केन्द्रीय संस्करण

जीवनशैली स्वस्थकर बनाउने उपायहरू

person explore access_timeअसोज १५, २०७५ chat_bubble_outline0
नरनाथ पाण्डे

रातोपाटी

एक्काइसौँ शताब्दीको चरम विकाससँगै विज्ञान र प्रविधिको उपलब्धिका कारणले मानिसलाई एक पाइला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् ।

जसका कारण मानिस प्रविधिको दास भएको छ । खाना मीठो,चिल्लो र मसालादार खानुपर्ने,ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने आजका मानिसका दैनिकि बनिरहेका छन् । त्यस्तै मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन् तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ । त्यसमाथि वातावरण प्रदूषणले मानिसको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पु-याएको छ । 

   जीवनशैली,वातावरण र मानिसको स्वास्थ्य एकआपसमा निकै घनिष्ठ सम्बन्ध भएका विषयवस्तु बनेका छन् । यसरी सरसर्ती हेर्दा मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा नै कहिल्यै निको नहुने खालका गम्भीर रोगहरूका साथै खानपानका कारण लाग्ने सामान्य प्रकारका रोग पनि जटिल रूपमा देखापर्ने गरेको हो भन्नुमा कुनै शङ्का छैन । यस्ता विभिन्न रोगबाट छुटकारा पाउन जीवनशैलीमै पुनः परिवर्तन गरेमा मात्र त्यो सम्भव छ ।

अन्यथा विभिन्न उपचार पद्धति र रसायनयुक्त खाद्यपदार्थको सेवन गरिरहने हो भने सामान्य रोग पनि भयङ्कर रोगका रूपमा देखापर्न सक्छ । अतः जीवनशैली परिवर्तन र विभिन्न रोगहरूबीचको सम्बन्ध निकै मजबुत छ भन्न सकिन्छ ।

   सातामा ५० घण्टाभन्दा बढी काम गर्ने मानिसको कार्यक्षमतामा ह्रास आउँदै जान्छ । त्यसकारण काम र आराम दुवै एकैसाथ हुनुपर्छ । यसबाट कार्यक्षमता पनि बढ्छ भने अनेक खालका रोगहरूबाट समेत मुक्ति मिल्छ । यसको लागि सप्ताहन्त निम्न तरिकाहरू अपनाई बिताउन सकिन्छ ।

– सधैँ एकै समयमा उठ्ने,

– बिहानको समय आफ्ना लागि पनि छुट्याउने,

– ससाना साहासिक योजना बनाई नयाँ कार्य गर्ने,

– आफ्नो लगावलाई पनि स्थान दिने,

– कार्यालयको काम घरमा नलग्ने,

– हरेक साता एकै किसिमको काम नगरी फरक काम गर्ने,

– दिनहुँ व्यायाम गर्न नछुटाउने,

– साताभरका कुराहरू सोचेर समीक्षा गर्ने,

– परिवारसँग समय बिताउने र

– आउने साताको तयारी गर्ने आदि ।

   स्वेट मार्डेनका अनुसार भन्ने हो भने यदि कुनै मानिसले उत्तम स्वास्थ्यको इच्छा राख्छ भने उसले आफ्नो मनमा रोगको विचार आउन दिनुहुँदैन । यदि तपाईं तपाईंको मनोबल कमजोर नहोस् भन्ने चाहनु हुन्छ भने आफ्नो मनोवृत्तिलाई स्वस्थ बनाउनुहोस् । आफ्नो मनलाई प्रसन्न राख्नुहोस् तथा यसलाई बेचैन हुन नदिनुहोस् ।

यदि तपाईं स्वास्थ्यको स्वामी बन्न चाहनुहुन्छ भने सर्वप्रथम आफ्नो मनमा विश्वास जमाउनुस्,तपाईं रोगग्रस्त हुनुहुने छैन । आफ्नो दृढ सङ्कल्पद्वारा तपाईं जे चाहनुहुन्छ त्यही बन्न सक्नुहुन्छ । जे चाहनुहुन्छ त्यही पाउन सक्नुहुन्छ । सधैँ आफूलाई स्वस्थ सम्झनुुस्,बिर्सेर पनि रोग अथवा निर्बलताको विचार आफ्नो छेउमा पर्न नदिनुस् ।

   टीएन योगाचार्यका अनुसार प्राकृतिक चिकित्साको सिद्धान्तअनुसार अप्राकृतिक खानपान र अप्राकृतिक रहनसहन वा मिथ्या उपचारका कारण रोगको उत्पत्ति हुन्छ । विजातीय द्रव्य जस्तै मल,विकार पदार्थ,विष,दूषित पदार्थ,अप्राकृतिक तत्वको शरीरमा सञ्चय भएमा रोग उत्पन्न हुन्छ । मनुष्यले खाएका पदार्थहरू अप्राकृतिक छन् भने दूषित मल,दूषित वायु,दूषित सास र रगतसमेत दूषित हुन पुग्छ,जसबाट विभिन्न रोगको सुरुवात हुन्छ । यस्ता विजातीय पदार्थहरूलाई प्रकृतिले अनेक प्रयत्नबाट बाहिर निष्काशन गर्छ । जस्तै पसिना,खकार,कचेरा,मलमूत्र आदि । जसरी पुरानो गाडीको इन्जिन र धुवाँ फाल्ने पाइपलाइन समयमै सफा नगर्दा गाडी बिग्रन सक्छ ।

ठीक त्यसैगरी मानिसको पेट,आन्द्रा र नसनाडीमा पनि बाक्लो दूषित द्रव्य एकीकृत भई बस्दा शरीरभर फैलिन पुगी शरीरलाई असर गर्छ । यस्ता तत्वलाई औषधिले फाल्न नसक्ने भएकाले शरीरमा ज्वरो आउने,पखाला लाग्ने,खोकी लाग्ने भई प्राकृतिक तवरले नै रोग निको हुन खोज्छ तर यस्ता रोग लागेमा औषधि सेवन गरी रोगलाई दमन गर्ने काम गलत हो । रोगलाई दमन गर्दा जीर्ण रोग बन्ने सम्भावना हुन्छ । अतः जीर्ण रोगबाट मुक्ति पाउने एक मात्र उपाय प्राकृतिक किसिमको चिकित्सा नै हो,जुन पद्धतिले पुराना रोगहरू शरीरबाट फाली रोगीलाई स्वस्थ र दीर्घायु बनाउन सकिन्छ । प्राकृतिक उपचारका क्रममा निम्न कुराहरूमा ध्यान दिई व्यक्तिको रोग निको पारिन्छ । ती हुन्

– शरणागति : अस्तित्वको÷प्रकृतिको शरणमा पर्नु ।

– संयम : आत्मसंयम हुनु र संयमित हुनु ।

– सङ्कल्प शक्ति : जप वा आत्मशक्ति हुनु ।

– विश्राम : आराम गर्नु ।

– प्रसन्नता :  प्रसन्न र हौसलाबद्ध रहनु ।

– मनोरञ्जन ः: मनोविज्ञान अनुसारको मनोरञ्जन प्रदान गर्नु ।

– मस्त निद्रा : शरीरको ऊर्जा चार्ज गर्न मस्त निदाउनु ।

– प्राकृतिक जीवनयापन : प्राकृतिक आहार विहार,योगासन,व्यायाम गरी जीवनशैली   परिवर्तन गर्नु ।

   विभिन्न अनुसन्धानमूलक ग्रन्थ र विभिन्न वैज्ञानिकका मतअनुसार सर्वमान्य खालका स्वस्थकर जीवनशैलीका लागि निम्न ७ प्रकारका व्यवहारहरू अपनाउनु पर्छ भन्ने कुरा पाइन्छ ।

१. गुलियो पेय पदार्थको सेवन घटाउने । पानीको मात्रा बढाउने,चिल्लोरहित दूध पिउने तर गुलिया खालका सोडा अथवा अन्य पेय पदार्थ नपिउने ।

२. खाना खाँदा परिवारसँगै बसेर घरमै खाने ।

परिवारसँग बसेर खाना खाँदा मीठोसँग बढी चपाएर खाने,बढी फलफूूल र तरकारी खाने,साना टुक्रा पारेर खाने,यसबाट कम खर्च हुने,परिवारसँग बसेर केही समय भए पनि कुराकानी गर्न पाउँदा आनन्द आउने ।

३. सक्रिय रहने 

प्रत्येक दिन कम्तीमा १ घण्टा शारीरिक क्रियाकलाप गर्ने । यति गरे राति राम्ररी निदाउन सकिन्छ । तौल घट्न मद्दत पुग्छ,मन प्रसन्न रहन्छ । हाड,मांशपेसी,मुटु,फोक्सो स्वस्थ रहन्छ ।

४. प्रत्येक दिन बिहान स्वस्थकर खाजा खाने । कम्तीमा खानाका ३ समूह मिलाएर बिहानको खाजा खाएमा राम्रो शक्ति प्राप्त हुन्छ । सोचाइ राम्रो आउँछ,पौष्टिक तत्व पूरा पाइन्छ र शक्तिको ज्वलन भई मोटोपन नियन्त्रण हुन्छ ।

५. फलफूल र तरकारी अन्नको तुलनामा बढी खाने । एक दिनमा कम्तीमा ५ पटक फलफूल वा हरिया सागपातयुक्त तरकारी खानुपर्छ । विभिन्न रङ्गहरूयुक्त फलफूल र तरकारीले बलियो र स्वस्थ बनाउँछ ।

६. कम्प्युटर,टेलिभिजन वा मोबाइलको स्क्रिनमा एक दिनमा बढीमा २ घण्टाभन्दा बढी नबस्ने । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगमा आउने कम्प्युटर,टेलिभिजन र मोबाइल फोनको कारण रक्तसञ्चार,स्नायु प्रणाली,आँखा र मष्तिष्कमा बढी असर गर्ने भएकाले यस्ता साधनको कम प्रयोग गर्ने वा एक दिनमा बढीमा २ घण्टासम्म (त्यो पनि लगातार होइन) मात्र बसी अत्यावश्यक कार्यहरू गर्न सकिन्छ । तर समय कटाउन मात्र स्क्रिनमा बसेर समय खेर फाल्नुभन्दा खेलकुद वा शारीरिक क्रियाकलापमा लाग्दा राम्रो हुन्छ ।

७. प्रशस्त निदाउने । ऊर्जा सञ्चय र आरामका लागि मस्तिष्कलाई पनि आराम गराउनुपर्छ । बच्चा अवस्थामा त कम्तीमा पनि ९ घण्टा निदाएको हुनुपर्छ ।  राम्रो निदाइले झर्कने,विद्यालयमा समस्या थप गर्ने र दुर्घटना हुने अवस्थामा कमी आउँछ ।   

   अन्तमा सबै सुखको आधार भनेको सुस्वास्थ्य नै हो । आयुर्वेद उपचार पद्धतिका अनुसार जसका त्रिदोष (वात,पित्त,कफ) ठीक छन् । खाने कुरा पचाउने पेटका अग्नि (जठराग्नि) ठीक छन्,शरीरलाई धारण गर्ने धातुहरू (रस,रक्त,मासु,बोसो,हड्डी,मज्जा तथा वीर्य) सही अनुपातमा छन् । बाह्य तथा भित्री अङ्गहरूले ठीक ठीक किसिमले काम गरिरहेका छन् । आत्मा पनि खुशी छ भने त्यस्तो व्यक्तिलाई स्वस्थ व्यक्ति भनिन्छ । स्वस्थ शरीर र मनका लागि तीन स्तम्भहरू हुन्छन् । ती हुन्आहार,निद्रा र ब्रह्मचर्य । तीबाहेक व्यायाम,स्नान र ध्यान पनि स्वास्थ्यका लागि नभई नहुने तत्व हुन् ।

– आहार : मानव शरीरको निर्माण मात्र नभई दैनिक शरीर सञ्चालन गर्ने मुख्य कुरा नै आहार हो । जसले आफ्नो शरीरको प्रकृतिलाई बुझेर हितकारी तथा समयअनुसारको खाना खान्छ उसको शरीर स्वस्थ रहन्छ । बिहान ८ बजेदेखि ९ बजेसम्म पेय वा फलफूलहरू,११ देखि १२ बजेसम्म खाना,बेलुका ९ बजेभित्र खाना खाने बानी बसाल्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खाना खानेबेला मौन भई बेसरी चपाएर खाने,खाना खाँदा पानी नपिउने,खानामा खनिज तत्व,लवण,भिटामिन भएको साकाहारी खाना खाने गरेमा शरीरलाई निकै फाइदा पुग्छ ।

– निद्रा : पूर्ण सुखानुभूतिको माध्यम वा स्वास्थ्यको साथी नै निद्रा हो । एउटा स्वस्थ व्यक्तिका लागि कम्तीमा दिनहुँ ६ वा ७ घण्टा सुत्नु आवश्यक पर्छ तर यो उमेर अनुसार फरक हुन्छ । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी नै शारीरिक तथा मानसिक स्वास्थ्यको सूचक हो । पूरा निद्रा पुगेन भने शारीरिक तथा मानसिक विकासमा अवरोध आउँछ । निद्रा एक स्वाभाविक प्रक्रिया हो,जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गराउँछ । कम निद्रा लाग्नु पनि रोगको लक्षण हुनसक्छ । त्यसकारण आवश्यकता अनुसार सुत्नुपर्छ जसले व्यक्तिलाई स्वस्थ राख्न मद्दत गर्छ ।

– ब्रह्मचर्य : आफ्ना इन्द्रियहरूलाई वशमा राख्दै एकाग्र मनले ध्यान गर्नु,मनलाई परोपकारमा लगाउनु नै ब्रह्मचर्य हो । अथवा मन र इन्द्रिय शक्तिहरूको रूपान्तरण गर्दै तिनीहरूलाई आत्मकृत बनाउँदै ब्रह्मको प्राप्ति गर्नु नै ब्रह्मचर्य हो । यसबाट स्वस्थता प्राप्त गर्न सकिन्छ ।

– व्यायाम : शरीर सञ्चालनका लागि खानाको आवश्यकता परेझैँ शरीर स्वस्थ राख्न आसन प्राणायाम जस्ता व्यायामको जरुरत पर्छ । नियमित रूपमा व्यायाम गर्नाले दुर्बल,रोगी तथा कुरूप व्यक्ति पनि बलवान,स्वस्थ र सुन्दर बन्दछ । शारीरिक श्रम तथा व्यायामको अभावले मुटुरोग,मधुमेह,मोटोपन,बाथरोग,रक्तचाप तथा मानसिक तनाव जस्ता रोगले मानव शरीरलाई ग्रस्त पार्छ । यसैले पूर्ण आरोग्यता प्राप्त गर्नका लागि नियमित रूपमा योगाभ्यास गर्नु जरुरी छ ।

– स्नान : शरीरमा ताजापन र स्फूर्ति ल्याउन,अनावश्यक वस्तुहरू शरीरबाट फ्याँक्न र शरीरलाई शुद्ध तथा हल्का बनाउन दिनहुँ स्नान गर्नुपर्छ । शरीरको अवस्था हेरी कहिलेकाहीँ तातो पानीको प्रयोग गरी नुहाउने गर्नुपर्छ भने अन्य अवस्थामा नुहाउँदा प्रायः चिसो पानी नै उपयुक्त हुन्छ ।

– ध्यान : बिहानको नित्यकर्मपछि हरेक दिन १५ मिनेटदेखि १ घण्टासम्म ध्यान तथा उपासना गर्नाले सुख,शान्ति र आनन्द मिल्छ । यसबाट मानसिक समस्याहरू समेत समाधान हुन्छन् । अतः स्वास्थ्यसम्बन्धी कुरामा यहाँहरू बढी सचेत हुनुहुन्छ भने अवश्य पनि स्वस्थकर जीवनशैली अपनाउनु पर्छ । माथि उल्लेखित बुँदाहरूको आधारमा स्वस्थकर जीवनशैली अपनाउन थाल्नु नै अहिलेका मानिसको आधारभूत विषयवस्तु हो ।

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ