केन्द्रीय संस्करण

सत्ता र सम्पत्तिका लागि राजनीति !

person access_timeअसोज २०, २०७५ chat_bubble_outline0

हामी नेपाली जननता मुलुकका राजनेताहरुमा सिद्धान्तनिष्ठा र त्यागी चरित्र देख्न चाहन्छौं । मार्क्स, लेनिन, र माओको राजनीतिक सिद्धान्त एवम् क्रियाशीलता अनि महात्मागान्धीको जीवनशैली अर्थात् सादा जीवन उच्च विचार जनताले नेताहरुमा अपेक्षा गरिने विशेषता हो । 

गरीब जनताको मुलुकमा जनताकै सुख समृद्धिका लागि काम गर्छु भन्दै चुनिएर आएको राजनेताले राजाको ठाँटबाँट देखाएर नयाँ राजा बन्न खोजेको देख्दा जनतालाई निको लाग्दैन । त्यस्ता नेतालाई अगाडि नमस्कार गरे पनि पछाडि घृणा गर्ने नेपाली जनताको मनोविज्ञान रहिआएको छ ।

०४५अघिसम्म नेपाली कम्युनिष्टहरुमा सादा जीवन उच्च विचारका विशेषताहरु थिए । नेपाली जनताले तिनै विशेषताको त्यसै जगलाई सम्झेर नेकपालाई बहुमत दिएर जिताएका हुन् । अहिलेका सरकारी कम्युनिष्टहरु  ०४५अघिका अविश्रान्त श्रमी र सक्कली कम्युनिष्ट होइनन् । कतिपय राजनेताहरु पुरानै भए पनि तिनमा  विलास वैभवको नयाँ भोक जागेको छ । यो नेपाली जनतालाई राम्रो लागेको छैन ।
 

 नेपाल आजभन्दा झन्डै ७०वर्षअघि जहानिया शासनबाट मुक्त भएको मुलुक हो । नेपाल प्राकृतिक सम्पदा र अनुकूलताले भरिपूर्ण देश हो । यही ७० वर्षमा जापान झण्डै विपन्न स्थितिबाट अति सम्पन्न स्थितिमा आइपुग्यो । सधैँजसो भूकम्प र सुनामीले थर्काउने देश जापान उन्नतिको यस चुलीमा पुग्दा नेपाल दुनियाँलाई सगरमाथाको चुचुरो    कुल्चाएर डलर गनेरै बसिरह्यो । हिमाल प्रदूषित भएको र कालो पहाडमा फेरिन सुरु गरिसकेको भेउसम्म अझैं छैन । मुलुक उत्तरोत्तर रित्तो हुँदै गएको छ, जनता गरीब हुँदै गएको छ । मुलुकमा जीविका नपाएर झण्डै करोडको सङ्ख्यामा युवा श्रमशक्ति विदेशिएको छ । भारतदेखि अरवसम्म नेपालीले पसिना पोखेका छन् ।

 प्रज्ञापलायन त्यत्तिकै छ । रेमिट्यान्सले देश चलेको छ । यति हुँदा पनि राजनेताहरु, जनप्रतिनिधिहरु मुलुकको निम्ति आफ्नो विलास वैभवको स्वार्थ त्याग्ने मनस्थितिमा देखिएका छैनन् । मुलुक डुबे पनि जनता मोगलान भास्सिए पनि आफ्नो तलब भत्ता बढाउने र महँगा गाडीमा हुइँकेर  विलास वैभव बटुल्ने काँचो भोक जनप्रतिनिधिहरुमा जागेको देखिएको छ ।

 शीर्ष राजनेताहरु समेत त्याग तपस्याका दृष्टान्त बन्न सकेका छैनन् । कर्मचारी क्षेत्रमा जो जुन विभाग वा निकायको जिम्मेवारीमा पुग्छ त्यसले त्यही विभाग, निकाय चपाउने, निल्ने र फोेहोर मात्र छोड्ने धमिरा संस्कृति प्रभावी रहेको देखिएको छ । तस्कर भ्रष्ट, कमिसनखोर र बेइमानहरुको यत्रतत्र बिगबिगी छ । बलात्कार हत्याजस्ता जघन्य अपराध बढेकाछन् ।

सुरक्षानिकायबाटै जनताका सुरक्षाको प्रत्याभूति छैन । प्रतिपक्ष जिम्मेवार छैन । सत्तापक्ष अलमलमा छ । सबै नेतालाई सत्ताका अग्ला अग्ला कुर्सी वितरण गर्न चाहेर पनि सवैको भाग पु¥याउन सरकारलाई हम्मे परेको देखिएको छ । हरेक नेता अग्लो कुर्सीमा पुग्न भाउन्निएको अवस्था पनि देखिएकै छ । नेपाली जनताले यस्तै स्थितिका लागि पटक पटक आन्दोलन गरेर रगत् पसिना पोखेएका भने थिएनन् ।

    सत्तापक्षका राजनेताहरुमा बिलाएको सिद्धान्तनिष्ठा पुनः प्रकट भयो, सकारात्मक इच्छाशक्ति जागृत भयो र प्रतिपक्ष गतिछाडा भएन भने बाटो बिराएको राजनीति बाटोमा आउन अझै पनि सक्छ । मुलुक र जनताको अवस्था अझैं सम्हालिन सक्छ । फोहरका डंगुरहरु हटाइन सक्छन् । सिद्धान्तहीन राजनीतिले नेताकार्यकर्तामा हुर्काएको सत्तासम्पत्तिमुखी भस्मासुर प्रवृत्तिमा परिवर्तन आएन भने नेपाली जनता चुप लागेर बस्न प्रतिवद्ध छैन । अवस्थाले पनि नदिन सक्छ ।
 

   जनताका टाउकोदुखाइ धेरै छन् । अहिले जनताको तात्कालिक टाउकोदुखाइ समाजमा जघन्य अपराधहरुको बढोत्तरी पनि हो । सरकार नयाँ भए पनि संयन्त्र पुरानै हुनु र त्यो पनि राजनीतिकृत हुनुलाई कारण मान्ने जुन तर्क छ त्यो आंशिक रुपमा सत्य हुन पनि सक्छ । हरेक संयन्त्रलाई राजनीतिकरण गर्ने काम सबै पार्टीले गरेकै हुन् । पार्टीहरुले विनम्रतापूर्वक आफ्ना गल्ती सच्याउन सके भने अवस्था सुध्रन पनि सक्छ ।    

    न्यायनिष्ट बनेर आफैंमाथि आफैंले कारबाही गर्नु सबैभन्दा कठिन काम हो  । सत्ताले आफैमाथि अर्थात् आफ्नै अङ्गमाथि कारबाही गर्नु लर्तरो साहसको काम होइन । सत्तासीनहरुमा अरुलाई नियन्त्रणमा लिने र कारबाही गर्ने बानी परेको छ । आत्मनियन्त्रणको अभ्यास छैन । सबैभन्दा गाह्रो काम त आत्मअनुशासन हो । आत्मनियन्त्रण हो । आत्मनुशासन एवम् आत्मपरिवर्तन लर्तरो काम होइन ।
 कम्युनिष्टहरुले नेता कार्यकर्ताहरुबीच आत्मआलोचनाको परिपाटी बसाल्नुको अभिप्राय आत्मानुशासन कायम राख्नु नै हो । सामन्तहरु ज्यान गए पनि सार्वजनिक रुपमा आत्मआलोचना गर्न सक्दैनन् । कम्युनिष्टहरु सक्छन् । यसलाई सामन्त र समाजवादी चरित्रबीचको पहिचान रेखा पनि मान्न सकिन्छ । 

    यहाँनिर पुनः एक पटक हालको चर्चित अपराधकाण्डकै चर्चा गरौं । यसमा तदारुक रुपमा जिम्मेवारी वहन गर्नुपर्ने जिम्मेवारहरुले जिम्मेवारी वहन गर्नुको बदला विपरीत हर्कत गरेको होइन भन्न सकिने प्रत्यक्षता छैन । 

जनताको प्रत्यक्षता आफैंमा जबरजस्त प्रमाण हो । यहीँनिर अर्को तर्क पनि आइदिन सक्छ । कुनै अपराधीलाई पूर्वमा थन्क्याएर पश्चिमतिर खोजतलास जारी गरियो भने कति वर्षमा पक्राउ पर्ला ? अहिले कतै महाभारतका युधिष्ठिर भेटिँदा हुन् त यक्षले यही प्रश्न गर्दो हो । 

दुःखको कुरा अहिले यस्ता प्रश्नका उत्तर दिने सत्यवादी युधीष्ठिरहरु सत्तामा छैनन् । सत्तामा उत्तरदायी चरित्र किन्चित् पनि नदेखेर जनताको यक्ष आज विक्षुब्ध मनस्थितिमा छ ।
    सत्ताको बलमिच्याइँमा सत्यलाई यति अनाथ र यति टुहुरो पनि बनाइन सकिँदो रहेछ । निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा  जनताले यो वीभत्स यथार्थलाई प्रत्यक्ष अनुभूतिमा देख्यो । नेपाली जनताले यस्तै सुरक्षाकर्म पाउनका लागि विविध करका नाममा आफ्नो रगतपसिना निचोरेर सत्तासीनहरुलाई अर्पण गरेका हुन् त ? यो अर्को यक्षप्रश्न हो । उपलब्धि यस्तै फलिरहने हो भने सर्वसाधारण जनताई सुरक्षा कसले दिने ? नेपाली जनता आज गम्भीर चिन्तनमा छन् ।

    सोचौँ । समय छँदै सोचौँ । दुईचार कुहिएका माछाको मोहमा परेर सिँगो तलाउलाई नरककुण्डमा रुपान्तरण हुन दिँदा कसैको कल्याण छैन । हाम्रो मुलुक असीम सुन्दर सम्भावनाले भरिएको मुलुक हो । यसको सौन्दर्यमाथि कुठाराघात नगरौँ । एकाध विषवृक्षलाई जोगाउन सिङ्ंगो जंङ्गल फँडानीमा बन्चरोहरु खर्च नगरौँ । मुलुकको भाग्यभविष्य नष्ट गर्न जनता मतदाता बनेका होइनन् । करदाता बनेका होइनन् । जनताको रोषले आक्रोशको रुप लियो भने  सत्तासीनहरुले क्षमा नपाउन पनि सक्छन् ।

    अन्यायं कुरुते यदा क्षितिपतिः कस्तं निरोद्धुं क्षमः अर्थात् राजा स्वयम् अघि सरेर  अन्यायगर्छ भने त्यसलाई कसले रोक्न सक्ने ? कुनै समय थियो कविहरु यस्ता कविता लेख्थे । जनताले आफनो शक्तिको अपराजेयता नचिनेका दिनका कुरा थिए यी । आज ती दिनहरु छैनन् ।

    यहाँ विधिविज्ञानको अपमान गरिएकोे छ । प्रमाणविज्ञानको अपमान गरिएको छ । प्रमाण नष्ट गर्न मरिहत्ते गर्नेहरु स्वयम्मा प्रामाणिक प्रमाण हुन् । त्यसप्रति आँखा चिम्लने काम गरिएको छ । अनुसन्धानविज्ञहरु स्वदेशकाले नपुगे विदेशबाट झिकाउन पनि सकिन्छन् । त्यसतर्फ ध्यान दिइएको छैन । आपराधिक घटनाको अनुसन्धानमा सत्तासीनहरुबाट तदारुकता, इमानदारी र वैज्ञानिकता लगायतका विश्वसनीय पहल चाहन्छन् जनता । जनताको यस चाहनामाथि सत्तासीनहरुबाट क्रूर व्यङ्ग्य गरिएको अनुभूति व्यापक हुँदैछ । यो सौभाग्यको लक्षण होइन ।

    आजको सरकार नेपाली कांग्रेसको सरकार होइन । कमजोर सरकार पनि होइन । दुईतिहाइ वहुमतको ‘वामपन्थी’ सरकारलाई यतिसम्मको यो कमजोरी सुहाएन । पटक्कै सुहाएन ।    सत्ता र सम्पत्तिका लागि राजनीतिलाई बन्धक बनाउनु सैद्धान्तिक आत्महत्या हो । हुन त विवेक सकिएपछि मानिस आफ्नो पतन आफै पनि रोक्न सक्दैन । यो भ्रष्टताको विवशता पनि हो । सत्ता र सम्पत्ति भने पछि गति छाडेर मरिहत्ते गर्ने बानी परेका पक्ष प्रतिपक्षका राजनेताहरुमा देश र जनताका हितमा काम गर्ने चेतना पनि धेरथोर पलाओस् । सरकारी कर्मचारीहरुले जनताको नुन खाएका छन् । त्यसको सोझो गर्न पनि सिकुन् । 

    यसपालीको दशैँको यही शुभकामना !   
  

 पुनश्च—
    सत्तासीन हुँदाहुँदै पनि कति व्यक्तित्वहरु कदाचित्  निस्सहाय, असहाय, अनाथ देखिन पनि सक्छन् । भोग्ने मनलाई त दुःख लाग्छ नै । देख्ने आँखाहरुलाई पनि टीठ लाग्छ । यस पटक सत्ताका कतिपय दरबारहरुबाट कति यस्ता दृश्यहरु पनि व्योमाच्छन्न भए । आगन्तुकलार्ई नमस्कार फर्काइहेका कति अनुहार तमतमाहटमय पनि देखिए । किन्चित् करुणाभाव किन्चित् क्रोधरङ्गतरङ्ग र मूलतः निस्सहाय भावकै प्रधानता । यस्तो हुनु अस्वाभाविक पनि थिएन । सत्ताको चरित्र र गतिविधिअनुसार यो सर्वथा स्वाभाविक पनि हो ।

    कक्षाभित्र शिष्यका प्रश्नको ठीक ठीक उत्तर दिन नसक्दा कमजोर  शिक्षकलाई झोक चल्छ । आफ्नो अयोग्यतासँग होइन प्रश्नकर्ताको योग्यतासँग झोक चल्छ । झोकचलाइको यो अवस्था कक्षाभित्र शिक्षकलाई मात्र होइन, परिवारभित्र अभिभावकलाई र सरकारभित्र मन्त्री प्रधानमन्त्रीलाई पनि पर्न सक्छ । 

    अरु कुरा जेजसो भए पनि । अनुहारमा जीबन्त भाव बाँकी रहेसम्म जीवित मानिसहरुमाथि आशा एवम् सम्भावना बाँकी रहन्छ । नीरोको बाँसुरवादनमा पनि सम्भावना बाँकी थियो । यद्यपि इतिहासकारहरुले सम्भावनाको त्यो पक्ष त्यति कोट्ट्याएनन् ।

    नीरोहरु त्यागी हुन सक्दैनन् । यसैभएर रोम जल्दा बिचरा नीरोहरु केही गर्न सक्दैनन् । दरबारको छानामा बसेर बाँसुरी बजाइरहन मात्र सक्छन् । यस किसिमका सत्तासीनहरुकोे मर्का यस्तै हुन्छ । निरोहरुलाई पनि लाग्दो हो उनीहरुको मर्का इतिहासकारहरुले बुझिदिएनन् । 

    हुन त नीरोहरु आत्मच्छलनामा पनि खप्पीस हुन्छन् । त्यति बेला कुनै अन्तर्वार्ताकार हुँदो हो र छानामै पुगेर सोद्धो हो त नीरोहरु सिंहसदृश गर्जन गर्जँँदै भन्दा हुन्, शहरमा आगो होइन, हाम्रो प्रताप दन्केको हो । आगोको विरोध हाम्रो प्रतापको विरोध हो । 
     
     
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ