बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकैपटक दशैँभरलाई पुग्ने मासु पकाउनु गलत

बुधबार, ३१ असोज २०७५, १० : २७
बुधबार, ३१ असोज २०७५

काठमाडौं–दशैँको समयमा खानपानमा धेरै ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो स्वास्थ्य कस्तो राख्ने भन्ने कुरा हामीले खाने खानापानमा भरपर्छ । अझ दशैँमा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । 

महत्वपूर्ण कुरा त के छ भने दशैँको समयमा पशुबध गरेकै दिन धेरै मासु पकाउने र दशैँभर प्रयोग गर्ने चलनसमेत रहेको छ।  एकै पटक पकाएको मासु दशैँभर प्रयोग गर्नु झन्झट कम भए पनि स्वास्थ्यको हिसाबले फाइदाजनक नहुने डाक्टर पारस पञ्जियार बताउँछन् । 

चिकित्सकको भनाइलाई मान्ने हो भने सकेसम्म ताजा मासु खानु र कम खानु स्वास्थ्यको हिसाबले फाइदाजनक मानिन्छ । 

आज दशैंको अष्टमीको दिन । धेरैको घरमा खशी, बोकालगायत काटेर मासु तयार गरिएको हुनुपर्छ । यसरी तयार गरिएको मासु एक पटक पकाएर दशैँभर सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले लाभदायी मानिँदैन । 

कुनै पनि चाडपर्व मनाउँदास्वास्थ्यको लागि पनि सोच्नु पर्ने हुन्छ । पछिल्लो समय नेपालमा दैनिक रोगीको संख्या बढ्दै गइरहेको छ । 
डाक्टर पारस पञ्जियार भन्छन्, ‘हामीले खाने दैनिक खाना र चाडपर्वको समयमा स्वास्थ्यको लागि पनि विशेष ध्यान दिनुहुन म सबैलाई अनुरोध गर्दछु । खानेकुरामा ध्यान नदिँदा नेपालीहरु गम्भीर र ठूला रोगको सिकार बन्ने गरेका छन् ।’ 

यसकारण नखानुस् – डाक्टर पारस 
डाक्टर पञ्जियार भन्छन्, ‘दशैँमा एक पटक पकाएको मासु दशैँभर किन खानुहुँदैन भने पकाएको मासुमा प्रोटिन नास हुँदै जान्छ । धेरै लामो समयसम्म स्टोर गरेर राखेको मासुमा विभिन्न भ्याक्टेरिया, भाइसर र फङ्गाइहरु बस्दै जान्छन् ।  त्यस्ता मासु सेवन गर्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ । पोषण नास हुने र परजिवीहरुको बस्ने ठाउँ पनि त्यही मासुमा हुन्छ । जसले गर्दा त्यस्ता मासु सेवन गर्दा विभिन्न किसिमको समस्याहरु देखिन्छ ।’

उनी थप्छन्, ‘मेरो के सुझाव छ भने धेरै दिनसम्म मासु राखेर नखाएकै राम्रो । यदी स्वास्थ्यको हिसाबबाट हेर्नुहुन्छ भने त्यस्तो मासु राम्रो होइन ।’ 

तर सक्नु पर्छ भन्दैमा एकै दिनमा धेरै मासु खानु पनि स्वास्थ्यको लागि राम्रो मानिदैन । 

जस्तै मुस्लिमहरुले इदको दिन कुर्वानी गर्ने चलन छ  । एक भाग आफूलाई राख्ने र ३ भाग अरुलाई बाँड्ने चलनलाई कुर्वानी भनिन्छ । 

यसरी सबैलाई बाँडेर खाँदा पनि स्वास्थ्यको हिसाबले यस्तो गर्नु सही अभ्यास मानिन्छ । 

‘हामीले पनि दशैँमा यसरी मासु तयार पारेको दिन धेरै मान्छेलाई बाँड्ने अर्थात बोलाएर खुवाउने हो भने त्यो मासु धेरै दिनसम्म बस्न पाउँदैन । धेरै दिनसम्म राखेको मासु खाँदा झाडापखाला, फ्रूड पोइजन, ग्यष्ट्रिक जस्ता समस्याहरु देखिन सक्छन् ।  राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीरभित्र पस्ने र मानिसलाई समस्या हुन्छ ।’ डाक्टर पञ्जियार भन्छन् ।

सकेसम्म कलेजो नखादा राम्रो 
विभिन्न अंगका मासु जस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि पनि मासुको परिकारको रुपमा प्रयोग गरिन्छ । 

यी अंगका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई र केही मात्रामा भिटामिन बी पनि पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अंगमा प्रशस्त मात्रामा पाइन्छ । 

कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरु फोहरको रुपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो हुन्छ ।

 यस्तै रातो मासु हाली बनाएको ससेज जस्ता परिकारमा लामो समय संरक्षण गर्न प्रिजरभेटिभ राख्ने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ । 

रातो मासु प्रोटिनको स्रोत भएपनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नभएको हुँदा थोरै परिमाणमा मात्र खानु हितकर हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप