शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भयो काठमाडौंमा पनि बामदेवको चुनाव लड्ने ‘च्याप्टर क्लोज’ !

बिहीबार, २५ असोज २०७५, १३ : ४५
बिहीबार, २५ असोज २०७५

काठमाडौं– काठमाडौं–७ बाट उपचुनाव लड्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमको चाहनामा करिब करिब ‘ब्रेक’ लागेको छ । गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र बढ्दो अन्तरविरोध र पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नकारात्मक’ भूमिकापछि बामदेवको चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लागेको हो ।

काठमाडौं–७ का सांसद रामवीर मानन्धरले आफूले बामदेवका लागि ठाउँ खाली गरिदिने घोषणा गरेपछि यस विषयमा नेकपाभित्र छलफल सुरु भएको थियो । तर नेकपाको सचिवालयमा पार्टी अध्यक्ष ओलीसहितका केही नेताले गौतमको उम्मेदवारीका विषयमा प्रश्न उठाएपछि बामदेवका जटिलता बढेका हुन् । 

कसरी विग्रियो कुरा ? 
सुरुमा रामवीर मानन्धरले प्रचण्ड र गौतमसँग आफ्नो राजीनामाका विषयमा कुराकानी गरेका थिए । अचम्म यो छ कि मानन्धर पूर्वएमाले समूहमा ओली निकट नेता मानिए पनि उनले आफ्नो राजीनामाका विषयमा प्रचण्ड र गौतमसँग पहिला सल्लाह गरेका थिए । 

स्रोतका अनुसार त्यसपछि गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग यस विषयमा कुराकानी गर्न मानन्धरलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले समय नमिलाएपछि मानन्धर छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटारमा मानन्धर अघि नेता गौतम पुगिसेका थिए । त्यही छलफलमा प्रचण्डले राजीनामा दिने मनसाय हो भने सचिवालय वैठकमा छलफल गर्नुपर्ने बताएका थिए । पछि तीन नेताको सल्लाहामा मानन्धरले राजीनामा स्वीकृतका लागि निवेदन प्रचण्डलाई बुझाएका थिए । त्यही  निवेदन सोमबारको सचिवालयको बैठकमा पेश भएको थियो । 

सचिवालयका एक सदस्यका अनुसार सोमबारको बैठकमा २४ गते बस्ने भनिएको सचिवालय बैठकबाट यो विषयमा निर्णय गर्ने गरी छलफल सकिएको थियो । तर बैठकमा महासचिव विष्णु पौडेलले निवेदन पत्र पठेर सुनाउँदा सचिवालय सदस्य ईश्वर पोखरेलले भने खुलेरै विरोध गरेका थिए । पछि उनले यो विषयमा सामाजिक सञ्जालमा पनि विरोध जनाए । अन्य नेताहरूको मौन समर्थन भएको ती सदस्यले बताए ।

सचिवालयको बैठकपछि प्रधानमन्त्री ओलीले सांसद मानन्धरसँग कुरा गरेका थिए । उक्त कुराकानीमा प्रधानमन्त्री ओलीले मानन्धरले राजीनामा दिन सक्ने तर नामै किटान गरेर बामदेवको नाम निवेदन नलेख्न निर्देशन दिएका थिएको स्रोतले जनाएको छ । ओलीले यसबाहेक बामदेवको नाम किटान गरेर राजीनामा आए यसलाई स्वीकृत नगर्ने सीधा जवाफ दिएको बताइएको छ । त्यसपछि मानन्धरले बामदेवको नाम उल्लेख नगरी राजीनामा दिएपछि बामदेव उम्मेदवार हुन्छन् कि हुँदैनन् भनेर जिज्ञासा राखेका थिए । 

स्रोतका अनुसार मानन्धरको जिज्ञासामा ओलीले ‘पहिला तपाईंको राजीनामा आओस्, अनि मात्र को उठाउने भन्ने टुङ्गो लाग्छ । बामदेव उम्मेदवार हुन पनि सक्छन् र अरू कोही पनि आउन सक्छन् ।’ भन्ने जवाफ दिएका थिए । ओलीको यो जवाफपछि मानन्धरले थप दबाब महशुस गरेको उनी निकट स्रोतले बतायो ।

बामदेवलाई बागीको डर 
नेता गौतमले पछिल्लो पटक एउटा यस्तो सूचना पाएका थिए, जसले उनलाई काठमाडौं–७ मा चुनाव लड्ने निर्णयबाट पछाडि हट्ने विकल्प सोच्न बाध्य पार्यो । त्यो सूचना थियो– नेकपाको पूर्वएमाले समूहबाट बागी उम्मेदवारी खडा गर्ने तयारी । नेता गौतमले आफू निकट एक स्थायी कमिटी सदस्यलाई यस विषयमा बताएका छन् । ती नेताले रातोपाटीसँगको कुराकानीमा भने ‘बागी उम्मेदवार पनि उठाउने, कारवाही गरेजस्तो जस्तो पनि देखाउने र अन्तत गौतमलाई चुनाव हराउने आन्तरिक खेल भएको सूचना बामदेव कमरेडले पाउनुभएको रहेछ । यसले उहाँलाई विवादकाबीच त्यही क्षेत्रमा चुनाव लड्दा थप जोखिम हुने महशुस गराएको छ ।’ 

काठमाडौंमा लड्ने चाहना नै थिएन
त्यसो त उनी काठमाडौंबाट चुनाव लड्न चाहेका थिएनन् । गौतम निकट एक नेताका अनुसार काठमाडौंका तीन जिल्लामै चुनाव लड्दा खतरा हुने भन्दै बामदेव सकेसम्म काठमाडौँ बाहिर सुरक्षित क्षेत्रबाट चुनाव लड्न चाहेका थिए । यति हुँदाहुँदै पनि पार्टीभित्र एकमत भए काठमाडौँमै पनि चुनाव लड्न चाहेका थिए । 

तर पछिल्लो विवादले उनलाई फेरि काठमाडौंमा चुनाव लड्न नहुने ठाउँमा पुर्यायो । ‘सबैतिरबाट घेराबन्दी सुरु भयो । मिडिया र सोसल मिडियामा पनि हुर्मत लिने काम भयो । यस्तो अवस्थामा अब रिक्स लिएर चुनाव लड्ने सम्भावना करिबकरिब सकिए जस्तो देखिन्छ ।’ गौतम निकट नेकपाका एक नेता भन्छन्, ‘तर पनि अब बस्ने सचिवालय बैठकको निर्णय अन्तिम हुनेछ । पार्टीभित्र एकमत भएको खण्डमा उहाँ चुनाव लड्नु हुन्छ ।’ 

बामदेवको उमेदवारीलाई लिएर नेकपाको सचिवालयकै केही सदस्यले गम्भीर असहमति राखेपछि मूल नेतृत्वले पछाडि हट्ने सङ्केत गरेको छ । बुधबार मात्रै नेकपाका अध्यक्ष प्रचण्डले सिट गुम्ने गरी उपनिर्वाचन नहुने बताएर बामदेवको उम्मेदवारीको सम्भावनालाई कमजोर गरिदिएका छन् । त्यसो त वामवेद आफै पनि नेवार बाहुल्य क्षेत्रमा उपचुनावमा मत पाउन कठिन हुन्छ भन्नेमा स्पष्ट थिए । 

रामवीरको ब्रिफिङ 
स्रोतका अनुसार मानन्धरले बामदेवलाई सजिलै चुनाव जित्न सकिने बिफ्रिङ गरेका थिए । बामदेवले चुनावको स्थिति के हुन्छ ? भन्ने प्रश्न राखेपछि मानन्धरको जवाफ थियो, ‘हामी आठ हजार मतले अगाडि छौँ । अरू सबै मिले पनि अघिल्लो चुनावको अङ्कमा हामी अगाडि छौँ । अहिले सबै मिल्ने सम्भावना हुँदैन । अर्को कुरा अन्तर्घातको खतरा अहिले पनि हुन सक्छ । पहिला म लड्दा पनि अन्तर्घात भएकै थियो । तर पनि सबै अन्तर्घातलाई चिर्दै चुनाव जितेको हुँ । अहिले सबै पार्टीपंक्ति परिचालन हुँदा चुनाव जित्न सहज छ ।’ 

तर विवाद बढेपछि मानन्धरलाई अहिले आफ्नो निर्णयबाट पछाडि हट्ने दबाब पूर्वएमालेको ओली समूहले दिएको नेकपाका केही नेताहरूको दाबी छ । 

बामदेवको रणनीति यस्तो थियो
बामदेव आफू चाहिँ मानन्धरको राजीनामा अगाडि आन्तरिक सर्वेक्षण गर्न चाहन्थे । स्रोतका अनुसार नेता गौतमले मानन्धरसँगै केही दिन काठमाडौं–७ मा घुमेर मतदाताको मनोविज्ञान बुझ्न चाहेका थिए । तर मानन्धरले फटाफट आफ्नो कुरा मिडियामा राखे । त्यति मात्र होइन उनले बामदेवसँग सल्लाह नै नगरी पत्रकार सम्मेलनसमेत गरे । पत्रकार सम्मेलनमा आफूले बामदेवका लागि चुनाव क्षेत्र खाली गर्न थालेको घोषणा गरेका थिए । 

यसले पनि सबै कुरा चौपट भएको बामदेवको बुझाइ रहेको उनी निकट नेताहरू बताउँछन् । बुधबार मात्रै काठमाडौं–७ का नेकपाका नेताहरूले ओली र प्रचण्डलाई भेटेर उपचुनावको चुनौतिबारे ब्रिफिङ गरेका थिए । उनीहरूले ओली सरकारको काम, काठमाडौंका मेयरको काम र हारेका व्यक्तिलाई चुनाव लडाउने विषयमा आउने मनोविज्ञानका कारण उपचुनाव ‘जोखिम’ हुन सक्ने जानकारी गराएका थिए । 

गत निर्वाचनमा बर्दिया–१ बाट पराजित बामदेवलाई संसदमा ल्याउने प्रयास हुँदै आएको छ । यसअघि डोल्पा, ललितपुर–१, नवलपुर, पूर्वी रुकुम, प्युठान, धनकुटा–१ र बाँके–३ बाट उपनिर्वाचन लडाउने योजना बनेको थियो । तर, उक्त क्षेत्रका सांसदले राजीनामा दिन नमानेपछि वैकल्पिक क्षेत्र खोजिँदै आएको थियो । तर अन्तिम समयमा आएर बामदेव काठमाडौं–७ मा पनि चुनाव लड्न नपाउने सम्भावना बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप