शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडा, अस्ट्रेलिया, युक्रेनदेखि तोरी : यस्तो हुन्छ खोकनाको तेल (भिडियो रिपोर्ट)

मङ्गलबार, १६ असोज २०७५, १५ : १२
मङ्गलबार, १६ असोज २०७५

काठमाडौँ । खोकना नाम नै तोरीको तेलसँग जोडिएको छ । तोरीको शुद्ध तेलका लागि प्रख्यात खोकनामा अहिले तोरी फल्दैन । बरु सात समुद्रपारीबाट आएको तोरीबाट तेल निकालिन्छ । विदेशबाट आएको तोरी भए पनि तेल चाहिँ शतप्रतिशत शुद्ध नै हुन्छ । 

चक्रपथ एकान्तकुनाबाट झन्डै ४ किलोमिटर दूरीमा रहेको पुरानो नेवार बस्ती रहेको खोकनाको फाँटमा तोरी उत्पादन हुन छोडेको धेरै भइसक्यो । केही स्थानीयले तोरी लगाउने गरे पनि आफ्नै परिवारका लागि दुई चार महिना पुग्ने मात्र लगाउँछन् । खोकना मात्र हैन नेपालमै पनि तोरीको उत्पादन घटेपछि विदेशबाट तोरी मगाउनुपर्ने बाध्यता रहेको सिकाली तेल मिलका कर्मचारी लक्ष्मण डङ्गोल बताउँछन् । 

खोकनामा काठको कोलबाट तेल निकाल्ने पुरानो प्रविधि अझै चलिरहेको छ । भन्डै ढेढ सय वर्षभन्दा पुरानो दुईवटा रुखका मुडाबाट बनेको कोललाई थोरै आधुनिकीकरण गरेर तेल निकाल्ने गरिन्छ । स्थानीय प्रविधि अझै बाँकी रहेका बेला स्थानीय तोरीको अभावका कारण क्यानडा, युक्रेन, अस्ट्रेलिया र भारतदेखि तोरी आयात हुने गरेको डङ्गोल बताउँछन् । तोरी व्यापारीका अनुसार ती देशबाट आयात गरिएको तोरी खोकनासम्म आउने गरेको हो । खासगरी रेप्सिड जातको तोरी बाहिरबाट आउँने गरेको हो । यो तोरीमा नेपाली तोरीको जस्तो बास्ना भने नआउने लक्ष्मणको अनुभव छ । उनी भन्छन्– ‘खोकनामा तेल उत्पादन छैन, कसैले आफ्नै घरका लागि पाँच, छ पाथी उत्पादन गर्छन्, मिलका लागि भने किन्न पाइँदैन ।’

अर्डर दिएपछि तोरी व्यापारीले तेल मिलसम्मै विदेशी तोरी ल्याइदिन्छन् तर नेपाली तोरी पाउन भने मुस्किल रहेको उनको अनुभव छ । तेलका लागि खोकना प्रख्यात रहे पनि अहिले २ वटा मिलबाट मात्र तेल उत्पादन हुने गरेको छ । यद्यपि खोकना बजारमाथि भने छ, सातवटा मिल रहेको उनले बताए ।

सरकारले आयातमा कर बढाएपछि अहिले तोरीको मूल्य पनि बढेको छ । पहिले प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पर्नेमा अहिले ८८ देखि ९० रुपैयाँसम्म पुगेको छ । 

खोकनामा सहकारी संस्थामार्फत तेल उत्पादन तथा बजार व्यवस्थापनको काम हुँदै आएको छ । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाले २०६६ सालदेखि तेल उत्पादन गर्दै आइरहेको छ ।  

यो संस्थाले अहिले दैनिक ५ सय केजी तोरीबाट ढेढ सयदेखि २ सय लिटर तेल उत्पादन गर्दै आएको छ । यसरी उत्पादन भएको तेलको अधिकांश मात्रा खोकनामै खपत हुने गरेको छ । यस्तै काठमाडौँ, पाटन र कीर्तिपुरका केही स्थानमा पनि तोरीको तेल खपत हुने गरेको छ । एक लिटर र आधा लिटरको बोतलमा तेल प्याकिङ हुने गरेको छ भने पर्यटकहरूलाई लक्षित गरी एक सय एमएलको मसाज तेल पनि प्याकिङ हुने गरेको छ । सय एमएमसम्मको मसाज तेल युरोपबाट घुम्न आउने पर्यटकहरूले लाने गरेका छन् । 

सहकारीले उत्पादन गरेको तेल शतप्रतिश शुद्ध हुने तेल मिलका प्रतिनिधि लक्ष्मण बताउँछन् । तेलको मूल्य प्रतिलिटर २ सय ७० रुपैयाँ राखिएको छ । धेरैजसो स्थानीयहरू मिलमै आएर माना, पाथीको परिमाणमा तेल किनेर लाने गरेका छन् । शुद्ध भुटेको तोरीको तेलले तरकारी स्वादिलो बनाउने, सुत्केरी र शिशुलाई मालिस गर्नका लागि कतिपय ग्राहक खोकनासम्म तेल किन्न आउने गरेको उनले बताए । 

तेलको बजार व्यवस्थापन पनि सहकारीले गरेको छ । मोटरसाइकलमा राखेर स्थानीय पसलसम्म तेल पुर्याउने गरिएको छ । 

कसरी उत्पादन हुन्छ तेल ?  

सिकाली तोरी मिलमा तेल उत्पादनका लागि ३ जना खटिन्छन् । एकजनाको काम तोरी केलाउने, एकजनाले भुट्ने र एकजनाले तेल निकाल्ने काम गर्छन् । मिलका प्रतिनिधि लक्ष्मणका अनुसार ब्यापारीबाट तोरी किनेपछि सुरुमा एकजनाले केलाउने, सफा गर्ने काम गर्छन् । त्यसपछि तोरीको गेडालाई मेसिनबाट दुई टुक्राको धुलो पारिन्छ ।

त्यसपछि दाउरा बालिएको चुल्होमा एकै पटक १८ देखि २० किलो तोरीमा १ लिटर पानी मिसाएर १० देखि १५ मिनेटसम्म भुटिन्छ । त्यसपछि फलामको छपनीमा राखिन्छ ।

यो बाँसको चोयाजस्तै फलामको चोयाबाट तोरी राख्न बनाइको झोला जस्तै हो । जसमा २० केजी तोरी अट्ने हुन्छ । भुटेको तोरीलाई छपनीमा राखेर काठको कोलमा च्यापेर तेल निकालिन्छ । तेल निकाल्नका लागि २ पटकसम्म च्यापिन्छ । कोलबाट ८० प्रतिशत मात्र तेल निस्कने भएकाले पिनालाई फेरि मेसिनमा हालेर तेल निकालिन्छ । यसरी निकालिएको तेललाई ३ दिनसम्म ड्रममा राखेर तेलबाट पिना थिग्रिएपछि प्याकिङ गरेर बजारमा पठाइन्छ । 

१ लिटर शुद्ध सोयाबिनको ६ सय, बजारका नक्कली  

खोकनाको सहकारीले चलाएको तेल मिलका सहायक लक्ष्मण डङ्गोल बजारका अधिकांश तेल नक्कली भएको बताउँछन् । उनी भन्छन्–‘सोयाबिन र सनफ्लावर शुद्ध तेल खानुपर्यो भने लिटरको पाँच, छ सयसम्म पर्छ । तर बजारमा एक सय हाराहारीमा तेल पाइन्छ ।’ उनले उदाहरण भन्दै भने– ‘भटमास प्रतिकिलो १ सय १० देखि २० रुपैयाँ पर्छ । १ लिटर तेलका लागि साढे ४ किलो भटमास चाँहिन्छ । उत्पादन खर्च समेत जोड्दा लिटरको ६ सय सम्म पर्न सक्छ ।’ 

बजारमा शुद्ध भटमासको तेल भनेर बिक्री हुने गरेको भए पनि त्यो यथार्थमा विदेशबाट आएको पाम ओइल अर्थात बनस्पतिबाट बनाइएको हुनसक्ने उनी बताउँछन् । शुद्ध तोरीको तेल लेखिएका प्याकेटमा पाइने बजारका तेलमा मिसावट नहोला भन्न सकिन्न तर खोकनाको तेलले प्राचीनकालदेखि अझै पनि शुद्धतामा विश्वास जितिरहेको छ । तर गुणस्तरीय तेल उत्पादन हुने भए पनि धेरै उत्पादन गर्न नसक्दा खोकनाको तेल खोकनामै सीमित भइरहेको छ ।    

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप