बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईले राजनीतिबाट सन्न्यास लिनुहुन्न : गङ्गा श्रेष्ठ

सोमबार, १५ असोज २०७५, १० : ४६
सोमबार, १५ असोज २०७५

गङ्गानारायण श्रेष्ठ नयाँ शक्ति पार्टी, नेपालका हेडक्वाटर सदस्य हुन् । उनी डा. बाबुराम भट्टराईसँग नयाँ शक्ति निर्माणको अभियानमा सुरुदेखि नै सक्रिय थिए । चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि अहिले नयाँ शक्ति पार्टी राजनीतिक–वैचारिक र सङ्गठनात्मक शक्ति निर्माणमा जुटेको छ । राजनीतिक–वैचारिक अध्ययनका लागि संयोजक डा. भट्टराई विभिन्न मुलुकको अध्ययन भ्रमणमा छन् । यता श्रेष्ठसहितका नेताहरू चाहिँ सङ्गठन निर्माणका लागि देश दौडाहमा छन् । डा. भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रमुख स्वकीय सचिव भएर काम गरेका श्रेष्ठलाई कतिपयले नयाँ शक्तिको राजनीतिक उत्तराधिकारी पनि भन्छन् । नयाँ शक्तिको गतिविधि र अहिलेको राजनीतिक अवस्थाबारे रातोपाटीका संवाददाता बबिता शर्माले नेता श्रेष्ठसँग कुराकानी गरेकी छन् । 

–नयाँ शक्ति पार्टी हरायो नि ?
हेर्ने आआफ्ना आँखा हुन्छन् । कतिपय मान्छेहरूलाई दृष्टिभ्रम परेको हुनसक्छ ।

–अहिले के गर्दैछ त नयाँ शक्ति ?
ऐतिहासिक लुम्बिनी बैठकबाट तय भएको ‘भिजन पाँच स, मिसन पाँच वर्ष’को कार्ययोजनाअनुसार काम गरिरहेका छौं । नयाँ शक्तिका लागि २०७५ महाधिवेशन वर्ष हो । मङ्सिरसम्म स्थानीय तहको, माघसम्म प्रदेश तहको र फागुनको १० देखि १५ मा प्रथम महाधिवेशन गर्ने पार्टीको निर्णय छ । भर्खरै स्थापित पार्टीका लागि आकारभन्दा विचार धेरै महत्वपूर्ण हुन्छ । विचार सही भयो भने पार्टीको आकार त स्वतः बढ्छ । त्यसैले यतिखेर हामी विचारको प्रष्टतासहित पार्टीभित्र एकरूपता हासिल गर्न पार्टीको आन्तरिक प्रशिक्षणमा लागेका छौँ । पछिल्लो डेढ महिनामा सातै प्रदेश र एक दर्जन जिल्लाहरूमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गरेका छौँ । कात्तिक महिनाभरीमा बाँकी सबै जिल्लामा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गर्छौं । त्यसपछि सम्पूर्ण तागतसहित महाधिवेशनको काममा लाग्नेछौं ।


 
केही समयदेखि पार्टी संयोजक डा. बाबुराम भट्टराई लामो विदेश भ्रमणमा हुनुहुन्छ । तपाईंहरू सङ्गठन निर्माणमा हुनुहुन्छ । के बाबुराम भट्टराईले नेतृत्व हस्तान्तरण गर्न लाग्नुभएको हो ? कतिपय मान्छेहरू बाबुरामले सन्न्यास लिने कुरा पनि गरिरहेका छन् । उहाँको मनोविज्ञान के छ ?

मुख्य नेतृत्व विदेश भ्रमणमा जानुको अर्थ नेतृत्व हस्तान्तरण भन्ने हुन्छ र ? अनि मुख्य नेतृत्वको अनुपस्थितिमा पनि पार्टी काम व्यवस्थित रूपमा सुचारु भइरहनुको अर्थ नेतृत्व हत्याउन खोज्नु भन्ने हुन्छ र ? अरू पार्टीका मुख्य नेताहरू पनि विदेश भ्रमणमा गइराखेका हुन्छन् । नेकपाकै अध्यक्ष अहिले विदेश भ्रमणमा हुनुहुन्छ । यता पार्टी काम पनि भइ नै रहेको हुन्छ । खोइ ती पार्टीहरूमा यस्ता निराधार हल्लाहरू चलेको छैन त । म विनम्रतापूर्वक भन्न चाहान्छु, पहिलो कुरा बाबुरामले राजनीतिबाट सन्न्यास लिनुहुन्न । दोस्रो कुरा, हाम्रो पार्टीमा पुराना पार्टीहरूमा जसरी नेतृत्व हस्तान्तरण हुँदैन, पूर्ण लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुन्छ । तेस्रो कुरा, नयाँ शक्तिभित्र नेतृत्वको कुनै होडबाजी छैन । 

पार्टी संयोजक सल्लाहअनुसार नै विदेश भ्रमणमा जानु भएको हो । हेर्दा उहाँको निजी भ्रमण जस्तो देखिए पनि यो भ्रमण वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि अध्ययन भ्रमण हो । 

सङ्गठन निर्माणमा जे–जति दौडधूप गर्नुभएको छ, अलि–अलि आशा छ कि ?
 
अलिअलि आशा होइन, अब आउने निर्वाचनमा नयाँ शक्ति पार्टी देशको एक सशक्त वैकल्पिक शक्तिका रूपमा आउँछ भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त छौँ । त्यसैले उत्साहित भएर काममा जुटिरहेका छाँै । कतिपयले अझै पनि सोच्ने गर्छन्, नयाँ शक्ति पार्टी बन्छ र ? जसले यसरी सोच्ने गर्छन् वास्तवमा यो सोचाइ उनीहरूको भ्रम मात्र हो । साँचो कुरा त नयाँ शक्ति पार्टी बनिसकेको छ । अब यसलाई शक्तिको रूपमा स्थापति गर्न मात्र बाँकी छ । शक्ति आर्जनकै निम्ति अहिले हामी सबै सङ्गठनात्मक काममा अहोरात्र खटिरहेका छौँ । पाँच हजार किलो मिटरको देश दौडाहामा हामीले देख्यौँ । पुराना पार्टीहरूप्रति जनताको मात्रै होइन, तिनै पार्टीका नेता, कार्यकर्ताको पनि चरम असन्तुष्टि र अविश्वास बढिरहेको छ । सबैले विकल्प खोजिरहेका छन् । यता नयाँ शक्ति पार्टीभित्र भने सबैमा जिम्मेवारीबोधसहितको सक्रियता बढिरहेको छ । सबैमा एउटा अनौठो आत्माविश्वास सञ्चार भइरहेको छ । जनतामा पनि अबको विकल्प नयाँ शक्ति नै हो भन्ने पर्दै गइरहेको छ । म फेरि पनि आत्मविश्वासका भन्छु, यी सबैको योगफल अब आउने निर्वाचनमा नयाँ शक्ति पार्टी यो देशमा सशक्त वैकल्पिक शक्तिका रूपमा उदाउने छ । 


 
बाबुराम भट्टराईले कार्यकर्ता व्यस्थापन गर्न सक्नुहुन्न भन्ने आरोप छ । तपाईंहरू पाँच हजार किलो मिटर यात्रा पूरा गर्यौं भन्नुहुन्छ । के अब तपाईंहरूले व्यवस्थापनको जिम्मा लिनुभएको हो ?

हो, बाबुराम भट्टराईलाई खासगरी कम्युनिस्ट वृत्तका उहाँका हिजोका सहयात्रीहरूले लाउँदै आएको एउटा आरोप बाबुरामले कार्यकर्ताहरूको व्यवस्थापन गर्न सक्दैन भन्ने नै हो । उनीहरूको आँखाबाट यो कुरा सत्य नै हो । व्यक्तिगत रूपमा बाबुरामले कसैलाई पैसाको मुठो दिएर वा सङ्गठनात्मक रूपमा कसैलाई पद दिएर आफ्ना स्तुति गाउने भक्तहरू, दलालहरू बनाउन चाहँदैनन् । कसैलाई पैसा र पद दिएर उसको व्यवस्थापन हुन्छ ? भौतिक रूपमा पक्कै पनि व्यवस्थापन होला । तर वैचारिक रूपमा त्यस्ता कार्यकर्ता पक्कै पनि स्खलित हुन्छ । आलोचनात्मक चेत गुमाउँछन् । आत्मस्वाभिमान गुमाउँछन् । आलोचनात्मक चेत र आत्मस्वाभिमान गुमाएका कार्यकर्ताहरू बाहिर हेर्दा मात्र कार्यकर्ता हुन्, साँचो अर्थमा उनीहरू अन्धभक्त र दलाल बनिसकेका हुन्छन् । बाबुराम भट्टराई पार्टीभित्र अन्धभक्त र दलालको जमात जन्माउन चाहँदैनन् । परम्परागत पुराना पार्टीका नेताहरू र बाबुराम भट्टराईको एउटा मौलिक भिन्नता भनेकै यही हो । 

नेताले समग्रको नेतृत्व गर्ने हो, मेनेजरले जस्तो विशुद्ध व्यवस्थापन गर्ने होइन । मेरो बुझाइमा बाबुराम सफल नेता हुन् । तपार्इं अहिले नै हेर्नुस् न, उहाँ अमेरिका हुनुहुन्छ हामी पाँच हजार किलोमिटरको दौड सकेर भर्खर काठमाडौँ आएका छौँ । सिङ्गै पार्टी सक्रिय रूपमा आआफ्नो ठाउँमा अहोरात्र चलायमान भइरहेको छ । एउटा सफल नेताले गर्ने व्यवस्थापन भनेको यही होइन र ?

हामी हाम्रो पार्टीमा पुराना पार्टीहरूले जसरी व्यक्तिलाई पद र पैसा बाँडेर व्यवस्थापन गर्न चाहँदैनौँ । हामी पार्टीभित्र व्यक्तिलाई पूर्णकालीन होइन, पदलाई पूर्णकालीन बनाएका छौँ । सबै अभियन्ताहरूलाई उत्पादनमा जोड्दै छौँ । ‘राजनीतिलाई पेसा होइन, सेवा बनाऔँ’ भन्ने त हाम्रो स्थापनाकालीन प्रतिबद्धता हो । हामी आफ्नो प्रतिबद्धतामा प्रतिबद्ध छौँ । हामी सबैलाई आत्मानिर्भर, पारदर्शी र इमानदार बनाउन चाहान्छौँ । 

संविधान जारीपछि सबै राजनीतिक पार्टीहरू विकास र समृद्धिको नारा बोकेर अगाडि बढेका छन् । सङ्गठनको आकारबाहेक नयाँ शक्ति र अरू पार्टीबीचमा खास फरक त भएन नि ? 

हामीले भनेको विकास, समृद्धि र पुराना पार्टीहरूले भनेको विकास, समृद्धिमा आधारभूत रूपमै भिन्नता छ । हामीले समृद्धिको चारवटा सूचकहरू भनेका छौँ । जसमा अत्यधिक उत्पादन बढाउने, समतामूलक वितरण गर्ने, दिगो विकासको मोडल अपनाउने र मावीय खुसी दिने । पुँजीवादीहरू भन्छन्, उत्पादन बढाऊ, साम्यवादीहरू भन्छन्, समान रूपमा वितरण गर । उनीहरूको यो मोडल त संसारमा प्रयोग भएर असफल नै भइसके नि ! नेकपा र काँग्रेस अहिले पनि त्यही असफल मोडलको विकास र समृद्धिको पछि दौडिरहेका छन् । तसर्थ उनीहरूको र हाम्रो विकास र समृद्धि आकारमा मात्र होइन, आधारभूत रूपमै फरक छ । 
गज्जब त के भइरहेको छ भने नेपालमा आफूलाई साम्यवादी भन्ने कम्युनिस्ट सरकारले शिक्षा र स्वास्थ्य जस्तो संविधान प्रदत्त नैसर्गिक अधिकारमा समेत हिजो काँग्रेसको सरकारभन्दा दस दोब्बर उफ्रिएर निजीकरण र ब्यापारीकरण गरिरहेका छन् । वास्तवमा नेपालका काँग्रेस र कम्युनिस्ट शब्दमा मात्र पुँजीवादी र साम्यवादी हुन् कर्ममा यिनीहरू एउटै हुन् । 

अब फरक प्रसङ्ग, केपी ओली नेतृत्वको सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?

पहिलो कुरा, ओली सरकार दुई तिहाईको सरकार हो । दोस्रोे कुरा, यो ‘कम्युनिस्ट’ सरकार हो । तेस्रो कुरा, यो संविधानसभाबाट संविधान जारी भएपछिको सरकार हो । चौथो कुरा, स्थानीय, प्रादेशिकलगायत सबै तहको निर्वाचन सम्पन्न गरेर बनेको शक्तिशाली सरकार हो । तसर्थ यो सरकारसँग अघिल्ला सरकारहरूसँग भन्दा बढी जनअपेक्षा हुनु स्वाभाविक थियो । तर विडम्बना, जनताको अपेक्षामा तुषारापात भइरहेको छ । 

इतिहासमै शान्तिसुरक्षा सबैभन्दा कमजोर भइरहेको छ । महिला हिंसाले त रेकर्ड नै तोडेको छ । बालिकादेखि वृद्धासम्म बलात्कृत भइरहेका छन् । बलात्कारपछि वीभत्स ढङ्गले हत्या भइरहेको छ । हत्याराहरू पत्ता लगाउन सकिरहेको छैन । गृहमन्त्रालयको आधिकारिक रेकर्डअनुसार पाँच पहिनामा १४०० महिला, बालिकाहरू बलात्कृत भएका छन् । अभिलेखमा नरहेका त अझ कति होलान् । यस्ता अमानवीय हत्या हिंसालाई रोक्नको साटो सरकारमा बसेका सत्ताधारीहरू सरकारविरुद्ध षडयन्त्र गर्यो भनेर दुनियाँ हसाउँछन् । कति नालायक ? कति गैरजिम्मेवार ?

मफिया र तस्करहरू त्यतिकै बढेका छन् । नीतिगत, योजनागत, संस्थागत र व्यक्तिगत अर्थात् कदम कदममा भ्रष्टाचार बढिरहेको छ । बूढीगण्डकीमा अर्बाैंको चलखेल छ भन्ने सुनिन्छ । ठेक्का लिने, काम नगर्ने, गरे पनि असाध्यै कमजोर स्तरको काम गर्ने, अनि फेरि तिनै ठेकदारहरूलाई ठेक्का दिने । यसको पछाडि अर्बाैंको लेनदेन छ भनेर लाटाले पनि बुझेको छ । पप्पु कन्स्ट्रक्सनको बारेमा त्यत्रो हल्लाखल्ला भयो । कारवाहीको सट्टा अहिले उसैलाई पुरस्कृत गरिरहेको छ । पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्रीले अर्बाैंको भ्रष्टाचार गरेको तथ्यसहित बाहिर आयो । सरकार सुनेको नसुन्यै गरी कानमा तेल हालेर बसिरहेको छ । ३३ किलो सुनको आरोपीलाई समाउँछु भनेर गृहमन्त्रीले गरेको चुरिफुरी पनि सबै नाटक रहेछ भनेर यहाँसम्म आउँदा प्रमाणित भएको छ । खुलेआम तस्करी भइरहेको छ । सरकार तिनै तस्करहरूसँग सलामी असुलेर बसिरहेको छ । चाडबाडको मुखमा महँगीले आकास छोएको छ । बजारमा कालोबजारी खुलेआम भइरहेको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण भनी साध्यै छैन । स्थानीय सरकारले जनतामा कर आतङ्क फैलाएको छ । करसम्बन्धी स्पष्ट नीति बनाउन सकिरहेको छैन । प्रदेशहरूको नामाङ्कन हेर्दा यो सरकार सङ्घीयता होइन, महेन्द्रकालीन विकास क्षेत्र मात्र बनाउन चाहान्छन् भन्ने देखिन्छन् । समृद्धिको कुनै नयाँ भिजन छैन । रेल र पानीजहाजको टुक्काले देश समृद्ध हुँदैन । अब तपाईं नै भन्नुस् यो सरकारप्रति कसरी आशावादी बन्न सनिन्छ ? आवश्यकता छ, द्रुत विमानको तर सरकार बयलगाडामा यात्रा गरिरहेको छ । 
 

एकातिर विकास र समृद्धिको कुरा गर्ने सरकारको विरोध गर्नुहुन्छ, क्रान्ति गर्ने भनेर हिँडेका प्रकाण्ड पक्राउ पर्दा उनको पक्षमा विज्ञप्ती निकाल्नुहुन्छ । यो अन्तरविरोध के हो ? 

हामीले सरकारको विरोध गरेको होइन, चिन्ता व्यक्त गरेको हो । जहाँसम्म प्रकाण्डजीको गिरफ्तारीविरुद्ध विज्ञप्ति निकालेको कुरा गर्नु भयो, त्यो विज्ञप्ति उहाँको पार्टीको विचारलाई समर्थन गरेर निकालेको होइन । राजनीतिक व्यक्तिलाई राजनीतिक व्यवहार गर भनेको मात्र हो । अर्बौंको भ्रष्टाचार गर्ने चूडामणि शर्मालाई ज्वाइँको जस्तो र एउटा राजनीतिक आस्थाको आधारमा राजनीति गरिरहेको प्रकाण्डलाई अपराधीको जस्तो व्यवहार त गर्नु भएन नि !

विचारलाई दमन गर्यो भने विस्फोट हुन्छ । उनीहरूका जायज मागहरू छन् भने सरकारले पूरा गर्नुपर्छ । दमन र धरपकडले समस्याको समाधान हुँदैन । 
 

तपाईंले अघि जसरी सरकारले काम गर्न सकेन भन्नुभयो । यसरी हेर्दा त बाम जनमत अर्कोतिर जान सक्ने पनि देखियो । त्यसको फाइदा काँग्रेसलाई होला, तपाईंहरू त अर्को चुनावमा पनि हेरेको हेर्यै हुने त होला नि ? 

मतदाता त्यति बेवकुफ छैनन् । म ठोकुवा गर्छु, अबको चुनावमा नेकपाले अहिलेको जति मत कुनै हालतमा प्राप्त गर्दैन । उसको ६ महिनाको कर्मले यो कुरा पुष्टि गरिसक्यो । काँग्रेस आफूले राम्रो गरेर होइन, अरूको असफलतामा आफ्नो सफलता देख्ने पार्टी हो । नेपाली जनताले एक पटक कम्युनिस्टको बहुमतको सरकार हेर्न चाहेको थियो । त्यो अवसर कम्युनिस्टलाई जनताले दिए र ६ महिनामा राम्रोसँग हेरे, चिने । काँग्रेसलाई त नेपाली जनताले उहिल्यै बहुमत दिएका हुन् । उहिल्यै चिनेका हुन् । काँग्रेसलाई चिन्न बाँकी नै पो के छ र ? नेपाली जनताले समृद्धिको नेतृत्व गर्ने वैकल्पिक राजनीतिक शक्ति खोजेका छन् । नेपाली जनताले खोजेको त्यो वैकल्पिक शक्ति भनेको नयाँ शक्ति हो । 

वैकिल्पक राजनीति गरेको भन्ने विवेकशील साझा पार्टीसँग तपाईंहरूको सहकार्य, संवाद वा एकताबारे केही प्रगति छ ?

पार्टी एकताबारे केही सोचेका छैनौँ । अहिले हामी आन्तरिक काममा नै व्यस्त छौँ । 

तपाईंहरू दुवै आफूलाई वैकल्पिक भन्नुहुन्छ । दुवै वैकल्पिक भएपछि अलग अलग भान्सा किन ? 

हो, विवेकशील साझाले पनि आफूलाई वैकल्पिक नै भन्छ । तर उहाँहरूको र हाम्रो विचारमा केही कुरा मिले पनि केही कुरा आधारभूत रूपमै भिन्न छ । 

जस्तै ?

जस्तै, इतिहासको मूल्याङ्नको विषयमा उहाँहरू र हाम्रो धारणा मिल्दैन । इतिहासप्रति गौरव गर्न नसक्नेहरूले वर्तमानको नेतृत्व र भविश्य निर्माण गर्न सक्दैन भन्ने मान्यता हामी राख्छौं । तर उहाँहरू इतिहासप्रति गौरव गर्नेभन्दा इतिहासको अपराधीकरण गर्न उद्यत देखिनुहुन्छ । हामी नेपाल जस्तो देशमा समावेशिताविना समृद्धि सम्भव छैन भन्ने कुरामा दृढ छौँ । तर उहाँहरू समावेशितालाई जातीयता देख्नुहुन्छ र विशुद्ध मेरिटोक्रेसीको कुरा गर्नुहुन्छ । हामीले समुन्नत समाजवादलाई गन्तव्य बनाएका छौँ, उहाँहरू लोककल्याणकारी राज्य भन्नुहुन्छ । जसको कारण अलग अलग भान्सा गर्न बाध्य छौं । 

सङ्घीय समाजवादीसँगको एकताको च्याप्टर पनि सकिएको हो अब ? 

अहिलेलाई सकिएको हो । भविश्यको कुरा भविश्यलाई छाडिदिऔँ । 

महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने भन्नुभएको छ, नयाँ नामको केही छलफल भएको छ कि ?

लुम्बिनी बैठकबाट यस विषयले औपचारिक रूपमै प्रवेश पाएको छ । पार्टीले अवलम्बन गरेको विचार पार्टीको नाममा विम्बित हुनुपर्छ भन्ने धेरै साथीहरूको तर्क छ । यसको औपचारिक निर्णय महाधिवेशनले गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप