शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सपेक्टर सिताराम हाछेथुको पहलमा बन्यो ट्राफिक प्रहरीको चौंथो भवन

बुधबार, २४ असोज २०७५, १४ : ०२
बुधबार, २४ असोज २०७५

काठमाडौं– प्रहरी र जनताको सहकार्यमा सातादोबाटो चोकमा निर्माण सम्पन्न भएको अत्याधुनिक भवन निरीक्षण गरेपछि बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, ‘हाछेथुलाई अझै धेरै वर्ष संगठनमा राख्ने मन छ, तर उनी केही समयपछि नै आफ्नो अवकास जीवन बिताउन बाध्य छन् ।’ 

खनाल त्यतिमै रोकिएनन्, मञ्चको अघिल्तिर निलो बर्दी र रातो टोपीमा बसेका प्रहरी अफिसरतर्फ हेर्दै भने, ‘तर केही छैन, अब प्रहरीमा धेरै सितारामहरु बन्नुपर्छ, सबै अफिसरहरु अब सिताराम बन्नेतर्फ अग्रसर हुनुपर्छ ।’   आफ्नो जागिरे जीवनमा संगठन प्रमुखबाट मात्रै हैन, ट्राफिक प्रहरी इन्स्पेक्टर सिताराम हाछेथुले सर्वसाधारणबाट पनि सँधै वाहवाही पाए । 

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा बस्दा प्रहरी संगठनलाई पहिलो भवन उपहार दिएका हाछेथुले बुधबार ललितपुरस्थित सातदोबाटोमा प्रहरी प्रमुखलाई निम्ता गरेर संगठनका लागि चौंथो भवन उपहार दिएका छन् । 
कोटेश्वर, कालिमाटी र दरबारमार्गपछि सातदोबाटो चोकमा बनेको चौथौं भवन २ करोड १६ लाखमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी आवालेले जानकारी दिए । 

ट्राफिक प्रहरी परिसर सातदोबाटोको नव निर्मित भवन उद्घाट्न गर्दै प्रहरी प्रमुख खनालले जनताको सेवा गर्ने कसम खाएको प्रहरी कहिल्यै नराम्रो हुन नसक्ने बताए । उनले भने, ‘प्रहरी अधिकृत सिताराम हाछेथुले प्रहरी नराम्रो हुनै नसक्ने म्यासेज दिँदै ट्रान्सपरेन्सीको म्यासेज दोहोराएका छन् ।’ 

जनताको जिउ–धनको रक्षा गर्ने प्रहरीले गलत काम गर्न नसुहाउने उल्लेख गर्दै आइजिपी खनालले पछिल्ला केही घट्नाले आफुलाई गम्भिर चोट लागेको बताए ।  ‘गलत काम गर्नेहरु अब प्रहरी संगठनमा रहनुहुन्न्’ खनालले भने, ‘साना त्रुटी हुँदा प्रहरीमाथि हिलो छ्यापिए जनतालेनै प्रहरीको रक्षा गर्नुपर्छ किनकि प्रहरी संगठन तपाईहरुकै हो ।’ 

पछिल्लो समय प्रहरी संगठनमाथि एकपछि अर्को आक्षेप लाग्न थालेको तर्फ संकेत गर्दै आईजिपी खनालले भने, ‘हामी सुतेका छैनौं, ३ प्रतिशत अधिकार लिएर पनि ट्राफिक व्यवस्थापन गरिरहेका छौं तर राज्यका अन्य निकायले ट्राफिक ब्यवस्थापनका लागि खेल्नुपर्ने भूमिकाबारे लेखेर दिँदा पनी सम्बोधन हुन सकेको छैन् ।’ 

‘प्रहरीलाई टेक्निकल सपोर्ट छैन्, म्यानुअल्ली काम गर्दा कहिलेकाँही मानवीय इरर हुन्छन्’ उनले भने, ‘नराम्रो काम गर्दैनौं, अब केही समयमै प्रहरीले राम्रो काम गरेको छ भनेर सुन्न लालायित छु ।’

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोको नवनिर्मित भवन निर्माण समितिले ललितपुर ट्राफिक प्रहरीका इन्चार्ज समेत रहेका इन्स्पेक्टर हाछेथुलाई १ लाख १ हजार नगद पुरस्कारले सम्मान गरेको छ । त्यस्तै भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका ट्राफिक प्रहरीका हवल्दार ईश्वर बञ्जाराले ५१ हजार नगद पुरस्कार पाएका छन् । 

महानगरीय ट्राफिक प्रहरी परिसर लतिलपुरको अत्याधुनिक भवन भरत महर्जनको अध्यक्षतामा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणका लागि १९८ जनाले नगद तथा जिन्सी सहयोग गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप