शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)

मङ्गलबार, ३० असोज २०७५, १९ : ४०
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा आज भित्र्याइएको  छ । 

ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन बसेको हो ।

 धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने फूलपाति जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

 २०६६ सालसम्म हिंडाएर ल्याइने फूलपाती त्यसयता गाडीमा ल्याइन्छ । जमलबाट उच्च सरकारी अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ ल्याइने फूलपाति हर्षबढाइँका साथ हनुमानढोकाको दसैं घरमा भित्र्याइन्छ ।

गोरखाबाट बिहान पठाइएको फूलपाति साँझ हनुमानढोकामा भित्र्याएपछि मात्रै विधिवत रूपमा दसैं सुरू भएको मानिन्छ । विक्रम सम्वत् १७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले १८२५ मा कान्तिपुर राज्यमा विजय हासिल गरी यहीं राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्र्याउन थालिएको परम्परा अझैसम्म जिवित रहेको हो । 

भगवती मन्दिरप्रतिको श्रद्धा र भावभक्तिले पृथ्वीनारायण शाहले यो परम्परा सुरु गरेको ठानिन्छ । फूलपातीमा के–के फूल मिसाइएको छ भन्ने जानकारी गोरखा दरबारका सुसारेबाहेक अरुलाई हुँदैन । 

त्यहाँका थापा परिवारले संकलन गरेको फूलपाती आधा हनुमानढोका ल्याइन्छ भने बाँकी साँझ हर्षबढाइका साथ बन्दुक पड्काएर गोरखाको दसैं घरमा भित्र्याउने चलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप