केन्द्रीय संस्करण

कैलाश मानसरोवर कोराको निचोड– अप्प दीपो भवः

person access_timeअसोज १७, २०७५ chat_bubble_outline0

केरुङबाट काठमाडौँ आउँदै गर्दा बाह्र दिनअघि तिब्बत छिर्दाको जस्तो कुनै ‘क्युरियोसिटी’ थिएन । तर देश फर्किनुमा आकाश जस्तो फराकिलो खुशी थियो । 

रसुवागढीबाट नेपाल प्रवेश गर्दा आत्मविश्वास वसन्तको बनको हरियालीजस्तै बाक्लिएको थियो । मातृभूमिमा पहिलो पाइला टेक्दै घर आइपुगेको जस्तो लाग्दोरहेछ । देशको कुनै एउटा छेउ मात्र पनि नितान्त आफ्नै घर आगन लाग्दोरहेछ । 

तिब्बत प्रवेश गर्दा के गर्न हुने ? के गर्न नहुने ? कहाँ फोटो खिच्न हुने ? कहाँ नहुने ? कहाँ हिँड्न हुने ? कहाँ नहुने ?’ जस्ता प्रश्नहरू ज्ञात–अज्ञात भई मनमा आइरहन्थे । 

एउटा उदाहरण दिइहालौं । हामीले मानसरोवर परिक्रमा त्यहाँको सरकारले व्यवस्था गरेको ठूलो बसबाट गरेका थियौं । म चाहन्थें, ‘ड्राइभर छेउको बर्नरमा बसेर मानसरोवरका सारा दृश्य एकै पटक हेरौं । धेरै फोटो खिचौं ।’ त्यसका लगि मैले गाइडसँग अनुमति मागेँ । अनुनय विनय गरेँ । 

‘यहाँको नियमले त्यसो गर्न दिँदैन । सिटभन्दा बढी सङ्ख्यामा बस्न पाइँदैन । बर्नरमा त बस्न हुँदै हुन्न’, उसले भन्यो ।

मैले कुनै सवाल–जवाफ गरिनँ । म चुपचाप कुनै एउटा सिटमा खुम्चिएर झ्यालको चेप्टो सिसाको कारण खुम्चिएको मानसरोवर चियाउन विवश भएको थिएँ । यता भइदिएको भए म सवाल–जवाफ गर्थें । जिद्धी गर्थें । उस्तै परे झगडासमेत गर्थें ।   

चेकपोस्टहरूमा गाइड गाडीबाट ओर्लन्थ्यो । म पनि ऊजस्तै ओर्लेर त्यहाँको तरिका र प्रक्रिया नजिकबाट बुझ्न चाहन्थेँ । तर त्यसका लागि मलाई न अनुमति थियो न त मैले त्यसो गर्ने हिम्मत नै गरेँ । 

सेल्फ सेन्सरसिपको सतत् मनोविज्ञानले समातिएको थिएँ म । तर मेरो देशमा भएको भए म त्यस्तो मनस्थितिमा कदापि हुने थिइनँ । नागरिक अधिकार र स्वतन्त्रताको स्वाभाविक पखेटा फिजाउँदै म त्यहाँ जसरी ‘जसोजसो बाहुन बाजे, उसोउसो स्वाहा’ गर्ने थिइनँ । 

हो, नेपाल छिरेपछि तिब्बततिरको जस्तो सुगम बाटो थिएन । तर म मेरै बाटोमा अभ्यस्त थिएँ । मलाई अप्ठ्यारै सही, नेपालकै बाटो आफ्नो लाग्यो । यसोभन्दा अन्ध राष्ट्रवादको गन्ध आउला तर मलाई त्यस्तै लाग्यो ।

धुन्चे चेकपोस्ट क्रस गरेर कालिकास्थानतिर अगाडि बढ्दै गर्दा सडकछेउको थुम्कोमा एउटा जोडी मायाप्रितीको कथा रचिरहेको थियो । उनीहरू गोठाला थिए कि ? किनभने अलि अगाडि बाख्रा सडकभरि छिरोलिइरहेका देखिए । तर, प्रेममा परेपछि गोठालाहरूलाई बाख्राको के वास्ता ? 

पर डाँडानेर सुन्दर इन्द्रेणी देखियो । 

तिब्बत यात्रामा कुनै दिन एक पटक पनि इन्द्रेणी देखिनँ तर तिब्बतका पहाडहरू आफै इन्द्रेणीजस्ता । इन्द्रेणीका रङजस्ता । पहाडहरू स्वयम् रङ बनेर निर्मित अद्भूत इन्द्रेणी । 

तिब्बतमा हिमाल हेर्न टाउको उठाउनु नपर्ने र कहीँ त अझ तल हेर्नुपर्ने । त्यो भूगोलबाट फर्केको मलाई बाटोमा तिब्बतको सुन्दर सम्झना आइरहेको थियो । तर नेपाल झनै सुन्दर अनुभूत भइरहेको थियो ।

तिब्बत राम्रो, नेपाल झनै राम्रो । 

जिन्दगीमा तिब्बत एक पटक जानु असाध्यै राम्रो तर जो कसैका लागि समेत नेपाल पटक पटक आउन लायक छ । तिब्बत भूगोलको, जीवनको एउटा एउटा फेस हो । तर नेपालमा संस्कृतिको, भूगोलको, मान्छेको जीवनको अनेक अनेक फेस छ । तराईदेखि हिमालसम्म फैलिएको भूगोल र सोहीअनुसारको प्रकृति, संस्कृति र जीवनले भरिएको नेपाल, अहा ! 

खासमा तिब्बतमा मैले एउटा बृहत् ‘मुस्ताङ यात्रा’ मात्र त गरेको थिएँ । भौगोलिक विविधताले भरिपूर्ण नेपाल त साँच्चै एउटा सानो विश्व नै हो ।

हो, हाम्रो मुलुकमा भौतिक विकास द्रुततर हुन सकिरहेको छैन । तर राज्य इमानदार भएर लाग्ने हो भने त्यो कुन ठूलो कुरा हो र ? अरूले भौतिक विकास गर्न सक्छन् भने हामीले किन सक्दैनौं ? 

भैंसेमा पहाड काटेर सडक विस्तार गर्ने काम चलिरहेको रहेछ । हाम्रो गाडी पनि निक्कैबेर रोकिन पर्याे । हामी यात्रु गाडीबाट झर्याैँ, त्यहाँको दृश्यावलोकन गर्याैँ । जथाभावी बालुवा गिट्टी झिकिँदा हिउँदमै धमिलो हुन थालेको त्रिशूली नदी वर्षा मासमा झन् धमिलिएकी थिइन् । 

बाटो खुल्यो । गाडीमा आउँदा ड्राइभर छेउको मेरो सिटमा भारतीय मूलका एक यात्री बसेछन् । उनले मलाई आफ्नो सिटमा गएर बस्न अनुरोध गरे, म त्यहीँ गएर बसेँ । 

अचम्म ! सँगैको सिटकी यात्री मलेसिलाबाट कैलाश यात्रामा आएकी समीपा रहिछन्  । म त्यहाँ बस्न पुग्दा उनले अनुहार बिगार्दै मुन्टो बटारिन् । यी तिनै महिला थिइन्, जो केही दिनअघि मसँग झ्याम्मिदै हिमचिम बढाउन लालायित थिइन् । सायद, जुटुलपुकमा समीपाको पावर बक्स प्रस्तावलाई मैले ‘सही ढङ्ग’ले नलिएकाले उनी मसँग निकै रिसाएकी रहिछन् । 

भएको के थियो भने जुटुलपुकमा बसेको साँझ समीपा आँखा चम्किलो पार्दै मछेऊ आई । उसले मलाई एक्कासि एउटा सानो गिफ्ट दिँदै भनी, ‘मिस्टर रोमियो, आई वान्ट टु गिफ्ट दिस पावर बक्स ।’

म छक्क परेँ ।

उसले खुलस्त भनी, ‘केटीहरूलाई कसरी पट्याउने तिमीलाई राम्रोसँग थाहा रहेछ ।’

‘कसरी ? तिमी मलाई आरोप पो लगाउँदै छ्यौ कि ?’ 

समीपाले भनी– ‘मलाई तिम्रो स्टाइल मन प¥यो ।’ उसले डोल्माला कटेसी भेटिएका दुई ‘स्नो गर्ल’ सँग मात्र होइन, केही दिनअघि मानसरोवरमा भेटिएकी जस्मिनसँगको मेरो हेलमेल आफूले नोटिसमा राखेको बताई । 

‘मलाई पनि तिमीसँग सेल्फी खिच्ने मन छ’, उसले थपी, ‘पावर बक्समा एनर्जी क्याप्सुल छ । त्यो मैले तिमीलाई मनैदेखि दिएको हुँ ।’

मलाई के लाग्यो भने, स्थिति गम्भीरताउन्मुख छ,  हल्का रूपमा लिएर पन्छिनु उत्तम हुन्छ ।

‘यहाँ कतिवटा क्याप्सुल छ ?’, मैले बट्टा हातमा खेलाउँदै भनेँ ।

‘थुप्रै’, उसले भनी ।

‘एक पटकमा कतिवटा क्याप्सुल खाँदा हुन्छ ?’, मैले हाँस्दै सोधेँ ।

‘यतिवटा नै खानुपर्छ भन्ने कुनै नियम छैन । जतिवटा खायो, त्यति नै पावर आउँछ’, उसले पनि हाँस्दै भनी ।

‘अनि ?’, मैले सोधेँ ।

‘अनि के ?’, फेरि उसले हाँस्दै सोधी ।       

‘अनि पावर आएपछि...?’, विषयको अन्तर्य सोधेर उसलाई अप्ठ्यारोमा पार्न खोजेँ ।

मेरो प्रश्नले ऊ थोरै लजाए जस्तो गरी र अन्ततः मजाले हाँसी । टल्किएको उसको कालो अनुहारमा दात भने हिउँझैँ टल्केको थियो । 

उसलाई धन्यवाद दिएर म पन्छिएँ । सायद ऊ चाहन्थी, यात्राका बाँकी दिन म ऊसँग नजिक हुँ । सायद ऊ चाहन्थी, हिमालयमा हाम्रो फिजिकल फ्युजन होस् । 

कुरा त्यतिमै टुङ्गियो । मैले ऊसँग हिमचिम बढाइनँ । 

अहिले यात्राको अन्तिम दिन, संयोगले केही घण्टा बसको एउटै सिटमा पर्यौं । म सहज थिएँ तर समीपा मसँग एक पटक पनि बोलिन । 

खै, मान्छेको जातै स्वार्थी हुन्छ कि कसो !

लौ, समीपा त उसको क्षणिक स्वार्थपूर्ति नभएकाले मसँग बाउँठी रे । हाम्रो समूहमा रहेका अरू यात्री के भएका नि ? उनीहरू पनि काठमाडौँबाट कैलाश कोरामा जाँदा जति हार्दिक थिए, दुःखका साथ भन्नै पर्छ, फर्कंदा उनीहरूबाट त्यस्तै हार्दिकता अनुभव गर्न पाइनँ ।

म दोष अरुमाथि मात्र थोपर्न चाहन्न, समस्या ममा पनि होलान् । 

त्यसैले मलाई लागिरहेको छ, के मनको सरोवर अर्थात मानसरोवरमा नुहाउँदैमा मान्छेको मनका विकार पखालिन्छ त ?

अहँ, हुँदैन । 

त्यसैले मलाई लागिरहेको छ, के शिवको बासस्थल कैलाश कोरा गर्दैमा मान्छेको मनका क्लेश मेटिन्छ ? 

अहँ, मेटिँदैन ।

वास्तवमा, तीर्थयात्राको भक्ति अनुभूति पनि मसान वैराग्यसरह क्षणिक नै हुन्छ कि क्या हो ? 

हाम्रो हिन्दु संस्कारमा मृत्युपछि मोक्षका लागि १३ दिने क्रिया कर्म गरिन्छ । संयोगले यस पटक हाम्रो काठमाडौं–कैलाश–काठमाडौं कोरा १३ दिनकै भयो । अर्थात् हामीले आआफ्नो मोक्षका लागि जिउँदै क्रिया कर्म गर्याैँ । विश्वभरका हिन्दु, बौध्द र जैन धर्मावलम्बीको विश्वास छ, तिब्बतको कैलाश र मानसरोवर तीर्थ पुगे मोक्ष पाइन्छ । 

तर के मैले मोक्ष पाउँछु त अब ? नढाँटी भन्दा, मोक्षदायक पुण्य कमाएँ कि नाइँ ? थाहा छैन, एउटा रोमाञ्चक यात्राको गज्जबको अनुभूति भने मैले अवश्य गरेँ । 

बरु, मलाई यतिखेर महान सपूत महाकवि लक्ष्मीप्रसाद देवकोटाको सुप्रसिद्ध रचना यात्रीको याद आइरहेको छः 

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार 
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार 
नसा–नदीका तरल तर, मन्दिर आफू अपार 
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा, जगदीश्वरको राज 
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज 
शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छाै हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा, ईश्वर हिँड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पीडा, दुःखको गानामा
दर्शन किन्तु कहीँ दिँदैन, चर्म–चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ  

यो यात्रास्मरणको सुरुमै उल्लेख भइसकेको तिब्बत जानुअघिको मेरो मनस्थिति दोहोर्याउँछु : 

‘हरेक दिनजसो रक्सी खाने बानी परिसकेको जस्तो भइसकेको थिएँ म । चुरोट त दिनमा बट्टै लाग्न थालिसकेको थियो । म चाहेर नचाहेर त्यस्तो भइसकेको थिएँ । मनमा अनेक तर्कना खेलाउँदै रातरातभर ननिदाउनु अनि बिहान धेरै बेरसम्म सुत्नु मेरो दैनिकी भइरहेको थियो । त्यसको कारण तिब्बत थिएन । त्यसको कारण काठमाडौं पनि थिएन । कारण म आफै थिएँ । ममा एउटा भित्री विश्वास र योजना थियो– तिब्बत छिरेपछि चुरोट कम गर्दै जाने र रक्सी त खाँदै नखाने । पूरै फ्रेस भएर नेपाल फर्कने । त्यसैले तिब्बत मेरा लागि साङ्ग्रिला मात्र थिएन, सुधारकेन्द्र पनि हुनेवाला थियो ।’  

तिब्बत जान घच्घच्याउने र रोमाञ्चक यात्रा प्रबन्ध मिलाउने इको ट्रेकका मित्र बिमलजीप्रति आभार प्रकट गर्दै म इमानदारीपूर्वक भन्छु– म साङ्ग्रिलामा पुगेर आएँ, कुनै सुधार केन्द्र हैन । 

विकारका कारण म आफैँ थिएँ र त्यसको निदान पनि म आफैसँग छ ।   किन पनि भने नेपाली धर्तीकै महान सपूत सिध्दार्थ गौतम बुद्धको सूत्र वाक्य, जुन मेरो मनमा गडेको छ :
अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन ।

यो पनि पढ्नुहाेस्

सागा : ह्वेर आई लस्ट माई स्टिक

कैलाशका कथा र किंवदन्ती 

कैलाशको काखकी डोल्मालालाई चुम्दा

अद्भूत कैलाश : छुने मख्ख, हेर्ने पनि मख्ख !

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ