बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे घटना दुई श्रीमतीबीचको सम्पत्ति विवाद ? कान्छी प्रहरी नियन्त्रणमा

शनिबार, ०७ साउन २०७४, १५ : ४४
शनिबार, ०७ साउन २०७४

काभ्रे– पत्याउनै नसकिने घटना । एउटै परिवारका चार जनाको सामूहिक हत्या वा आत्महत्या ? प्रश्न अनुत्तरित छ ।  तर पनि घटना हुनुका प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछ । बनेपास्थित नयाँ बसपार्कमा शुक्रबार राति निकै भिडभाड थियो । एउटै परिवारका चार जना सदस्यको रहस्यमय मृत्युले आमसर्वसाधरण बनेपा बसपर्कमा थुप्रिएका हुन् । कारण एकै  परिवारका चार जनाको मृत्युको कारण केहो भन्ने जान्न। रातभर सर्वसाधरण जागा रहे, प्रहरी अनुसन्धानमा लागिसकेको छ । तर घटनाको चुरो अझैं आउन सकेको छैन ।  


एकै परिवारका बावु ,आमा छोरा र छोरीको मृत्यु भएपछि अहिले बनेपा बसपार्क हजारौको संख्यामा सर्वसाधरण झुम्एिका छन् । स्तब्ध बनेका छन् । 
शुक्रबार राती एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रीमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए ।


 भित्रबाट सटर बन्द गरी ताल्चा लगाइएको सटर मुन्तिर प्रहरीले सिसा फुटेको देखेपछि सटर फुटाई हेर्दा सटर भित्र मृत अवस्थामा एकै परिवारका चार सदस्य मृत भेटिएका थिए । घटनामा सेल्फस विष प्रयोग गरिएकोले अत्यन्त्रै दुर्गन्धित छ । तिन वटा शव भूईँमा पल्टिएका अवस्थामा भेटिएको थियो भने एउटा शव (छोरीको) खाना खाने बेन्चमै छ । होटलका सर सामान सामान्य अवस्थामै देखिन्छ तर चार जनाको ज्यान गएको घटनाको चुरो कुरा अहिलेसम्म आउन सकेको छैन ।  


शनिवार विहानदेखि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोली नै  आएर घटनाको अनुसन्धान गरिरहेको छ ।  

एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु : सिआईबीको टोली बनेपामा


राजारामका दुई श्रीमती, सम्पत्तिको विवाद
बनेपा नयाँ बसपार्कमा खाना खाने होटल संचालन गरि व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती छन् । दुई श्रीमति मध्ये जेठी श्रीमती कमला दाहाल ११ बर्ष अघिदेखि भिन्न बस्दै आएकी थिइन् ।
 छोरा जन्मिएको ६ दिनमै श्रीमानले कान्छी विवाह गरेपछि उनी भिन्न बस्दै आएकी थिइन् । उनी बनेपादेखि ८ किलोमिटर पूर्व पर्ने गाउँ टुकुचा नालामा बस्दै आएकी थिइन् ।  उनका एक छोरा र एक छोरी छन् भने राजारामकी कान्छी श्रीमती पुजा दाहाल  बनेपामा राजारामसँगै होटल संचालन गर्दै आएकी थिइन् । सासु सुसुरा पनि गाउँमै बस्दै आएपनि छोराले बनेपामा केही समय अघि घर बनाएपछि शहरमै छोरा बुहारीसँगै बस्दै आएका थिए । 
घटनाको दिउँसो पुजा र परिवारका बीच मृतक नन्द (राजरामको बहिनी)को विवाहका विषयमा कुरा भएको र केही ठाकठुक परेको बताइन्छ । सो लगत्तै आफू  माइती पुगेकी थिइन् उनी । 
 ‘बहिनीको उमेर पुगेको र विवाह गर्नु पर्छ भन्ने विषयमा सल्लाह हुने क्रममा केहि  ठाकठुक परेको हो । त्यसपछि म माइत गएँ’, पुजाले भनिन्, ‘ यति ठूलो घटना हुनुपर्ने विषय त्यो थिएन ।’
उनका अनुसार  कमलसँग परिवारको अंश विवाद रहेको थियो भने सोहि विषयमा पनि विवाद भइरहन्थ्यो । ‘उहाँसँग अर्कीले (जेठी श्रीमती) छोराले जसरी लडेर पनि अंश लिने बताउँदा उहाँ रुनु हुन्थ्यो तर म सान्तवना दिएर सम्झाउथेँ, किन यस्तो निर्णय लिनु भो मलाई थाहा भएन’, उनले भनिन् । 
तर स्थानीयका अनुसार  आफूले कमाएको सम्पत्ती जेठी पट्टीको छोरालाई किन दिने भनेर पुजाले श्रीमानलाई दवाव दिने गरेकी थिइन् । सोहि निहुँमा  उनले आईतबारसम्म होटल छोडेर जान श्रीमानलाई उर्दी काटेको पनि गाउँलेहरुको दावी छ । 
गाउँको जग्गा आफ्नो छोरा र जेठी पट्टीको छोराको लागि बराबर बाँड्नुपर्ने तर शहरको भने आफैँले कमाएकोले बाँड्न नपर्ने अडान कान्छीले लिँदै आएकी थिइन् । यद्यपी यस विषयमा पुजा भने  गाउँको जग्गा जेठीलाई र यताको आफ्नो छोरालाई दिएर विवाद मिलाउन खोज्दा जेठीले नमानेको बताउँछिन् । 
उता जेठी श्रीमती भने घटना  थाहा पाएर विछिप्त बनेकी छिन् । ‘छोरा जन्मेको २० महिनामा म छुट्टै बसेकी हुँ ।  म सँग राम्रोसँग बोलचाल पनि थिएन । छोरो आजैका दिन १२ बर्ष पुग्यो । तर आजै बाबुको यो हाल भो’, उनले  भनिन् , ‘ के कारणले घटना भो मलाई केही थाहा छैन।  छोरा विरामी भएकाले म हिजोदेखिनै अस्पतालमा थिएँ । यता यस्तो भएछ।’
उनले घटनाको  सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेकी छिन्  । 
के भन्छ प्रहरी ?
घटनाका विषयमा अहिलेसम्म प्रहरीले मुख खोलेको छैन  । अनुसन्धानमै रहेकोले अहिले यसै हो भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी प्रमुख एसपी शकुल बहादुर थापाले बताए । 
परिवारका चारै जनाको मृत्युले अहिले आफन्त र छर छिमेकिहरु सोकाकुल छन् । 
कान्छी श्रीमती पक्राउ
यसैबीच प्रहरीले केहिबेर अघि कान्छी श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।  उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिप्रका काभ्रेले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश घिमिरे
दिनेश घिमिरे
लेखकबाट थप