बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदार र नेविसंघ फकाउन देउवाले बोलाए काँग्रेस बैठक

बिहीबार, १८ असोज २०७५, १० : ४०
बिहीबार, १८ असोज २०७५

काठमाडौँ । पार्टीको आन्तरिक व्यवस्थापन भद्रगोल भएपछि त्यसलाई व्यवस्थित गर्ने उदेश्यले छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । 

सभापति देउवाले शुक्रबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीभित्र देखिएका तीव्र असन्तुष्टिहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए । 

काँग्रेस भातृ संगठन नेविसंघको आगामी १६ गतेबाट हुने भनिएको १२औं अधिवेशनको सुनिश्चितता, पार्टी नेता विजयकुमार गच्छदारले देखाएको असन्तुष्टि र पार्टीमा गठन गर्ने भनिएको अनुशासन समिति गठन लगायतका विषयमा छलफल हुने काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । 

त्यस्तै विधान संशोधन मस्यौदा र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनसक्ने काँग्रेसले जनाएको छ ।

यसअघि काँग्रेसले ७ वटै प्रदेशमा विधान संशोधन मस्यौदामाथि छलफल चलाएको थियो । प्रदेशबाट आएका सुझावलाई विधान संशोधन मस्यौदामा कसरी समावेश गर्ने भन्नेबारेमा समेत निर्णय गर्ने बताइएको छ । 

यता, नेपाल विद्यार्थी संघको १२ औं अधिवेशन कार्तिक १६ गतेबाट सुरु हुने भनेपनि नेविसंघ हेर्ने निर्देशन समितिले विधान र नियमावली पारित नगरेपछि तोकिएको समयमा अधिवेशन नहुने हो कि भन्ने आशंका भएपछि त्यसवारे बैठकले ठोस निर्णय गर्ने बताइएको छ । 

कार्तिक १६, १७ र १८ महाधिवेशन सम्पन्न गर्ने भन्दै नेविसंघ केन्द्रीय समितिले समय तालिका पेस गरेको थियो । तर,  विधान र नियमावलीमा विद्यार्थी राजनीतिमा उमेर हद लगाउने या नलगाउने भन्नेमा काँग्रेसभित्रै विवाद छ । पार्टी संस्थापन पक्ष ३२ वर्ष उमेर हद लगाएर विधान पास गर्ने पक्षमा छ भने इतरपक्ष उमेर हदबन्दी लगाउन नहुने पक्षमा छ, जसले गर्दा निर्देशक समतिको बैठक नै बस्न सकेको छैन । 

त्यस्तै अधिवेसनका मुखमा नेविसंघ  अध्यक्ष नैनसिंह महरले मनोनित गरेका २२ पदलार्ई विनाशर्त अनुमोदन गरि प्रतिनिधि बनाउन नहुने बरिष्ठ नेता पौडेल पक्षको भनाई छ ।

त्यस्तै गत वर्ष चुनावको मुखमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई काँग्रेसमा विलय गरेका विजयकुमार गच्छदारले एक बर्षसम्म पनि काँग्रेसले जिम्मेवारी नदिएको भन्दै पार्टी छोड्ने चेतावनी दिएपछि उनलाई ‘एडजस्ट’ गर्ने विषयमा पनि छलफल गर्नेे काँग्रेसको तयारी छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप