शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘केपी ओलीले धेरै बोले, शेरबहादुर बोल्दै बोलेनन्’

मङ्गलबार, २३ असोज २०७५, १४ : ४१
मङ्गलबार, २३ असोज २०७५

नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य हुन् चन्द्र भण्डारी । भण्डारीलगायतका केही युवा नेताहरूले काँग्रेसको वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर अभियान नै चलाएका थिए । तर हाल त्यो अभियान सुस्त बनेको छ । 

यहीबीचमा काँग्रेसले आफूलाई सङ्घीय स्वरूपमा बदल्ने प्रयासस्वरूप नयाँ विधान बनाइरहेको छ । बन्दै गरेको काँग्रेसको विधानका प्रावधान, नेतृत्वको कार्यशैली, अधिकार तथा प्रतिपक्षको जिम्मेवारी र सरकारका कामकारवाहीका बारेमा भण्डारीसँग रातोपाटीका लागि फणिन्द्र नेपालले प्रश्न गरेको छन् । नेपालका राजनीतिक दलका नेताहरू नीति, सिद्धान्त र विचारभन्दा पनि परिवार, गुट र उपगुटमा रमाउन थालेको बताउने भण्डारी अरू थप के भन्छन् त ?

काँग्रेस रूपान्तरणका लागि तपाईंलगायत युवा नेताहरूले निकै कसरत गर्नुभयो । अहिलेसम्म तपाईंहरूको प्रयास कति सार्थक भयो ?
नेपाली काँग्रेस आफ्नो इतिहास, चरित्र र नीतिअनुसार वर्तमानमा अघि बढ्न सकेन । तसर्थ कम्युनिस्ट पार्टीहरू मजबुत बनेर आए र झण्डै दुई तिहाई मत ल्याउन सफल भए । यो हाम्रो आफ्नै नेतृत्वको कमजोरीले हो । यसमा कसैले कसैलाई औँला ठड्याउन जरुरी छैन । यो अवस्थामा हामीले नयाँ कुरा केही पनि खोज्ने होइन, बीपीको जस्तो दृष्टिकोण, सुवर्ण शमशेरको जस्तो उदारता, गणेशमानको जस्तो डिटरमिनेसन र किसुनजीको जस्तो निष्ठालाई मिलाउन सकियो भने अहिले पनि काँग्रेसलाई अघि बढाउन सकिन्छ । अरूको विचार आवाश्यक पर्दैन । 

उग्र, उदण्ड मानिसको टाउको काटेर रगतबाट परिवर्तन हुन्छ भन्ने पार्टी त नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा रुपान्तरण भयो । त्यो अवस्था ल्याउन वर्तमान नेतृत्वबाट सम्भव छैन । तसर्थ अब नेपाली काँग्रेसको महासमिति बैठक बस्दैछ । विधानलाई परिमार्जन गर्दैछ । वर्तमान चुनौतीहरूलाई आधार मानेर नयाँ विचार र नयाँ दृष्टिकोणका आधारमा पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्छ भनेर हामी अझै लागिरहेका छौँ ।

नेतृत्व परिवर्तनका लागि महाधिवेशन बोलाउनुपर्ने हुन्छ । त्यसका लागि अझै एक वर्षको समय छ । त्योभन्दा अघि नै तपाईंहरूको होमवर्क देखियो । जसले तपाईंहरूले भनेको रूपान्तरणको लक्ष्य प्राप्त होला ? 
परिवर्तन हुने नै यसरी नै हो । एउटा जीवन्त पार्टीमा हरेक किसिमका विचार र दृष्टिकोण हुन्छन् । यसरी विचारगत रूपमा आउने विभिन्न दृष्टिकोणहरूलाई स्वभाविक मान्नुपर्छ । विचारहरूको मन्थनबाट नै निष्कर्षमा पुग्न सकिन्छ । 

के अब काँग्रेसको नेतृत्व शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेकबाट खोज्ने हो ?
हामीले संविधान बनायौँ, संविधानमा समानुपातिक समावेशी राख्ने विभिन्न प्रावधान पनि राख्यौँ । त्यसका  लागि आयोगहरू गठन गर्यौँ । त्यो किन गर्यौँ भने प्रजातन्त्रमा १९ हजार एक सय एकले जित्छ, १९ हजार ९९ ले हार्छ । हारेको प्रतिनिधत्व पनि भएन । विभिन्न समाजको परिवर्तन र मागअनुसार पहिचानका कुरा उठाएर राष्ट्र मजबुत बनाउनका लागि सम्बोधन गर्नुपर्ने रहेछ भनियो । राम्रो संविधान भएन भने द्वन्द्व उत्पादन गर्छ भन्ने हो । तर  संविधान निर्माण भइसकेपछि हामीले जुन लक्ष्य र उद्देश्यका लागि जुन काम गरेका थियौँ त्यो नेताहरूले पूरै बिर्सिए ।

आफ्नो परिवार र आफ्नो व्यापार मात्रै हेरे । सबैलाई अवसर दिन सकेनन् । कुनै पनि नियुक्ति होस् वा समावेशी समानुपातिककै कुरा किन नहोस् तिनलाई समाजको माग र आवश्यकताअनुसार समावेशी तरिकाले कुनै काम भएन । जुन नेता आफ्नो परिवार र गिरोहबाट बाहिर निस्कन सक्दैन, त्यो व्यक्ति जोसुकै भए पनि राष्ट्र हाँक्न सक्दैन ।  जसले समान न्याय, सक्षमलाई अवसर र पारदर्शी बन्दै राष्ट्रवादी सोच भएको व्यक्ति नै भोलि हाम्रो नेता हुन्छ । 

त्यसका लागि उपयुक्त पात्र काँग्रेसमा को छ त ? 
को हुन सक्छ भनेर अहिले व्यक्तिकै पहिचान गर्ने र भन्दै हिँड्ने कुरा हैन । तर हाम्रो विचार समूहमा ठूलो जमात छ । यो जमातले विचार र दृष्टिकोणका आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्छ । 

काँग्रेसले आफूलाई सङ्घीय संरचनामा बदल्न विधान तयार गर्दैछ । विधान बनाउने क्रममै संस्थाभन्दा पनि व्यक्ति बलियो बनाउने भन्नेमा नेताहरूबीच ठूलो रस्साकस्सी भइरहेको छ । यसले त काँग्रेस अझै पनि परिवर्तनलाई आत्मासाथ गर्न चाहँदैन कि भन्ने आशङ्का गर्न थालिएको छ नि ?
नेतृत्वलाई शक्तिशाली बनाउन हुँदैन, अधिकार दिनु हुँदैन भन्ने पक्षको म होइन । सैद्धान्तिक रूपमा अधिकार दिनुपर्छ  तर नेपालको अहिलेको नेतृत्वले अधिकार लिएर चलाउन सक्दैन । अहिले दुई तिहाइको सरकार छ, चलाउन सकेको छैन । आफ्नो पार्टी नै चलाउन सकेको देखिँदैन । नेपालका राजनीतक पार्टी र तिनका नेताहरू समग्र देशको नेतृत्व गर्नभन्दा गुटउपगुट र पैसका भरमा चल्छन् । त्यसकारण नेताहरूलाई सबै अधिकार दिने बेला अझै भइसकेको छैन । हामीले देखिसकेका छौँ । पार्टीहरूमा पनि देखिसक्यौँ । कुनै पनि नेताले देशका लागि केही गर्न सकेको छैन । एउटा नेताले आफ्नो अवसरवादभन्दा टाढा हेर्न खोज्दैन । पैसाभन्दा बाहिर निस्कन सक्दैन । वरिपरि साना घर बनाएर बीचमा आफू ठूलो घर बनाउन नेताहरू लालायित छन् । यस्तो प्रवृत्ति, दृष्टिकोण र सोचाइले कसरी हुन्छ मुलुकको समृद्धि ? कसरी हुन्छ न्याय र समानता ? त्यसकारण यो परिवेशमा नेतालाई सबै अधिकार दियो भने देश पनि सकिन्छ, पार्टी पनि सकिन्छ भन्ने विगतको पाठबाट भोगेको कुरा हो ।

काँग्रेस आफूलाई देशको पुरानो प्रजातान्त्रिक पार्टी भन्छ । तर यही पार्टी नै प्रजातान्त्रिक पद्धतिबाट अलग हुन्छ भने अरू पार्टीबाट के अपेक्षा गर्न सकिएला ? जस्तो नेविसङ्घको विधान पारित गर्ने बेलामा नै मध्यराति नेताहरूको असहमतिका बीचमा निर्णय भयो ?
नेविसङ्घको ३२ वर्षे हदम्यादका विषयमा गत वर्ष नै निर्णय भएको हो । यो वर्षबाट कार्यान्वयन गर्ने भनिएको हो । त्यसबेला निर्णय गर्ने बेलामा पनि केही कमीकमजोरी भएका थिए । त्यसकारण यसमा अनिर्णयको बन्दी हुनुभन्दा बहुमतले पास गर्नु नै उपयुक्त हो । यसलाई अनर्थका रूपमा लिनु हुँदैन । आफू हुँदा सबै राम्रो र नहुँदा सबै नराम्रो भन्ने प्रवृत्ति पनि ठीक होइन । हाम्रो पार्टीमा सुशीलजी सभापति हुँदा शेरबहादुरजीले १० महिनासम्म असहमति जनाएर केन्द्रीय कमिटी बैठक बस्न दिनुभएन बहिष्कार गर्नुभयो । अहिले कम्युनिस्ट पार्टी सरकारमा छ ।

यही कम्युनिस्ट पार्टीले गिरिजाबाबु पहिलो चुनावबाट आउँदा १५ दिनपछि हड्ताल गरे । कर्मचारी उचाले । ५७ दिनसम्म संसद नै चल्न दिएनन् । यस्तो क्यारेक्टरबाट हामीले सिकेर जाने हो । जस्तो, भारतीय पूर्वराष्ट्रपति अब्दुल कालम भन्नुहुन्थ्यो– ‘हरेका राम्रा निर्णयहरू अनुभवबाट प्राप्त हुन्छन् । ती अनुभवका आधारमा भावी निर्णय गर्नुपर्छ ।’ हामी सबैले हिजो गलत निर्णयहरू गर्यौँ ।

त्यसैकारण युरोपजस्तो देश जहाँ हिउँ नै हिउँ छ, त्यो स्वर्ग बनेको छ । जहाँ ५३ डिग्री तापक्रम भएको अरब छ, त्यो देश स्वर्ग बनेको छ । हाम्रो देश आफैमा स्वर्ग छ तर यहाँका युवा त्यही युरोप र अरब गएर कष्ट भोगिरहेका छन् । पसिना बगाइरहेका छन् । यी सबै कुरा विगतमा हाम्रा लिडरहरूले गरेको गल्तीका कारण भइरहेका छन् । त्यसको जरो उखेल्नुपर्छ । त्यो रोगको निदान गर्नुपर्छ । चाहे जुनसुकै पार्टीमा होस् । 

हामीले यसअघि पार्टीको विधान बनायौँ तर लागू नै गरेनौँ । महासमिति बैठक एकएक वर्षमा बस्ने विधानमा व्यवस्था छ । तर सभापति यो लागू नै गर्नुहुन्न । कम्युनिस्ट पार्टीहरू विधान बनाउँछन् लागू नै गर्दैैनन् । आपसमा झगडा गरेर बस्छन् । प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नदेखेका नबुझेका नेताहरू नेपालको राजनीतिक दलका नेता भए । तिनका हातमा पार्टी गयो ।

भनेपछि अब बन्ने काँग्रेसको नयाँ विधान पार्टी रूपान्तरण र नेतृत्व परिवर्तन हुने किसिमको होला ? 
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने, हाम्रो जस्तो संविधान भारत या अरू कुनै देशले बनाउन सक्छ ? सक्दैन । भारतमा हाम्रो जस्तो संविधान बनाए त्यहाँ मारकाट हुन्छ र देश नै विखण्डन हुन्छ । यो संविधान बनाएर लागू गर्दैछौँ । लागू भइसकेको पनि छैन । तर परिवर्तन भएन गरेन भनिरहेका छौँ । यो कति गैरजिम्मेवारीपना हो । अनुभव गर्दै जाँदा अप्ठ्यारो भयो भने फुकाउँदै जाने दुनियाँको अभ्यास हो । 

त्यस्तै काँग्रेसको विधानको सवाल पनि यही हो । हामीले यसअघि पार्टीको विधान बनायौँ तर लागू नै गरेनौँ । महासमिति बैठक एकएक वर्षमा बस्ने विधानमा व्यवस्था छ । तर सभापति यो लागू नै गर्नुहुन्न । कम्युनिस्ट पार्टीहरू विधान बनाउँछन् लागू नै गर्दैैनन् । आपसमा झगडा गरेर बस्छन् । प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नदेखेका नबुझेका नेताहरू नेपालको राजनीतिक दलका नेता भए । तिनका हातमा पार्टी गयो । त्यसकारण उनीहरूलाई विधानप्रति मतलब भएन । समाजप्रति उत्तरदायित्व भएन यही भएर नै नेपाली जनताले दुःख पाएका हुन् । 

जानीबुझी तपाईंहरू किन त्यस्ता नेताहरूलाई नेतृत्व दिनुहुन्छ त ? कमजोरी त तपाइर्हंरू जस्ता नेताको पनि हो नि ? 
कमजोरी हाम्रो पनि हो । पढेलेखेका राम्रा मान्छे प्लस टु गरेकाहरू विदेश गए । अलिअलि पढेका कर्मचारी भए, कोही डाक्टर कोही इन्जिनियर । बाँकी रहेका राजनीति गर्ने भए । राम्रा मान्छे र राम्रा कुराहरू नै अल्पमतमा परे । अहिले हाम्रा कुरा कसले सुन्छ ? बजारमा नयाँ धेरै डाक्टर आएका छन् तर अशोक बास्कोटा नै किन खोज्छन् ? कल्चर नै त्यस्तो भयो । यसलाई बनाउन समय लाग्छ । 

तर नेपालका युवा पुस्तालाई राजनीतिमा स्थान नै दिइँदैन भन्ने गुनासो पनि छ नि ?
विचार ओरिएन्टेड भएनन् नेता र तिनका कार्यकर्ता । जहाँ आफ्नो परिवार, नाताकुटुम्ब, आफन्त, गुट र गिरोहको मात्रै कुरा सुनिन्छ । त्यो पार्टी र नेताले केही गर्न सक्दैन । युवाहरू छन् तर स्थान पाउँदैनन् । यो पनि सत्य हो । तर विस्तारै यो क्रम हटाउन जरुरी छ । आउटपुट हेर्ने भनेको त राष्ट्र र जनताको अवस्था नै हो । 

अब नयाँ परिवेशमा नेपालका राजनीतिक दलहरू सच्चिने अवस्था कति देख्नुहुन्छ त ?  
नयाँ परिवेशमा नयाँ सोच, विचार र नेतृत्व आउन जरुरी छ । यिनीहरूबाट देश पनि बन्दैन । पार्टी पनि बन्दैनन् । यो अवस्था धेरै राख्न दिनुहँुदैन ।  

दुई तिहाईको सरकार बनेको छ । शान्ति र समृद्धिका चर्का कुरा पनि भइरहेका छन् । तर जनतामा निराशा कम भएको छैन । तपाईं प्रतिपक्ष दलको नेता पनि हुनुहुन्छ । कस्तो देख्नुहुन्छ यो सरकारको यात्रा ? 
हामीले गएको केही समयभित्र दुईजना व्यक्तिको अनुभव सँगालेका छौँ । एकजना सुशील कोइराला र अर्को केपी ओली । कोइराला गृहस्थीविहीन वा परिवारविहीन हुनुहुन्थ्यो । उहाँ बिरामी हुँदा पनि राष्ट्रले सहयोग गर्यो । त्यसको बदलामा उहाँले अत्यन्त चुनौतीका बाबजुद देशलाई संविधान दिएर जानुभयो । त्यसपछि केपी ओली आउनुभयो । ओलीजीको गृहस्थी छ । अरू छैन । बिरामी हुनुहुन्छ, राज्यले करोडौँ खर्च गर्छ । उहाँको नेतृत्वमा यो देशले समृद्धि पाउनुपर्ने होइन ? व्यक्ति के पार्टी के ? तर उहाँ प्रधानमन्त्री भएपछि पहिलो भ्रमण गर्दा निजी जहाज चढेर जानुभयो ।

नेपालको आफ्नो लगानीको जहाज चढ्न मन लागेन । किन ? उहाँलाई म नेपालको नेता हुँ, सबैको नेता हुँ भन्ने नै लागेन । मैले धेरै भनेको र लेखेको पनि छु । कर्मचारी, एनजीओ, प्रहरी उहाँकै हातमा छन् । वकिल ठेक्कापट्टा गर्ने उहाँहरूकै छन् । यो चुनौतीबाट निस्कनुपर्नेमा उहाँ निस्कन सक्नुभएन । जसले गर्दा सरकारले दैनिक रुटिनको काम पनि गर्न सकेन ।

तर यो सरकारले अझै पनि गर्नतिर लागोस् भन्ने मेरो कामना छ । केपी ओलीजस्तो मान्छेले माधव नेपाल, प्रचण्ड, झलनाथलाई राखेर भन्नुपर्छ– मलाई केही चाहिएको छैन । तपाईंहरूले लगनशिल मान्छे छान्नुस्, कसैलाई अन्याय नहोस् । सबै मिलेर काम गरौँ । यो देशलाई १० वर्षमा राम्रो र विकसित बनाऊँ भन्नुपर्नेमा व्यक्तिव्यक्तिमा अड्किनुभएको छ ।

तर काँग्रेस कहाँ छ, आफैले आफैलाई खोज्नुपर्ने अवस्थामा छ । यस्तो अवस्थामा प्रतिपक्षले दनदन अवाज उठाउनुसक्नुपथ्र्यो । जसले एउटा गाइडलाइन दिन्थ्यो । सरकारलाई सजग गराउन सहयोग पुग्थ्यो तर भएन । 

देशमा त्यति धेरै बलात्कारका घटना भएका छन्, भ्रष्टचार भएका छन् । तर उहाँ आफै सबै कुरा बोल्न खोज्नुहुन्छ । उहाँले त्यसरी बोल्ने नै होइन । ओलीजी बोलेको बोल्यै गर्नुहुन्छ । बोल्नुपर्ने प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा बोल्नै खोज्नुहुन्न । एउटाले बोलेर विगार्ने अर्कोले नबोली विगार्ने काम भएको छ । यस्तो अप्ठ्यारोमा देश पुगेको छ । हुन त कम्युनिस्टहरूको चरित्र नै हो बढी बोल्ने काम कम गर्ने । 

भारत र चीनसँगको सम्बन्ध यो सरकारले राम्रो बनायो । यसमा गाली गर्नुपर्दैन तर बङ्गालको खाडीको सम्मेलनमा सैन्य अभ्यासको कुरा किन गरेको ? सैन्य अभ्यासको कुरा गर्नुपर्ने थियो भने फूलबारी राजमार्ग राखिदिएको भए हुन्थ्यो । त्यसबेला चाइनालाई भन्न सक्थ्यौँ । किनभने हाम्रो स्वार्थ छ, १४ किलोमिटर बाटो भयो भने हामीलाई सहयोग हुन्छ भनेर । बोलेपछि भारतीयहरू विपक्षमा लागे । यी सबैले गर्दा अहिलेको नेतृत्वमा भिजन भएन । सिन्डिकेट उस्तै छ । कर वृद्धि भएको छ । महँगी बढेको छ । 

मुलुकको इतिहासमै पहिलो पटक ५ वर्षे स्थायी सरकार बनेको छ । जनताको समृद्धिको चाहना पनि त्यतिकै बढेको छ ? के यो सरकारबाट समृद्धिको अपेक्षा पूरा हुँदैन त ? 
अहिले नै सबै उपलब्धि भैहाल्नुपर्छ भन्ने पनि होइन । तर सरकारको सुरुवात नै राम्रो भएन । पाकिस्तानका प्रधानमन्त्रीले मेरो देश गरिब भयो । मेरो आइडल भनेको नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुन् । म कोइराला जस्तै सिम्पल प्रधानमन्त्री हुन्छु । मलाई यो बुलेटप्रुफ गाडी चाहिँदैन, यति भैँसी पाल्नुछैन । ठूलो घरमा बस्नु पनि छैन भन्न सक्छन् भने नेपालका प्रधानमन्त्रीले त्यो त्याग र तपस्या देखाउन सक्नुपर्दैन  ? तर त्यस्तो आँट उहामा देखिएन । फेरि यो सरकार गयो भने कसले चलाउने भन्ने अर्को प्रश्न पनि छ । किनभने काँग्रेस त तयार छैन । देश फेरि अराजकतामा जान सक्छ । 

प्रतिपक्षको हैसियतमा काँग्रेसले निभाउनुपर्ने भूमिका चाहिँ निभाएको छ  ?
अहिलेको अवस्थामा नेपाली काँग्रेसले जसरी आफ्नो भूमिका निभाउनुपथ्र्यो, त्यो अलिकति पनि निभाउन सकेको छैन । यति धेरै राष्ट्रिय मुद्दा छन् । हत्या बलात्कार बढेका छन् । ट्याक्स वृद्धि भएको छ । बुढीगण्डकी आयोजनामा मनपरी भइरहेको छ । निजगढ विमानस्थलमा भ्रष्टचारका कुरा आएका छन् । तर काँग्रेस कहाँ छ, आफैले आफैलाई खोज्नुपर्ने अवस्थामा छ । यस्तो अवस्थामा प्रतिपक्षले दनदन अवाज उठाउनुसक्नुपथ्र्यो । जसले एउटा गाइडलाइन दिन्थ्यो । सरकारलाई सजग गराउन सहयोग पुग्थ्यो तर भएन । 

ट्याक्स, हत्या वाइड वडि खरिद विक्रि र ३३ किलो सुनका बारेमा सरकार पारदर्शी बन्न सकेन । यसमा प्रतिपक्षले पनि सकारात्मक भूमिका देखाएन ।   सरकारका सबै अङ्ग र ज्ञानेन्द्रीयहरू बन्द भए जस्ता छन् भने प्रतिपक्ष डराइरहेको अवस्था छ । तर किन डरायो भन्ने मलाई नै थाहा भएन । प्रतिपक्षको नेता सदनमा गएर नबोल्ने हो भने प्रतिपक्षको नेता किन बन्या ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप