शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद उषाकला राईको जीवन : हाँस्दाहाँस्दै मर्न पाइयोस्

शनिबार, २७ असोज २०७५, १२ : ३२
शनिबार, २७ असोज २०७५

नेदरल्यान्डबाट पीएचडी गर्दै गरेकी उषाकला राई नेपाल फर्किन् । पीएचडी पूरा नगरी नेपाल फर्कने निर्णय गर्दा धेरैले जिब्रो टोके । तर, उनले निर्णय परिवर्तन गरिनन् । एमएस्सी गरेकी उनले नेपाल फर्केपछि कलेज पढाउन थालिन् । युवा संघमा जोडिइन् । युवा संघबाट थालेको राजनीतिले निरन्तरता पाएकै छ ।  राजनीतिक नेता देश बनाउन प्रतिबद्ध हुनुपर्छ । देश बनेपछि हामी बनिहाल्छौं भन्ने सांसद  उषाकला राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
सबै खानेकुरा मन पर्छ । होटल, रेष्टुरेन्टभन्दा घरमै पकाइएका परिकार स्वाद मानीमानी खाने बानी छ । माछा, मासु मीठो लागे पनि कमै खान्छु । दाल र रोटी असाध्यै मन पर्छ । चिल्लो र मसला बढी भएका खानेकुरा खान नपरे हुन्थ्यो भन्ने लाग्छ ।

कामविशेषले पुगे पनि खानकै लागि योजनाबद्ध रूपमा होटल तथा रेष्टुरेन्ट नपुगेको धेरै भइसक्यो । रेष्टुरेन्ट पुगिहाल्दा थाई खानेकुरा रोजाइमा पर्छन् । म भान्छामा पस्छु । भान्छामा पस्दा शेरबहादुर (सांसद शेरबहादुर तामाङ) जी खुसी हुनुहुन्छ । नेपाली परिकार स्वादिलो पकाउँछु ।    

मेरो पोसाक
विशेषतः साडीचोला लगाउँछु । सानै उमेरदेखि कलेज पढाउन थालेकी थिएँ । कलेज पढाउन थालेपछि साडीचोला लगाउन थालेकी हुँ । त्यसबाहेक कुर्तासुरुवाल लगाउँछु । सुट पनि लगाउँछु । स्थानविशेषअनुसार कपडा लगाउनुपर्ने बाध्यता छँदै छ ।

नेदरल्यान्डमा पढ्दा हाफपाइन्ट र टी–सर्ट लगाएकै हो । कपडामा वार्षिक आठ–दस हजार रुपैयाँ खर्च हुन्छ । मलाई प्राकृतिक रङको पोसाक मन पर्छ । मोरङको विराटनगर जाँदा चहकिलो रङका पोसाक मन पर्दैन । गर्मीमा सेतो रङको कपडा उपयुक्त लाग्छ । मौसमअनुसारको कपडा लगाउने कोसिस गर्छु । कपडा किनेर सिलाउँछु । कतिपय रेडिमेड पनि हुन्छन् । कपडाका ब्राण्डबारे जानकार छु । 

मेरो फिटनेस
बिहान–बिहान ध्यान, प्राणायाम गर्छु । डाइटिङ छैन । तर, माछा, मासु, चिल्लो, पिरोलगायत अन्य खानेकुरा धेरै खान्न । 

मेरो अध्ययन
हिजोआज पीएचडीको तयारीमा रहेकाले सम्बन्धित विषय अध्ययनमा लागिपरेकी छु । ‘महिलाको वंशअधिकारसम्बन्धी आधुनिक अवधारणा र महाभारतकालीन परम्पराबीचको तुलनात्मक अध्ययन’ मा पीएचडी गर्दै गरेकीले यही विषयसँग सम्बन्धित किताब अध्ययनमा लागेकी छु । तर, यहीबीचमा न्यान्सी पोलिसीको किताब पढिसकें । 

आलेख नियमितजसो लेख्दै आएकी छु । कविता पनि लेख्छु । घरमा सानो–सानो पुस्तकालय छ । किताबले एउटा कोठा भरिएको छ । पठनीय किताब भेट्नासाथ किन्ने बानी छ ।     

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । शान्त र शीतलको देश नेपालका ६५ भन्दा बढी जिल्ला पुगेकी छु । युवा संघ केन्द्रीय सदस्य हुँदा सांगठनिक काममा मेचीदेखि महाकालीसम्म पुगेकी थिएँ । संवत् २०६४ मा महिला सभासद् समूह (ककस) अध्यक्ष हुँदा धेरै जिल्ला पुगेकी हुँ । 

युरोपका अधिकांश मुलुक घुमेकी छु । फ्रान्स, भियतनाम, जापान, जर्मनी, नेदरल्यान्ड, भारत, बंगलादेशलगायत देश पुगेकी छु । घुमेकामध्ये नेदरल्यान्डको एबेकाडे गाउँ मन पर्यो । जहाँ म बसेकी थिएँ । नेपालको आफ्नै जिल्ला (जहाँ म जन्में) मन पर्छ । 

मेरो फुर्सद
सर्वाधिक व्यस्त छु । श्रीमान्–श्रीमती नै राजनीतिमा भएपछि झन् धेरै व्यस्त भइँदोरहेछ । व्यस्तताले शारीरिक तथा मानसिक थकाइ लागे पनि मोबाइल ‘स्वीचअफ’ गरेरै आराम गरौं भन्नेचाहिँ लाग्दैन । फुर्सद पाइहालेमा अध्ययन गरेर रमाउँछु । घरपरिवारलाई समय दिन सकेको छैन । तर, प्रयत्न गर्दै आएकी छु । परिवारसहित रेष्टुरेन्टमा खान, हलसम्म पुगेर फिल्म हेर्न र घुम्न जाने समय जुरेकै छैन ।  

मेरो खेलकुद
विद्यालयस्तरसम्म भलिबल खेलेकी थिएँ । हेर्नलाई फुटबल मन पर्छ ।  

मेरो मोबाइल
हुवाईको मोबाइल सेट प्रयोग गरेकी छु । यसको २८ हजार रुपैयाँ परेको थियो । काम नलाग्ने भएपछि मात्रै मोबाइल सेट परिवर्तन गर्ने गरेकी छु । मोबाइलका एप्लिकेसनमध्ये फेसबुकलगायत आफूलाई चाहिने कामलाग्दा एप्लिकेसन प्रयोग गर्दै आएकी छु ।  

मेरो टीभी
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्ने गरेकी छु । महत्वपूर्ण अन्तर्वार्ता प्रसारण हुने अग्रिम जानकारी पाउँदा वा प्रसारण भइरहेको छ भने समय निकालेर हेर्छु । घरमा एलजीको पुरानो २४ इन्चको टीभी छ ।  

मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ‘बलिदान’ हुनुपर्छ ।   

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । वर्ष दिनअघि ‘होलबडी चेकअप’ गराएकी थिएँ । आहार, विहार र विचार राम्रो भए स्वस्थ रहन सकिन्छ । त्यतिमात्रै होइन, सधैं खुसी रहन सक्नुपर्छ । खुसी रहन खर्च गर्नै पर्दैन । कहीं धाउन पनि पर्दैन । 

मेरो भाषणशैली
भाषण राम्रो गर्नेमा पर्दिनँ । तर, भन्न खोजेको विषय प्रस्ट पार्न सक्छु । आफ्नो विषयमा तयारीसाथ भाषण गरें भने जनतालाई ‘कन्भिन्स’ गर्न सक्छु । महिलापीडासम्बन्धमा भाषण गर्दा रुवाएकी छु । भाषण गर्दा थेगो प्रयोग गरेको थाहा छैन । अरूले मूल्यांकन गर्ने चीज हो तर आफैंले आफ्नो भाषणशैली मूल्यांकन गर्दा बौद्धिक हो जस्तो लाग्छ । म होशियारीपूर्वक भाषण गर्छु ।  

मेरो मापसे
मादक पदार्थ लिन्न ।

मेरो संगीत
गीत–संगीत सुन्छु । मीठो लाग्छ । राजेशपायल राई, शान्तिराम राई, सत्यकला राईलगायत सबै गायक–गायिका मन पर्छन् । 

मेरो भूल
मानिस हो, जानअन्जानमा जोकोहीबाट गल्ती हुन्छ । तर, आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेजस्तो लाग्दैन । कहिलेकाहीं गल्ती नै नगरी पनि सजाय पाइन्छ । त्यो मेरो जीवनमा पनि लागू हुन्छ ।  

मेरो घर
बनेकै एकतले घर किनेका हौं । घर किनेपछि एक तला थप्यौं । यो घर किन्दाको खर्च मेरो पारिवारिक पृष्ठभूमिसँग जोडिन्छ । 

म परिवारको एक्ली छोरी । दाजुभाइ हुनुहुन्न । मेरो हजुरबुवा सर्वधन राई प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । उहाँले ००७ सालमा राणाविरुद्ध लड्नुभएको थियो । ०१८ सालमा पनि लड्नुभयो । राजा महेन्द्रले सर्वस्वहरण गरेपछि उहाँ निर्वासनमा भारत बस्नुभयो । राजा महेन्द्रले नै आममाफी दिएपछि सर्वस्वहरण गरिएबापत सुनसरीको इटहरीमा जग्गा दिइएको थियो । 

त्यो जग्गा मेरो नाममा आयो । जग्गा मेरो नाममा त्यत्तिकै भएको होइन । मेरो बुवा दुईजना हुनुहुन्थ्यो । त्यो जग्गा काकाले कृषि विकास बैंकमा राख्नुभएको थियो । बैंकले जग्गा लिलाम गर्न लागेको थियो ।

साउँ ब्याज फिर्ता गरेपछि पाँच बिघा जग्गा मेरो नाममा भयो । राजनीतिक सम्बन्धले केही ब्याज मिनाहा गर्न सकें । मेरो नाममा आएको वर्ष दिनपछि जग्गाको मूल्य ह्वात्तै बढ्यो । सुरुमै एक बिघा जग्गा ४० लाखमा बेचेर ऋण तिरें । शेरबहादुरजी एकपटक निर्वाचन लड्दा एक बिघा सकियो । अब अढाई बिघा जग्गा बाँकी छ ।
इटहरीको जग्गा बेचेर दुई करोड ल्याएकी थिएँ । यो घर पूरा गर्न त्यति नै लाग्यो ।      

मेरो राशी
मेरो राशी धनु हो । ग्रहदशा देखाउने र ग्रहशान्ति गराउने बानी छैन । विश्वास पनि छैन । तर, चिनामा लेखिएका कुराचाहिँ पुग्दै गएको छ । 

मेरो सौन्दर्यचेत
कपालमा मेहेन्दी लगाउँछु । तेल पनि लगाउँछु । फेसियल नगरे पनि अनुहारमा क्रिम र पाउडर प्रयोग गर्छु । उपहारस्वरूप पाएको पफ्र्युम कहिलेकाहीं प्रयोग गर्छु । 

मेरो प्रेम
हामीले प्रेमलाई मागीबिहेमा रूपान्तरण गरेका हौं । युवा संघमा म केन्द्रीय सदस्य हुँदा उहाँ (शेरबहादुर तामाङ) महासचिव हुनुहुन्थ्यो ।  

मेरो सपना


उषाकला राई र शेरबहादुर तामाङको जीवन आदर्शवादी हो । नेदरल्यान्डमा थुप्रै अवसर हुँदाहुँदै म नेपाल फर्केकी थिएँ । म राष्ट्रसेवाका लागि फर्केकी हुँ । अंग्रेजी नबुझ्ने भएको भए थाहा पाउँदिनथें तर पछि–पछि डच भाषा पनि बुझ्न थालें । नेदरल्यान्डमा रहँदा नेपालीलाई नजानिँदोपाराले हेपेको मलाई पटक्कै मन परेन । त्यसपछि स्वदेश फर्कने निर्णय गरिहालें । त्यस्तो निर्णय गर्दा सबैले जिब्रो टोके । तर, मैले निर्णय परिवर्तन गर्न सकिनँ । तुरुन्त नेपाल फर्कें ।

देश समृद्ध बनाउने सपना देखेकाले नै श्रीमान्–श्रीमती राजनीतिमा छौं । नेपालका प्रत्येक परिवार समृद्ध बनून् । शान्त होस् । भौतिक र सामाजिक विकास होस् । महिला र पुरुषमा समानता हुनुपर्छ ।

श्रमजीवी सबैको सम्मान गर्नुपर्छ । यो विचार र दृष्टिकोण परिवर्तन गर्न सकिएन भने वर्ग रहिरहन्छ । त्योभन्दा ठूलो चिन्तन कायम रहन्छ । त्यसलाई निप्टारा लगाइहाल्नुपर्छ । 

सम्मान र सुरक्षित रहँदै समुन्नत नेपाल बनाउन पाँच वर्ष पनि लाग्दैन । तर, विभिन्न दलसम्बद्ध राजनीतिक नेतामा प्रतिबद्धता चाहिन्छ । अहिलेसम्म खाए पनि अबचाहिँ खान्न भन्ने प्रत्येक नेता प्रतिबद्ध हुनुपर्यो । 
म, हामी होइन, देश बनाउन प्रतिबद्ध हुनुपर्छ । देश बनेपछि हामी बनिहाल्छौं । सांसद, मन्त्री ठूलो लाग्दैन । यो अस्थायी हो । 

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नैपर्छ । मृत्यु तीतो सत्य हो । सहज तरिकाले स्वीकार्नुपर्छ । मृत्युदेखि डर लाग्दैन । हामी विमानमा सवार थियौं । काठमाडौंबाट मनमाया राई विमानस्थल खानिडाँडा खोटाङका लागि उडेको विमान काठमाडौं उपत्यका छाडेपछि कुहिराभित्र हरायो । विमान कहिले यता कहिले उता हुन्छ । चट्याङ परेकोपर्यै छ । जता हेरे पनि कालोमात्रै देखिन्छ । विमानमा सवार रोएका रोयै छन् । सबै बेहोश थिए । को–पाइलट पनि रोएको रोयै भए । तर, क्याप्टेन साहसी रहेछन् । 

मचाहिँ ध्यानमै थिएँ । आज केही हुँदैहुँदैन भन्ने मलाई लाग्यो । त्यतिबेला हामी ओखलढुंगाको आकाशमा रहेछौं । त्यो दिन अवतरणका लागि मुलुकभरिका विमानस्थल खाली रहेनछ । पाइलटले विमान विराटनगरतिर लगेको थाहा भयो । थाहा भएको केही समयपछि अन्ततः विमान विराटनगरमा सुरक्षित अवतरण भएपछि बेहोश यात्रु बाँचिएछ भनेर झन् रुन थाले । ती क्याप्टेनले मलाई बहादुरी ठानेछन् । त्यतिबेला नयाँ जीवन पाएको अनुभूति गरेकी थिएँ ।

मृत्यु सहज होस् । बोल्दाबोल्दै, हाँस्दाहाँस्दै मर्न पाइयोस् ।   

यो पनि हेर्नुहाेस्

नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको जीवन : विदेशमा ‘वेटर’ गर्नेलाई स्वदेशमा ‘मेनेजर’ कै जागिर चाहिन्छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप