शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाणिज्य बैंकको मिलेमतोमा नयाँ व्याजदर

बिहीबार, २५ असोज २०७५, १८ : ४६
बिहीबार, २५ असोज २०७५

काठमाडौँ– वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन् ।  नेपाल बैंकर्स सङ्घको आजको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन् । बैठकमा २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । 

यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म व्याज दिने भएका हुन् । केही बैंकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी व्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो । 

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष अनिलकेशरी शाहले व्याजदरमा केही सामान्य समझदारी भएको जानकारी दिए । 

उनले बैंक तथा वित्तीय संस्थाका विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र संवद्ध बैंकका सरोकारवालाबीच भइरहेको छलफलको निरन्तरताका क्रममा आज सङ्घको बैठक बसेको बताए । 

यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्दतीमा १० दशमलव ५० प्रतिशतसम्म व्याज दिने समझदारी बैंकहरुले गरेका थिए । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैकर्स सङ्घमा उजुरी गरेका थिए । 

गत साउनदेखि हालसम्म बैंकहरुले रु ३९ अर्ब निक्षेप सङ्कलन गरेका छन् । तर सोही अवधिमा रु ९२ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ । बजारमा करिब रु ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप