बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारका कर्मचारीमा आँखा सुख्खा हुने र एलर्जीको समस्या

बिहीबार, २५ असोज २०७५, २१ : ५२
बिहीबार, २५ असोज २०७५

काठमाडौँ-विश्व दृष्टि दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्तरुपमा सिंहदरबार परिसरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेका छन् । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज शिविरको शुभारम्भ गर्दै आँखा स्वास्थ्य सेवालाई अगामी दिनमा थप सुदृढ बनाउन सरकारले प्राथमिकता दिने जानकारी दिनुभयो । सो अवसरमा उहाँले आफ्नो आँखा जाँचसमेत गराउनुभएको थियो । 

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादव तथा मन्त्रालयका सचिव डा पुष्पा चौधरीले आँखा स्वास्थ्य सेवामा पछिल्लो समय नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क स्थापना गरी आफ्नो सेवासमेत प्रवाह गरिरहेको छ । आँखा शिविरमा जाँच गर्न आएकामध्ये अधिकांशका आँखा सुख्खा हुने र एलर्जीको समस्या देखिएको डा विनिता शर्माले जानकारी दिनुभयो । 

‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाआँै’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ । 

विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२० ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रूपमा मनाउने गरिएको हो । 

मन्त्रालयले अन्धोपन निवारण गर्न कार्ययोजना (सन् २००१–२०१९) लागू गरेको छ । नेपालमा एक लाख २० हजार मानिस दृष्टिीविहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् । 

न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिबिन्दु र जलबिन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ० दशमलव ०६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो । 

अन्धोपनाका मुख्य कारण मोतिबिन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलबिन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ । 

आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टि दोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाँइहाल्नु पर्दछ । हरेक पाँच अन्धोपन भएका मानिसमध्ये चारको उपचार र रोकथाम सम्भव रहेको चिकित्सकले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप