एन्फाको अनियमितता उजारगर गरेरै छाड्ने कुवँरको दाबी
काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ भुपु उपाध्यक्ष मणि कुँवरले अखिल नेपाल फुटबल संघमा भएको अनियमितता उजागर गरेरै छाड्ने बताएका छन् ।
कुँवरले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूले फुटबलको निर्वाचन बहिस्कार गरेको विषयमा पत्रकार सम्मेलन गर्दा सहभागि भएका केही जिल्ला संघका अध्यक्ष तथा फुटवलसँग आवद्ध व्यक्तिहरुलाई संघले सोधेको स्पष्टिकरणप्रति आपत्ति जनाएका छन् ।
उनले चुनावको बेलामा फिफा तथा एएफसीको कोड अफ इथिक्सको पूर्ण उल्लंघन हुने गरी निर्वाचन भएको भन्दै कार्वाहीका लागि फिफा तथा एएफसीमा पत्राचार समेत गरेका थिए ।
‘फुटबल संघको निर्वाचनमा भएका तमाम अलोकतान्त्रिक र आपराधिक कृयाकलापहरुलाई सार्वजनिक गर्दै मैले संघलाई स्वच्छ पार्ने अभियान थालेको हुँ । यस्तो काम गर्न नपाउने देशको कुनै कानुनमा उल्लेख भएको मेरो जानकारीमा छैन । यदी संघले मेरो पत्रकार सम्मेलनको विषयमा स्पष्ट हुन चाहेको भए मसँगै सम्पर्क गरेको भए हुन्थ्यो । यस्ता किसिमका सबै खाले निरंकुशताको विरुद्धमा म बलियोसँग उत्रिने जानकारी गराउन चाहन्छु । यस्ता किसिमका स्पष्टिकरणको नाटकबाट हाम्रो अभियान रोकिने छैन, बरु झनै बलियो हुनेछ ’ कुँवरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले निर्वाचनका बेला भएका अनियमितताका प्रमाणका कारण संघका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तर्राष्ट्रिय संयोजक भनिएका जर्मन नागरिक नवीन पाण्डे लगायतका दोषी पदाधिकारीहरूमाथि फिफा तथा एएफसीले कार्वाही गर्नुपर्ने माग गरेका छन् ।