शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको बैठक स्थगित

मङ्गलबार, २३ असोज २०७५, २१ : २९
मङ्गलबार, २३ असोज २०७५

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको ३८औँ बैठक स्थगित भएको छ । 

बैठक सञ्चालन भएको तीन मिनेटमै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले अहिलेसम्म बजेटको रातो किताब, हालसम्म भएका गतिविधि सार्वजनिक नगरेको भन्दै बैठकमा विरोध जनाए । सभा सदस्य श्रेष्ठले अहिलेसम्म संसद्लाई बन्धक बनाइएको आरोप लगाए । 

‘लामो समय भयो । सरकारले रातो किताब उपलब्ध गराएको छैन्’, उनले भने, ‘अतिआवश्यक विधेयकसमेत सरकारले नलल्याउँदा हामी सबै संसद् कामविहीन भएका छौँ ।’

बजेट सञ्चालन कसरी भइरहेको छ भन्ने थाह नहुँदा जनप्रतिनिधिका हिसाबले जनतालाई जानकारी गराउनसमेत समस्या भएको उनको गुनासो थियो । 

सरकारको कामप्रति जनताको असन्तुष्टि रहेको भन्दै उनले अहिलेसम्म भए गरेका गतिविधिका बारेमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध हुने चेतावनी दिए । डिजिटल प्रदेश भनिए पनि सबै जनता यसको पहुँचमा आउन नसकेको उनको टिप्पणी थियो । 

विधेयक प्रस्तुत हुन सकेन 

आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदले बैठक अवरुद्ध गरेपछि ‘गाउँसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सभामा प्रस्तुत हुन सकेन । 

उक्त विधेयक छलफलका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीकोतर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । 

अवरुद्ध बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप