बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीयको कालोधनलाई सेतो बनाउन सोझा नेपालीको प्रयोग ?

दलाल भन्छन्– १८ करोड ब्ल्याक मनी ह्वाइट बनाउनु छ
बुधबार, २४ असोज २०७५, १३ : १५
बुधबार, २४ असोज २०७५

बैङ्कमा खाता खोल्ने र त्यसबापत २० लाख भारतीय रुपैयाँ पाइने भन्दै यतिबेला काभ्रेलगायतका जिल्लाबाट मानिसहरूलाई भारतमा पुर्याइँदै छ । भारतका विभिन्न बैङ्कमा खाता खोलेर त्यसबापत पैसा पाइने भएपछि नेपालीहरू पनि सहज ढङ्गबाट भारतमा जाने गरेका छन् । 

काभ्रे जिल्लाको पाँचखाल नगारपालिका वडा नम्बर ७ होक्सेबाट विगत ३ महिनामा ८ जना पुरुष तथा महिला भारत पुगे । 

पहिलो चरणमा उनीहरूले भारतमा गएर आधार कार्ड, रासन कार्ड र प्यान कार्ड बनाए भने केही व्यक्ति दोस्रो चरणमा भारत पुगेर फर्किसकेका छन् । 

कोही भने एकै पटक करिब ४५ दिन भारतमा बसेर भारतीय कागजात बनाएर बैङ्कमा खाता खोली इन्सुरेन्स समेत गरेर फर्किएका छन् । 

होक्सेबाट मोहन भन्ने प्रल्हाद सापकोटा तथा उनकी श्रीमती, रमन सेवा तथा उनकी श्रीमती अरुणा रोका, विष्णुमाया तामाङलगायत अन्य ३ जना भारत पुगे ।
उनैमध्येका एक हुन् अरुणा रोका । 

उनी पनि भर्खरै भारतबाट फर्किएकी छिन् । 

भारतमा आधार कार्ड, रासन कार्ड, प्यान कार्ड लगायतका कागजात बनाई उनी गाउँ फर्किएकी छिन् । 

अरुणा गाउँ फर्किएको खबर पाएलगत्तै हामी केही दिन अगाडि अरुणा बस्ने गरेको स्थान होक्सेको सिरमपाटी पुग्यो । अरुणा घरमा थिइनन् । उनी खेतमा पुगेकी रहिछिन् । फोनमा सम्पर्क भएपछि उनी घरमा आइपुगिन् ।

हामीले आफूहरू पत्रकार भएको जानकारी गराई उनी भारत जानुको कारणबारे सोध्यौँ । तर उनीले खासै कुरा कुरा बोल्न नै चाहिनन् । 

धेरै मिहिनेत गरेपछि उनले आफू श्रीमान् रमनसँगै भारत गएको र भारतमा केही दिन घुमेर फर्किएको कुरा बताइन् । 

तर खर्च भने अर्कै व्यक्तिले गरेको पनि उनले स्वीकार गरिन् । 

अरुणा र उनका श्रीमान रमनलाई लामो समय भारतमा बसेर काम गरेका दीपक भन्ने सुरज तामाङले भारत लगेको भारत लगेको बताइन् । तर उनले जुन कामका लागि उनी भारत पुगेकी थिइन्, त्यो

कामबारे भन्न केही बोल्न चाहिनन् । बरु आफ्ना श्रीमान रमनको साथी भएकाले सुरजले घुमाउनका लागि आफूहरूलाई भारत लगेको कुरा बताइन् । 

हामीले कुनै तेस्रो व्यक्तिले तपाईंहरूलाई भारतमा घुमाउनका लागि लैजानुपर्ने कारणबारे सोध्दा अरुणा मौन भइन् ।

हामीले भारतमा कागजात बनाइएको बारे सोध्दा उनले विषयान्तर गर्न खोजिन् । तर जानेबित्तिकै केही कागजात बनाएको कुरा भने स्वीकार गरिन् । 

बैङ्कको कागजात बनाएको तथा खाता खोलेको बारे भने उनले केही बताउन मानिन् । बरु श्रीमान् अझै भारतमै रहेको भने अरुणाले स्वीकार गरिन् । 

यता अरुणासँगै भारत पुगेका होक्सेकै काभ्रेकै यदु दङ्गालसँग पनि हामीले भेट गर्यौँ । 

यदुले पनि आफूलाई पैसा दिने लोभ देखाएर भारत पुर्याएको, त्यहाँको कागजात बनाएको र बैङ्कमा खाता खुलाएको स्वीकार गरे ।

आफूहरू करिब १५ दिन भारतकै यूपी तथा दिल्लीमा बसेर बैङ्कलगायतको काम गरेको यदुले बताए । 

तर आफूलाई शङ्का लागेपछि आफू लामो समय भारतमा नबसेको दङ्गालले बताए । 

बैङ्कमा खाता खोल्ने तर हकवाला सबै भारतीय नागरिक राखी ठूलो धनराशिको इन्स्योरेन्ससमेत गराएपछि आफूलाई डर लागेको र चाँडै नै फर्किएको यदु बताउँछन् । कतै आफूहरूलाई मारेर इन्स्योरेन्स क्लेम त गर्ने होइनन् भन्ने डर भएको कारण आफू बल्लतल्ल भारतबाट नेपाल फर्किएको र फेरि भारत जाने रहर नभएको बताउँछन् ।

‘काम भएपछि २० लाख आईसी दिने भनेका थिए, तर खै मलाई त पैसा दिन्छन् जस्तो पनि लाग्दैन’ यदुले भने ।

यदुसँगै भारत नै पुगेकी विष्णुमाया तामाङ असोज २३ गते मात्रै गाउँ आइपुगेकी छिन् । उनी करिब ४५ दिन दिल्लीमा बसेर नेपाल फर्किएकी हुन् । 

यसरी काभ्रेको होक्सेलगायतका गाउँबाट ८ जना मानिसहरूलाई भारत पुर्याइएको छ र उनीहरूको नक्कली कागजात खडा गरी भारतीय नागरिक बनाइएको छ । अनि बैङ्कमा खाता खोल्दै ठूलो रकमको इन्स्योरेन्ससमेत गरिएको छ । अझै २० जना नेपाली नागरिकहरूलाई भारत लैजाने दलालको तयारी छ । 

दलाल भन्छन्– फस्ने भए कसैले काम गर्छ ?

यी ८ जना नेपालीहरूलाई भारत पुर्याएर उतैको नक्कली कागजात बनाउने व्यक्ति दीपक भन्ने सुरज तामाङ हुन् । सुरज लामासमेत भन्ने उनी करिब १० वर्षदेखि भारतका विभिन्न सहरमा बस्दै आएका व्यक्ति हुन् । केही समय अगाडि सुरज दिल्लीमा जेल परेको कुरासमेत उनीसँगै भारत पुगेका प्रल्हाद सापकोटा बताउँछन् । यिनै सुरजले विभिन्न लोभ र लालच देखाएर होक्सेबाट ८ जना व्यक्तिलाई यूपी, दिल्ली तथा पञ्जाबसम्म पुर्याएका छन् । 

भारतमा मानिसहरूको तस्करी भइरहेको सूचना आएपछि हामी सुरजलाई खोज्दै पाँचखाल पुग्यौँ । त्यहाँ उनी उनको दाइले सञ्चालन गरेको एक होटलमा थिए । तर त्यहाँ कुराकानी गर्न सम्भव नदेखेपछि हामी साँझ भेट्ने भन्दै होक्सेतर्फ लाग्यौँ । 

साँझ उनलाई भेट्न सकिएन र भोलिपल्ट बिहान मात्रै उनीसँग भेट भयो । 

खासमा हामी पनि उनीसँगै भारत जान चाहेको व्यक्ति बनेर भेट्न खोजेका थियौँ तर अरू कसैले हामी पत्रकार भएको जानकारी ती दलाललाई दिइसकेका रहेछन् । 

अघिल्लो दिन कुराकानी गर्दा अलि खुलस्त बनेका सुरज भोलिपल्ट कुराकानी गर्दा भने आफ्नो बचाउ गर्न लागे । 

हामीले सुरुमै भारतमा काम कसरी हुन्छ र केका लागि जाने हो भनेर सोध्यौँ । उनले यता बढी हल्ला मात्रै भएको र त्यस्तो कुनै खतरा नभएको बताए । 
फस्ने कुरा नै आउँदैन । नेपालीहरू भारतमा गएर खाता खोल्दा कसरी फसिन्छ र ? फस्ने भए कसैले काम गर्छ ?

सुरजका अनुसार उनले नेपालमा पनि खाता खोलाएका छन् र ट्रान्जेक्सन गराएका छन् । उनका अनुसार यो सामान्य कुरा हो । 

यद्यपि यो ट्रान्जेक्सन लोनका लागि भएका सुरजले बताए । 

तर त्यसलगत्तै सुरजले कुरा फेरे । लोनका लागि पनि होइन, खासमा ट्रान्जेक्सनकै लागि हामीले खाता खोलेका हौँ । 

किनभने अहिले भारत पुर्याइएका केही व्यक्तिको उमेर ५३, ५४ वर्षसमेत देखाइएको छ । भारतमा त्यहाँको कागजात बनाउँदा उनीहरूको उमेर फरकफरक पारिएको छ । 

सुरजले भने– ‘बुढाबुढी मान्छेलाई कसले ऋण दिन्छ । भारतमा ५० वर्ष कटेपछि ऋण नै पाइँदैन नि । किनभने ६० वर्षमा मान्छे रिटायर हुन्छ नि । ’

दलालको जिकिर : ब्ल्याकलाई ह्वाइट बनाउन बैङ्क खाता खोलिएको हो
सुरजले थप्दै भने– ‘यहाँ पनि एकाउन्ट खोल्न हो ६–७ वटा । हाम्रो काम ह्वाइट बनाउनु हो । ब्ल्याक मनीलाई ह्वाइट बनाउन खाता खोल्ने र ट्रान्जेक्सन गर्ने काम हो हाम्रो ।

सुरजका अनुसार उनले जसका लागि यी मान्छेहरू लगेका छन्, ती व्यक्तिसँग १८ करोड ब्ल्याक मनी छ । त्यही १८ करोड रुपैँयालाई ह्वाइट मनी बनाउन यो सब गरिएको हो । तर यो काम गर्दा कोही मानिस पनि नफस्ने उनी बताउँछन् ।

सुरजका अनुसार त्यहाँ गएर कम्पनी बनाउने, कम्पनीको नाममा कारोबार देखाउने र ब्ल्याक मनीलाई ह्वाइट बनाउने काम उनको हो । यहाँ (नेपालमा) पनि खाता खोल्नुपर्ने हुनसक्ने सुरजको भनाइ छ । 
यद्यपि सुरजको कुनै शैक्षिक योग्यता छैन । 

बाझियो दलाल र पीडितको भनाइ


सुरजले जो–जोलाई भारतमा लिएर गए, तीमध्ये केहीसँग हामीले छुट्टाछुट्टै भेट गरेका थियौँ । उनीहरूले सुरजले नै आफूहरूलाई भारत लगेको र बैङ्कमा लोन निकाल्ने काम भएपश्चात २० लाखसम्म पैसा दिने बताएका छन् ।

हामीले एकजना पीडित प्रल्हाद सापकोटालाई पनि सँगै लिएर गएका थियौँ । तर प्रल्हादको अगाडि भने सुरजले प्रोसेस अर्कै भएको बताए । लोन निकाल्नका लागि नभएको बताए । 

त्यसलगत्तै हामीसँगै रहेका प्रल्हादले ‘अनि हामीलाई त लोनका लागि भनेर लगेको होइन ? अस्ति मेरो नामबाट लोन निकालेको होइन’ भनेर प्रतिप्रश्न गरे ।

तर सुरजले लोन नभएर किस्ताबन्दीमा टिभी फ्रिजलगायतका सामग्री किनेको भन्दै बचाउ गरे । 

पत्रकारलाई समाचार नलेखे गाडीको अफर
जब कुराहरू बाझिए तब सुरजले विषयान्तर गर्न खोजे । उनले हामीलाई सित्तैमा गाडी दिने अफर गरे । 

यो काम गरिदिएबापत हामीलाई साहुले ४ वटा स्करपियो गाडी दिन्छु भनेको छ । एउटा गाडी तपाइँ लिनुस् । तर समाचार नलेख्नुस् ।

स्करपियो नलिए मर्सिडिज गाडीसम्म पाइने उनले जालो फ्याँके । 

सुरजका अनुसार उनी यूपीका नेताहरूको सम्पर्कमा छन् । 

अहिले उनले गर्दै गरेको काम यूपीका कमिस्नरको सम्धीको काम हो । तर कमिस्नर को हो र नेता को हो भन्ने बारे भने उनले केही खुलाएनन् ।

कमिस्नरको सम्धीको धेरै ब्ल्याक मनी छ । उनले अरूको पनि ठेक्का लिन्छन् । हामीले त्यसलाई ह्वाइट बनाइदिने मात्रै हो । त्यसकारण यसमा फस्ने कुनै चान्स नभएको उनी बताउँछन् ।

अहिले त भिनाजु (प्रल्हाद सापकोटा)को खातामा पनि ५० पेटी ट्रान्जेक्सन भइसक्यो होला । 

भारतीय मान्छेबाट असुरक्षित भएपछि नेपाली खोजियो
भारतमा मान्छे पुर्याउने दलाल सुरजका अनुसार भारतीय मान्छेलाई नै यस्तो काममा प्रयोग गरियो भने उनीहरूले पैसा झिकिदिन सक्छन् । त्यसकारण नेपाली नागरिकलाई भारतीय कागजात बनाएर खाता खोल्न लगाएको उनको दाबी छ । 

बैङ्कमा सबै सेटिङ हुन्छ
दलाल सुरजका अनुसार त्यहाँ बैङ्कका म्यानेजर लगायतसँग उनीहरूको सबै सेटिङ हुन्छ । सुरजले १० वर्ष भारतको बैङ्कमै एजेन्टको काम गरिसकेको समेत दाबी गर्न भ्याए । त्यसकारण सुरजलाई सबैले चिन्ने उनले दाबी गरे ।

कमाउने ठाउँमा भिनाजुलाई लैजानु पर्यो नि !
सुरजले प्रल्हाद सापकोटालाई भिनाजु भन्छन् । त्यसकारण कमाउने ठाउँमा भिनाजुलाई लगेको उनी बताउँछन् । सोचेको झैँ काम भइदिएको भए अहिले राम्रै कमाइ भइसक्थ्यो भन्ने पनि सुरजले दाबी गरे ।
अब नेपालमा पनि खाता खोलाउने र महिनाको २५–३० हजार सोझै खातामा आउने गरी काम गर्ने उनले दाबी गरे । 

फर्जी कागज बनाएर करोडौंको काम गरिरहेका छौँ : दलाल सुरज
दलाल सुरजका अनुसार अहिले उनले काम गर्ने साहु र त्यस ग्रुपले भरातमा फर्जी कागजात बनाएर करोडौंको काम गरिरहेको छ । मुख्यतः सरकारी बैङ्क र इन्स्योरेन्स कम्पनीहरूमा आफूहरूको सेटिङ भएको र अलिकति घुस दिएपछि बैङ्कले पनि काम गरिदिने गरेको सुरजको दाबी छ । 

जसले उसका लागि काम गर्दैछ, उसका धेरै प्रोजेक्ट भएको र दुबईबाट वार्षिक ५ सय करोड ब्ल्याक मनीलाई ह्वाइट बनाउँदै भारत ल्याउने गरेको सुरज दाबी गर्छन् ।

सुरजको साहु एक बिल्डर (ठेकेदार)समेत भएको सुरजले बताए । अहिले पनि करोडौंको काम भइरहेको उनी बताउँछन् ।

सुरजका अनुसार करिब ३ पटक भारत जानुपर्ने हुन्छ । 

एक पटक कागजात बनाउन र खाता खोल्न, अर्को पटक लोन निकाल्न र अर्को पटक आफ्ना लागि पैसा झिक्न । 

तर सुरजको कुरा आफैमा बाझिएका छन् । 

कहिले उनी लोन दिँदैन भन्छन् त कहिले लोन झिक्न जानुपर्छ भन्छन् । 

पर्सनल लोनमा ५० लाखसम्म पाइने भन्दै त्यति पैसा झिक्न मिल्नेसमेत उनी बताउँछन् । तर त्यसका लागि भारतमै घर तथा सम्पत्ति भएको व्यक्ति हुनुपर्ने भन्दै त्यसका लागि घरसमेत नामसारी गर्ने गरेको उनी बताउँछन् ।

इन्स्योरेन्स अनिवार्य नै हो
दलाल सुरजका अनुसार भारतमा बैङ्किङ कारोबार गर्दैगर्दा इन्स्योरेन्स अनिवार्य नै छ । ऋण निकाल्ने समयमा इन्स्योरेन्स गर्नैपर्ने हुन्छ । त्यसैले सुरुमा बैङ्क खाता खोलेसँगै इन्स्योरेन्स गर्न पनि सजिलो हुने भएकाले पहिले बैङ्क खाता खोल्न लगाइएको छ । 

बैङ्कमा खाता भएपछि इन्स्योरेन्स गर्न पनि सजिलो हुने भएकाले उनीहरूलाई पहिलो बैङ्क खाता, त्यसपछि इन्स्योरेन्स गरिएको छ, त्यो पनि करोडौं करोडको । 

खाता नेपालीको, हस्ताक्षर भारतीयको
अहिले बैङ्कमा खाता खोल्ने र त्यहाँ फोटो राख्ने, औँठाछाप लिने तथा रेटिनाको स्याम्पल लिने काम नेपालीबाट हुन्छ । यतैबाट लगेकाहरूको सम्पूर्ण स्याम्पल लिइन्छ र भारतमा नाम परिवर्तन गरी भारतीय नागरिक बनाई हकवालासमेत उतैको व्यक्ति राखिन्छ । यतिसम्म कि बैङ्कको चेकमा गर्ने हस्ताक्षरसम्म भारतीय नागरिककै प्रयोग हुन्छ । कसैकसैले आफै हस्ताक्षर गर्न सक्ने भएमा पनि पहिले नै सबै चेकमा हस्ताक्षर गराएर राखिन्छ ।

काम भए १५–२० लाख हात पर्छ
दलाल सुरजका अनुसार सोचेको झैँ काम भए एक व्यक्तिको हातमा १५ देखि २० लाखसम्म पैसा आउन सक्छ । तर सोचेको के हो र कस्तो काम हो भन्नेचाहिँ सुरजले कहिल्यै खुलाउँदैनन् । करिब ३ पटक भारत जानुपर्ने सुरजको भनाइ छ । तर बैङ्कका काम गर्न ‘ इन्स्योरेन्स कम्पलसरी’ रहेको भन्दै इन्सुरेन्सको बारेमा शङ्का नगर्न पनि हामीसँग अनुरोध गरे ।

यसरी एक दलालमार्फत् भारतमा नक्कली काम गर्नका लागि गाउँघरका सोझासाझा व्यक्तिलाई भारतमा पुर्याइँदै छ । उनीहरूलाई बैङ्कमा खाता खोल्ने र ऋण निकाल्ने भनिएको छ । कतिपयलाई पहिले नै ‘साहु’का नाममा बैङ्कबाट ऋण लिइसकेकाले नयाँ साहु बनाउन लगिएको बताइएको छ भने कतिपयलाई ब्ल्याक मनी (अवैध धन)लाई सेतो धन बनाउन लागेको बताइएको छ । 

तर जब एक व्यक्तिको एक वर्षका लागि २ लाख भारतीय रुपैयाँ तिरेर इन्स्योरेन्स गरिन्छ भने त्यहाँ धेरै शङ्का गर्नुपर्ने हुन्छ । नेपालीहरूलाई किन र केका लागि भारत लगिँदै छ र भारतीय नागरिक बनाई बैङ्कमा खाता खोली इन्स्योरेन्स गरिँदै छ । यसले कुनै गम्भीर दुर्घटनाको सङ्केत गर्छ ।

भारतमा ५ करोडको इन्स्योरेन्स गराएर के गरिँदैछ नेपालीमाथि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप