दिएको योजना अनुसार काठमाडौं कुलेखानी सुरुङमार्गको योजना हो । आर्थिक साझेदार नभएकाले हामी रोकिरहेका थियौँ । पछिल्लो चरणको विकास भनेको पावर चाइना कम्पनीसँग जेडीए अर्थात जोइन्ट डेभेलोपमेन्ट एग्रिमेन्ट गर्न सफल भएका छौँ । यो भनेको उनीहरू पार्टनरका रूपमा आउने हो । यसमा उनीहरूले ९५ प्रतिशतसम्म लगानी ल्याउने भन्ने छ । यसमा एनआरएन संस्थाले नै लगानी चाहिँ गर्दैनन् तर धरै एनआएनले लगानी गरेका छन् । मैले आफैले पनि लगानी गरेको छु ।  

लगानी भनेको रिस्क पनि हुन्छ, कसैले पनि यसको ग्यारेन्टी गर्न सक्दैन । हाइड्रोको सेक्टरमा सरकारले पीपीए गर्नु भनेको एकदमै फाइदाजनक हुन्छ । लगानी गर्न र बढाउनका लागि पनि हामीलाई त्यो मोडेल सजिलो हुन्छ हामी पनि त्यतैतिर जान्छौँ । 

नेपालमा तपाईंहरूले लगानीको क्षेत्र कुन–कुन देख्नुभएको छ ? 
व्यक्तिगत रूपमा त एनआर एनले धरै ठाउँमा लगानी गरेका छन् । कुखुरा फार्मदेखि लिएर कृषि उद्योगमा पनि लगानी गरेका छन् । स्ट्राबेरी, किवी लगायतका धेरै खेतीदेखि लिएर हाइड्रोसम्म लगानी गरेका छन् । काठमाडौँ कुलेखानी सुरुङमार्गमा धेरै एनआरएनको लगानी रहेको छ । राम्रा राम्रा कलेजहरूमा पनि लगानी गरेका छन् । अस्पताल, टेलिकम्युनिकेसन, बैङ्कहरूलगायत विभिन्न सेक्टरमा एनआरएनले आफ्नो क्षेत्रबाट लगानी गरेका छन् । 

तर एनआरएनले देखिने खालको कुनै मेगा प्रोजेक्टलाई अगाडि बढाउन त सकेका छैन नि ? 
यो कस्तो हुन्छ भने कुनै पनि संस्थाले आफैँ लगानी गर्न मिल्दैन । त्यो संस्था चाहिँ माध्यम बन्ने हो । हामीले नेपाल सरकारसँग सहकार्य गर्ने काम गर्ने, एफडीआईको प्रक्रियामा सहजीकरणका लागि सहयोग गर्ने हो । अब लगानी गर्ने भनेको नै फाइदाको लागि नै हो । गैरआवासीय नेपाली सङ्घ भनेको चाहि एउटा साझा सवारी सधान जस्तो लगानीका लागि साझा थलो बनाउने हो । 

यसले चाहिँ साना साना लगानीकर्तादेखि ठूला लगानीकर्तालाई एकैठाउँमा बसेर बनाउने भन्यौँ, त्यसमा राष्ट्र बैङ्कले पनि एकजना कर्मचारी खटाइसकेको छ । अर्थमन्त्रालयले पनि हामीलाई कोअर्डिनेसन गरिरहेको छ । धितोपत्र बोर्डले पनि हामीलाई सहयोग गरिरहेको छ । एउटा साझा एक सय मिलियन बराबरको लगानी कोष बनाउने उद्देश्य राखेका छौँ । यसको मेकानिजम निर्माणको लागि एउटा कार्यदलले द्रुत गतिमा काम गरिरहेको छ । 

त्यो दर्ता भइसकेपछि त्यसबाट हामीले लगानी गर्ने भनेको भौतिक संरचना निर्माण, हाइड्रोपावर निर्माण गर्ने हो । लगानी भनेको रिस्क पनि हुन्छ, कसैले पनि यसको ग्यारेन्टी गर्न सक्दैन । हाइड्रोको सेक्टरमा सरकारले पीपीए गर्नु भनेको एकदमै फाइदाजनक हुन्छ । लगानी गर्न र बढाउनका लागि पनि हामीलाई त्यो मोडेल सजिलो हुन्छ हामी पनि त्यतैतिर जान्छौँ । 

तपाईंहरू एनआरएनहरू विगतदेखि नै नेपालमा लगानीको वातावरण भएन भन्दै आउनुभएको छ । अहिले राजनीतिक स्थिरता छ, स्थिर सरकार छ, शान्ति सुरक्षा पनि कायम छ तर यस्तो बेलामा पनि नेपालमा लगानीक लागि तपाईंहरूको खासै सक्रियता छैन ?

तपाईं नै भन्नुस काठमाडौँ कुलेखानी सुरुङमार्ग १ सय अर्ब बराबरको योजना हो, जसको मुख्य सेयर होल्डरहरू नै एनआएन छन् । यसरी हेर्दा सबैभन्दा ठोस योजना भनेको त्यही नै हो । यसले मुलकको मुहार चित्र नै परिवर्तन गर्छ । यहाँ पाँच तारे होटलहरू पनि बनिरहेका छन् । नेपालको ठूलो अस्पताल मेडासिटी पनि एनआरएनकै लगानी हो । 

यसरी हेर्ने हो भने टेलिकम्युनिकेसनमा पनि त गैरआवासीय नेपालीहरूकै लगानी छ नि । सानीमा बैङ्कमा पनि त गैरआवासीय नेपालीहरूले लगानी गरेर चलाइरहेका छन् । लगानीको वातावरण छैन भन्दा पनि मुलुकका लागि केही होस् भनेर हामी काम गरिरहेका छौँ । अहिलेको हकमा के छ भने सरकार पनि गैरआवासीय नेपालीहरूलाई अगाडि नल्याएसम्म मुलुकको विकासमा फड्को मार्न धेरै कठिनाइ हुन्छ भनेर उहाँहरूले भनिरहनुभएको छ । 

पहिलो पटक नै प्रधानमन्त्रीको राजकीय भ्रमणमा गैरआवासीय नेपालीहरूलाई सामेल गराइयो । प्रधानमन्त्रीसँगै मैले भारत जाने मौका पाए, चीन पनि जाने मौका पाएँ, यसमा म आफूलाई भाग्यमानी ठान्छु । यसले के देखाउँछ भने सरकारले अब गैरआवासीय नेपालीलाई पनि सँगै साथ लिएर अघि जान्छ । यो एउटा सरकारको पनि सकारात्मक लक्ष्य हो, हामीलाई पनि त्यति नै उत्साह बढेको छ । 

एनआरएनले केही सानातिना काम त गरिरहेको छ तर सबैले देख्ने खालको ठोस योजना त केही छैन ,  सम्मेलनका बेला ठूला ठूला कुरा गर्ने पछि त्यसै सेलाएर जाने गरेको भन्ने आरोप पनि छ नि ? 

कुरा त ठूलै गर्नुपर्छ हेर्नुस्, सानो कुरा गरेर ठूलो हुँदै हुँदैन । अहिले के भने गैरआवासीय सङ्घले मात्र हैन, अहिले ७० लाख जनसङ्ख्या विदेशिएका छौँ । पहिलो चरणमा आफ्नै नितान्त आवश्यकता पूरा गर्दैमा एउटा चरण पार भएको हुन्छ । केही सीमित मान्छे मात्र हुन्छन कि बिलियन बिलियन डलर ल्याएर खर्च गर्न सक्ने । मैले के भन्ने गरेको छु भने अब गैरआवासीय नेपालीको मात्र पैसा हैन, त्यो एउटा कमन इन्भेस्टमेन्ट भेहिकल त हो । त्यसको १० अर्बको चाहिँ बजेट हुँदो रहेछ । 

त्यति धेरै नेपाली हुँदा पनि जम्मा १० अरबको लगानी हुँदो रहेछ । नेपालमा १५ वर्षको अवधिमा त्यति ठूलो बजेट चाहिँ आएको छैन । 

यो गैरआवासीय सङ्घको माध्यमबाट भएको लगानी हो । यसमा हामी चाहिँ पुल बन्न सक्छौँ । एक किसिमले भन्ने हो भने काठमाडौँ कुलेखानी हेटौँडा सडकको एक सय अर्ब भनेको, म अध्यक्ष भएँ । यसमा साथीहरूले मलाई सहयोग गरे, मैले पनि विदेशमा काम गरेको अनुभव सेयर गरेको हुँ । यसमा गैरआवासीय सङ्घबाट १ सय आउनु भनेको सफलताको कुरा हो । संसारमै हामीले यो परिपाटीलाई चाल्नुपर्ने हुन्छ । 

यहाँ ठूला ठूला संरचनामा लगानी गरेको तपाईंले पनि सुन्नुहुन्न । किनकि यहाँ ब्याजदर अत्यन्तै महँगो छ । आफ्नो पैसा भनेको त सीमित मात्र त हुन्छ । संसारमा चाइनिजहरू धनी भए भनिन्छ, कति धनी भएका रहेछन् भने १२ करोड चाहिँ धनी भएका रहेछन् । उनीहरूको खातामा कति रहेछ भने सरदर ३ करोड रहेछ । धनी भएको चाइनिज भनेको त्यस्तो हुन्छ भने ट्रिलियन डलरका मालिकहरू पनि हुन्छन् । मैले भन्न खोजेको के हो भने एउटा जापनिजलाई धनी मान्छन् भने सरदर जापनिजको खातामा चाहिँ त्यो आँकडा निकाल्दा ६० लाख हुँदोरहेछ भने हामी त पहिलो पुस्ताका मान्छेहरू छौँ । जो नेपाली चाहिँ विदेश गएर खान लगाउन जान्ने भएको मात्र हो । 

त्यति ठूलोे फन्ड र जनशक्ति मोबिलाइज गर्न सक्ने त्यो तहमा हामी पुगकै छैनौँ आजको दिनमा पनि । त्यसलाई चाहिँ हामीले के मेथोड बनायौँ भने ससानादेखि लिएर एक करोडसम्म पनि एउटै ठाउँमा लगानी गराउने र आवश्यकताअनुसारको आयोजनामा लगानी गराउने भन्ने साझा लगानीको मार्ग बनाउने लक्ष्य लिएका छौँ । 

यसको मतलब चाहिँ पहिला तपाईंहरूले पहिले भनेजस्तो लगानीको वातावरण नभएको त हैन तर आफै सक्षम नभएका कारण केही गर्न नसकेको जस्तो कुरा आयो तपाईंबाट । गैरआवासीय नेपालीहरूले आफ्नो क्षमताभन्दा बढीका सपना बाढिरहेका हुन् ?  
जस्तो हामी ७० लाखको हाराहारीमा छौँ । सानो रकम पनि एक थुकी सुकी धेरै थुकी नदी भनेजस्तै सानो रकम पनि लगानीका लागि सङ्कलन गर्ने हाम्रो रणनीति पनि छ । गैरआवासीय नेपालीले मात्र हैन कुनै पनि विदेशीले पनि त्यती ठूलो लगानी गरेको छैन । किनभने हिजो चाहिँ अस्थिर सरकार थियो भनिन्थ्यो । गैरआवासीय नेपालीहरूले त्यस्तो क्रिटिकल अवस्थामा पनि प्रशस्तै काम गरेका छन् ।

मैले अघि पनि भनेँ, राष्ट्रको सबैभन्दा ठूलो अस्पताल, आजको दिनमा सबैभन्दा ठूलो ट्याक्स तिर्ने भनेको एनसेल हो नि । एनसेलको उद्गम पनि त गैरआवासीय नेपालीले नै त गरेका हुन् नि । राष्ट्रको सबैभन्दा ठूलो ट्याक्स तिर्ने निकाय यसलाई त तपाईंले सानो सोच्नै हुन्न नि । एकजनाले गरौँ वा सय जनाले गरौँ, लगानी गर्ने सीमित साथीहरू मात्र छौँ । 

संसारमा पनि त्यही नै हुन्छ । रहेका ५ सय विलियनहरू मध्ये ४ सय अमेरिकामा छन्, बाँकी १ सय चाहिँ बाँकी विश्वमा रहेका छन् । यही नेपालमा पनि त यहीँका नेपालीहरूको सीमित स्रोत र साधनबाट बैङ्कले ठूलो स्रोत जम्मा गरेको छ । त्यो कलेक्सन चाहिँ कसरी हुन्छभन्दा कमन इन्भेस्टमेन्ट भेहिकलबाट हुन्छ । त्यो हिसाबले गर्ने हो भने हामी ७० लाख छौँ । यहाँले त्यसको मल्टिप्लाई गर्नसक्नुहुन्छ, त्यही आधारमा पनि कमसेकम ५० हजारदेखि १ लाखसम्म लगानी गर्न सक्ने, ७० लाखको हिसाबले लगानी गर्ने हो भने त राम्रो फन्ड बन्छ नि । त्यो फन्डले चाहिँ लगानीको स्रोत जुटाउन सक्छ भन्ने मेरो भनाइ हो । 

हामीले सामूहिक लगानीको एउटा कम्पनी तयार गरेका छौँ । यसको कार्यदलका लागि राष्ट्र बैङ्कले पनि हामीलाई एक जना सदस्य दिएको छ । धितोपत्र बोर्डले पनि दिएको छ । रकम कलेक्सनका लागि कम्पनी दर्ता गर्नुपर्यो। त्यसको लागि सरकारले पनि हामीलाई सहयोग गर्नुपर्यो। कम्पनी बनेपछि हामी फन्डका लागि आह्वान गर्छौं । सो पैसा कहाँ लगानी हुन्छ भनेर फन्ड म्यानेजरले पहिले नै देखाउने हुन्छ । 

गैरआवासीय नेपालीले गोरखाको लाप्राकमा भूकम्पप्रभावितका लागि एकीकृत बस्ती निर्माण गरिरहेको छ तर निर्धारित समयमा काम गर्न सकेन किन ? 
हो, हामीले त्यहाँ ५ सय ७३ घर निर्माण गरिरहेका छौँ । त्यहाँ नेपाली सेनाले पनि हामीलाई पूर्ण रूपमा सहयोग गरिरहेको छ । जमिन सरकारको भएपछि सरकारले पनि हामीलाई सहयोग गरिरहेको छ । त्यसका राजनीतिकर्मीहरूले हामीलाई संरक्षण दिइरहेका छन् । यो एउटा सामूहिक रूपको एउटा बस्ती हो । यसमा जति खर्च लाग्छ, त्यसको फन्डिङ हामीले गरेका हौँ । 

सुगम ठाउँमा गरेको भए पहिला नै यो काम सकिन्थ्यो । यति दुर्गम ठाउँमा छ कि हामीलाई पनि एउटा भावनाले छोयो कि जुन ठाउँमा भूकम्प गएको छ, त्यही ठाउँमा काम गरौँ भनेर । मौसमका कारण ६ महिना त्यहाँ काम गर्न मिल्दैन । एकै दिन त्यहाँ ५ प्रकारको मौसम परिवर्तन हुन्छ, उत्तिखेरै पानी पर्छ, उत्तिखेरै घाम लाग्छ । धेरै पटक हेलिकप्टरबाट छिटो काम अघि बढाउन खोज्दा पनि असफल भएका छौँ । साइटमा हाम्रा एक सयभन्दा धेरै कामदारहरू रहेका छन् ।

१ सय ८० भन्दा बढी नेपाली सेनाले हामीलाई सहयोग गरिरहनुभएको छ । जुन जति छिटो रूपमा हुनुपर्ने हो, मौसमका कारण र सामान ढुवानी गर्नका कारण ढिलाइ भइरहेको छ । एउटा इँटा नै गोरखा बजारमा भन्दा ४ गुणा बढी पर्छ । अर्को कुरा चाहिँ सरकारले नै तोकिदिएको ठाउँमा बनाउनुपर्ने हाम्रो बाध्यता पनि थियो, जसले गर्दा ढिलाइ भएको हो । घर सम्पन्न भइसकेपछि व्यक्तिलाई लालपुर्जा दिने काम सरकारले गर्छ भने यसको हस्तान्तरण पुनर्निर्माण प्राधिकरणले गर्छ । 

संस्था भनेको एउटा सचेतकको भूमिका खेल्ने मात्र हो । हामी निर्णयकर्ता हैनौँ । हामी नीति निर्माता पनि हैनौँ, हामीले त सरकारलाई घच्घच्याउने मात्र हौँ ।

नेपालमा पर्यटन प्रवद्र्धन गर्ने काम पनि तपाईंहरूले गरिरहनुभएको छ ? यो काम अहिले कहाँ पुगेको छ ? 
पर्यटन प्रवद्र्धन गर्ने काम पनि अहिले अघि बढिरहेको छ । अस्ति भर्खरै युरोपमा नेपालमा पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ भनेर ३ मिनेटको भिडियो प्रतिस्पर्धा गरेका थियौँ ‘प्रेसिडेन्टल प्राइज’ भनेर । यो ३ वटा विधामा पुरस्कार दिइएको थियो । नेपालमा पर्यटन प्रवद्र्धन गर्न हामीलाई १ सय १० वटा सुन्दर भिडियोहरू प्राप्त भयो । ३ जनाले पुरस्कार जित्नुभयो तर हामीसँग कम पैसामा १ सय १० वटा प्रचारका लागि भिडियो तयार भयो ।

यस पटक हामीले अक्टोबर १२, १३ र १४ गते 'नलेज कन्फेरेन्स' अर्थात ज्ञान सम्मेलन गर्दैछौँ । हामीले यो सम्मेलन अमेरिकामा पनि गर्यौं। अहिले पिएचडी गरेका नेपाली डाक्टरहरू नै २५ सय रहेछन् अमेरिकामा । यस्तै युरोपमा पनि नेपाली डाक्टर, इन्जिनियर, भूगर्भशास्त्री, प्राध्यापक, अर्थशास्त्री आउनुहुन्छ । नेपालका योजनाहरूलाई सुदृढीकरण गर्न सक्ने अर्थशास्त्रीहरू पनि छन् । लगानी मात्र हैन यसपालि हामीले के गर्यौं भने खाली लगानी मात्र हैन, दिमागको लगानी विकास गर्ने हो भने त्यो अर्बौं रूपैयाँको लगानी हो ।

त्यसकारण हामीले यस पटक ज्ञान सम्मेलन गर्दैछौँ । यसमा नेपाल सरकारले पनि पार्टनरसिपमा आफ्नो नाम राखेको छ । प्रधानमन्त्रीज्यू आएर उद्घाटन गरिदिनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ । एनआरएन को इतिहासमै हामीले पहिलो पटक यस्तो सम्मेलन गर्न लागिरहेका छौँ । 

७० लाख नेपाली विभिन्न देशमा छरिएर रहेको सन्दर्भमा सबैभन्दा धेरै खाडी मुलुकमा श्रम गर्न जानेहरू धेरै छन् । त्यस क्षेत्रमा दुर्घटनामा पर्ने, अन्य अप्ठ्याहरूमा पर्ने नेपालीहरू धेरै छन् । उनीहरूको हितका लागि तपाईंहरूको भूमिका पनि खासै प्रभावकारी भएन भन्ने पनि आरोप छ नि !

हामी भनेको एउटा संस्था मात्र हौँ । संस्था भनेको एउटा सचेतकको भूमिका खेल्ने मात्र हो । हामी निर्णयकर्ता हैनौँ । हामी नीति निर्माता पनि हैनौँ, हामीले त सरकारलाई घच्घच्याउने मात्र हौँ । मैले अघि पनि भनेँ, त्यहाँ एनसीसी भन्ने नेसनल कोअर्डिनेसन काउन्सिल भन्ने हुन्छ, त्यहाँ अध्यक्षसहितको व्यवस्था गरिएको छ । नेपालीहरूको हितका लागि ३ सय ६५ दिन नै खटिएर लागि रहेका हुन्छौँ । हामीले यसबारेमा सम्मेलन पनि गरेका हुन्छौँ ।

अस्ति भर्खर मात्र पनि मध्यपूर्वमा सम्मेलन गर्यौं । त्यहाँ खानेपानी मन्त्री बिना मगर पनि अतिथि हुनुहुन्थ्यो । घरेलु हिंसाको घटना उहाँले पनि त्यहाँ सुन्नुभयो । महिलाहरूको वर्क पर्मिटको बारेमा पनि सुन्नुभयो । हामी मन्त्रीज्यूलाई बोलाउँछौँ, सचिवज्यूलाई बोलाँउछौँ । हामीले फ्यासिलेट गर्ने हो त्यहाँ । मध्यपूर्वमै भएकाहरूसँग आवाज उठाउँछौँ, त्यसका लागि एजेन्डाहरू तय गर्छौं, त्यसलाई हामी मन्त्रालयमा बुझाउँछौँ अनि पहल गर्छौं ।  

कहीँ आत्महत्याको केस भइरहेको हुन्छ जापानमा, त्यति मात्र हैन कि अहिले त गैरआवासीय नेपाली सङ्घ त श्रीमान श्रीमतीको झगडा मिलाउनसमेत लाग्नुपर्ने अवस्था छ । झगडा मिलाइदिनुपर्यो भनेरसमेत निवेदन पर्ने गरेको छ । 

नभएको हैन धेरै काममा सुधार भएको छ । बिमालाई ५ लाखसम्म पुर्याइएको छ । यहाँबाट श्रमस्वीकृति लिएर जाँदाको फन्ड सरकारले परिचालन गर्न सकेको छैन । त्यसमा ठूलो फन्ड कलेक्सन भएको छ । त्यसमा मैले के भनेको छु भने त्यसमा केही थप हामीलाई दिइयो भने हामी परिचालन गरिदिन्छौँ भनेको छु । अर्को कुरा नेपाल सरकारको कूटनीतिक नियोग भनेको ३३ राष्ट्रमा मात्र छ । हामी ७८ राष्ट्रमा छौँ र प्रत्येक राष्ट्रमा हरेक दिन नेपालीको समस्यासँग काम गरेका छौँ । 

जापान जस्तो देशमा ८० हजार मान्छे छन्, त्यहाँको दूतावासमा कर्मचारी भनेको जम्मा ५ जना छन् । ५ जनाले ८० हजारलाई सुविधा दिन त सक्दैनन् । बाँकी काम त्यहाँ कसले गरिरहेको छ भन्दा गैरआवासीय नेपालीहरूले नै गरिरहेका छन् । अरू संस्थाहरू पनि छन् तर त्यसको साझा संस्थाका रूपमा गैरआवासीय नेपाली सङ्घ विकास भएको छ । 

हाम्रो पत्रकार साथीहरू चाहिँ के भन्छन् भने २ वर्षमा आउँछन् तामझाम तडक भडक देखाउँछन्, दुई चार कुरा बोलेर जान्छन् अनि सेलाउँछन् भन्नुहुन्छ । त्यो मात्र हैन, यहाँ उठिरहेका छौँ भने कहीँ सुतिरहेको ठाउँमा पनि त्यहाँ समस्या भएको ठाउँमा, कहीँ आत्महत्याको केस भइरहेको हुन्छ जापानमा, त्यति मात्र हैन कि अहिले त गैरआवासीय नेपाली सङ्घ त श्रीमान श्रीमतीको झगडा मिलाउनसमेत लाग्नुपर्ने अवस्था छ । झगडा मिलाइदिनुपर्यो भनेरसमेत निवेदन पर्ने गरेको छ । 

नेपालमा विकासका लागि लगानीका नयाँ सम्भावनाहरू के–के छन् । लगानी गर्नका लागि नीति नियमको अवस्था कस्तो छ ? 
मलाई के लाग्छ भने यो नवनिर्माण भएको मुलुक हो । एक किसिमले भन्ने हो भने हामी ढिलो थियौँ, एक किसिमले भन्ने हो भने अभागी थियौँ । ढिलो त भयौँ तर हामी भाग्यमानी पनि छौँ । कसरी भन्नुहुन्छ भने नयाँ प्रविधि प्रयोेग गर्न सक्ने अवस्थामा भने छौँ ।

जस्तो म तपाईंलाई एउटा उदाहरण दिन्छु, जापानमा टनेलमार्ग बनाउनुपर्यो भने त्यहाँ बनाउने ठाउँ नै छैन । अहिले ३० वर्ष पुरानो प्रविधिले बनाएको सुरुङमार्ग छ । त्यसलाई भत्काएर नयाँ बनाउन सम्भव छैन । जब कि हामी विश्वको सबैभन्दा पछिल्लो प्रविधिको प्रयोग गरेर विकास गर्न सक्छौँ । 

यसमा सरकारले के गरिदिएहुन्थ्यो भन्ने हैन कि सरकारसँग कसरी गरेर जाने भन्ने हो । त्यसैकारण हामीले यसपटक ज्ञान सम्मेलन गर्न गइरहेका छौँ । सरकारकै सहभागितामा राखिएको यो सम्मेलन कस्तो हो भने नेपाल सरकारले कस्तो चीज गर्न सक्छ, हामीसँग के कुरा छ । 

जस्तै एउटा उदाहरण दिन चाहन्छु, अमेरिकामा एकजना क्यानडाको नेपाली वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नुभयो, ‘बनमारा भन्ने घाँसले एकदम दुःख दियो रे एउटा गाउँमा, जापानी प्राविधिक ल्याएर ४० लाख खर्च गरेर त्यो मासियो रे । पछि क्यानडाले गरेको अनुसन्धानमा बनमारा मासेर लगाएको बाली भन्दा बनमासा त्यति धेरै महत्वपूर्ण रैछ कि ३ गुणा महत्वपूर्ण चीज रहेछ रे ।’ भनाइको मतलब हामीले कति धेरै महत्वपूर्ण आफ्नै चीज गुमायौँ ।

यस पटक हामीले गर्न खोजेको त्यही नै हो । बाहिर बसेका हाम्रा नेपाली विद्वानहरू आउँछन्, कसैले कानुनको बारेमा, कसैले विकास निर्माणको बारेमा, कसैले फन्ड सङ्कलन गर्ने र परिचालन गर्ने विषय लगायतमा विज्ञ सम्मेलन गर्दैछौँ । 

नेपालमा लगानी गर्न खास–खास समस्या के हुन् ?
एउटा यो एफडीआई अर्थात फरेन डाइरेक्ट इनभेस्टमेन्ट पोलिसी । त्यति सहज बनिसकेको छैन । जस्तो मैले यहाँ लगानी गर्न खोजे भने एफडीआई प्रक्रिया लामो हुने भएकाले काम गर्न कठिनाइ छ । मेरो यहाँको पनि पासपोर्ट छ, मैले यहाँ पनि भोगचलन गर्न पाउँछु ।

तर भोलि यहाँ राम्रो भयो अन्त बाहिर लगानी गर्न पैसा लैजाउँ भन्दा लान सकिँदैन । एफडीआई प्रक्रिया नगरी मैले गरेको लगानीको पैसा मैले लान सक्दिनँ । यो प्रक्रिया पूरा गर्न धेरै समय लाग्छ । सबैभन्दा ठूलो समस्या नै यहाँ छ । एनसेलधरीले आफ्नो मुनाफा राम्रोसँग लान सकेको छैन ।

यहाँ लगानी गरेर आएको पैसा लान पाएन भने त भोलि ठूलो लगानीकर्ताले त सोध्छ नि त यहाँको अवस्था कस्तो छ भनेर ।  पैसा सजिलैसँग लान पाएको छैन भनेपछि त उसको लगानी त रोकिन्छ नि । त्यस्ता विषयहरूमा सरकारले सहजीकरण गर्नुपर्ने हुन्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप