मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्दा उठाएर ‘डेलिगेशन’ आएका सुस्ताबासीलाई प्रधानमन्त्रीले भेट दिएनन्

सोमबार, २२ असोज २०७५, १४ : ०६
सोमबार, २२ असोज २०७५

काठमाडौं–सुस्ताका दर्जनौँ समस्या प्रधानमन्त्री केपी ओलीलाई प्रत्यक्ष अवगत गराउने उत्साह बोकेर काठमाडौ आएका सुस्ताबासी निराश बनेर फर्कनुपर्ने अवस्था आएको छ । उनीहरु झण्डै दुई सातायता प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयासमा रहेपनि भेट नपाएपछि निराश बनेर फर्किन लागेका हुन् ।

‘हामी असोज ९ गते काठमाडौँ आएका हौँ, यसबीचमा प्रधानमन्त्री विदेशमा हुनुहुन्थ्यो । आएपछि भेट होला भन्ने अपेक्षाले बस्यौ तर, यति लामोसमय सम्म बस्दा पनि भेटको समय मिलेन, त्यसैले आजै फर्कर्दै छौँ’ सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले रातोपाटीसँग गुनासो गर्दै भने, ‘धेरै साथीहरु बिरामी पनि हुन थालेका छन् । चन्दा उठाएर जुटाएको खर्च पनि सकियो त्यहि भएर आजै रातीको टिकट काटेका छौँ ।’ 

गत असोज ९ गते सुस्ताबासीका विभिन्न समस्या बोकेर ३० जनाको टोली डेलिगेसनका रुपमा काठमाडौँ आएको थियो । ‘सुस्ताबासीले वर्षौदेखि भोगेका समस्या समाधानका लागि दुई तिहाई बहुमतको सरकारलाई आफ्ना समस्या सुनाउन र समस्या समाधानको पहल गर्न दवाव दिने उद्देश्यले आएका थियौँ तर, हाम्रो चाहना पूरा भएन’ उपाध्यक्ष खानले भने । 

उनले यो सरकारले पनि आफ्ना समस्या नसुने कुनैपनि सरकारले नसुन्ने भन्दै सुस्तावासीलाई यो सरकारले आफ्ना नागरिक नै नभएको जस्तो व्यवहार गरेकोे आफूलाई अनुभूति भएको बताए । 

हुन त उनीहरुले उपराष्ट्रपति नन्दबहादुर पुनदेखि मन्त्री, सांसद, सभामुख  र राष्ट्रिय सभाका अध्यक्षलाई पनि भेटे । तर, कसैबाट पनि आफ्ना समस्या सम्वोधनमा ठोस पहल गर्ने प्रतिवद्धता नआएको डेलिगेशन टोलीका सदस्यहरुले बताए । ‘दुई देशबीचको समस्या समेत भएकाले प्रधानमन्त्रीको तहबाटै प्रयास गर्नुपर्ने धेरैको सुझाव पायौँ तर मुख्य मानिससँग भेट नै हुन सकेन’ संघर्ष समितिका अध्यक्ष गोपाल गुरुङले भने ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीलाई भेट्ने समयको लागि पहल गरिरहेको बताएको छ । सचिवालयका सदस्य अच्यूत मैनालीले सुस्तावासीले आफूलाई आजमात्रै सम्पर्क गरेकाले समस्या भएको दाबी गर्दै  समय मिलाउनको लागि अझैं पनि आफू प्रयासरत रहेको बताए । 

काठमाडौ आउनुअघि सुस्ताबासीले गाउँका प्राय सबै घरमा चन्दा उठाएर खर्चको जोहो गरेका थिए । ‘तर त्यो पैसा पनि सकियो अब घर फर्कनुको विकल्प भएन । त्यसैकारण आजै फर्कन लागेका हौ’ अध्यक्ष गुरुङले जानकारी दिए । 

उनीहरुले सुस्ता भूमि बचाउन र सुस्ताबासीका समस्या सामाधान गर्न ‘सुस्ता बचाउ अभियान संघर्ष समिति’ नै गठन गरेर पटक पटक आन्दोलन र दवाव दिँदै आएका छन् । 
‘कतिपय बेलामा भारतीयहरुसँग झडपनै हुने गरेको छ तर हाम्रो सरकारले सुनेन’ टोलीका सबैको यहि गुनासो छ । 

झण्डै १३ दिन काठमाडौमा रहँदा टोलीले पालै–पालो गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सम्बन्धित मन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरे । 

‘मन्त्री बाहेक अन्य दलका नेताहरुलाई पनि समस्या जानकारी गरायौ’ तर अब निरास हुँदै फर्कनुको विकल्प देखेनौ’ अभियानका अध्यक्ष गुरुङ्गले सुनाए । उनले भने, ‘सुस्ता समस्या सामाधान गराउने सुस्ताबासीको ठूलो सपना छ ।’  

सुस्ताका समस्या के–के छन् ? 
४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि हाल साँघुरिएको छ । हाल सुस्ता गाउँपालिका बनेको यो क्षेत्र नारायणी नदीपारी भारतको विहार प्रदेश भंसालोटन बजारसँग जोडिएको सिमावर्ती गाउँ भनेर चिनिन्छ । 

सुस्ता गाउँमा जग्गा अतिक्रमण, भारतीयसँगको सीमा विवाद, नागरिकता नपाउने, भौतिक पूर्वाधार अभाव, सुरक्षा, झोलुङ्गे पुल, तटबन्ध, खानेपानी, विजुली, बाटोघाटो, स्वास्थ्य लगायतका दर्जनांै समस्या छन् । 

सीमा विवाद, भूमि अतिक्रमण र नागरिकता लगायतका दर्जर्नौ समस्या बोकेर यसअघि पनि सुस्ताबासीले काठमाडौलाई नघच्घच्याएका भने होइनन् । तर, सधँै आश्वासनको पोको बोकेर फर्कनु उनीहरुका लागि बाध्यता थियो । ‘यसपटक पनि  विगतको जस्तै केही आश्वासन बाहेक कुनै उपलव्धि भएन’ उपाध्यक्ष खानको भनाई छ । 

सुस्ताबासी यस्तो डेलिगेशन बोकेर योसहित १० पटक सिंहदरबार पुगिसेकेका छन् । धेरै पटक धाउँदा पनि समस्या सामाधान नभएकाले सुस्ताबासीको निराशा निरुपण हुन नसकेको उपाध्यक्ष खानले बताए । 
तीन हजारमध्ये २९५ को मात्रै नागरिकता
सुस्तामा कुल ८५ घरधुरी छन् । यति घरधुरीमा ३ हजार १३३ जनसंख्या छ जसमध्ये २९५ जनाले मात्र नागरिकता पाएका छन् ।

 ९० प्रतिशत जनसंख्या अझै नागरिकताविहीन छ । ४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि १४ हजार ५ सय हेक्टर क्षेत्रफल अतिक्रमण भइसकेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफल वनजंगल र विवादमा छ । बाँकी ७ हजार हेक्टर क्षेत्रफलमा मात्र सुस्ताबासीले जोतभोग गरिरहेका छन् । 

–नवलपरासीबाट हुसेन अन्सारीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप