शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी बित्दैछ १० सांसदको दशैं : पिङ खेल्नेदेखि मतदाताको घरदैलो गर्नेसम्म

बुधबार, ३१ असोज २०७५, १२ : ०१
बुधबार, ३१ असोज २०७५

काठमाडौं– सबैतिर दशैंको उल्हास छाइरहेका बेला जनप्रतिनिधि रुपमा रहेका संघीय सांसदहरु पनि दशैंमा व्यस्त भइरहेका छन् । 

कोही आफ्नो निर्वाचन क्षेत्रमा गएर शुभकामना आदान–प्रदानमा सहभागी भइरहेका छन् भने दशैं नमनाउने सांसदहरु पनि चुनावमा जिताउने मतदातालाई धन्यवाद दिन घरदैलोसम्म पुगिरहेका छन् । 
राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा रहेका १० सांसदहरुको दशैं कसरी बित्दैछ भन्ने बारेमा हामीले जिज्ञासा राखेका थियौँः  

गणेश प्रसाद तिमिल्सिना
 राष्ट्रिय सभा अध्यक्ष 


सामान्यतया दशैं भनेकै आफन्तबाट टीका ग्रहण गर्ने र आशिर्वाद लिने चाड हो । यस वर्षदेखि दशैको लामो बिदा पनि छैन । आफन्तभित्र जन्म वा मृत्यु भएमा चाडवाड मनाउने चलन छैन । यसपटक हाम्रो परिवार भित्र सुत्केरी परेको हुनाले दशैं मनाइदैन । 

टीका नलगाउने भएपनि साथीभाई भेटघाट गर्ने, शुभकामना आदान प्रदान गर्ने काम भइरहेको छ । अघि नै बाग्लुङ र पर्वतका दुई तीनवटा शुभकामना आदानप्रदान कार्यक्रम सकेर काठमाडौं फर्किएको छु । अब चाही सबै परिवार काठमाडौंमा बसेर दशैं मनाउने विचार गरेका छौं ।

पहिले राजनीतिक भातृसंस्थाहरुको शुभकामना आदान प्रदान कार्यक्रममा जान भ्याइनभ्याई हुन्थ्यो । अहिले राजनीतिक कार्यक्रममा जान मिल्दैन । केही संघ संस्थाहरुले बोलाएको कार्यक्रममा जाने गरेको छु । बिहान बेलुका फुर्सदको बेलामा अध्ययन पनि गरिहेको छु ।
 

रामनारायण विडारी
 सांसद, राष्ट्रिय सभा  


रोगका कारण प्रोटिनयुक्त खाना खान्न, तास जुवा अहिलेसम्म समातेको छैन, घुमफिर गर्ने हो, अस्ति पनि ३ दिन जिल्लातिर घुमेर आइयो । यसपाली पनि घुमफिर गर्न त खोजेको छु । घरमा बसेर त्यही दालभात खाने हो । केही अध्ययन गर्ने, रुपचन्द्र विष्टको थाहा आन्दोलनलाई उजागर गर्ने केही लेख्न पनि खोजिरहेको छु । 

मेरो गूरु रुपचन्द्र विष्टको पालामा खासै दशैं मनाइदैनथ्यो । यो एउटा महान चाड पनि हो । दशैं सत्यको जित र असत्यको हार, राक्षसको हार र देवताको जित । ठीकको जित र बेठीकको हार भएको सन्र्दभमा मनाइन लागेको चाड हो । 

रुपचन्द्र विष्टको समयमा असत्यको जित र सत्यको हार भएकोले त्यति मनाइएन । अहिले तडक भडक नगरी संस्कृति जर्गेना गर्ने गरी मनाइन्छ । 

भाइ बुहारी छोराछोरी सबैलाई टीका लगाइदिन्छु । उनीहरुलाई टीका लगाइदिएपछि मेरो निधार खाली हुन्छ । मलाई टीका लगाइदिन बाआमा हुनुहुन्न, ८० बर्षकी दिदी हुनुहुन्छ मैले टीका लगाउनका लागि । तिहारमा मात्रै टीका लगाएपनि दशैमा दिदीको हातबाट टीका लगाएको थिइन । अब यसपाली चाँहि तिहारको टीका जसरी नै दशैंको टीका लगाउछु कि । 

भाइहरु पनि छरिएर बसेका छन् । टीकाको दिनसम्म घरमै बस्छु, टीका पछाडि मकवानपुर जान्छु । 

दशैमा राम्रो लगाउने, मिठो खाने भन्ने हुँदैन । अघिपछि पनि राम्रो खाइएकै छ, राम्रो लगाइएकै छ जस्तो लाग्छ । 

मैले दशैलाई कसरी नेपाली जनता र नेपालको हित गर्न सकिन्छ भनेर चिन्तन गरी सदुपयोग गर्न खोजेको छु । 

दशैको बेला रुपचन्द्र विष्ट घरबारविहीन श्रमिकहरु, फुटपाथमा बस्नेहरुसँग सडकमै बसेर छलफल गर्नुहुन्थ्यो । ज्यामीहरुसँग बाघचाल खेल्नुहुन्थ्यो । कसैको घरमा पुगियो भने त्यही खानुहुन्थ्यो । हामीले उहाँले गरेको काम पछ्याउन त सकेनौँ । दशैंसत्यको जित र असत्यको हारको चाड भएपनि अझै पनि सत्यको जीत पूरा हुन सकेको छैन । सत्यको पक्षमा ७५ प्रतिशत जित पुग्यो भने पूर्ण विजय प्राप्त गर्न भने सकिएको छैन ।  
 

छक्क बहादुर लामा
 सांसद, हुम्ला 


बुुद्धिष्ट भएकाले खासै दशैं मान्दैनौँ । म लामाको छोरा हुँ, तान्त्रिक बुद्धिजमबारे अध्ययन गर्दै आइरहेको छु । मलाई सबै धर्मसंस्कृति राम्रो लाग्छ । 

चुनाव जितेर आएपछि जिल्लामा साथीभाईलाई भेट्न पाएको छैन । दशैको बेला गाउँमा जान्छु । गाउँघरतिर गएर मलाई जिताउने मतदाताहरुलाई धन्यवाद दिन्छु । 
प्रेम सुवाल
सांसद, भक्तपुर १


दशैंको बेला हामीले नेपाल भाषा साहित्य तमुज्या आयोजना गर्दैछौँ । यो कार्यक्रम हरेक वर्ष हुने गरेको छ । 

कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकारहरुलाई बोलाउँछौँ । कवि कलाकारहरुलाई पनि निम्तो दिएका छौँ । यो कार्यक्रममा देशको समसामयिक राजनीतिक विषयमा पनि बोल्ने कार्यक्रम हुन्छ । 

मेरो दशैं सामान्य ढंगले नै बित्छ । कतै घुम्न जाने कार्यक्रम बनाएको छैन । घरको मुलीले जमरा राख्ने, टीका लगाउने  काम हुन्छ । दशैं भौतिकवादी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । अदृश्य शक्तिको वरीपरी घुम्ने हैन, यसलाई मान्छेको एउटा सस्कृतिसँग जोड्नुपर्छ । अन्धविश्वासको हिसावले टीका लगाउनु हुँदैन । कुनै एउटा अवसरमा फूलको माला लगाएजस्तै हिसावले दशैंको टीका लगाउनुपर्छ । 

यो बेला नेवारहरुको छोरीलाई बोलाएर भोज खुवाउने चलन हुन्छ । त्यस्तै मामाघर जाने चलन पनि हुन्छ । दशैंलाई समाजमा भइरहेको एउटा प्रचलनको रुपमा लिने, अन्धविश्वासको रुपमा नलिन मैले कार्यकर्ताहरुलाई पनि भनेको छु । 

मन्दिर जाने र पूजापाठ गर्ने चलन छैन, त्यो भौतिकवादी व्याख्याभित्र पर्दैन । विज्ञानसंवत गतिविधि गर्छौं, दशैलाई कुनै अन्धविश्वासको रुपमा मनाउदैनौँ । परिवार, आफन्त भेटघाट गर्ने, नातेदारकोमा जाने कुरा चाहिँ सामाजिक क्रियाकलाप भित्र नै पर्छ । 
 

देवेन्द्र पौडेल
 सांसद, वाग्लुङ २ 


अहिले म जिल्लामै शुभकामना कार्यक्रम आदान प्रदानमा व्यस्त छु । तास जुवा कहिले पनि खेल्दिन । दशैंमा पिङ खेल्ने चलन छ । खसीबोकाको मासु खाने, रोटेपिङ खेल्ने, आफन्त भेटघाट गर्ने चलन  छ । 
मेरो ड्रिङ्क्स गर्ने बानी छैन, केरा, दही, मही, मासु, रोटी खान्छु । आफन्तहरुसँग टीका र आशिर्वाद लिन्छु । ससुराली जाने र दिदीबहिनीसँग पनि भेटघाट गर्छु । 

बुवा आमा हुनुहुन्न । जेठो दाजु र दिदीको हातबाट दशैंको टीका थाप्छु । दशैंमा मेरो अध्ययन भन्दा पनि भेटघाट धेरै हुन्छ । कतिपय विदेशबाट आएका साथीभाइसँग भेटघाट हुन्छ । 

विभिन्न पेशा व्यवसायका लागि भारतमा बसिरहेका, चितवन, पोखरा बसिरहेका साथीहरु घर आउँछन् । बाल्यकालमा सँगै खेलेका साथीहरुसँगको भेट जीवन्त हुन्छ । बाल्यकालमा हिँडेको बाटो, खोल्सा, पहेलपुर भएको धान देख्दा म आनन्दित हुन्छ । मिलेसम्म धान काट्ने, तरकारी गोड्ने काम पनि गर्छु । 

१ गतेसम्मका लागि लगातार कार्यक्रमहरु रहेका छन् । मेरो निर्वाचन क्षेत्रमा गाँउपालिका र नगरपालिका गरेर ६ वटा पालिकाहरु छन्, सबैमा पुग्ने योजना छ । 
 

नारदमुनी राना
 सांसद, कैलाली ५


यसपालि मेरो व्यक्तिगत दशैं छैन । भतिजा बितेकोले दशैं मनाउदैनौँ । चाडपर्व भन्दा पनि जनता भेटघाट र शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा लिएको छु । 

जनताको गुनासो, इच्छा, आकांक्षाहरु सुन्ने अवसरको रुपमा पनि लिएको छु । दशैंको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि भइरहेका छन्, सबै कार्यक्रमहरुमा सहभागिता जनाइरहेको छु । 

म असोज २४ गते जिल्लामा आएको थिए । अब तिहार पछि मात्र काठमाडौं फर्किन्छु । एक महिना पूरै आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेर बिताउदैछु । प्रत्येक वडा वडामा पुगेर भेटघाट गर्ने योजना छ । 
 

जगतबहादुर विश्वकर्मा
 मन्त्री, यूवा तथा खेलकुद 


मेरो यसपटकको दशैं सामान्य ढंगले बित्नेछ  । निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रमहरुमा सहभागी हुने योजना छ । मेरो घर पोखरा लामाचौर हर्मीमा हो । १ गते संगम मावि लुम्लेमा पुनर्मिलन कार्यक्रम छ । 
मन्त्रीको जिम्मेवारी सम्हालेपछि गाउँ जान पाएको थिइनँ । टोल छरछिमेकमा भेटघाट गर्ने, टीका लगाउने योजना छ । मैले ८३ वर्षका बुवाको हातबाट टीका लगाँउदैछु । टीकाको भोलीपल्ट काठमाडौं फर्किने योजना बनाएको छु । 

दशैमा रक्सी पिउने, तास खेल्ने बानी छैन । रक्सी त मैले खाएको छैन, स्वाद पनि थाहा छैन । पिङ खेल्ने योजना छ । 
 

थममाया थापा
 मन्त्री, महिला, बालबालिका तथा जेष्ठ नागरिक 


मेरो यो दशैं सामान्य हुने भएको छ । टीकाको भोलीपल्ट स्वीट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम छ । त्यसकारण पनि काठमाडौं बाहिर जान नपाउने भएकी हुँ । 

मेरो अघिपछिको दशैंपनि सामान्य नै हुन्थ्यो, यसवर्षको दशैंपनि सामान्य नै हुन्छ । सिराहामा श्रीमान र सासु हुनुहुन्छ, यता छोरी र नातिनीहरु छन् । पहिला घर पनि जान्थेँ, तर यसपाली नभ्याउने भएँ, छोरी र नातिनीहरुसँग यतै दशैं मनाउछु । विदेश जानु नपरेको भए देशैंमा घर जाने विचार गरेको थिए । 
 

पार्वता डिसी चौधरी
सांसद, दाङ


२७ गते काठमाडौंबाट दाङ आइपुगेँ । बजार नजिक नै घर छ । गाँउतिर जाने, इष्टमित्र भेट्ने योजना छ । ५ गतेसम्म टीका लगाइन्छ । कैलालीमा दाइको घर छ, त्यहाँ पनि जाने विचार गरेको छु । 

घरमा मेरो श्रीमानको ७ दाजुभाइ छन् । जेठो जेठाजुसँग टीका थाप्छौँ । ७ भाइको परिवार एकैठाँउमा भेला हुन्छौँ । मेरो माइती चाहीँ क्षेत्री समुदाय परे । यता चौधरी समुदायमा सबै भेला भएर टीका लगाउने र जाँड रक्सी खाने चलन हुन्छ । नखानले पनि पर्सादका रुपमा थोरै भएपनि चाख्नुपर्छ । 

सबै भेला हुँदाको यो क्षण धेरै रमाइलो हुन्छ । यसपटक शुभकामना आदान प्रदान कार्यक्रममा त्यति सहभागी भइनँ । केही दिनअघि सभामुख सहभागी पर्यटन सम्बन्धी कार्यक्रममा सहभागी भएको थिए । दशैंसकेर कार्तिक १० गतेतिर काठमाडौं फर्किने योजना बनाएको छु । 
 

नविना लामा 
सांसद, काभ्रे

म बुद्धिष्ट भएपनि अरुले जसरी नै दशैं  मनाउछु । बिहे गरेकोले यसपाली नयाँ घरमा नयाँ सम्बन्ध अनुभव हुने भयो । आफन्तकोमा जाने टीका लगाउने, मासुभात, तरकारी खाने गर्छु । पिङ पनि खेल्छु ।

ठूलाबडा नेताहरुकोमा टीका लगाउन पनि जान्छु । 

अहिले सम्बन्ध बढ्यो । धेरै आफन्तकोमा टीका लगाउन जान्छु । माइतघर बानेश्वरमा हो । घर पेप्सिकोला । माइतीघर भन्न आउँदैन आफ्नै घर जस्तो लाग्छ । मन्दिरहरुमा गएर  दर्शन पनि गरिरहेको छु ।

काभ्रेको पलाञ्चोक भगवतीको दर्शन पनि गरेँ ।

दशैँबारे यी सामाग्रीहरु पनि पढ्नुहोस्

दशैंको खान्कीः होटल अन्नपूर्णका सेफ सन्तोषको खसी, कुखुराको मासु र स्वादिला शाकाहारी परिकार बनाउने रेसिपी (भिडियोसहित)

दशैं विशेष : दीर्घरोगीले के खाने के नखाने ?

एकैपटक दशैँभरलाई पुग्ने मासु पकाउनु गलत

माझी समुदायसँग काँग्रेस नेता भण्डारीको फरक शैलीको दशैं

दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्

बैंकर्सको दशैँ, कसको कस्तो ?

दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स

दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)

प्रहरी प्रमुखको दशैँ : ‘मोबाइल अफ गरेर पढ्न पाए हुन्थ्यो’

इन्टरपोलको रेड नोटिस : ३३ किलो सुन तस्करदेखि दरबारमार्गका बलात्कारीसम्म (सूचीसहित)

मनोज पण्डितको नजरमा दशैंको फुर्सदमा हेर्नैपर्ने फिल्म

बागलुङ कालिका भगवतीबारे रोचक किम्बदन्ती

मुस्लिम सांसद अतहर कमाललाई दशैँ चटारो 

अनाैंठो जनविश्वास रहेको छिन्नमस्ता भगवतीको मन्दिर : दशैंमा दर्शन गर्न जाँदै हुनुहुन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप