शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो पो दशैँ

शनिबार, २७ असोज २०७५, १० : ४६
शनिबार, २७ असोज २०७५

दिनेश अधिकारी ‘नयाँघरे’ 

म सानो हुँदाको दशैँ र म जीवनको पैतिसौँ बसन्त पार गर्दैगर्दाको दशैँमा आकाश र जमिनको फरक भइसकेको अनुभूति भएको छ । त्यो बेलाको पलहरू निकै रोचक थिए । मलाई लाग्छ अब त्यस्तो पल त जीवनमा पक्कै आउँदैन । 

दशैँ आउनुभन्दा केही महिना अगाडिदेखि नै म हातका आँैलाहरू भाचेर दशैँ आउने दिनको कल्पनामा हुन्थेँ । बा सानोतिनो  पोस्टको  भए  पनि  सरकारी  जागिरे  हुनुहुन्थ्यो । बाले नयाँ लुगा भनेर किनिदिने भनेको सधैँको दशैँमा त्यही सरकारी स्कुलको ड्रेस निलो पाइन्ट अनि आकासे रङको सर्ट नै हुन्थ्यो । त्यो पनि गाउँको सूचीकार दिदी माइली परियारको घरमा । २, ४ दिन गएर धर्ना नबसी सिलाइदिने तरखर नै हँुदैन थियो । अनि त्यो लुगा लगाएर गाउँभरी हिँड्ने धोको ...वावा .... त्यो पो दशैँ.... गाउँभरी सहर पसेका दाजुहरूको भीड विस्तारै बढ्दै जान्थ्यो । म पनि मेरो सहर बसेका दाजु अनि दिदीहरूको बाटो हेरेर बसेको हुन्थ्यौँ । जब साँझ पर्छ पारिपट्टिको देउराली डाँडामा लाइट बलेको देखेपछि त्यो चाहिँ हाम्रो दाइ होला भनेर घरको सबै परिवार आँगनको डिलमा बसेर त्यस्ता धेरै  लाइटको पछाडि आँखा गाडेर बस्थ्यौँ । हेर्दा हेर्दै आँखा थाकिसकेका हुन्थे । 

राति सबैजना भेला भएपछि पूरा रात गफमै जान्थ्यो । दाइहरू घर आएपछि ध्यान दाइसँग भन्दा पनि दाइको झोलामा जान्थ्यो । दाइले दशैँका लागि भनेर भाइलाई ल्याइदिएको जुत्ता, घडी, स्कुल जाँदा बोक्ने झोला अनि दशैँभरि खान भनेर मीठो मीठो तरकारीहरू काउली, बन्दा, गोलभेँडा, दाल, चिउरा, चिनीले मेरो ध्यान लिन्थ्यो । ....वावा .... त्यो पो दशैँ ....। 

अब आमा र भाउजूहरूलाई छुट्टै चटारो, घटस्थापनाको दिनदेखि नै वनबाट घाँस र दाउरा ओसार्न र  रातो माटो खोज्न । त्यसोभाए  दशैँभरि सबै जना घरमा जम्मा भएर रमाइलो पाइने । सहर पसेका सबैजना दाजुदिदीहरूको गाउँमा भीड हुन्थ्यो । पँधेरोमा नुहाउन जाँदा निकै बेर लाइनमा बस्नु पथ्र्याे । सबैजनाले सोध्नु हुन्थ्यो । बाबु तिमी त कति ठूलो भए छौ त ? कतिमा पढ्छौ ? 

आफ्नो खस्न लागेको पुरानो हापपेन्ट समात्दै उत्तर दिँदा दिँदा हैरान हुन्थेँ । लाज मान्थेँ उत्तर दिनलाई । गाउँमा आएका सबैजना घरमा बा र आमालाई भेट्न आउनुहुन्थ्यो । कान्छो बा सन्चै ? कान्छी आमा  सन्चै ? अनि बा पनि सबैलाई भेट्न घरघरमा जानु हुन्थ्यो । आहा कति रमाइलो त्यो दशैँ । अब फूलपाती आएपछि गाउँका सबै दाजु दिदीहरूको मन्दिर जाने लस्कर हुन्थ्यो अनि त्यो लस्करको भीडमा पनि लुसुक्क छिरेर बोकालाई घिचौदै भैराबी मन्दिरमा पुग्थे । दाइले रिल वाला क्यामराबाट खिचिक्क फोटो खिचिदिनुहुन्थ्यो । म लुते जानी नजानी पोज दिन्थेँ । अनि दाइलाइ धेरै फोटो खिचिदिन भन्थेँ  तर दाइको नि त्यही नै हो बाध्यता, रिल सकिन्छ मोरा । टीकाको दिनसम्मका लागि पुग्दैन भनेर हपरेपछि चुप लागेर बस्थेँ .....वावा... त्यो पो दशैँ ...। 
दिनभरी मासु लुछ्यो, चिउरा टन्न खायो । मोही खायो, गाउँ डुल्यो, दाइको पछिपछि लाग्यो । सबैले गालामा चिमोटी दिन्थे । आफूलाई यस्तो रमाइलो हुँदा बाले फेरि पढेको छ कि छैन ल ल बाबु भाइलाई सोध भनेर दाइलाई भनेपछि मेरो मनमा पीडाको आगो बल्थ्यो । 

दाइले गाली गरेर हैरान पर्दै गर्दा आफ्नो मनमा भने दशैँको रमझमको दृश्यले पिरोल्थ्यो । मलाई  ठूली आमाले निकै माया गर्नु हुन्थ्यो । अनि भन्नुहुन्थ्यो भो भो वर्ष दिनको चाडमा पनि केको गाली गरिराको ? अनि त मेरो मनमा खुसीको सीमा नै हुन्नथ्यो अनि छुट हुन्थ्यो बल्लतल्ल । 

टीकाको दिन नजिकिँदै गर्दा पारितिरको बस्तीमा सुँगुर कराउन थाल्थे । ऊ सुँगुर काट्ने बेला भो, हेर्न जाऊँ भनेर बारीको पाटोबाटै फाल हान्दै सुँगुर काटेको हेर्न जाँदको मज्जा निकै थियो । वावा .... त्यो पो दशैँ .... । 

अब टीकाको दिन आयो । दाइले सहरबाट लेराएको पटका पट्काउन थालेपछिको रमाइलोको त के कुरा गर्नु ? आफू त कान्छो परियो टीका लाउने पालो कुर्दा कुर्दै दिन जान लागिसक्थ्यो । अब पो सुरु भयो दशैँको मजा । दाइले बालाई ढोगेर दिने २, ४ सय अनि मैले दाइलाई ढोगेर दिने ५, १० को नोट । कता कता खिन्न लाग्थ्यो । त्यसपछि सुरु भयो मामाघर जाने मेसो । पूरै दिन लाग्थ्यो हिँडेर जान उही त हो त्यही बाले किन्देको सरकारी स्कुलको लुगा लगायो अनि हिँड्यो उकालो । ओरालो, भीर, पखेरो, जङ्गल पार गर्दै ममाघर पुगेपछिको रमाइलो कति कति । ....वावा ..... त्यो पो दशैँ ..... । सानिमा, ठुलीआमाका  छोराछोरी सबै एकैचोटि मामाघर पुग्दा मामाले बन्दोबस्त गरेको खाटमा बसेर टीका लगाएर मामाले देको पैसा आकासे रङको सर्टको गोजीमा राखेर एसो लुसुक्क पिङतिर गएर पैसा गन्दाको मजा  बेगलाई हुन्थ्यो । तसो त मामा घर पुग्यो । फेरि फर्किने बेला हुन्थ्यो । अनि हजुरआमाले नाति नातिनीहरूलाई बाटोमा भोक लाग्छ भनेर प्लास्टिकको झोलामा हालिदिएको घिउ र चिउरा मरक मरक चपाएर बाटोमा खाँदै आउदाँको खुसीको कुनै सीमा नै हुन्न थियो । अब पालो दिदी भिनाजु आउने । दिदी भिनाजुले नि टन्न खेताला नै लगाएर बोराभरि कोसेली बोकेर पहिलो दशैँको टीका लागाउन भनेर आउँदाको मजा कति कति ? भिनाजु आउने भनेपछि घरमा निकै धेरै चहलपह हुने । भिनाजुलाई रातो माटोले पोतेको पिँढीमा हतार गरी गरी  नयाँ गुन्द्री अनि राडी खोज्ने चटारो त्यस्तै हुन्थ्यो । तब दशैँको रौनक नै छुट्टै हुन्थ्यो  । 

बिस्तारै बिस्तारै दशैँ सकिँदै गएपछि  पछि दाजु, दिदी, भिनाजुहरू सहर फर्कने तरखर गर्नु हुन्थ्यो अनि उहाँहरू गएपछि फेरि आगनको डिलमा बसेर आँखाभरि आँसु बनाएर हेर्न मिलेसम्म हेरिन्थ्यो । फेरि आर्काे दशैँको पर्खाइमा बसिन्थ्यो ।

अहिले यो दशैँ आधुनिक भइसकेको छ । देशमा भन्दा विदेशमा नै रमाइलो भएको छ अनि गाउँमा हुने चहलपहल लगभग शून्य नै छ ।  घर गाउँको पँधेराहरू खाली नै छन् । पहिलेको जस्तो सामाजिक सद्भाव छैन । सबैजनालाई हतार नै छ । मामा घर, ससुराली, काकाको घर, अनि अरू आफन्तको घरमा गई यसो भेटघाट  गर्ने फुर्सद  नि छैन । अहिलेको दशैँ त के दशैँ ? त्यो पो दशैँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप