शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर कुटपिट प्रकरण : आरोपी पूर्व सांसद भन्छन् – ‘बेहोस बिरामीलाई डाक्टरले उपचार गर्न मानेनन्’

आइतबार, २८ असोज २०७५, १२ : ०९
आइतबार, २८ असोज २०७५


कञ्चनपुर । असोज २६ गते कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा भएको डाक्टर कुटपिट प्रकरणका आरोपी दिवानसिंह विष्टले आफ्नो बारेमा झुटो प्रचार भएको दाबी गरेका छन् ।

आइतबार रातोपाटीसँग कुराकानी गर्दै पूर्व सांसद दिवानसिंह विष्टले डाक्टरले आफ्नो कमजोरी ढाकछोप गर्न आफूमाथि कुटपीट गरेको आरोप लगाएको बताएका हुन् । 

डाक्टरलाई आफूले कुटपिट गरेको कुरा बनावटी भएको भन्दै कुटपिटको प्रमाण देखाउन पनि उनले चुनौती दिए ।

यस्तो छ आरोपी पूर्व सांसद विष्टको बयान

असोज २६ गते बिहान स्थानीय २५ वर्षीय महिला चन्दा थापा बिरामी भई उपचारका लागि स्थानीय श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन् । तर त्यहाँ डाक्टर थिएनन् । त्यसपछि ती महिलाका आफन्त डाक्टर खोज्दै डाक्टरले काम गर्ने क्लिनिकमा पुगे ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य अमर विष्टले सञ्चालन गरेको थलकेदार क्लिनिकमा डाक्टर भेटिएपछि त्यहीँ उपचार सुरु गरिएको रहेछ । तर बिरामीको ब्लडप्रेसर एक्कासी बढ्यो र उनी बेहोस भइन् । त्यही बेला पनि बिरामीलाई अक्सिजन दिइरहेको थियो । 

तर क्लिनिकमा आवश्यक सबै सामान नभएपछि बिरामीलाई स्वास्थ्य केन्द्रमा पठाइयो र त्यहीँबाट धनगढीका लागि रिफर गरियो । तर यसबीचमा बेहोस रहेकी बिरामीलाई स्वास्थ्य केन्द्रमा पठाएपनि डाक्टर अमित पण्डित भने क्लिनिकमै अन्य बिरामीको स्वास्थ्य परीक्षण गरिरहे ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र

बिरामीको स्वास्थ्य अवस्था झनै जटिल बन्न थाल्यो । यस्तो अवस्थामा डाक्टरलाई क्लिनिकबाट स्वास्थ्य केन्द्रमा बोलाउनका लागि हामीले दुईपटक मान्छे पठायौँ । तर डाक्टर स्वास्थ्य केन्द्रमा आउनै मानेनन् । 

तर बिरामीको अवस्था जटिल बन्दै गयो । यस्तो अवस्थामा स्वास्थ्य केन्द्रमा पनि अमितबाहेक अर्को डाक्टर नभएकाले प्राथमिक उपचारका लागि सहयोग गर्न आग्रह गरेका हौँ ।

नआएपछि केही जबरजस्ती भयो होला, तर हातपात गरेको कुरा सरासर झुटो हो । 

एकजना पूर्व सांसदले हातपात गरेको केही प्रमाण त होला नि । मान्छेको हातहातमा मोबाइल हुन्छ, कसैले भिडियो त खिचेको होला नि । 
 
मैले डाक्टरलाई कुटपिट गरेको छैन । 

तर आफू निजी क्लिनिकमा काम गर्ने अनि सरकारी अस्पतालमा उपचारका लागि आएका बिरामीले मृत्युवरण गर्ने कुरा कसैलाई पनि सैह्य हुने कुरो भएन । 

दुईपटक बोलाउँदा नआएपछि हामीले क्लिनिकबाट जबरजस्ती निकालेर स्वास्थ्य केन्द्रमा ल्याएका हौँ । 

डाक्टर अमित पण्डित खासमा सरकारी डाक्टर पनि होइनन् । उनलाई स्थानीय थलकेदार क्लिनिकमा मासिक ८० हजार दिने गरी ल्याइएको थियो । 

तर नगरपालिकाले त्यही डाक्टर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ्य केन्द्रमा उपचार गराउने गरी मासिक ४४ हजार दिएर राखेको हो । 

मासिक ४४ हजार दिएपनि स्वास्थ्य केन्द्रले बोलाएको अवस्थामा डाक्टर मध्यराती भएपनि आउनैपर्छ । यो डाक्टरको बेसिक इथिक्स र स्वास्थ्य केन्द्रको नियम पनि हो । 

तर कार्यालय समय सुरु नभएको भन्दै उनी स्वास्थ्य केन्द्रमा नआएपछि हामीले केन्द्रमा ल्याएर प्राथमिक उपचार गर्न लगाएका हौँ ।

निजी क्लिनिकमा काम गर्ने तर सरकारी तलब खाँदा पनि सरकारी संस्थामा उपचार गर्न नमानेपछि भएको सामान्य भनाभनलाई हातपात भन्नु आफ्नो बचाउ मात्रै गर्न खोजिएको हो ।

व्यवस्थापन समिति अध्यक्ष भन्छन्, ‘जे भयो गलत भयो’

यता श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष एवम् बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाले भने विष्टलाई डाक्टरलाई हातपात गरेको दाबी गर्छन् । 
ढकालका अनुसार बिहानको ७ बजे स्थानीय एक क्लिनिकमा उपचारमा रहेका डाक्टरलाई पूर्व सांसद विष्टले ‘सांघातिक आक्रमण’ गरेका हुन् ।

पहिले ती बिरामी डाक्टरले काम गर्ने क्लिनिकै पुगेकी थिइन् । त्यहाँ सामान्य उपचार गराएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । रिफर गर्दा सरकारी स्वास्थ्य संस्थाबाटै रिफर गर्नु राम्रो हुने भन्दै उनलाई सुरुमा स्वास्थ्य केन्द्रमा पठाइएको थियो । त्यहाँ पनि अक्सिजन दिएर उपचार गर्ने काम भइरहेको थियो ।

स्वास्थ्य केन्द्रमा सरकार आफैले पठाएको डाक्टर छैन । त्यहाँ हेल्थ असिस्टेण्ट मात्रै छन् । हेल्थ असिस्टेण्टले उपचार गरिरहेको बेला क्लिनिकमा रहेका डाक्टर अमित पण्डितलाई हातपात गर्दै अस्पतालमा ल्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

डाक्टरमाथि पूर्व सांसदजस्तो व्यक्तिले हातपात गरेपछि असुरक्षित भएको भन्दै डाक्टर अमित ढकाल विस्थापित भएका छन् । उनी अहिले आफ्नो उजुरी लिएर नेपाल चिकित्सक संघको कार्यालयमा पुगेका छन् । दोषीमाथि कारवाही गरी डाक्टरलाई काममा फर्काउने व्यवस्था गर्न हामी लागिपरेका छौँ । 

सरकारी कोटाबाट डाक्टर नआएकाले हामीले स्थानीय स्तरबाटै नियुक्ति गरेको डाक्टरमाथि हातपात हुनु ज्यादै गलत काम भयो । हामी मिलाउने कोशिस गरिरहेका छौँ । 

यता पीडित भनिएका डाक्टर अमित पण्डितसँग रातोपाटीले पटकपटक सम्पर्क गर्दा पनि उनी आफू ब्यस्त भएको भन्दै कुराकानी गर्न मानेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप