शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभाका विभिन्न समितिका सभापतिको निर्वाचन

सोमबार, २२ असोज २०७५, २० : ०१
सोमबार, २२ असोज २०७५

धनगढी । प्रदेशसभा गठन भएको झण्डै आठ महीनापछि सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा रहेका विषयगत समितिका सभापतिको निर्वाचन आज निर्विरोध रुपमा सम्पन्न भएको छ । 

आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएको जानकारी गराए । 

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा, सत्ता पक्ष नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा)का नेपालु चौधरी, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा हर्कबहादुर कुँवर र सार्वजनिक लेखा समितिको सभापतिमा प्रतिपक्ष नेपाली काङ्ग्रेसका कुमारीनन्दा बम निर्वाचित भएका छन् । समितिका नवनिर्वाचित सभापतिहरुले आजै एक समारोहबीच शपथ लिएका छन् । 

बैठकले सदस्य कृष्णराज सुवेदी प्रस्तावक र अमरबहादुर साउद समर्थक भई सचिवालयमा दर्ता गरिएको प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मस्यौदा समितिको संयोजकमा कृष्णराज सुवेदी र सदस्यमा, माया तामाङ बोहरा, मानबहादुर सुनार, गोविन्दराज बोहरा र कृष्णबहादुर चौधरी छन् । 

बैठकमा संशोधन प्रस्तावका प्रस्तावक सुवेदीले प्रदेशसभा नियमावली २०७४ का केही दफा संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव ल्याउनु परेको बताए । प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप