शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिप्पणी : किन चुनाव लड्दैछन् बामदेव, प्रधानमन्त्री हुन ?

बुधबार, २४ असोज २०७५, १५ : ५६
बुधबार, २४ असोज २०७५

काठमाडौँ– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले  बुधबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखे– ‘काठमाडौँ–७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको सङ्केत हो । बेलैमा होस पुर्याऔं ! दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौँ !’

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईको तर्क कतिपयलाई नमीठो लाग्नु स्वभाविक हो । तर डा. भट्टराईले यथार्थ पोखेका छन् । उनले आर्थिक खर्चदेखि लोकतन्त्रमाथि नै प्रश्न उठाएका छन् । त्यति मात्रै होइन भटट्राईले डरलाग्दो सङ्केत पनि गरेका छन्– ‘आगामी दिनमा चरम राजनीतिक अनिष्टताको सङ्केत’ भनेर । 

डा. भटट्राईबाहेक अरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि बामदेव गौतम काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ मा चुनाव लड्ने विषयलाई राम्रैसँग स्थान दिएका छन् । कतिपयले बर्दियाबाट हारेका गौतम काठमाडौँमा पनि हारे के होला ? भनेर प्रश्न गरेका छन् भने कतिपयले उनलाई फेरि पनि हराउन काठमाडौँबाट निर्वाचन लडाउन प्रयास भएको त होइन भन्ने तर्क गरेका छन् । 

बामदेवका लागि यसअघि काठमाडौँको ७ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले त सांसद पदबाट राजीनामा नै दिने घोषणा गरिसकेका छन् । मानन्धरको यो निर्णयलाई आगामी बस्ने नेकपाको केन्द्रीय कमिटीमार्फत वैधानिकता दिने तयारी भइरहेको छ । त्यसलगत्तै उनले सभामुख कृष्णबहादुर महरालाई आफ्नो राजीनामा बुझाउने छन् र गौतमलाई मैदान खाली गराउनेछन् । 

बामदेवको संसद प्रवेश किन ?

अब प्रश्न उठ्छ– बामदेवलाई संसद प्रवेश किन ? खासगरी यो प्रश्नको जवाफ प्रमुख प्रतिपक्षले मात्रै होइन आम नेपाली मतदाताले समेत गर्न थालेका छन्, भलै नेपालको राजनीतिमा वामदेव गौतमले गरेको योगदान एकतिर छ । 

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि हाल तत्कालीन माओवादी केन्द्र र एमालेलाई एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी बनाउन गौतमले खेलेको भूमिकाप्रति प्रश्न गर्ने ठाउँ छैन ।

तत्कालीन अवस्थामा माओवादीलाई शान्ति प्रकृयामा ल्याउन गौतमले जे जति प्रयत्न र पहल गरे त्यसमा उनको जति महत्वपुर्ण भुमिका निभाउने अरु नेता सायदै कम होलान् । गौतमले गरेका ति सकारात्मक कामको मुक्तकण्ठले प्रशंसा नगरे उनीमाथि अन्याय हुनसक्ला । 

त्यो बाहेक यसअघि गृहमन्त्रालय सम्हाल्दा पनि गौतमले अन्य गृहमन्त्रीको भन्दा राम्रो परफरमेन्स नदेखाएका भने होइनन् । गौतमले राजनीतिमा गरेका यि बाहेक अरू योगदान पनि नभएका भने अवस्य होइनन् । 

तर तत्कालका लागि एक जनालाई सांसद बनाउन राज्यको ११ करोड रुपैयाँ खर्चिएर गरिने चुनाव र त्यसले मुलुकलाई भावी दिनमा पुग्ने फाइदा के हुन्छन् भन्ने जान्न खोज्नु नेपाली जनताको अधिकारको विषय बनेको छ । 

यसको जवाफ कि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि स्वयम् बामदेव गौतमले नै दिनुपर्छ । जवाफ आउनुअघि सर्वसाधारण जनताले उनी सांसद बन्न खोज्नुमा केही कारण रहेको अनुमान गरेका छन् । 

१. गृहमन्त्री बन्न 

२. प्रधानमन्त्री बन्न

यसअघि उपप्रधानमन्त्रीसमेत भएका गौतम यदि सांसद बनिहाले सांसद वा मन्त्री मात्रै बनेर बस्लान् भन्न सक्ने अवस्था छैन । त्यसैले प्रधानमन्त्री नै हुने चर्चासँग गौतमको पनि विमति नहोला । 

अब प्रश्न उठ्छ– के गौतम गृहमन्त्री वा प्रधानमन्त्री किन हुने ? वा उनी गृहमन्त्री र प्रधानमन्त्री भए देशको विकास छुमन्तर शैली र रेलको गतिमा अघि बढेर नेपाल सिङ्गापुर वा अरू कुनै विकसित मुलुक जस्तो नेपाल बन्छ ? अथवा गौतम गृहमन्त्री हुने वित्तिकै अहिले बढेको भनिएको अपराध वा भ्रष्टाचार शून्यमा झर्ला ? 

दुई काम हुन्छन् भने नेपाली जनताले गौतमलाई जतिसक्दो चाँडो संसद बनाउनुपर्छ । होइन, अहिलेकै अवस्था भइरहने हो भने बामदेव गौतम वा रामचन्द्र पौडेल वा नारायणकाजी श्रेष्ठ जोसुकैलाई संसद बनाए पनि जनता र मुलुकलाई केही फरक पर्दैन । बरु, डा. भट्टराईले भनेजस्तै लोकतन्त्रको भ्रष्टीकरण, अनिष्टताको सङ्केत र दलीय घेरा तोड्न नसक्ने राजनीतिक प्रवृत्तिले जरा गाड्नेछ । 

गौतमपछि श्रेष्ठ र पौडेललाई किन नल्याउने ?

गत पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल निर्वाचनमा पराजित भएपछि उनलाई त्यसबेलाको मन्त्रिपरिषद्ले नियुक्त गर्ने २६ मध्येमा पारेर उनलाई सांसद बनाइएको थियो । 

तर त्यो बेला र अहिलेको अवस्था फरक छ । त्यसबेला खासगरी संविधान निर्माण गर्ने प्रमुख दायित्व थियो भने अहिले शान्ति, समृद्धि र विकास निर्माण पहिलो काम बनेको छ । 

पछिल्लो चुनावमा गौतमलगायत अरू धेरै आशा गरेका नेताहरू पनि जनताबाट अनुमोदन भएनन् । उदाहरणकै लागि नेकपाकै नारायणकाजी श्रेष्ठ एक हुन सक्छन् भने काँग्रेसतर्फ रामचन्द्र पौडेल, रामशरण महतलगायत हुन सक्छन् । 

यदि यसरी अघि बढ्ने हो भने भोलि श्रेष्ठ, पौडेल वा महतहरूले पनि आफू सांसद बन्ने चाहाना राख्लान् । त्यतिबेला ककसलाई छोड्न लगाउने र कति रकम खर्चेर उनीहरूलाई सांसद बनाउने ? प्रश्न यो पनि उठ्न सक्छ । 

पार्टी आवश्यक हुनसक्छ 
त्यसो त बामदेव गौतमलाई उपचुनाव लड्ने अधिकार नहुने भन्ने पनि छैन । त्यो उनको अधिकार पनि हो । 

स्वभाविक रूपमा नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिएको व्यक्ति संसद बाहिर बस्दा उनलाई र पार्टीलाई समेत असहज अनुभव हुनसक्छ । 

पार्टीले गौतमको आवाश्यकता महशुस गर्नु स्वभाविक पनि हुनसक्छ  । 

तर, यो प्रसङ्गमा खगेन्द्र सङ्ग्रौलाले टिवट् गरेजस्तो सबै फेर्दै जाने हो भने भोलि  जनताबाट अनुमोदित सबै कनिष्ट सांसद बाहिर बलिष्ठ भित्र मात्रै त हुने होइन ? जनचासोको विषय बन्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप