शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी गण स्थापना

शुक्रबार, १९ असोज २०७५, १४ : ३३
शुक्रबार, १९ असोज २०७५

डोटी– नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयअनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण स्थापना भएको छ । जिल्लामा समग्रमा शान्ति सुरक्षा कायम गर्न र अन्य अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण हेडक्वाटर दिपायलमा स्थापना गरिएको हो । 

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरस्थित शिक्षक तालीम केन्द्र नजिकमा गण हेडक्वाटरको कार्यालय स्थापना भएको छ । गणले समग्र डोटी जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने उक्त गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले बताए । 

गणका लागि कूल ६२१ जनाको दरबन्दी हुने भएपनि हाल उक्त गणमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७६ जनाको जनशक्ति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए । 

उक्त गणले समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी रोक्ने तथा शान्तिसुरक्षा मजबुत बनाउनेजस्ता काममा सक्रिय हुने जनाइएको छ । शान्ति सुरक्षा कायम गर्ने तथा आपराधिक क्रियाकलापमा नियन्त्रण ल्याउने उद्देश्यसहित सशस्त्र प्रहरीको गण स्थापना भएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । 

नयाँ सुरक्षा व्यवस्था लागू 

यस वर्षको दशैँ तथा तिहारलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय डोटीले बनाएको नयाँ सुरक्षा व्यवस्था लागू भएको छ । दशैँ तथा तिहारलाई विषेश महत्व दिइ बनाइएको योजनामा प्रहरी प्रमुख आफैँ खटिने भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारीअनुसार दशैँ तथा तिहारमा हुने आपराधिक गतिविधि तथा घटनालाई निरुत्साहित गर्न तथा त्यस्ताखाले घटना हुन नदिन बनाइएको यो योजना लागू भएको हो । 

प्रहरीका सातवटा अत्याधुनिक हतियारसहितका गस्ती टोली परिचालन भएका छन् भने वित्तीय सङ्घसंस्था, आर्थिक कारोवार हुने क्षेत्र तथा बढी मानिसको भिडभाड र चहलपहल हुने क्षेत्रमा प्रहरी अधिकृतको नेतृत्वमा चौबिसै घण्टाका लागि प्रहरी तैनाथ भएका छन् । 

पर्याप्त मात्रामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । चाडबाडको समयमा कुनै पनि घटना भएमा वा हुनसक्ने सङ्केत भएमा तत्कालै प्रहरी प्रमुखको नं (९८५८४३५५५५) र निःशुल्क नं १०० र ११० तथा कार्यालयको नं ०९४–४२०२०५ मा खबर गरिदिनसमेत प्रहरीले सबैमा आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप